'आज कुलोको उद्घाटन गर्न राजा आउने रे!' भनेर गाउँ भरी हल्ला थियो । 'आज राजालार्इ देख्न पाइने भयो' भनेर हामी केटाकेटीहरु पनि विहानै देखि निकै रोमान्चित थियौँ । हतार हतार खाना खाएर लागियो ज्ञादचौर तिर । करीब दुइ घण्टाको पैदल दुरी पार गरेपछि ज्ञादि पुगियो । मलेङ्दी खोलामा रहेको कुलाको मुहानबाट योजनाको उद्घाटन गर्ने कार्यक्रम रहेछ । खोलाको दुवैतर्फका डाँडाभरि राजा हेर्न बसेका मानिसहरु छपक्कै ढाकिएका थिए । कतिपय त बिहानै देखि बसेका रहेछन् । लगभग उत्तिकै सँख्यामा सेनाका जवानहरु डाँडाभरि पोजिसन लिएर बसेका थिए । तल मुहान वरिपरि टाँगिएका रँगिचँगि तुलहरुले त्यहाँको दृष्य अझ रँगिन बनाइरहेको थियो । पँचे बाजा बजिरहेका थिए । बिचबिचमा बज्ने कर्नाल बाजाको भुँ...भूँ.....भुँपु.. भुँपु...भुँ.. भुँ.. को धुनले वातावरणमा रौनक छाएको थियो ।
करीब तिन घण्टा जतिको पर्खाइपछि टाढाबाट हेलिकप्टर कराएको आवाज आयो । 'राजा आए! राजा आए!!' भनेर सबैले आकास तिर हेर्न लागे । हेलिकप्टर नजिकै आयो र एक फन्को घुमेर गयो । त्यसमा राजा थिएनन् । सेनाको हेलिकप्टर 'रेकी' गर्न आएको रहेछ । राजारानी हेर्न बसेका हामी हिस्स पर्यौँ ।
त्यसको एकछिन पछि पुनः हेलिकप्टर करायो । एकपटक फेरी सबै आशावादि भयौँ । यसपटक भने हेलिकप्टर भुँइमा आएर बस्यो । हेलिकप्टरबाट राजा रानी बाहिर निस्किए ।
माइकमा एकजना करायो 'श्री ५ महाराजाधिराज की!'
डाँडाकाँडा गुन्जायमान गर्दै सबै जनताले कराउँदै भने, "जय!'
हामीले पनि भन्यौँ 'जय!'
माइक- 'श्री५ बडामहारानी की!'
डाँडाकाँडा- 'जय!'
माइक फेरी करायो, 'हाम्रो राजा हाम्रो देश!'
डाँडाकाँडा बोल्यो, 'प्राण भन्दा प्यारो छ !'
हामी पनि जोडसँग करायौँ, 'प्राण भन्दा प्यारो छ!'
हाम्रो छेउमा बसेकी एकजना आमैले खोकिलाबाट फुलका गुच्छा झिकेर 'जय बिष्णु भगवान' भन्दै राजारानी भएतिर हुर्र्याइन अनि आफ्ना दुइ हात जोडेर निधारमा पुर्याउँदै र टाउको निहुराउँदै टाढैबाट राजालार्इ ढोगिन । त्यस भीडभाडमा सबैभन्दा खुसी ती आमै देखिन्थिन । 'आज बिष्णु भगवानको साक्षात दर्शन गर्न पाएँ, धन्य भएँ' भन्दै खुसीले रमाइरहेकि थिइन् । राजालाइ साक्षात बिष्णु भगवान पनि मानिदो रहेछ भन्ने कुरा मलाइ पछि मात्र थाहा भयो ।
आफ्नो बाको कँधेरकुटी चढेर राजा हेर्न आएको बालक भीडमा खुसी देखिने अर्को पात्र थियो । 'उ हावाजाज ! उ हवाजाज!!' भन्दै त्यो बालक आफ्नो बाबुको काँधमा मच्चि मच्ची उफ्रिरहेको थियो । राजालाइ देखेर भन्दा 'भटभट' गर्दै डाँडाकाँडा थर्काउँदै आएको हेलिकप्टर देखेर उ बढी रोमान्चित भइरहेको थियो ।
आफ्नो बाको कँधेरकुटी चढेर राजा हेर्न आएको बालक भीडमा खुसी देखिने अर्को पात्र थियो । 'उ हावाजाज ! उ हवाजाज!!' भन्दै त्यो बालक आफ्नो बाबुको काँधमा मच्चि मच्ची उफ्रिरहेको थियो । राजालाइ देखेर भन्दा 'भटभट' गर्दै डाँडाकाँडा थर्काउँदै आएको हेलिकप्टर देखेर उ बढी रोमान्चित भइरहेको थियो ।
राजारानी मुहान तिर अगाडी बढिसकेका थिए ।
सम्पूर्ण डाँडाकाँडाहरु राजारानीको जय जयकारले गुन्जायमान थियो ।
फर्कने बेलामा पनि राजाको एक झल्को दर्शन पाउने आशमा हामी कुरेर बस्यौँ ।
उद्घाटनको कार्यक्रम सकिएपछि राजारानी हेलीकप्टर तर्फ आउँदा राजा रानीलाइ एकपटक पुनः देख्यौँ ।
विहान देखि राजा रानी हेर्न भनेर दुइ घण्टा हिँडेको काम सफल भएकोमा मन हर्षित थियो । यसरी राजारानीलाइ हेर्न भनेर मात्र दिनभरि 'खानु न फुट्नु' सँग बसियो ।
राजारानी हेलिकप्टरमा उडे ।
हामी पनि आफ्नो दुइघन्टे फिर्ती पैदल सवारी तर्फ लागिबक्स्यौँ ।
सानो बालक आफ्नो बाबुको कँधेरकुटीमा बसेर 'उ हावाजाज ! उ हवाजाज!!' भन्दै उफ्रिरहेको थियो ।
सानो बालक आफ्नो बाबुको कँधेरकुटीमा बसेर 'उ हावाजाज ! उ हवाजाज!!' भन्दै उफ्रिरहेको थियो ।