आहा! सुवर्णपुरमा
अवस्थित त्यस महलको शान शौकत बयान गरिसाद्धे थिएन। महारानी ललितादेवी जीवित
हुँदासम्म त्यहाँ चाकडी गर्न जाने मानिसको भीड पन्छाइ नसक्नुको हुन्थ्यो ।
बिहानैदेखि एकथरी मानिसहरु महारानीको दर्शन गर्न
महलको अगाडि पट्टि रहेको करिब पचास रोपनीको चौरमा लामबद्ध भइ उभिएका हुन्थे । सधैं
बिहान ठीक आठ बजे महारानीको सवारी हुन्थ्यो ।
'महारानीको जय! महारानीको जय!!' को आवाजले आकासै गुञ्जायमान हुन्थ्यो । महारानीले लामबद्ध
प्रजाहरुको गुनासो, पीर सुन्थिन । सबैले केही न केही
पाउँथेँ । सबैजना खुसी भएर फर्कन्थे ।
महारानीका सात
भाइ छोरा थिए । आफ्नी आमाको आदेश बिना कुनै काम गर्दैनथे । राजमहल स्वर्गसरि थियो
। सबै खुसी थिए ।
समय सधैं एकनाश
कहाँ रहन्छ र? एकदिन हृदयघातको कारण अचानक महारानीको
मृत्यु भयो । सारा प्रजाहरु शोकमा डुबे । वैदिक रितीपूर्वक तेह्र दिनसम्म
क्रियाकर्म भयो । अब त्यस महलमा महारानी थिइनन्, उनको सुशासन पनि थिएन । महलमा काम गर्नेहरु भन्थे,‘हामीले रातीको बाह्रबजे तिर महारानीलाई सेतो साडी लाएर महलमा
घुमेको देखेका छौं।’
‘यो सबै बकवास हो, मरेको मानिस पनि कहीँ फर्केर आउँछ?’ भन्दै यस कुरालाई कसैले पनि चासो
दिएनन् ।
‘यो महल र यो जग्गा कस्को हुने?’ भन्ने बिषयमा राजकुमारहरु बीच विवाद भयो । त्यसै रात सबै
राजकुमारहरुको सपनामा आएर रानीले भनिन्, 'हेर छोराहरु हो ! यो महल मैले ठूलो दुखले बनाएको हो; यसको सँरक्षण गर्नु; गरिब गुरुवाको सेवामा कत्ति पनि कमी आउन नदिनु; मैले भनेको मानेनौ भने तिमीहरुको भलो हुने छैन ।"
सपनाका कुरा कसले
पो पत्याउँछन् र?
‘सपना त हो नी’ भनेर राजकुमारहरुले पनि यसलाई कुनै
महत्व दिएनन्। महलको स्वामीत्वको बिषयलाई लिएर राजकुमारहरुबीच खिचलो झन् बढ्दै
गयो। उनीहरुबीच पानी बाराबारको अवस्था आयो । राजकुमारहरु एक अर्काको ज्यानका
दुश्मन भए ।
पुनः एकपटक
महारानी महारानी सेतो साडी, सेतो चोलो, सेतै पछ्यौरा ओढेर, कम्मर सम्म लत्रेको लामो सेतो कपाल हावामा उडाउँडै, सेतोघोडामा चढेर राजकुमारहरुको सपनामा प्रकट हुँदै भनिन्, 'तिमीहरुले मैले भनेको मानेनौ; अब यस महलमा जस्ले आँखा लाउँछ उ भष्म भएर जानेछ ।'
राजकुमारहरु
झल्याँस्स बिउँझिए । तर पनि उनीहरुले यसलाई एउटा दुष्स्वप्नका रुपमा मात्र लिए ।
विवाद चुलिँदै गयो । उनीहरुबीच मारकाट चल्यो । यदुवंशीहरुको अन्त्य भए झैं एक
आपसमा लडेर आखिरमा सबै सिद्धिए ।
वरपरका मानिसहरुले
भन्थे, 'हरेक रात, ठीक बाह्रबजे, महारानी सेतो साडी, सेतो चोलो, सेतै पछ्यौरा ओढेर; कम्मर सम्म लत्रेको लामो, सेतो केश हावामा उडाउँडै; सेतोघोडामा चढेर, हुँइकिँदै आउँछिन् र त्यस महलको
अगाडि रहेको चौर, जहाँ कुनै समयमा चाकडि गर्नेहरुको भीड लाग्थ्यो, त्यहाँ उभिएर महल तर्फ हेर्दै जोडजोड ले हाँस्छिन् र जान्छिन् ।'
त्यसपछि जस जसले
त्यस महलमा आँखा लगाए उनीहरु त्यसरी नै सिद्धिए जसरी यदुवंशीहरु सिद्धिएका थिए, जसरी राजकुमारहरु सिद्धिएका थिए ।
लामो समयसम्म
त्यस महलमा कोही पनि गएन । या भनौँ कसैले जाने साहस नै गरेन । महलका कोठाहरु माकुरोको जालोले भरिए, छतमा पीपल उम्रियो, चौर झाडीले छोप्यो ।
भनिन्छ लोभ नै
पापको प्रवेशद्वार हो । लोभका सम्बन्धमा हाम्रा पुर्खाहरुले धेरै कुराहरु भनेर
गएका छन् । लोभले लाभ, लाभले विलाप; लोभीको देशमा ठगले भोकै मर्न पर्दैन आदि आदि । परार साल त्यस महलमाथी एकथरी जग्गा ब्यापारीहरुको आँखा पर्यो
। उनीहरुको मनमा लोभ पलायो । राजधानीको मुटु सुवर्णपुरमा अवस्थित करिब दुइसय रोपनी
त्यस जग्गाको बजार भाउ निकै थियो । करोडौंको फाइदा थियो । लोभले ब्यापारीहरुलाई
पापकर्म तर्फ उन्मुख गरायो । यताउता कुरा मिलाएर जग्गा ब्यापारीहरुले त्यो महल र
जग्गा हात पारे ।
वरपरका
मानिसहरुले भने, ‘हे भगवान, अब फेरी के अनिष्ट देख्न पर्ने हो !’
कतिपय ब्यापारीहरुका
अनुसार त्यस रात उनीहरुको सपनामा पनि महारानी त्यसै गरि सेतो पहिरनमा सजिएर, सेतो केश हावामा उडाउँदै, सेतो घोडामा चढेर आइन र भनिन्, 'खबरदार! मेरो महलमा आँखा लगाउने सबैलाई भष्म गरिदिन्छु ।'
धेरै ब्यापारीहरुले
त्यसलाई एउटा दुष्स्वप्नकै रुपमा लिए, कतिपयले भोलीपल्टै गएर आफूले किनेको जग्गा बेचीदिए । तर महारानीको
आत्माले उनीहरुलाई पछ्याउन छोडेन । सधैँ सपनामा उही सेतो पहिरन र उही सेतो घोडामा
आएर उनीहरुलाई धम्क्याउन छोडिनन् । अहिले उनीहरु दिनको भोक र रातको निँद दुवै उडेर छटपटाइरहेका छन् । विक्षिप्त छन् । बेला बेलामा ‘हे महारानी हामीलाई माफ गर्देउ’ भन्दै बर्बराउँछन्!
अहिले पनि वरपरका
मानिसहरु भन्छन्, ‘सधैँ मध्यरातको ठीक
बाह्रबजे, महारानी सेतो पहिरनमा, लामो सेतो केश हावामा उडाउँदै, सेतोघोडामा चढेर हुँइकिँदै आउँछिन र त्यस महलको अगाडि रहेको चौरमा
उभीएर महल तर्फ हेर्दै जोडजोडले हाँस्छिन र भन्छिन्, खबरदार! कसैले यस महलमा आँखा लगाउला! जसले
आँखा लगाउला, म त्यसलाई भष्म गरिदिन्छु।' यति
भनेर पुन एकपटक जोडजोडले हाँस्छिन अनि घोडामा चढेर शुन्यमा बिलाउँछिन् ।
त्यस्तो गौरवशाली
इतिहास बोकेको त्यो महल हिजोआज जिर्ण छ, शुन्य छ । हिजोआज मानिसहरु त्यस महल भित्र जाने धेरै त परको कुरो
भयो; महारानीको आत्माको कुदृष्टी नपरोस्
भनेर होला, त्यस तर्फ फर्केर हेर्न समेत डराउँछन् ।
जान्नेहरु यसलाई महारानी ललितादेवीको आत्माले सरापेको
अभिशप्त महल भन्छन् ।
काठमाण्डौं
२०७६ साल माघ २४ गते रोज ५ शुभम्