Friday, June 17, 2016

कथाः विश्वासघात


‘मदन दाजु ! किशोरको कुनै खबर पाउनु भयो ?’
आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिइ । धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन । करीब एक हप्ता अगाडी देखि उ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार आइरहेकि थिइ । हुन त मदनलार्इ किशोरको बारेमा सबै कुरा थाहा थियो तर उसले ममतालार्इ उसको बारेमा केही थाहा नभएको भन्दै ढाँट्दै आइरहेको थियो । फाटेको लुगा र ढाँटेको कुरा धेरै दिन लुकाउन सकिदैन भन्छन् । मदनले पनि झुठो कुरो धेरै दिनसम्म लुकाउन सकेन । आज उसले ममतालार्इ सबै कुरो साँचोसाँचो बताइदिने निश्चय गरिसकेको थियो ।
‘ममता ! अब उ तिमीलार्इ भेट्न आउने छैन’, मदनले मुटु दह्रो पार्दै भन्यो ।
ममताको शरिरको सबै रगत एकत्रित भएर मुखमा पुग्यो । उसको शरिर थरथर काम्न थाल्यो । पिलपिल आँखा पार्दै उसले भनी, ‘विन्ति दाजु त्यसो नभन्नु होस् । मेरो किशोरलार्इ के भयो ?’
‘तिम्रो किशोर अब तिम्रो रहेन बैनी, उसले अर्कै केटीसँग बिहे गरिसक्यो, उनीहरु अहिले पोखरा गइसके, उतै बस्छन् ।‘ मदनले मुटु दह्रो पार्दै एकै सासमा सबै कुरा भन्यो ।
ममताको वाक्य नै बन्द भइसकेको थियो । आँखाहरुले एकटकसँग भित्तामा हेरिरहेका थिएँ । आँखाबाट आँसुका धारा बगिरहेका थिए ।
‘मेरो साथी निष्ठुरी हो बैनी, त्यस्तालार्इ बिर्सिदेउ, यसैमा तिम्रो कल्याण हुनेछ ।‘ मदनले सम्झाउँदै भन्यो ।
‘कसरी बिर्सिनु दाजु । उसले मलाइ बर्बाद पार्‌यो, अब म यहिँ मर्छु’, उसले भक्कानिँदै भनी ।
मदनले ठूलो अनिष्टको आशँका गर्न थाल्यो । यस्तै कुनै अनिष्ट होला भनेर नै उसलार्इ साँचो कुरा बताउन सकिरहेको थिएन ।
‘आफै थाहा पाइहाल्थी नी, मैले उसलार्इ यो कुरा नसुनाएको भए पनि हुन्थ्यो होला’ उसले मनमनै भन्यो ।
मदनले आफ्ना मायालुबाट धोखा पाएका युवतिहरुको दारुण कथा पत्रपत्रिकाहरुमा दिनहुँ जसो पढेको थियो । उसको आँखा अगाडी कहिले रानी पोखरीमा डुबेको ममताको लास अगाडि आउन थाल्यो, कहिले घरको दलिनमा पासो लगाएर झुण्डिएको ममताको निर्जिव शरिर । ममता रोइरहेकी थिइ । मदन उसलार्इ सम्झाउँदै थियो ।
लाख कोशिसका वावजुद पनि उसले ममतालार्इ सम्झाउन सकिरहेको थिएन । साँझ परिसकेको थियो । बाहिर सिमसिम पानी परिरहेको थियो ।  खाटको एउटा छेउमा बसेर ममता रोइरहेकि थिइ । उता कोठाको एउटा कुनामा मदन किँकर्त्यव्यविमुख बसिरहेको थियो । मदनले बल्लतल्ल सम्झाएर उनलार्इ घर पठायो । तर उसको मनमा थरिथरिका तर्कनाहरु आउन थाले ।
‘कतै ममताले साँच्चिकै आत्महत्या गरि भने मैले के गर्ने होला ?’ मनमा यस्तै यस्तै आशँकाले गर्दा मदन रातभरि निदाउन सकेन । किशोर र ममता बीचको प्रेमकथा सिनेमाको पर्दामा जसरी एकएक गरेर उसको आँखा अगाडी आउन थाल्यो ।
किशोर मदनको स्कुलदेखिको अत्यन्तै मिल्ने साथी । किशोर केही रोमान्टिक थियो । मदन चाँही त्यसको ठीक विपरित । सेमेष्टर परिक्षा सकिएपछि काठमाण्डौँबाट उनीहरु सँगै घर जान्थे । सँगै काठमाण्डौ फर्किन्थे । तेस्रो सेमेष्टरको परिक्षा सकेर उनीहरु पोखरा जाँदै थिए । छेवैको सिटमा दुइजना महिला यात्री थिए । एकजना अलि वयस्क र एकजना किशोरी । किशोर झ्यालतिरको सिटमा थियो, मदन ‘आइल’ सिटमा बसेको थियो । पल्लो ‘आइल’ सिटमा बसेकि युवतिसँग किशोरका आँखा जुधे । हामीहरु चढेको बस नौबीसे भन्दा अगाडी बढेपछि किशोरले मदनसँगको सिट साट्यो । अब उनीहरु नजिक नजिक भए । किशोरले विस्तारै कुराकानी शुरु गर्‍यो ।
‘कहाँ जान लाग्नु भएको हो कुन्नी ?’
‘पोखरा’
‘पोखरा घर हो कि?’
‘हैन, फुपुको घर जान लागेकी ।‘
‘ए!’
‘तपाइँको घर कहाँ नी?’
‘पोखरा ‘
‘काठमाण्डौँमा पढ्दै हुनुहुन्छ ?’
‘हो, महाराजगँज क्याम्पसमा पढ्छु ।‘
‘त्यसोभए डाक्टर साब भन्नु पर्‌यो होइन त?’ उ विस्तारै किशोरसँग जिस्किन थालिसकेकी थिइ ।
मुगलिन पुग्दा नपुग्दा उनीहरुले आफ्नो मुटु साटिसकेका थिए । मुगलिनमा खाना खान सबै यात्री झरे । उनीहरु बसभित्रै थिए । यहाँ किशोर र ममता बीचको सामिप्यता झन बढेको थियो । दुवै एकअर्कालार्इ निकै माया गर्थे । एकपटक त किशोरले ममतालार्इ घुमाउन आफ्नो घर पनि लगेको थियो । ममताका दाजु नारायणगढमा जागिरे थिए । दाजुलार्इ भेट्न जाने बहाना बनाएर उ किशोरसँग पोखरा घुम्न गएकि थिइ । ‘किशोरले काठमाण्डौकि केटीलार्इ भगाएर ल्याएको’ भनेर पोखरामा उसका छिमेकीले कुरा गर्थे । किशोरका बाबु आमाले पनि ममतालार्इ मन पराएका थिए । किशोरको पढाइ सकिने बित्तिकै दुवैले विहे गर्ने निर्णय गरेका थिए ।
ममतालार्इ भेट्न सजिलो होस भनेर पोखराबाट फर्केको केही समय पछि किशोरले आफ्नो डेरा ममताको घर नजिक सार्‌यो । यसपछि दिनहुँ जसो दुवैको भेट हुन थाल्यो । उनीहरुको माया झन् झन् गहीरो हुँदै गएको थियो ।
भनिन्छ समय सधैँ एकै रहँदैन । नयाँ डेरामा सरेको केही दिनपछि उनीहरुको प्रेमकथामा बिस्तारै ग्रहण लाग्न थाल्यो । नयाँ घरबेटीकी छोरी कमलालार्इ उसको रुप र बोलीले मोहनी लगाइसकेको थियो । विहान विहान बरण्डामा कुचो लगाउने बहाना बनाएर किशोरलार्इ भेट्न आउँथि । किशोर र ममता बीचको प्रेम कहानी उनलार्इ थाहा नभएको होइन तर उ कुनै पनि हालतमा किशोरलार्इ पाउन चाहन्थी । यसको लागि सबैभन्दा पहिले उसलार्इ किशोर र ममता बीचको मायाको डोरी टुक्रा पार्नु पर्ने थियो । छलकपट बिना त्यो सम्भव थिएन । उसले यही छलकपटको बाटो अपनाउने निर्णय लिइ । एकदिन विहान बरण्डामा कुचो लगाउँदा लगाउँदै कमला किशोरको कोठामा सुटुक्क छिरी । किशोरलार्इ ममताको बारेमा भए नभएको कुरो लगाइ । किशोर सोझो थियो । कमलाको कुरो पत्यायो । विस्तारै विस्तारै किशोर कमलाको मायाजालमा फँस्दै गयो । उसले ममतालार्इ भन्दा कमलालार्इ मन पराउन थालिसकेको थियो ।
यतिकैमा किशोरको पढाइ सकियो । पढाइ सके लगत्तै उसले पोखरा तिर एउटा जागिर पनि पायो र उतै गयो । त्यसको एक महिना पछि किशोरले कमलालार्इ सुटुक्क भगाएर पोखरा लग्यो । उसले ममतालार्इ धोखा दियो ।
किशोरले ममतालार्इ छोडेको पनि करीब पाँच बर्ष भइसकेको थियो । एकदिन किशोर र कमला रन्जना हलमा सिनेमा हेर्न गएका थिए । सिनेमा हलको मूलगेटमा ‘हाउस फुल’ लेखिएको थियो । भित्र टिकट सकिएको थियो तर बाहिर ब्ल्याकमा किन्न पाइन्थ्यो । त्यतिकैमा किशोरले पछाडिबाट एउटा महिला स्वर सुन्यो, ‘दाइ टिकट चाहिन्छ ?’ उसले आवाज आएतर्फ फर्केर हेर्‌यो । त्यहाँ ममता उभिएकि थिइ । उसका कपडा मैला थिए । उ निकै दुब्ली भइसकेकि थिइ । आँखा गाडिएका थिए । हातमा चुरोटको ठूटो लिएकि थिइ । बिच बिचमा खैनी खाएर थुक्दै थिइ । चुरोट र खैनीले गर्दा ओठमा केरेठी परेका थिए । मुखबाट लोकल रक्सीको गन्ध आइरहेको थियो । किशोर छाँगाबाट खसेजस्तो भयो । उनीहरु सिनेमा नहेरी घर फर्के । ममताले उनीहरुलार्इ चिनि वा चिन्न चाहिन उही जानोस ।
आज किशोरको आँखामा निँद छैन । छेउमा कमला मस्तसँग निदाइरहेकी थिइ । उ पनि निदाउन कोशिस गर्दै थियो तर रन्जना हलको बाहिर देखेको ममताको त्यो बिरुपले उसलार्इ झकझकाइ रहेको थियो । उसले ममता सँग बिताएका दिनहरु सम्झ्यो । उसलार्इ पोखरा घुमाउन लिएर गएको दृष्य सम्झ्यो । विगतमा ममतासँग विहे गर्ने भनेर दिएका अनगिन्ती बाचाहरु सम्झ्यो । उसको आँखाका डिलहरु धकेल्दै आँसुका दाना बाहिर निस्किए । उसले मनमनै भन्यो, ‘म धोखेबाज हुँ, विश्वासघाती हुँ ।‘       


Saturday, June 4, 2016

असल नागरिक बन्न सजिलो छैन

कुरो यस्तै २०६३ तिरको हो । विहान मास्टरी र दिउसो १०-५ सरकारी इन्जिनियर । यहि नै थियो दिनचर्या । सार्वजनिक सवारी नै मेरो एकमात्र सहारा थियो । विहानको मास्टरी सकेपछि सिंहदरवारको जागिर खान हतारो हुन्थ्यो । सिनामंगल चोकबाट मध्य उपत्यकाको बस चढे‌ँ । अनावश्यक भीड भएजस्तो लाग्यो । एकजना सिनीयर नागरिकलार्इ चारैतिरबाट अँचेटेर पकेटमारहरुले उनको पाइन्टको पकेटमा हात हालको देखे‌ । उनलार्इ त्यसको कुनै आभास भए जस्तो लागेन । सानैदेखि मोरल साइन्समा पढेको 'असल नागरिक' हुने भुतले मलाइ छोप्यो । एक निमेष पनि ढिलो नगरी उनलार्इ सतर्क गराएँ । करीब बीस पच्चीस हजारको रुपैयाँको बीटो हुँदो हो उनको पकेटमा । मेरो प्रयासबाट उनको त्यो रकम जोगियो । म 'असल नागरिक' मा दरिएँ । तर कुरो यतिकैमा सकिने वाला कहाँ थियो र?
पकेटमाराहरु करीब ६ जना जति रहेछन् । त्यो कुरो मलार्इ पछिमात्र थाहा भयो । उनीहरुको पेटमा लात हान्ने म नै भएको ठहर गरेछन् । भलीबल खेलको बीचमा टाइम आउट लिएर खेलाडी एकै ठाँउमा जम्मा भएर भावि रणनीति तय गरे जसरी नै सबै पकेटमारहरु ढोका नजिकै आएर एकै ठाउँमा जम्मा भए । एक जना पकेटमारले आफ्ना साथीहरुलाइ 'त्यही जुँगे' भन्दै मलाइ देखाएर गाइँगुइँ गरीरहेको थियो । एकजना चाहीँ मतर्फ हेर्दै 'सालेलाइ चक्कु हान्नु पर्छ' भन्दै थियो । मनमा चिसो पस्यो । गाडी सिनाम‌ँगलचोक बाट तिनकुने चोक तर्फको ओरालोमा हुँइकिदै थियो । म ढोका अगाडीकै सिटमा बसेको थिएँ ।
गाडी चलिरहेको बेलामा उनीहरुले मलार्इ केही गरेनन् । तिनकुने चोकमा रातो बत्ती बल्यो । हामी चढेको बस रोकियो । एक्कासी उनीहरु सबैले एकैचोटी ममाथि घुसा, लात, मुक्का, धक्का, गाली सबै शुरु गरे । अलिअलि आश‌ँका त थियो तर यसरी अचानक भएको प्रहार थेग्न सक्ने क्षमता ममा थिएन । हल्ला गरेँ । गुहार लगाएँ । बसमा बसेका मानिसहरुले कुरो बुझ्नु भन्दा पहिलेनै मलार्इ भकुरेर उनीहरु बसबाट उत्रिएर भागे ।
रक्ताम्मे अवस्थामा बसबाट उत्रेर तिनकुने चोकमा उत्रेर मैले पुनः गुहार लगाएँ । मलार्इ सहयोग गर्ने कोही थिएनन् । विहानको करिब १० बजेको समय थियो । सडकमा गाडीहरुको ताँती थियो । रमीते भएर सबैजना रगतले लथपत मलाइ हेरिरहेका थिए । यो सबै यति छिटो भइसकेको थियो कि मैले मेरो आफ्नो शारिरिक अवस्था पनि थाहा पाएको थिइन । अब मलाइ रिंगटा लाग्न थालिसकेको थियो । आफ्नो शरिरको अवस्थाको बारेमा चिन्तित तुल्यायो । रमिता हेरिरहेका महानुभावहरुलार्इ मलाइ सहयोग गर्न अनुरोध गरें । त्यहाँ एकजना कान्तिपुर टीभीका सम्बाददाता पनि रहेछन् । उनले मलार्इआफ्नो मोटरसाइकलमा राखेर नजिकैको ल्कीनिकमा लगे । मुखमा लागेको चोटमा मल्हम पट्टी लाग्यो । उनै सम्बाददाताको अनुरोधमा कान्तिपुर टीभीमा घटना सम्बन्धमा अन्तर्वार्ता पनि लिइयो ।
घरमा यसकुराको जानकारी दिएको थिइन । बस चढ्दा टाउको ठोक्किएको भनेर टारेको थिएँ । बेलुकी कान्तिपुर समाचारमा सबै कुरो देखेपछि घरको टेलीफोनको घण्टी बज्न शुरु भयो । आफन्त तथा साथिभाइहरुको सहानुभुति, चिन्ता, क्रोध मिश्रित प्रतिक्रियाहरु आउन थाले । केही दिनपछि नेपाल इन्जिनीयर्स एसोसियसनले ध्यान आकर्षण भएको विज्ञप्ती निकाल्यो ।
डरलाग्दो सपना जस्तै यस घटनाले मलाइ सधै झकझकाइ रहन्छ ।

कान्तिपुरका सम्बाददाताहरुले बेलुकी प्रसारण गर्ने समाचारका लागि अन्य फुटिँग सँकलन गर्ने क्रममा तिनकुने चोक नजिकैको प्रहरी कार्यालयमा गएर सोधेका रहेछन्, 'दिउँसै, तपाइहरुको नाकै मुनि, एकजना सरकारी अफिसर गुण्डाहरुबाट कुटीँदा तपाइहरु के हेरेर बस्नु भएको थियो ?'
'हामीहरुकहाँ यस घटनाको रिपोर्टिँग नै भएन' प्रहरीको जवाफ यस्तै यस्तै थियो ।
'ए ! त्यसो भए जनताहरुले रिपोर्टिँग नगरे सम्म तपाइहरुलाइ यस्ता घटनाहरुका बारेमा थाहै हुँदैन है', पत्रकारले प्रश्न गरीरहेका थिए ।
'कुरो त्यसो होइन' भन्दै प्रहरी प्रतिरक्षात्मक बन्दै थियो । बीचबीचमा टाउकोमा ब्याण्डेज बाँधेको मेरो तस्वीर पनि देखाइरहेको थियो ।
कान्तिपुर टीभीमा देखाइरहेको प्रहरी पत्रकारको यो सम्बाद चलिनै रहेको थियो । मलाइ भने उक्त आक्रमणको पीडा भइरहेको थियो । मनमनै भनिरहेको थिएँ, 'आखिर राज्य किन यति निरिह?'
आफ्नो यस अनुभवको आधारमा मलाइ के लाग्छ भने काठमाण्डौमा रहेका यस्ता बगलीमाराहरुलार्इ तह लगाउन एकदम सजिलो छ । मैले कल्पना गरेको एउटा फिसिँग स्किम यस्तो छ ।
गोरखापत्रको कटीँग गरेर हजारको नोटको साइजमा एकलाखको नोटको बीटो जस्तो बनाउने । करीब पाँच छ जनाको सादा पोशाकको मार्शल आर्टमा पोख्त (जरुरी छ) प्रहरीको टोली बनाउने । उक्त प्रहरी टोली मैलो कपडा लगाएर भर्खरै गाउँबाट शहर छिरेको जस्तो देखियोस । नोटको बीटो पकेटमा भुट्ट देखिने गरी राखियोस । बगलीमाराहरु बढी घुम्ने ठाउँहरुको बस स्टाण्डमा एक दुइ जनाको दरले पालै पालो चढ्ने । ग्रुपमा भएको आभाषै नदिने । एक लाखको नोटको बीटो बोकेको, गाउँबाट आएको मानिस देखेपछी बगलीमाराहरुले र्‌याल काड्न थालीहाल्छन् र पछी लाग्छन् । पकेट काटेर नोट पनि निकाल्छन् । 
बगलीमाराहरुले नोटको बीटो झिकेपछि सबै प्रहरीहरु एकै ठाउँमा आएर बगलीमाराहरुको पहिले 'रामधुलाइ' गर्ने अनि खुट्टामा ट्रयाकर बाँधेर डाँडा कटाउने । यस प्रकार करीब चार पाँचवटा स्टीँग अपरेशन गरेपछि बगलीमाराको उन्मुलन गर्न सजिलो हुन्छ । उनीहरुलार्इ पनि त राज्यको केही डर होस न त ! 
नेपाल प्रहरीले यो काम गर्न नसक्ने पनि होइन ।
२०७३।०२।२२
काठमाण्डौ

Thursday, June 2, 2016

परामर्श सेवा

केही समय यता आवश्यक प्रकृयानै पुरा नगरी च्याउसरि उम्रेका परामर्श सेवा तथा उनीहरुले उपलब्ध गराएको परामर्श सेवामा आएको ह्रास एउटा गम्भीर समस्याको रुपमा देखिन थालेको छ । अनाडी परामर्शदाताहरुले तयार गरेका कटपेष्ट रिपोर्टको त कुरै नगरौँ, नाम चलेका परामर्शदाताले पेश गरेका रिपोर्टहरु पनि यति निम्न स्तरका आउन थालेका छन् कि यसबाट समस्याको समाधान हुनुको साटो समस्या झन बल्झिदै गएको आभास हुन थालेको छ । योजना कार्यन्वयनमा परामर्शदाताहरु जिम्मेवार हुन नपर्ने वर्तमान व्यवस्थाको कारण यसो भएको हुनसक्छ ।
एकथरी विज्ञहरु बायोडाटा बेचेर खाने गन्हाउने खेलमा मग्न छन् भने अर्को थरी विज्ञहरु काम बेचेर तरमार्ने समुहका छन् । जबसम्म परामर्शदाता तथा त्यसमा सँलग्न विज्ञहरुलाइ उनीहरुले दिएको गलत परामर्शको कारण योजना कार्यान्वयनमा आइपर्ने ब्यवधान तथा लागतबृद्धिको लागि जिम्मेवार बनाउन सकिन्न तबसम्म यस ब्याधिबाट त्राण पाउन सकिने छाँट छैन ।
परामर्श सेवाको सम्बन्धमा केही समय पहिले सुनेको एउटा रमाइलो कथा याद आयो ।
दुधको उत्पादन कसरी बढाउने सम्बन्धमा कृषि विभागले परामर्श सेवा माग गरेको थियो । एउटा नाम चलेको विदेशि फर्मले काम पायो । अध्ययन सकियो । दुध उत्पादनमा कमी भएको कारण पत्ता लाग्यो । गाउँमा काठे गाइ पालेर दुधको उत्पादनमा कमी आएको ठहर भयो । परामर्श दाताले गाउँमा भएका गाइलाइ एउटा विदेशी विकासे बहर ल्याएर लगाउने र विस्तारै काठे गाइलाइ विकासे गाइमा परिवर्तन गर्ने परामर्श दियो ।
अर्को महिना हवाइजहाजमा राखेर विकासे बहर गाउँमा ल्याइयो । गाउँभरिका गाइहरुलाइ बहर लगाउन ल्याइयो । गाइहरुको भीड बढ्दै थियो तर बहरले कुनै इच्छा देखाइरहेको थिएन । परामर्श दातालाइ निकै अप्ठेरो पर्‌यो ।
स्थानीय परामर्श दाताले उक्त विदेशि परामर्शदातालाइ कानमा आएर खुसुक्क भन्यो, 'सर हाम्रो गाउँमा एकजना जोगी छ, उसले पशुको भाषा बुझ्छ । एकपटक उसलाइ ल्याएर यो बहर गोरुसँग कुरा गराउनु पर्‌यो । के भएर बहरलाइ जाँगर नलागेको हो पत्ता लगाउन सकिन्छ की ?'
विदेशि निकै खुसी भयो र तुरुन्तै उक्त जोगीलाइ बोलाउन पठायो । जोगी आए पछी विदेशी परामर्शदाताले उसलाइ बहरसँग कुरा गर्न अनुरोध गर्‌यो । जोगीले पनि कुरा बुझ्यो । उसले परामर्श सेवा दिए बापत फि माग्यो । विदेशिले उसलाइ मागेको फि दिने कुरामा सहमती जनायो ।
जोगि बहरको छेउमा पुग्यो । बहर आरामले बसेर पाउर मार्दै थियो । जोगीलाइ देखेर टाउको हल्लायो । स्थानीय परामर्शदाताले विदेशिको कानमा गएर फुक्यो, 'सर बहरले जोगीलाइ कुरा बताए जस्तो छ ।'
एकछिन बहरको वरिपरि घुमेर जोगि आयो ।
बिदेशिले सोध्यो, 'के भन्यो त बहरले?'
जोगीले भन्यो, 'उ यहाँ काम गर्न आएकै हैन रे !'
विदेशि-अनि किन आएको रे त ?
जोगी-परामर्श दिन आएको रे !
के हाम्रा परामर्श दाता हरु पनि केवल परामर्श मात्र दिन आएका हुन् ? 
परामर्श सेवा पछि काम गर्नु पर्दैन ?