Friday, April 29, 2016

जलवायु परिवर्तन र आकास खस्ने कुरा

जलवायु परिवर्तन र आकास खस्ने कुराः

एउटा चिनीया कथा छ । एकजना मानिस सधैँ आकास खस्छ र आकासले थिचेर मरिन्छ भनेर निकै चिन्तित भइरहन्थ्यो । साथी भाइहरुले लाख सम्झाउँदा पनि उ मान्नेवाला थिएन । एकदिन आकाश खस्ने कुराले उस्लाइ यति धेरै पिरल्यो कि विहानै देखि आँगनमा बसेर भाखा हाल्दै रुन थाल्यो । साथीभाइहरुले सम्झाउँदै भने, 'हेर भाइ! पहिलो कुरा त आकास खस्दै खस्दैन, कथँकदाचित आकास खसीनै हालेछ भने पनि तिमी हामी भन्दा अग्ला मानिसहरुको टाउकोमा पहिले बज्रिन्छ । उनीहरुले थेगीहाल्छन् नी । यसैले डराउनु पर्दैन । केही हुन्न ।' उक्त मानिस ढुक्क भएछ ।

आजकल जता गयो जलवायु परिवर्तनकै कुराहरु सुन्न देख्न पाइन्छ । सँयुक्त राष्ट्रसँघ जलवायु परिवर्तनकै कुरा गर्छ । एडीबी, डब्लुबी, डीफआइडी, इयू आदि सबै जलवायु परिवर्तनकै कुरा गर्छन् । 'घोडा देखेर घोडी दगुरी कानी बुढी त्यसै दगुरी' भने झै हाम्रा निकायहरु पनि अत्यन्त जरुरी सबै कुरा छोडेर जलवायु परिवर्तनका पछाडी दगुर्न थालेका छन् । सधैँ नाम परिवर्तन भइरहने वातावरण मन्त्रालय त जलवायु परिवर्तको तालुक निकाय भएकोले सबैको हुँइयामा हुँइयाँ मिसाउनै पर्‌यो तर अन्य निकायहरु पनि हुँइया हुँइया गर्दै जलवायुकै पछाडी दगुरेको चाही बुझ्न सकिने कुरो भएन । जलवायु परिवर्तन सम्बन्धमा काम गर्ने 'मोडुस अपरेण्डी' चाही सबैको एउटै छ । एउटा परामर्शदाता नियुक्त गर्‌यो अनि रिपोर्ट लेख्न लगायो । इन्सेप्सन, इन्टेरिम, ड्राफ्ट फाइनल र फाइनल रिपोर्ट । इन्सेप्सन मा २० प्रतिशत, इन्टेरिममा २०, ड्राफ्ट रिपोर्टमा ४० प्रतिशत, र फाइनलमा बाँकी २० गरेर एउटा रिपोर्टको करीब एक करोड हाराहारीको रकम झ्वाम पार्न यी निकायहरु सफल भएका छन् । यी सबै निकायहरुले जलवायु परिवर्तन सम्बन्धमा दिने निष्कर्ष चाँही एउटै हुन्छ त्यो होः

'जलवायु परिवर्तनका कारणले गर्दा पृथ्वीको तामक्रम बढ्दो छ, समयमा पानी पर्न छोड्यो, कहिले धेरै पानी परेर बाढी पहिरो त कहिले पानी नपरेर खडेरी पर्न थाल्यो । यसले गर्दा मानिसको जिवन कष्टकर बन्न थाल्यो । समयमै यस सम्बन्धमा केही गर्न सकिएन भने सम्पूर्ण जिवहरुको अस्तित्वमाथी नै खतरा उत्पन्न हुन सक्छ । त्यसैले यस सम्बन्धमा हामीले केही गर्नु पर्‌यो ।'

रिपोर्ट बन्यो दराजमा थन्कियो । चियर्स! जलवायु परिवर्तन!! भनेर पाँचतारेमा जामहरु ठोकिए । काम सकियो ।

ए बाबा ठाकुरे!! जलवायु परिवर्तन हामी नेपालीको कारणले भएको त हैन नी । माथीको चिनीया कथाको पात्र झैँ हामीलाइ किन डराइ हिड्नु परेको होला । पहिलो कुरा त हामीलाइ जलवायु परिवर्तनले भन्दा झाडापखाला, अशिक्षा र गरिबीले बढी दुख दिएको छ । भुकम्पले बढी दुख दिएको छ । पहिलो लडाइ त यीनीहरुसँगै हुनु पर्ने हो । ल एकछिनको लागि मानौ जलवायु परिवर्तन भएर असरै गर्न थाल्यो रे ! त्यसो भएको खण्डमा हामी भन्दा पहिले त ठूला ठूला देशहरुलाइ नै बढी असर पर्ला नी त ! हामीलाइ किन खसखस । जिवनजल किन्न छाडेर किन जलवायु परिवर्तनका पछाडी दगुर्न परेको होला ?
जलवायु परिवर्तन हाम्रो पहिलो प्राथमिकता हैन ।

ठीक छ । अध्ययन अनुसन्धान नै गर्नु छ भने त्यही सधैं नाम फेरिरहने वातावरण मन्त्रालयले जलवायु उर्फ क्लाइमेट चेन्ज सम्बन्धि सबै काम गरोस न । त्यहाँबाट बाहिर आएर सबै निकाय लाइ झिझ्याउने काम चाँही नगरौ कि । अहिले आएर सबै एेरे गैरे नथ्थु खैरेहरु जलवायु परिवर्तनका पछाडी लाग्नुको मुख्य ध्येय त्यही हरीयो घाँस न हो । कसलाइ थाहा नभा हो र ।

जलवायु परिवर्तको नाममा अहिले भइरहेको स्रोतको चरम दुरुपयोगलार्इ रोक्नु नै अहिलेको प्रमुख चुनौति बनेको छ ।

जसरी आकास खसेर थिचिएर मरिदैन त्यसरी नै जलवायु परिवर्तनले हाललाइ नेपालमा केही हुने वाला छैन । केही भएछ भने नै पनि त्यो हाम्रो काबु बाहिरको कुरा हुनेछ ।

अस्तु !
२०७३।०१।१८
काठमाण्डौ ।

Saturday, April 23, 2016

समझदारी

साँझ पर्न लाग्दा
सुदुर पश्चिम क्षितिजमा 
आकाशले धरतिलार्इ भन्छ
यो सूर्य म तिमीलार्इ नाशो दिदै छु 
भोली विहानै फर्काइ दिनु ल !
धरतीले हुन्छ भन्छ ।
भोलीपल्ट विहानै
सुदूर पूर्व क्षितिजमा
धरति र आकाशको पुनर्मिलन हुन्छ ।
धरतीले आकाशलार्इ
उसको नाशो सूर्य
हस्तान्तरण गर्छ
समझदारीको यो क्रम
अनादि अनन्त देखि
निरन्तर छ ।

शायद 
सत्ता हस्तान्तरणको यही समझदारी नै
प्रजातन्त्र हो ।
लोकतन्त्र हो ।

लोकतन्त्र दिवसको उपलक्ष्यमा
२०७३।०१।११
काठमाण्डौ‌

Friday, April 22, 2016

पानी जीवन हो


हामी सानो छँदा हाम्रो गाउँमा पानीको निकै दुःख थियो । लोग्ने मानिस जति धेरै जसो लाहुरे । गाउँमा भएकाहरु विहानै देखि तासमा नारिने घरको काम भनेको ढलेको सिन्को धरी नउठाउने । उता घरका महिला सदस्यहरुलाइ भने विहान चार बजे देखि राती एघार बजेसम्म कामको माचो । विहानै उठेर घरको लिपपोत, बालबच्चाको स्याहार, बस्तुभाउको स्याहार, खेतीपातीको धन्धा, घाँस काट्ने देखि लिएर दाउरा पात गर्ने, ढीकीमा धान कुट्ने, जाँतोमा पीठो पीस्ने, घट्टमा पीठो पीस्न लैजाने । साँचिकै दुःख थियो हाम्रा आमा दिदी बहिनीहरुलाइ । यी सबै कामका अलावा पानीको जोहो गर्नु पनि हुन्थ्यो ।
उता साहुका कटेरामा समेत तीनवटा धारा, यता गाउँभरिका सर्वसाधारणलाइ एउटा धारो । गाग्रीको लाइन लाग्ने नै भयो । बिहान बल्ल तल्ल एक गाग्री पानी पाइयो भने सगरमाथा विजय गरे जत्तिकै हुन्थ्यो । कहिले काँही विहानभरी कुर्‌यो धारामा पानी नै तुर्किदैनथ्यो । यस्तो अवस्थामा डोकोमा गाग्री बोकेर तल बउर तिर लाग्नुको विकल्प थिएन । थप एक दुइ घण्टा चट । बस्तुभाउलाइ चाहीने पानी कहाँबाट पाउनु धारामा ? पोखरीमा भैसीले आहाल खेलेको गन्हाउने पानी ल्याएर गाइ भैसीलाइ ख्वाउनु पर्थ्यो । नुहाउन पर्‌यो भने काली गण्डकी या ठेउले खोलामा पौडी खेल्न जाने चलन थियो । लडीभाँती गरेर ल्याएको त्यही एक गाग्री पानीले साना साना बच्चाहरुलाइ नुहाइदिने चलन थियो । साबुन कहाँ पाइन्थ्यो र ! लुगा धुन पर्‌यो भने खरानीको बाहनमा कपडा पकाएर एउटा मुढोले ठटाउँदै लुगा धुने चलन थियो । लुगा पखाल्न ढोकोमा बोकेर तल गण्डकी तिर लाने चलन थियो । महिनावारी भएका महिलाहरुलाइ पानी पाउन अझ कठीन । नुहाइ धुवाइको कमीले कती रोग लागे होलान । कठै !! पानी र सुनमध्ये पानी महँगो थियो सुन सस्तो ।
आकासबाट पानी परेको दिन सबैभन्दा खुसीको दिन हुन्थ्यो । रुखका फेदमा केराको लोकतोले बाँधेर धारो बनाउने चलन थियो । खरको छानोबाट झरेको रातो पानी टँगालो बनाएर घरभरीका भाँडाकुँडा भर्ने चलन थियो । उछार गरेर घरका सबैले मन फुकाएर नुहाउँथ्यो । निकै रमाइलो लाग्थ्यो । बर्षाको पानीले हामी केटाकेटीहरुलाइ साँचै रोमान्चित बनाउँथ्यो ।
भनिन्छ समय बलवान हुन्छ । अहिले हाम्रो गाउँमा समयले कोल्टो फेरेको छ । आज गाउँका घरघरमा धारा छन् । सबै आँगनहरुमा प्लाष्टिकका ठुलाठूला ड्रममा पानी भरेर राखिन्छ । बाबुनानीहरुलाइ नुहाइदिन मनग्गे पानी छ । गाइबस्तुले धाराको पानी खान्छन् । धारामा साबुन लगाएर छपछप गर्दै कपडा धोइन्छ । समयको बचत भएको छ । पानीको मामलामा सबैजना खुसी देखिन्छन् । सबैजना सफा र सुकिला देखिन्छन् । अहिले हाम्रो गाउँले काँचुली फेरेको छ । विकास भएकै हो ।
पानी साँचिकै जीवन रहेछ ।

Thursday, April 21, 2016

कविताः खुसी र पश्चातापः

एका विहानै
उसलार्इ देखें
रीसले चूर भएँ
कसेर हानें
भाग्यो
लखेंटे 
भेट्टाएँ
कसेर हानेँ
लाग्यो
भुँइमा पछारियो
फेरी हानें
रगताम्मे भयो
मर्‍यो
रगताम्य उसको लाशलार्इ देखेर
मनलार्इ शकुन मिल्यो ।
रगत चाँही मेरो थियो
मरेको लामखुट्टे थियो ।
एकछिनको लागि पुरै दानव भएछु
पश्चाताप भयो ।


Wednesday, April 20, 2016

हामी कहाँ छौ? कता जाँदै छौ?

अफिसबाट घर पुग्दा गोविन्द दाइ गेटमै उभिनु भएको रहेछ । ग्यास लिन आउनु भएको तर पालो नआइपुगेकोले मेरो घर तिर तेर्सिनु भएको रहेछ । गोविन्द दाइ आफु करीब १५ बर्ष अम्रीकामा काम गरेर नेपाल फर्किनु भएको । छोरा छोरी उतै पढेका उतैका नागरिक भइसके । दाजु भाउजुलाइ भने किन हो कुन्नी गन्हाउने काठमाण्डौ मन परेर यतै आएर बस्नु भएको छ । गोविन्द दाइ सँग एकछिन भलाकुसारि भयो । कुरा सुन्दा कहाली लागेर आयो ।
ग्यासको लाइनमा बसेको करीब एक महिना भएछ । तर ग्यासवालीले अर्को हप्ता, अर्को हप्ता भन्दै झुल्याएको झुल्याइ । पानी नपाएर अर्को गाइजात्रा । आठ दस बर्ष देखि पानी लिइरहेको ट्याँकर वालालाइ पनि दश दिन पहिलै पानी बुक गरिसक्नु पर्ने रे नत्र नपाइने । भुकम्प अघि रु १२०० मा पाइने एक ट्याँकर पानीलाइ भुकम्प पछि एकैचोटी १८०० पुर्‍‌याएछन् । कारण के भनेर सोध्दा 'नाकाबन्दीले तेलै पाउन छोड्यो के गर्नु हजुर' भनेर ङिच्च हास्छ रे । "ल ठीक छ! केही छैन!!' भनेको त त्यो पनि भनेको बेला नपाइने ।
'अहिले त तेल पाउन थाल्यो नी, पैसा किन नघटाएको ?' भन्दा खडेरीले गर्दा पानी नै पाउन छोड्यो रे ।
'ए बाबा ठाकुरे ! अम्रीका छोडेर यो ठाउँमा किन आइएछ हँ भाइ ' गोविन्द दाइले लामो सुुस्केरा हाल्नु भयो ।
'कुन्नी किन आथ्यो नी बुढा यो गन्हाउने खाल्टोमा!' मैले ठट्यौली पारामा भने .
तर गोविन्दा दाइ भने निकै सिरियस देखिन्थे ।
अकारण उनी सिरियस भएका थिएनन् कारण यस्तो रहेछ ।
विधाताले सित्तैमा दिएको हावा मन फुकाएर फोक्सो भित्र हुल्न नपाउने ।
विधाताले सित्तैमा दिएको पानी पैसा दिएर पनि किन्न नपाउने ।
न बिजुली, न गतिलो सार्वजनिक यातायात ।
न बाटोघाटो, न केटाकेटीहरु खेल्ने ठाउँ ।
यस्तो जाबो ठाउँमा पनि बस्ने भाइ ? उनी फेरी बम्किए ।
उनको चाला हेर्दा बोरीया बिस्तर बाँधेर भोली नै फेरी अम्रीका भासिने पो हुन कि जस्तो लाग्यो मलाइ त ।
भलाकुसारी गर्ने एकजना असल मित्र गुमाउने त हैन भन्ने चिन्ताले मलाइ पनि बिस्तारै घेर्दै ल्यायो ।
दुनिया एक्काइसौ शताब्दिको सोह्रौ बर्षमा प्रवेश गरिसक्यो ।
तर हामी कहाँ छौँ ? कता जाँदै छौ?


२०७३ बैशाख ८ बुधवार
काठमाण्डौ

Wednesday, April 13, 2016

कविताः विदेशबाट नवबर्षको शुभकामना

दण्डपाणि जैसी
स्वदेशमा, साँझपख घामले पश्चिम देउराली डाँडाबाट
भोली भेट्ने बाचा गर्दै जान्थ्यो र
पूर्वको भन्ज्याङ डाँडाबाट विहानै चिहाउँथ्यो ।
धौलागिरी, अन्नपूर्ण, माछापुछ्रे हातेमालो गरी
स्वागतमा बसेका हुन्थे
डाँफे, मुनाल, कोइली गाउँथे
मयुर नाच्थे
मनै रमाउँथ्यो ।
चैतको उराठ लाग्दो गर्मीमा पनि
डाँडाको चौतारीमा, पीपलको छाँया मुनी
ढुँगाको सिरानीमा निदाएको,
शरदिय घाममा गुन्द्रीमा बसी निबुवा भोगटे साँदेर खाएको
स्वदेशको सेल रोटी, गुन्द्रुक, साग र सिस्नो याद आयो
यहाँ बिदेशमा पनि
घाम नअस्ताउने नउदाउने त हैन
तर पनि किन हो कुन्नी
यहाँको घाममा न त्यो न्यानोपन पाउँछु  न त्यो उज्यालो नै पाउँछु
उफ ! कस्तो उकुस मुकुस
यहाँका हिमाल पहाड मैदान पनि किन यति उराठ लाग्दा
यहाँको हवामा खै त्यो शितलता ?
कोइलीको कुहु कुहु पनि कौवाको का का लाग्न थालेको छ ।
तारे होटलको ट्रेडमिल र लिफ्टले स्वदेशको उकाली ओह्रालीलार्इ जित्न सकेन
डाँडाको चौतारीको चिसो ढुँगाले दिएको निँद यहाँको डनलपले दिन सकेन
ढुँगाको सिरानीले दिएको आनन्द सीमलको भुवाले दिन सकेन ।
घरको गुन्द्रुक मस्यौराको स्वादलार्इ यहाँको चिकन चिल्लीले जित्न सकेन ।
सबै आफ्नै तालमा मस्त
सबै आफ्नो स्वार्थमा ब्यस्त
एउटा पनि मन मिल्ने साथी पाउन सकिएन
विपनीमा सपनीमा घरकै यादले सतायो
आज एकलासमा
स्वदेशकको झन धेरै याद आयो
एक्लो, फगत एक्लो  रही
दुइहजार चौधलार्इ बाइ बाइ गर्दै
दुइहजार पन्ध्रलार्इ स्वागत गर्न बसेको छु
साथीहरुको सुस्वास्थ्य, सफलता र अझै धेरै सफलताको
शुभकामना दिन बसेको छु
शुभकामना ! शुभकामना !! शुभकामना !!!

३१ डिसेम्बर २०१४

गुवाहाटी, आसाम 

कथाःशैतान र किसानको रोटी

लियो टल्सटाय  (भावानुवादः डि.पी. जैसी)
आज पनि एका बिहानै हलो जुवा काँधमा हालेर हर्क बहादुर टारीखेत जोत्न गयो । सधैँ झैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो । जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर राख्यो, गोरुका काँधमा जुवा लगायो, हल्लुँडमा हलो अड्यायो र जोत्न लाग्यो । दिउँसोपख जब गोरुहरु पनि थाके र उसलाई पनि भोकले सतायो, हलो अड्याएर गोरुलाई पराल खान दियो र आफ्नो लागि रोटीको पोको लिन झाडी तिर गयो ।
सेखु उठाएर हेर्दा पोको त्यहाँ थिएन । ‌‌‌‌ओल्टाई पल्टाई हेर्‍यो तर पोको गायब थियो ।
मनमनै भन्यो, ‘यहीँ त राखेको हो! के अचम्म भयो! मैले कसैलाई यहाँ आएको देखिन, कसरी गायब भयो? पक्कै पनि कोही यहाँ आएको हुनु पर्छ र पोको लगेको हुनुपर्छ ।'
वास्तवमा त्यो पोको हर्केले खेत जोतिरहेको समयमा त्यहीँ नजिकको विफ्रे ओडारमा बस्ने शैतानको दुतले लुकाएको थियो । उसको उद्देश्य हर्केले उसलाई भोकको झोँकमा गाली बकोस र सकेसम्मको शैतानीपन देखाओस भन्ने थियो । यसरी गाली गर्न लगाएपछि हर्के शैतानको चेलो हुने कुरामा त्यो दुत विश्वस्त थियो ।
भोक लागेको बेला खान नपाएपछि हर्क बहादुरलाई दुःख त लाग्यो, तरपनि मनमनै भन्यो, ‘के गर्ने, हुने भइ हाल्यो,  आजको दिन खान नपाउँदैमा म मरि हाल्ने पनि त होइन नी । जस्ले लगेको भएता पनि उसलाई भोक लागेरै त लग्यो होला । उसको कल्याण होस ।'
हर्केले धारामा गएर पेटभरी पानी पीयो, एकछिन आराम गर्‍यो र पुनः जोत्न गयो ।
हर्केलाई गाली बकाउन नसकेकोमा शैतानको दुतलाई पर्नुसम्मको पीर पर्‍यो । त्यो दुत शैतानलाई खबर गर्न भनेर गयो।  
त्यति जाबो काम पनि फत्ते गर्न नसकेको भनेर शैतानले दुतलाई हप्काउँदै भन्यो, ‘यदि त्यो किसानले राम्रो काम, भलो काम गरिरहेको छ भने त्यो तेरै कमजोरीले गर्दा भएको हो । यदि त्यस किसान र उस्की स्वास्नीले यस्तै प्रकारले राम्रो काम गर्दै रहे भने त हामी शैतान भएको के सार? डाडुमा पानी तताएर डुबेर मरे भई हाल्यो नी । यो कुरालाई अब यत्तिकैमा छोड्नु हुँदैन । तुरुन्तै गएर त्यस किसानलाई बिगारेर आइजा । यदि अबका तीन बर्षमा त्यस किसानलाई विगारेर हाम्रो विचारधारामा ल्याउन सकिनस भने मैले तँलाइ गंगाको पानीमा डुबाएर ठीक पार्नेछु ।'
दुत निकै डरायो । शैतानको दुत भएर पवित्र गंगाजलमा डुब्नु सबैभन्दा ठूलो सजाय थियो । उ पुनः फर्किएर हर्केको गाउँमा पुग्यो र आफ्नो असफलतालाई कसरी सफल बनाउने भन्ने बारेमा सोच्न थाल्यो । अन्त्यमा उसले एउटा उपाय निकाल्यो ।
दुतले आफूलाई एउटा कामदारको रुपमा परिवर्तन गरेर हर्केको घरमा काम गर्न गयो । भाग्यमानीको भुतै कमारो भने जस्तो भयो हर्केलाई । पहिलो बर्ष उसले हर्केलाई खोलाखेतमा मकै लगाउने सुझाव दियो । त्यस बर्ष खडेरीले गर्दा अन्य किसानहरुको मकैवाली सबै सुकेर गयो तर हर्केको मकैवाली भने लहलहाउँदो भएर आयो । त्यस बर्ष हर्केको भकारीमा अन्नको छेलोखेलो भयो । बर्ष भरीलाई खान पुगेर पनि निकै अन्न उभ्रीने भयो ।
अर्को बर्ष दुतले हर्केलाई माथी लेकमा मकै लगाउने सल्लाह दियो । त्यस बर्ष धेरै बर्षा भएर अन्य किसानहरुले खोलाखेतमा लगाएको मकै बिग्रियो । हर्केको बाली यसपटक पनि निकै सप्रियो । यस पटक पनि हर्केको खेतमा पहिलेको भन्दा निकै धेरै मकै फल्यो । अब हर्केका भकारीमा अन्नको छेलोखेलो थियो । सधैँ अभाव बीच बाँचेको हर्केलाई यत्रो अन्नको अब के गर्ने होला भनेर चिन्ता पर्‍यो ।
सधैं झैं यसपाली पनि दुतले हर्केलाई सल्लाह दियो, ‘मालीक बढी भएको अन्नबाट रक्सी बनाउँ न ।'
हर्केलाई उसको सुझाव मनसिब लाग्यो । उसले मकैको रक्सी बनाएर आफु पनि पिउन थाल्यो, साथीभाइहरुलाई पनि बोलाएर पीउन थाल्यो ।
आज हर्केको घरमा धुमधामको भोज भतेर चल्दैछ । दुतले आफ्नो सफलता देखाउन आफ्नो मालीक शैतानलाई पनि सँगै लिएर भोज हेर्न आएको छ । हर्के आफ्ना साथीहरुसँग मिलेर रक्सी पीउँदै छ । उस्की स्वास्नीले पाहुनाहरुलाई रक्सी बाँडीरहेकी छ । त्यतिकैमा गुन्द्रीमा खुट्टा अल्झीएर उसको हातबाट एउटा गिलास खसेर रक्सी भुँइमा पोखियो  ।
हर्के आफनो स्वास्नीसँग निकै रिसायो र गाली गर्दै भन्यो, ‘अलच्छिनी ! तेरा आँखा फुटेका छन् ? माइतबाट ल्याएको तेरो बाउको सम्पत्ति ठानेकी छेस् र पोखेकी ?’
दुतको मुहारमा कुटील मुस्कान फैलियो । खुसी हुदै शैतानसँग भन्यो, ‘देख्नु भयो मालीक ? यो त्यही हर्के हो जस्ले परार साल मैले रोटीको पोको लुकाउँदा गाली गर्नुको साटो मलाई उल्टै शुभ बचन बोलेको थियो ।'
हर्केले स्वास्नीलाई गाली गर्दै पाहुनाहरुलाई आफै रक्सी थप्न थाल्यो । त्यतिकैमा खेतमा काम गरेर फर्किंदै गरेको एउटा गरीब किसान रक्सीको तलतल लागेर बिना निम्तो हर्केको दैलोमा आइपुग्यो । निकै बेर पर्खींदा पनि हर्केले उस्लाई रक्सी पिउन दिएन बरु त्यस किसानलाई ताना सुनाउँदै भन्यो, ‘बाटो हिँड्ने ऐरे गैरे लाई सदावर्त लाउन भनेर बनाएको रक्सी छैन मसँग ।'
हर्केका कुरा सुनेर शैतान निकै खुसी भयो । दुतले कुटील हाँसो हास्दै भन्यो, ‘यो त केही होइन मालिक; हेर्दै जानुस न अझै के के हुन्छ ।'
जति जति शैतानले हर्के र उसको साथीहरुको फतफत सुन्दै गयो उति उति खुला मनले आफ्नो दुतको प्रशंसा गर्‌यो ।
हर्के र उसका साथीहरुले पीउन सम्म रक्सी पीए अनि एकार्कालाई गाली गर्न शुरु गरे ।
शैतानले यो सबै चर्तीकला हेरेरै बस्यो अनि उसको सफलताका लागि दुतलाई फेरी पनि स्वाबासी दियो ।
शैतानले भन्यो, ‘यति जाबो रक्सीले उनीहरुलाई स्याल जस्तो बनाएर आफ्नै साथीहरुलाई धोका दिन सक्ने बनाउन सक्यो है ? मलाई लाग्छ, अब छिटै यीनीहरु हाम्रो अधीनमा हुनेछन् ।'
दुतले भन्यो, ‘पख्नु न मालिक,  अरु एक गिलास मात्र पीउन त दिनुस,  अनि हेर्नुहोला उनीहरुको असली चर्तीकला । अहिले उनीहरु स्याल जस्तो व्यवहार गरीरहेका छन् त्यसपछि त उनीहरु जंगली ब्वाँसोको जस्तो व्यवहार गर्नेछन् ।'
हर्केले पाहुनाहरुलाई एक गिलास रक्सी थप्यो । उनीहरुको बोली अझै जंगली हुँदै गयो । स्यालका जस्ता चिप्ला कुरा गर्न छोडेर अब उनीहरु एकार्कालाई गाली गलौज गर्न थाले । त्यसपछि उनीहरु मारपीटमा उत्रिए । हर्के समेत त्यो मारपीटमा सहभागी भयो र अरु पाहुनाहरुबाट नराम्रो सँग पिटीयो ।
शैतानले यी सबै कुरा बडो चाख मानेर हेरी रह्यो अनि खुसी हुँदै भन्यो, ‘यो त गजबै भयो बा !’
दुतले भन्यो, ‘तेस्रो गिलास त पीउन दिनु न मालिक, अझ राम्रो दृश्य त आउनै बाँकी छ । दोस्रो गिलासले ब्वाँसो भएका छन्, एक छिन पछि सुँगुर हुनेछन् ।'
हर्केले आफु लगायत सबैलाई तेस्रो गिलास रक्सी थप्यो । अब उनीहरु पूर्ण रुपमा पशु बनी सकेका थिए । जताततै होहल्ला मात्र थियो । कसैले पनि अरुका कुरा सुनीरहेका थिएनन् । उनीहरु के को लागि हल्ला गरिरहेका थिए भन्ने कुरा उनीहरुलाई नै पत्तो थिएन ।
भोज भतेरको अन्त्य हुन लागिरहेको थियो । हर्केका पाहुनाहरु लडखडाउँदै कोही एक्लै, कोही दुइजना त कुनै तीन जना भएर तितरवितर हुन थालेका थिए । हर्के पनि आफ्ना पाहुनाहरुलाई विदाइ गर्न बाहिर आएको थियो तर नजिकैको हिलोमा घोप्टो परेर लड्यो । शिर देखी पाउसम्म हिलाम्मे भयो । हिलोको त्यस आहालमा मुढो लडे झैं निकै बेरसम्म लडीरह्यो ।
यो सब दृश्य देखेर शैतान निकै खुसी भयो ।
उसले भन्यो, ‘तैंले त निकै राम्रो रक्सी बनाइछस् नी बाबै! परार साल गरेको गल्ती पनि सुधारिछस् । तर यस्तो रक्सी तैले कसरी बनाइस्?  मेरो बिचारमा तैंले रक्सीमा पहिले स्यालको रगत मिसाइस् होला जस्ले गर्दा पहिला उनीहरु स्याल जस्तै धुर्त कुरा गरिरहेका थिए; त्यसपछि तैंले ब्वाँसोको रगत मिसाइस होला जस्ले गर्दा उनीहरु ब्वाँसोको जस्तै आपसमा लड्न थाले; त्यसपछि अन्त्यमा सुँगुरको रगत मिसाइस् होला जस्ले गर्दा उनीहरु सुँगुरको जस्तो व्यवहार गर्न थाले ।'
दुतले भन्यो, ‘त्यस्तो केही होइन मालिक । मैले त त्यस किसानलाई उसको आवश्यकता भन्दा बढी मकै उब्जाउन मद्दत मात्र गरेको हुँ । पशुको रगत त मानिसहरुमा पहिले देखिनै रहेको हुन्छ । जबसम्म खान लाउन ठिक ठिकै हुन्छ तबसम्म त्यो पशुत्व उसको नियन्त्रणमा रहेको हुन्छ । त्यसैले परार साल मैले उसको रोटी लुकाउँदा पनि उसले मलाई गाली गरेन । तर जब उसँग अन्नको प्रचुरता भयो उस्ले त्यसबाट आनन्द लिने उपायहरु खोज्न थाल्यो । त्यसपछि मैले उसलाई रक्सी पीएर आनन्द लिने यो बाटो देखाएको मात्रै हो । जब उस्ले भगवानले दिएको वरदान छोडेर आफ्नो आनन्दका लागि रक्सी पीउन थाल्यो तब उसमा रहेको स्याल, ब्वाँसो र सुँगुरको रगत बाहीर आउन थाल्यो । अबदेखि रक्सी पीएर बस्यो भने मात्र पनि उसले सधैं पशुवत ब्यवहार गरिरहनेछ ।'
शैतानले आफ्नो दुतको मन खोलेर प्रशंसा गर्‍यो, पहिलेको गल्ती माफ गर्दै उसलाई माथिल्लो पदमा बढुवा गरिदियो ।
(सेतोपाटीमा समेत प्रकाशित)

Tuesday, April 12, 2016

शहिद दिवसका दिन भूपी शेरचनलार्इ लेखेको पत्र

आदरणीय भूपी शेरचन दार्इ,
तपाइको भौतिक शरिर हामी बीच नरहेता पनि तपाइका विचारहरुले मलार्इ सधैँ सधैँ सपनीमा तथा विपनीमा झकझकाइ रहन्छन् । हल्ला तथा कोलाहलको देशमा बसेर तपाइलार्इ यो पत्र लेख्ने दुस्साहस गर्दै छु । आज माघ १६ अर्थात शहिद दिवस । देशभर शहीद दिवसको बिदा छ । अफिसबाट फुर्सत पाएर यो पत्र लेख्न बसेको छु । मेरो स्कुले जिवन भारतमा बितेको हुँदा त्यहाँका स्कुलहरुमा भगत सिंह जस्ता महान शहिदहरुको गाथा पढाइ हुन्थ्यो । उनको देशभक्तिबाट म निकै प्रभावित थिएँ । त्यसपछि कलेजको जिवन काठमाण्डौमा शुरु भयो । नेपालका चार शहिदहरु दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज का बारेमा पढ्दा उनीहरुलार्इ पनि भगत सिंह सँग तुलना गरेर हेर्न थालेको थिएँ । उनीहरु प्रति श्रद्धाले शिर निहुरिन्थ्यो । जो अद्यपि छँदैछ । कलेजका शुरुका दिनहरुमा माघ १६ मा मेरो शरिरको रगतको तापक्रम अरु दिनको भन्दा फरक भएको र दिमागको सोच्ने रफ्तार पनि बढी नै भएको महशुस हुन्थ्यो । शहिदहरुले देशका लागि दिएको निस्वार्थ बलिदानका बारेमा पढ्दा दिमागमा अनेक थरीका भावनाहरुको भल बग्ने गर्थ्यो । शहीदहरुका नाममा अतिक्रमण भएर होला आजकल मलाइ पहिलेको जस्तो हुँदैन । शहीदहरुको अपमान भएको महशुश भइरहेको छ । शहीदहरुलार्इ सम्झनका लागि तपाइको कविता ‘शहिदहरुको सम्झनामा’ पढीरहेको छु । पहिलो हरफमै यस्तो लेख्नु भएको रहेछः
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुर्इ चार सपूत मरेर नगए ।
मिर्मिरेमा तारा नझरुन्जेल बिहानी नहुने कुरा त शास्वत सत्य हो तर यहाँ त दुइ चार मात्रै हैन बीसौ हजार शहिदहरु मरेर जाँदा समेत मुलुक बनेन । जहाँको त्यही रह्यो । त्यसैले भूपी दार्इ, हिजो आज मलार्इ कस्तो लाग्न थालेको छ भने मानिस मरेर जाँदैमा मुलुक बन्ने रहेनछ । ती आदरणीय शहिदहरु नमरीकनै बरु बाँचेरै लडेको भए शायद देशको अवस्था अहिलेको भन्दा राम्रो हुने थियो कि ?  गर्छु भन्ने जति मरेर जाने, नगर्नेहरु र गर्न नदिनेहरु उनै शहीदको लाशमाथी नाचेर र बाँचेर कसरी देश बन्ने हो र ? बिगत अढाइ दशकको क्रियाकलापहरुले त यही कुरा दर्शाइरहेका छन् । तपाइले कविताको अन्त्य तिर लेखेका हरफहरुले निकै मन छोयो ।
हामीले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
यहाँ कसैलाइ शहीद रुनेमा चिन्ता भए पो त । जिउँदा मानिसहरु रुँदा त मन नपग्लने बज्रस्वाँठहरुलार्इ मरेर गएका शहीदहरु रोएर वा इतिहासले धिक्कारेर वा शहीदका लासले धिक्कारेर के पो फरक पर्ने हो र ? इतिहास त भूत हो । आफूलार्इ धिक्कारेको इतिहास पढ्नकै लागि भनेर को पो बाँचेका छन् र ? ‘यावत जिवेत सुखि जिवेत, ऋणम् कृत्वम घृतम पिवेत’ को सिद्धान्तमा बाँचेकाहरुले आफुले खाने प्रत्येक गाँसमा शहीदको रगत भएको कहाँ देख्छन् र ? आफुले फेर्ने प्रत्येक सासमा शहीदको रगतको गंध लुकेको कुराको कसरी अनुभुती होला र खै उनीहरुलार्इ ?  अनि आफ्नो मुटुको प्रत्येक चालमा शहीदको धडकन भएको कुराको कसरी हेक्का होला र खै ? भूपी दाइ, तपाइले लेखेका सबैकुरा कृतज्ञहरुको देशका लागि शत प्रतिशत सही हो तर थोरै कृतज्ञ र धेरै कृतघ्नहरु बस्ने ठाउँमा कृतज्ञताको पाठ कसरी पढाउने होला ? अहिलेको अवस्था हेर्दा तपाइका यी हरफहरु निकै घतलाग्दा छन् :
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हामीले आफ्नो ब्यक्तिगत उन्नति त प्रशस्तै गरेका छौं, नगरेको कहाँ हो र ? तर तपाइले यहाँ देशको उन्नतिका बारेमा लेख्नु भएको हो । देशको उन्नति कस्ले गर्ने ?  तपाइले २०१९ सालमा कविता लेख्दा देशको जनता यसरी देशै छोडेर बाहिरिएका थिएनन् । केही लाहुरे थिए तर उनिहरु आफ्नो गाउँ ठाउँलाइ सम्झेर फर्की आएकै थिए । अहिलेको अवस्था फरक भइसकेको छ । उन्नति गर्ने पाखुरीहरु खाडी मुलुकमा संघर्ष गर्दैछन् र उता खिर्इ सकेपछि कोही काठका बाकसमा फर्किरहेका छन् भने कोही मुख र मुठी मात्र लिएर फर्की रहेका छन् । उन्नती गर्ने अधिकांश दिमागहरु युरोप, अमेरिका, अस्ट्रेलिया तिर भासिइसके । यहाँ त दलालहरुको मात्र बिगबिगी छ । यहाँ बाँकी रहेका केही पाखुरी र दिमागहरुलाइ पक्षाघात भइसकेको छ । हाम्रो देश अहिले तपाइले लेखेको हल्लै हल्लाको देशमा परिणत भएको छ । किनकि कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु संगित प्रतियोगिताका जज अद्यपि छन्; आत्मामा पत्थर परेकाहरु काब्यका निर्णायक छँदै छन्; काठका खुट्टाहरु अहिले पनि रेसमा बिजेता हुन्छन् ; प्लाष्टर गरिएका हातहरुमा देशको सुरक्षाको संगित थमाइएकै छ; बाटो तथा अट्टालिकाहरुका ढोका अगाडि आत्माका मण्डि सजाइएकै छन् ; स्टक एक्सचेन्जका शेयरजस्तै आत्मा क्रय बिक्रय गर्न सक्नेहरु यहाँ नेता भएकै छन् ; निधारभरि कर्कटपाताजस्तै चाउरी परिसकेकाहरु तन्नेरीका अगुवा पनि भएकै छन् ; यहाँका स्वतन्त्र आमाहरुले अद्यपि लाहुरेहरु जन्माइरहकै छन् । त्यसैले भुपी दाइ यो देश अहिले पनि हल्लै हल्लाको देश हो । अहिले पनि यो देश हल्लै हल्लामाथि उभिइएको छ  र हल्लै हल्लामाथि उठेको छ । २०२४ सालमा तपाइले सुनेको भोगेको हल्ला घटेको छैन बरु बढेको छ ।
भूपी दाइ, हामी अहिले पनि पानीकै थोपा छौं । २०१७ सालमा तपाइले लेख्नु भएको ‘हामी’ र २०७० सालका हामी उही निर्बलिया पानीकै थोपा भन्दा बढ्ता केही छैनौ । उही पानीका थोपा जो सूर्यद्वारा माथि उचालिन्छौ, बादल बन्छौ र हावाको इशारमा यताउति दगुर्छौ आफूलार्इ गतिशिल भन्ठान्छौ र माथि पुगेपछि हामी आफ्नो धरतीलार्इ बिर्सरहेकै छौं । यो क्रम निरन्तर चलिरहेको छ र मलाइ लाग्छ निरन्तर चलिरहने छ । कहिलेसम्म भन्ने कुरा थाहा छैन । बाहिरबाट उच्च देखिए पनि हाम्रो खिइने र घिस्सिने गति अहिले पनि बढ्दो क्रममा छ । तपाइले भने जस्तै हीनताको सानो द्वीपमा पछारिएर हामीले आफ्नो पूर्वस्मृति गुमाइसकेका छौ र बिगतको आफ्नो उँचाइलाइ बिर्सिएर सामान्य मानिसको उँचाइ देखि डर लाग्न थालेको छ । भूपी दाइ, तपाइले भने जस्तै अहिले हामी बास्तवमा लिलिपुटका लघुमानव भएका छौ ।
अहिले पनि हामी आफूखुसी मिल्न जानेका छैनौ कसैले मिलाइदिनु पर्छ । अहिले त हामीलाइ मिलाइ दिन भनौ वा छुट्याइदिन भनेर विदेशी महानुभावहरुको राँइदाइ नै छ । हाम्रो अस्तित्व अहिले पनि तपाइले बर्णन गर्नु भएको गति हराएका क्यारमबोर्डका गोटीमै सिमीत छ । खेलाडीमाथि आश्रित र एउटा स्ट्राइकरद्वारा सञ्चालित क्यारमबोडका गोटी । हामी अहिले पनि वीर नेपाली मै गनिन्छौं । त्यसैले त होला दश बर्ष सम्म एक आपसमा लड्यौ । बुद्धू भएरै त होलानी हामी वीर भएको । दाइ, अहिले पनि हामी पाइताला नै छौं । हामी सधैं दौडमा प्रथम हुन्छौं तर हाम्रो घाँटीले माला थापेकै छ, छातीले तक्मा टाँसेकै छ, र निधारले टीका थापेकै छ । यहाँ घाँटी, छाती र निधारहरुकै बोलबाला छ । तपाइले भनेजस्तै हामी गोर्खाली हैन गोरु-खाली भएका छौँ गोरुखाली ।
अन्त्यमा तपाइको ‘मेरा साथीहरु’ कविता पढें
मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर पिउन झन गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर जिउन झन् गाह्रो छ ।
भूपी दाइ, यहाँ बाच्नु भनेको सास फेर्नु मात्र भएको छ । वास्तवमै भूपी दाइ उहीले मात्र हैने अहिले पनि  यहाँ जिउन झन् झन् गाह्रो हुँदै गइरहेको छ भने शहीद हुन सजिलो ।
मनका कुरा लेख्दै गरौला ।
आजलाइ बीट मार्ने अनुमति पाउँ ।
मिति २०७२।१०।१६



कथाः बाजी


एन्टोन चेखोभ (भावानुबादः डि.पी. जैसी)
(१)
पुष महिनाको रात थियो। काजी गुमान सिंह बस्न्यात केही चिन्तित मुद्रामा आफ्नो कोठामा ओहोर दोहोर गर्दै थिए । आजको ठिक पन्ध्र बर्ष अघि आफुले आयोजना गरेको एउटा भोजमा घटेका परिघटनाहरुको संझना गरिरहेका थिए । त्यस भोजमा शहरमा नाम चलेका मानिसहरुको उपस्थिति थियो । निकै रमाइला कुराकानीहरु भएका थिए । कुराकानीकै क्रममा उनीहरुबीच मृत्युदण्डको बारेमा पनि कुरा भएको थियो । भोजमा आएका अधिकांश पाहुनाहरु मध्ये नाम चलेका पत्रकारहरु तथा बुद्धिजिवीहरु पनि थिए । उनीहरुको बिचारमा मानिसलाई मृत्युदण्ड दिएर मार्नु हुँदैन भन्ने थियो । उनीहरु मृत्युदण्डलाई बर्बर, अनैतिक तथा मानव सभ्यताको लागि कलंक ठान्थे । उनीहरु मध्ये केहीको बिचारमा मृत्युदण्डलाई विश्वमै प्रतिबन्ध लगाएर जन्मकैदमा परिणत गर्नु पर्छ भन्ने थियो ।
‘म चाँही तपाइहरुको विचारमा सहमत छैन’, भोजको आयोजक काजी साहबले भने ‘हुन त मैले मृत्युदण्ड वा जन्मकैद दुवै कुरा भोगेको छैन, तर पनि नैतिकता तथा मानवियताको हिसाबले दुई मध्ये कुन ठीक भनेर भन्नु पर्‍यो भने मलाई त जन्मकैद भन्दा मृत्युदण्ड नै ठीक हुन्छ जस्तो लाग्छ । मृत्युदण्डले मानिसलाई एकै पटकमा मार्छ तर जन्मकैदले त उसलाई जिवनभरी मारिरहन्छ । तपाईहरु मलाई एउटा कुरा भन्नुहोस त, तपाँईहरुलाई कुन चाँही जल्लाद ठीक लाग्छः जसले तपाइँलाई एकै पटकमा मार्छ वा बर्षौ लगाएर दिन दिनै मार्छ ?’
भोजमा उपस्थित एकजना पाहुनाले भने, ‘दुवै सजाय समान रुपमा अमानवीय हुन् । कुन ठीक वा कुन बेठीक भन्ने कुरै आउँदैन । किनभने दुवैको उद्देश्य त मानिसको ज्यान लिनु नै हो । राज्य भगवान हैन । उसलाई आफुले फिर्ता दिन नसक्ने कुरा अरुबाट लिने अधिकार पनि छैन ।‘
पाहुनाहरु मध्ये करीब पचीस बर्षको एकजना तन्नेरी वकील पनि थियो । कानुन बिषयको ज्ञाता पनि भएकोले सबैले यस बिषयमा उसको राय जान्न खोजेपछि उसले भन्योः
‘हेर्नुस, मेरो बिचारमा त मृत्युदण्ड र जन्मकैद दुवै अनैतिक कुरा हुन् । तर मलाई यी दुई कुरा मध्ये एउटा कुरा रोज्नै पर्ने भयो भने, म चाँही मृत्युदण्डको साटो जन्मकैद रोज्नेछु । किनभने उखानै छ, मर्नु भन्दा बहुलाउनु निको ।‘
कुराकानी रमाइलो मोडमा पुगेको थियो । त्यसबेला काजी साहेब जवान थिए, उनी केही भावुक अनि संवेदनशील पनि थिए । आवेशमा आएर टेबलमा मुड्की बजार्दै, अलि जोडले कराउँदै वकीलसँग भने, ‘वकील साहेब, मलाई तिम्रो कुरा मन परेन । ल, मैले बीस लाख बाजी लगाएँ, जन्मकैदको त के कुरा तिमी पाँच बर्ष पनि नजरबन्दमा एक्लै  बस्न सक्ने छैनौ ।‘
वकिल युवकै थियो । उसले भन्यो, ‘काजी साहब, यदि तपाँइले यो कुरा इमान्दारीताका साथ भन्नु भएको हो भने, मलाई तपाँइको बाजी मञ्जुर छ । अर्को कुरा, यदि बीस लाखकै कुरो गर्नु भएको हो भने त, पाँच हैन, पन्ध्र बर्ष खुसीसाथ नजरबन्दमा एक्लै बस्न सक्छु ।‘
(२)
काजी गुमान सिंहले पनि आवेशमा आएर कराउँदै भने, ‘पन्ध्र बर्ष? ल, बाजी पक्का भयो ! मैले पनि बीस लाख बाजी लगाएँ ।‘
वकीलले भन्यो, ‘ल, बाजी पक्का भयो, मैले पनि स्वीकारें । तपाँइ बीस लाख दाउमा लगाउनु होस्, म मेरो स्वतन्त्रता दाउमा लगाउँछु ।‘
लहै लहैमा काजीको बीस लाख र वकीलको पन्ध्र बर्ष नजरबन्दको बाजी दाउमा लाग्यो ! तिनताका काजी अथाह सम्पतीका मालिक थिए, उनलाई बीस लाख कुनै ठूलो कुरा थिएन । यस बाजीबाट काजी निकै खुसी देखिन्थे । यतिकैमा डिनर को बेला भइसकेको थियो । काजी ले वकीलको कुराको खिल्ली उडाउँदै भनेः
‘समय बाँकी नै छ है वकील साहब ! केही बिग्रीसकेको छैन । यसैले राम्रोसँग बिचार गर है ! मेरो लागि बीस लाख केही पनि हैन तर तिमी चाँही आफ्नो जिवनको तीन अथवा चार बर्षहरु बिथ्थामा खेर फाल्न गइरहेको छौ । मैले तीन या चार बर्ष भन्नुको अर्थ के हो भने, तिमी यस भन्दा बढी नजरबन्दमा बस्नै सक्दैनौ । अनि अर्को महत्वपूर्ण कुरा पनि बुझी राख, यो स्वेच्छिक नजरबन्द भन्ने कुरा अनिवार्य नजरबन्द भन्दा निकै गाह्रो कुरा हो । बीस लाखको माया मारेर स्वेच्छाले कुनै पनि बेला बाहिर निस्कन सक्ने तिम्रो जुन अधिकार हुनेछ,  त्यही कुराले तिम्रो सम्पूर्ण अस्तित्वलाई झन् झन् बन्दि बनाइरहेको हुनेछ । तिम्रो अवस्था देखेर मलाई साँच्चै दया लागिरहेको छ ।‘
अहिले काजी गुमान सिंह आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठीक पन्ध्र बर्ष अघि भएका यी सबै कुरा सम्झिरहेका थिए । उनले आफैसँग सोधे, ‘त्यस बाजीको उद्देश्य के थियो ? त्यस मानिसको पन्ध्र बर्ष र मेरो बीस लाख रुँपिया खेर फाल्नुको के अर्थ थियो ? के यस कुराले मृत्युदण्ड भन्दा जन्मकैद राम्रो हो भनेर प्रमाणित गर्न सक्छ ?  होइन । यो सब बाहियात र निरर्थक थियो । मेरो लागि यो फगत आवेश तथा लहड थियो भने उसको लागि केवल पैसाको लोभ मात्र थियो ।‘
त्यसपछि उनले त्यस साँझ भएका अन्य घटनाक्रमहरु एकएक गर्दै सम्झन थाले । उक्त बाजीमा के कुराको निर्णय भएको थियो भने त्यस वकीलले काजीको बगैंचामा रहेको एउटा घरमा कडा निगरानीका बीच नजरबन्दमा रहनु पर्ने थियो । पन्ध्र बर्ष सम्म उसले त्यस घरबाट बाहिर आउन, कुनै मानिससँग भेट्न, कुनै पनि मानिसको आवाज सुन्न, कुनै पत्र प्राप्त गर्न र कुनै पनि पत्रिकाहरु पढ्न आदि कुराहरु गर्न नपाउने सहमति भएको थियो । उसलाई एउटा बजाउने पियानो  र मन लागे जति किताबहरु राख्ने छुट चाँही थियो । यस्तै चिठि लेख्ने कुरा, रक्सी तथा चुरोट पीउने कुरा गर्न पनि उसलाई छुट थियो । संझौतामा उल्लेख भए बमोजिम उसलाई बाहिरी संसारसँग सम्पर्कको गर्नका लागि भनेर उ बसेको कोठामा एउटा सानो झ्याल बनाइएको थियो । लिखित रुपमा माग गरेको खण्डमा किताबहरु, संगितका सामग्री, रक्सी आदि कुरा चाहेको जति मात्रामा उसलाई प्राप्त हुन्थ्यो । तर बाजीको शर्त बमोजिम यी सबै कुराहरु उसलाई त्यही झ्यालबाट मात्र प्राप्त गर्ने सहमति भएको थियो । उसको बन्दि जिवनलाई पूर्ण रुपमा एकान्त बनाउनका लागि झिना मसीना कुराहरु पनि बिस्तृत रुपमा सम्झौतामा उल्लेख गरिएका थिए । वकिललाई सम्बत १९७० पुष १४ गतेको मध्यान्हबाट सम्बत १९८५ पुष १४ को मध्यान्ह सम्म सम्झौतामा तोकिएको शर्तमा रही त्यस घरमा एक्लो जिवन बिताउनु पर्ने थियो । शर्तहरु यति कडा थिए कि, यदि तोकिएको अवधी पुरा हुनु भन्दा दुई मिनेट मात्र अघि पनि सम्झौताको उलंघन भएको खण्डमा बीस लाख रुपैया तिर्नु पर्ने शर्तबाट काजीले उन्मुक्ति पाउँथे ।
(३)
बन्दिले लेखेका विवरणहरुबाट कसैले पनि सहजै अनुमान लगाउन सक्थ्यो कि नजरबन्दको पहिलो बर्ष उ एक्लोपन तथा मानसिक तनावबाट ग्रस्त भएको थियो । दिन रात उसको कोठाबाट पियानोको आवाज मात्र सुनिइ रहन्थ्यो । उसले रक्सी र चुरोट लिन अस्वीकार गरेको थियो । उसको अनुसार रक्सीले इच्छालाई उत्तेजित पार्छ र यहि इच्छा नै बन्दि जिवनको सबैभन्दा ठूलो शत्रु हो । असल रक्सी चाँही पिउन पाउने तर कसैसँग भेटघाट गर्न चाँही नपाउने जत्तिको पट्यारिलो कुरा जिवनमा अरु केही हुनै सक्दैन । कोठामा वायु प्रदुषण हुने भएककोले चुरोट लिन छोडेको भनेर लेखेको थियो । शुरुको बर्ष उसले मागेका किताबहरु सामान्य बिषयका हुने गर्थे जस्तै माया प्रेमका कथा, सनसनीपूर्ण कथाहरु र रमाइला कथाहरु आदि ।
दोस्रो बर्ष उसको कोठामा पियानो बजेन । अब उसले उत्कृष्ट उत्कृष्ट किताबहरुको माग गर्न थालेको थियो । पाँचौं बर्षमा उसको कोठाबाट संगितको धुन पुनः सुनिन थाल्यो र उसले रक्सीको पनि माग गर्न थाल्यो । झ्यालबाट उसलाई देख्नेहरु भन्थेः यस बर्ष खानु, पिउनु, ओछ्यानमा सुत्नु, हाई काड्नु र रिसाएर आफैसँग कुरा गर्नु बाहेक उसले अरु कुनै काम गरेन । उसले कुनै किताब पनि पढेन । कहिले काँहि राती लेख्न बस्थ्यो र घण्टौं सम्म लेखि रहन्थ्यो । बिहान भएपछि रातभर लेखेका सबै कुरा च्यातेर फालिदिन्थ्यो । धेरै पटक उ रोएको पनि सुनिन्थ्यो ।
छैठौं बर्षको दोस्रो भागमा उसले गम्भीर भएर भाषा, दर्शन र इतिहासको अध्ययन गर्न शुरु गर्‍यो । यी कुराहरुको अध्ययनमा उसले आफुलाई यति समर्पित गर्‍यो कि काजीलाई समेत उसले मगाएका किताबहरु उपलब्ध गराउन हम्मे हम्मे पर्‍यो । चार बर्षको अन्तरालमा उसको अनुरोधमा करीब छ सय किताबहरु मगाई सकिएका थिए । यही अवधिमा काजीले उसको निम्न अनुसारको पत्र प्राप्त गरेका थिएः
‘काजी साहब, मैले तपाइलाई यी हरफहरु विभिन्न छ वटा भाषाहरुमा लेख्दै छु । यो कुरा तत् तत् भाषा जान्ने मानिसहरुलाई देखाउनु होला, उनीहरुले यो कुरा पढुन, यदि उनीहरुले मेरो लेखाईमा एउटा पनि गल्ती फेला पार्न सकेनन् भने, एउटाअनुरोध गर्छु, बगैंचामा आएर एकपटक बन्दुक पड्काउनु होला । त्यस बन्दुकको आवाजबाट मेरो प्रयास विफल भएन भनेर मैले अनुमान लगाउने छु । मेरो बिचारमा बिभिन्न देशका, विभिन्न उमेरका विद्वानहरुले भिन्न भिन्न भाषा बोल्छन् तर उनीहरुको हृदयमा बल्ने ज्योति चाँही एउटै हो जस्तो लाग्छ । उनीहरुलाई बुझेपछि अहिले मेरो हृदयमा कस्तो अनुभुति भइरहेको छ भन्ने कुरा म यो पत्रमा बयान गरेर सक्दिन ।‘
बन्दि वकीलको इच्छा पुरा भयो । काजीले बगैंचामा एकपटक को साटो दुइपटक बन्दुक पड्काउन लगाए ।
(४)
नजरबन्दको दश बर्ष पछि त्यो बन्दि आफ्नो टेबलमा एकाग्र भई भागवत गिता मात्र अध्ययन गरेर बस्यो । काजीलाई के कुरामा आश्चर्य लागिरहेको थियो भने, जो मानिसले चार बर्ष भित्रै करीब छ सय थान उत्कृष्ट किताबहरु पढेर सक्यो, त्यही मानिस अहिले गिताको एउटा पातलो किताब च्यापेर समय बर्बाद गरिरहेको छ । गिताको अध्ययन सकेपछि उसले धर्म र इतिहास सम्बन्धी किताबहरुमा अध्ययन केन्द्रित गर्‍यो ।
बन्दि जिवनको अन्तिम दुई सालमा उसले बिना कुनै प्राथमिकता बिभिन्न बिषयका अनगिन्ती किताबहरु पढ्यो । कहिले प्राकृतिक विज्ञानका किताबहरु पढीरहेको हुन्थ्यो भने त्यसपछि देवकोटा र शेक्शपीयरका किताबहरुको माग गरिरहेको हुन्थ्यो । यही क्षेत्रको किताब भन्ने नै थिएन । एकै पटकमा रसायन बिज्ञान, औषधिहरुको पुस्तिका, उपन्यास, धर्म, दर्शन सम्बन्धी लेखहरु ल्याइदिन अनुरोध गरिएका नोटहरु पनि भेटिन्थे । उसको अध्ययनको शैली हेर्दा यस्तो लाग्थ्यो कि उ एउटा डुब्न लागेको जहाजको यात्री हो जो कहिले एउटा बाकस समातेर आफ्नो प्राण बचाउने प्रयास गरिरहेको हुन्छ त कहिले अर्कै बाकस । उसलाई देख्दा उ ज्ञानको खोजीमा भौंतारिइ रहेको प्रतित हुन्थ्यो ।
बुढा काजीले अतितका यी सबै कुराहरु सम्झिए, अनि सोच्न थालेः
‘भोली दिनको ठीक बाह्र बजे उसले आफ्नो स्वतन्त्रता पुनः प्राप्त गर्ने वाला छ । हाम्रो सम्झौता बमोजिम मैले उसलाई बीस लाख रुपैयाँ दिनु पर्ने छ । यदि मैले उसलाई बीस लाख रुपैयाँ दिएँ भने म त बर्बाद नै हुनेछु ।‘
पन्ध्र बर्ष पहिले काजीको लागि बीस लाख रुपैंया भन्ने कुरा सामान्य थियो; तर अहिले उनी ऋणको पहाडले थिचेर उठ्नै नसक्ने भएका थिए । मोजमस्ती र फजुल खर्चको कारण उनको अथाह  सम्पती नाश भइरहेको थियो । काजीको पहिलेको शान शौकत समाप्त भइसकेको थियो । अब उनी एक मध्यम वर्गिय साधारण मानिसमा परिणत भइ सकेका थिए । सम्पत्तीको नाममा काजीको दरवार र थोरै सम्पत्ती बाहेक केही बाँकी थिएन । ऋणको कुरा सम्झे पछि काजीको निधारबाट चिटचिट पसीना आउँथ्यो । दुवै हात टाउकोमा राखेर काजीले मुर्मुरिँदै भने, ‘यो अलच्छिना बाजी । हैन, यो कैदि किन नमरेको होला ? उ अहिले बल्ल चालीसको भयो । उसले म सँग भएको सबै सम्पत्ती लगेर बिहेबारी गरेर आनन्दका साथ बाँकी जिवन बिताउने छ । अनि म चाँही बुढेसकालमा एउटा भिखारीले जस्तै डाह गर्दै उसलाई हेरीरहेको हुनेछु । उसबाट सधैँ एउटै कुरा मात्रै सुनेर बस्नु पर्नेछः काजी साहेब, मेरो जिन्दगिमा खुसीयाली ल्याइदिनु भएकोमा म सदैव हजुरको ऋणि रहने छु, म हजुरलाई मद्दत गर्न चाहन्छु । यो त अति नै भयो ! अब मलाई कंगाल तथा अपमानित हुनबाट जोगाउने एकमात्र उपाय भनेको त्यस मानिसको मृत्यु नै हो, त्यसले मर्नै पर्छ ।‘
(५)
काजीको भित्ते घडीले बिहानको तीन बजेको घंटी बजायो । घरका सबैजना मस्त निद्रामा सुतिरहेका थिए । सिरेटोले हल्लाएर रुखका पातहरु बजेको आवाज बाहेक बाहिर केही पनि सुनिदैनथ्यो । काजीले बन्दीको कोठामा लगाएको तालाको चाबी पन्ध्र बर्षदेखि फलामको सेफमा सुरक्षित रुपमा राखेका थिए; बिरालोको चालमा गएर सेफबाट त्यो चाबी झिकेर कोटको पाकेटमा राखे अनि घरबाट बाहिर निस्के ।
पुषको चिसो रात, बाहिर बगैंचामा चुक घोप्टाए जस्तै अँध्यारो थियो । सिमसिम पानी परिरहेको थियो । लगातार चलिरहेको हावाका कारण बगैंचाका रुखहरु हल्लीरहेका थिए । काजीले छाम छुम गर्दै बन्दिलाई राखेको घरमा जाने बाटो पहिल्याउने कोशिस गर्दै थिए । अँध्यारो यति धेरै थियो कि उनलाई त्यहाँ भएका सेता संगमरमरका मूर्तीहरु, रुखहरु र त्यो बन्दिलाई राखेको बगैंचाको घर केही पनि देखिइरहेको थिएन । बन्दि रहेको घर पत्ता लगाउन उनले आफ्नो चौकिदारलाई दुइ पटक बोलाए । तर उताबाट कुनै जवाब आएन । चिसो मौसमका कारण चौकिदार आफ्नो कोठामा गएर सुतिसकेको थियो ।
काजीले मनमनै सोचे, ‘यदि आज मैले आफ्नो इच्छा पुरा गर्न सकें भने, पहिलो शंका त सबैले यही चौकिदारलाई नै गर्नेछन् ।‘
सिँढीँहरु छामछुम गर्दै काजी बन्दिलाई राखेको त्यस घरको प्रवेश द्वारमा पुगे । साँघुरो बाटोबाट केही अगाडी बढेपछि सलाईको काँटी कोरेर उज्यालो बनाए । त्यहाँ कुनै प्राणीको उपस्थिति थिएन ।ओछ्यान बिनाको एउटा खाट थियो, त्यसको छेउमा एउटा फलामको स्टोभ थियो । पन्ध्र बर्ष पहिले बन्दिको कोठाको ढोकामा लगाएको लाहा छाप जस्ताको तस्तै थियो । सलाइको काँटी निभेपछि काजीले बन्दिको कोठामा रहेको सानो झ्यालबाट भित्र चिहाए । उत्तेजनाले गर्दा काजीका हात खुट्टा थरथर कामीरहेका थिए । बन्दिको कोठामा मधुरो प्रकाशमा एउटा मैनबत्ती बलीरहेको थियो । बन्दि आफ्नो टेबलमा बसीरहेको थियो । त्यस सानो झ्यालबाट बन्दिको पिठ्यूँ, कपाल, तथा उसका हातहरु बाहेक केही पनि देखिइरहेको थिएन । टेबलमा, छेउका दुइवटा आराम कुर्सीहरुमा  र कार्पेटमा खुला किताबहरु यत्र तत्र देखिन्थे ।
काजीले सास रोकेर पाँच मिनेटसम्म त्यस बन्दिलाई हेरिरहे, तर बन्दि भने कुनै चलमल नगरी टेबलमा बसीरहेको थियो । पन्ध्र बर्षको नजरबन्दले उसलाई स्थिर भएर बस्न सिकाई सकेको थियो । औँलाले झ्यालमा ठकठकाए, तर बन्दिको तर्फबाट कुनै प्रतिक्रिया आइरहेको थिएन । काजीले ढोकाको तालामा लगाएको लाहा छाप फुटाएर त्यसमा चाबी छिराए । तालामा खिया परिसकेको हुनाले चाबी घुमाउँदा त्यसबाट ‘कट कट’ को आवाज आयो । कुँइकिने आवाज सहित ढोका पनि खुल्यो । काजीले सोचेका थिए कि त्यहाँ कुनै पदचाप सुनिने छ र डर मिस्रीत बन्दिको चिच्याहट सुनिने छ । तर त्यस्तो केही पनि भएन । तीन मिनेट बित्यो । कोठा एकछिन पहिले जस्तो सुनसान थियो त्यस्तै रह्यो । काजी दृढ निश्चयका साथ आफ्नो काम फत्ते गर्न अगाडी बढे ।
(६)
टेबलमा एउटा अनौठो मानिस निश्चल मुद्रामा बसिरहेको थियो । उसको शरिरमा हाड छाला बाहेक केही पनि थिएन । उसको कपाल आइमाईको जस्तै लामो थियो तथा दाह्री पनि लामा लामा भइसकेका थिए । मुहार पहेंलो थियो, गाला गाडीएका थिए र उसको ढाड पतलो र लामो भएको थियो । चिउँडोमा हात राखेर टाउको अड्याएर बसेको थियो । उसका हातहरु दुब्लाएर खिरिला भइसकेका थिए, कपाल सेतै फुलीसकेको थियो, गालामा खाडल परेको थियो । उसको अनुहार हेरेर कसैले पनि उसलाई चालीस बर्षको भनेर पत्याउने अवस्था बाँकी नै थिएन । उ मस्त निद्रामा थियो । टेबलमा उसको निहुरिएको टाउको मुनी एउटा कागजमा सफा अक्षरमा केही कुरा लेखिएको थियो ।
काजीले मनमनै भने, ‘बिचरा ! निदाएको रहेछ । शायद बीस लाख को सपना देखिरहेको होला । मैले यस अधमरोलाई खाटमा लडाएर सिरानीले मुख थिचेर मार्ने काम मात्र बाँकी छ । कुनै पनि बिशेषज्ञले यसको मृत्युलाई हत्या भनेर पत्ता लगाउनै गाह्रो पर्नेछ । तर यसलाई मार्नु भन्दा पहिला यस कागजमा के लेखेको रहेछ भनेर त हेरौं….. । ’
काजीले टेबलमा रहेको कागज उठाएर हेरे, त्यसमा यस्तो लेखिएको थियोः
‘प्रिय काजी साहेब, भोली दिनको ठीक बाह्र बजे मलाई मेरो स्वतन्त्रता पुनः प्राप्त हुनेछ र मैले  अन्य मानिसहरुसँग भेटघाट गर्न पाउने छु । तर यो कोठा छोडेर भोलीको सूर्योदय हेर्नु अघि म तपाँइलाई केही कुरा भन्न चाहन्छु । काजी साहेब, मैले पूर्ण विवेकका साथ, भगवानलाई साक्षी राखेर के भन्न चाहन्छु भने स्वतन्त्रता, जिवन र स्वास्थ अनि तपाँईका किताबहरुमा लेखिएका कुराहरु मात्र संसारका बिशिष्ट कुराहरु हुन् भन्ने कुरा म मान्दिन र यस्ता बिचारहरुलाई म तिलान्जली दिन्छु ।‘
‘पन्ध्र बर्षसम्म मैले संसारलाई पढेँ । यो कुरा सत्य हो कि मैले न कुनै मानिसलाई देख्न पाएँ, न संसारलाई नै देख्न पाएँ तर तपाइको किताबहरुमा मैले उत्तम रक्सीको रसास्वादन गर्न पाएँ, गितहरु गाउन पाएँ, जंगलमा गएर मृग र बनेलको शिकार गर्न पाएँ, सुन्दर कन्याहरुसँग प्रेम गर्न पाएँ । तपाँईका कविहरुले रचेका सुन्दर कविताहरु सधैं सपनीमा मेरो कान नजिक आएर सुन्दर कथाहरु सुनाउँथे जसको आनन्दको सीमा नै थिएन । तपाँईको किताबमा मैले सगरमाथा, कंचनजंघा हिमाल आरोहण गरेको छु, ती चुचुराहरुमा उभिएर मैले पूर्वबाट घाम झुल्केको देखेको छु र साँझमा अस्ताउने बेलामा उसले आकाशमा छरेको लालीमा र हिमाल-पहाडका चुचुराहरुलाई रातो मुकुटले सजाएको पनि देखेको छु । त्यहाँ उभिएर मैले मेरो शिर माथी बिजुली चम्केको देखेको छु र बादललाई हातले छोएको छु । मैले तपाँईका किताबहरुमा हरियो वन, धानका लहलहाउँदा खेतहरु, नदीहरुको गडगडाहट, झरनाको झरझर, ताल तलैयाहरुको रमणीय दृष्य, र ठूला ठूला शहरहरु पनि देखेको छु । मैले सल्ला घारी सुसाएको र गोठालाहरुले बजाएको बाँसुरीको धुन पनि सुन्न पाएको छु । भगवान बिष्णुको सन्देश लिएर आएको उनको बाहन गरुडको पँखेटा छोएको छु, उसँग कुरा गरेको छु । तपाँईका किताबहरुको सहायताले म अनन्त गहिराई भएको कुवा भित्र छिरेर चमत्कार देखाएको छु, मानिसहरुलाई मारेको छु, शहरहरु जलाएको छु, नयाँ धर्म सिकाएको छु र सम्पूर्ण राज्य समेत बिजय गरेको छु…..’
(७)
‘काजी साहब, तपाँइका किताबहरुले मलाई धेरै ज्ञान दिए । युगौं देखि मानिसका चंचल बिचारहरुबाट श्रृजित कुराहरु अहिले मेरो दिमागको एक कुनामा संगालिएर बसेका छन् । म दावाका साथ भन्न सक्छु कि, ज्ञानको मामिलामा म तपाँइहरु सबै भन्दा अब्बल छु ।
तर काजी साहेब, म तपाँइका किताबहरुलाई घृणा गर्छु, ज्ञान तथा संसारबाट प्राप्त वरदानलाई पनि घृणा गर्छु । यी सबै बेकारका कुरा हुन र क्षणिक छन् । मृगतृष्णा जस्तै यीनले मानिसलाई गलत दिशा तर्फ डोर्‍याइ रहेका हुन्छन् र यी भ्रमात्मक पनि छन् । तपाँइ गर्व गर्न सक्नु होला, ज्ञानी हुन सक्नु होला र असल पनि हुन सक्नु होला, तर एकदिन मृत्युले तपाँईलाई यस धरतीबाट यसरी चुँडेर लैजाने छ कि दुला भित्र बसेको मुसा र तपाँइमा कुनै अन्तर हुने छैन । एकदिन तपाँईको सम्पन्नता, तपाँईको इतिहास र तपाँईको अमर ज्ञान सबै पृथ्वीको गर्भमा समावेश भएर जानेछन्, समाप्त भएर जानेछन् ।‘
‘काजी साहेब, तपाँईले विवेक गुमाएर बाटो बिराइ सक्नु भएको छ । सत्यको ठाउँमा असत्यलाई रोज्नु भएको छ, सुन्दरतालाई छोडेर कुरुपतालाई अंगाल्न पुग्नु भएको छ । कुनै चमत्कार भएर स्याउ र  सुन्तलाका रुखमा भ्यागुता छेपाराहरु फलेछन् भने वा सुगन्धित गुलाबमा काखीको पसिना गन्हाउन थालेछ भने मात्र तपाँई सफल हुनु होला  नत्र चाँही कुन्नी । यसैले यहाँनिर म दावा साथ भन्न सक्छु कि तपाँइ भन्दा म सफल भएको छु, किनकि मैले संसारिकताको सट्टा स्वर्गलाई रोजें । अब मलाई तपाँईको बारेमा केही कुरा पनि जान्नु छैन, सबै थाहा पाइसकेको छु।‘
‘तपाँईका हरेक व्यवहारहरुलाई म घृणा गर्छु । तपाँई अहिले जुन कुराको लागि बाँचीरहनु भएको छ, म ती सबै कुराहरुलाई घृणा गर्छु । तपाँईलाई मेरा यी कुराहरुमा विश्वास लागिरहेको छैन होला, त्यसैले यस कुरालाई व्यवहारमै  प्रमाणित गर्न चाहन्छु । मैले तपाँईको बीस लाख रुपैयाँ नलिने निर्णय गरेको छु । त्यसबेला मेरो जिवनमा बीस लाख रुपैयाले ठूलो माने राख्दथ्यो, तर आज म त्यस कुरालाई घृणा गर्न थालेको छु । बीस लाख पाउने मेरो अधिकारबाट आफुलाई बञ्चित गर्नकै लागि भनेर तोकिएको समय भन्दा पाँच घण्टा पहिलै यस ठाउँबाट बाहिरिदै छु । मैले हामी बिच भएको सम्झौताको उल्लंघन गरें ।‘
सबै पढीसकेपछि काजी गुमान सिंहले त्यो चिठी टेबलमा राखे, त्यो अचम्मको मानिसको टाउकोमा म्वाइ खाए, अनि रुँदै त्यस घरबाट बाहिर निस्किए । काजीलाई आफ्नो जिवनमा यस भन्दा बढी अपमानित कहिल्यै हुनु परेको थिएन । घर पुगेर ओछ्यानमा पल्टिए तर आँखाबाट अविरल बगेको आँसु तथा भावनामा उर्लेको ज्वार भाटाको कारण काजीलाई निदाउन घण्टौं लाग्यो ।
भोलीपल्ट बिहानै चौकिदारले आएर कालोनीलो हुँदै काजीलाई त्यो बन्दि मानिस झ्यालबाट निस्केर, बगैचाको बाटो हुँदै गेटमा पुगेर गायब भएको कुरा सुनायो । काजीले चौकिदारलाई लिएर त्यस बन्दिगृहमा पुगे अनि आफ्नो बन्दि त्यहाँबाट भागेको कुरामा बिश्वस्त भए । यस घटनाको सम्बन्धमा शहरमा अनावश्यक चर्चा चल्न सक्ने संभावना भएकोले काजीले टेबलमा राखेको त्यो चिठी उठाए जसमा बीस लाख रुपैयाँ नलिने कुरा लेखिएको थियो । घर पुगेपछि काजीले त्यो चिठी आफ्नो फलामको सेफमा जतनसाथ थन्काए ।