Friday, November 25, 2016

चुहिएको छाना कस्ले टाल्ने ?


एकः चुहिएको छाना कस्ले टाल्ने ?
चारतले घर थियो । सबै तलामा फरक फरक परिवार बस्थे । छाना सबैको साझा थियो । बर्षामा छानो चुहिएछ । सबैभन्दा माथिल्लो तलाको मानिसले भनेछ, 'छाना सबैको साझा हो मैले मात्र किन टाल्ने ?' उसले आफू बच्ने उपाय निकालेछ । पानी चुहिएको छानाको ठिक तल एउटा प्वाल पारेछ । अब पानी उ बसेको भन्दा तलको तलामा त्यसै गरी चुहिन थालेछ । त्यहाँको मानिस पनि छाना टाल्न नगइ आफ्नो भुँइमा प्वाल पारेछ । पानी तल छिरेछ उ ढुक्क भएछ । एवँ रितले माथि बसेका सबैलै प्वाल पार्दा पार्दै छानाबाट चुहिएको पानी सिधै भुइँ तलामा पुगेछ । बिचरा भुँइतलाको मानिसलाइ अरु कुनै उपाय नलागेपछि छाना टाल्न गएछ र छाना टालेछ ।

दुईः बच्चाका किताबहरु किन च्यातिएका हुन्छन् ?
अफिसमा हाकिमले हकारेपछि लोग्नेले घरमा गएर आफ्नी श्रीमतिलाइ हकारेछ । श्रीमति सुँक्क सुँक्क गर्दै किचनमा बसेकी थिइन्, एकछिनपछि स्कूलबाट छोरो आएछ । झोला सोफामा फ्याँकेछ, जुत्ता एकातिर, मोजा अर्को तिर, टिफिन क्यारियर अर्को तिर मिल्काएर टीभीमा कार्टुन लगाउँदै आमासँग भनेछ, 'ममी ! भोक लाग्यो ।'
आमा चाहिँलाइ लोग्नेले हकारेको झोक कहाँ पोखु, कहाँ पोखु भैरहेको थियो छोराका गालामा एक चडकन दिँदै भनिछन्, 'ल ! खा ! भोक लागेको भए ।'
छोरो हक्क न बक्क भएछ ।
बेलुकी होम गर्न बसेको बेला आमाले गालामा लगाएको चडकन सम्झेछ । के गरु के नगरु भएपछि उसले पनि छेउमा भएको किताब निकालेर चात्न थालेछ ।
साराँसः
प्रधानमन्त्रीले मन्त्रीहरुलाई हकारेछन्, मन्त्रीले सचिवलाई, सचिबले कार्यालय प्रमुखलाई, कार्यालय प्रमुखले कारिन्दालाई, कारिन्दाले कार्यालय सहयोगिलाई, कार्यालय सहयोगिले सेवाग्राहीलाई । बिचरा ! सेवाग्राही, जताबाट पनि मारमा।
आजको यक्ष प्रश्नः यो 'एडहोकिज्म' कहिले सम्म ?


सार्वजनिक यातायात एउटा खुला पाठशाला हो

एकः खलासीको तलब
सार्वजनिक यातायातमा यात्रा गर्दा एउटा छुट्टै आनन्द आउने गर्छ । विभिन्न प्रकारका मानिसहरुसँग भेट हुन्छ विभिन्न कुराहरु सुन्न पाइन्छ । आफू चढ्ने सरकारी गाडी 'हाइज्याक' भएसी आज विहान घरबाट अफिससम्म सार्वजनिक बसमा यात्रा गर्दै थिएँ । यात्रीहरुसँग बेलैमा भाडा नउठाएको भनेर ड्राइभरले खलासीलाई यसरी हपार्दै थियो । 
'
हेरन यसको ताल ! भाते ! पहिलै भाडा उठाउन सकिनस् ?'
'
मूलालाई दिनको सातसय नपचेको ।'
'
अझ दिनदिनै मासुभात सित्तैमा खान्छ, पाँचहजार तलब बेग्लै ।'
'
हिजो छत्तीस सय कमाएको, एकचालीस सय खर्च भयो । यस्तै भातेलाई राखेर त हो नी । डुबाउने भयो यो भाते मूलाले ।'
मैले मनमनै हिसाब गरेँ । दिनको सातसयका दरले महिनाको एक्काइस हजार भत्ता । तलब पाँचहजार । मासुभातको महिनाको कम्तिमा चार हजारका दरले हिसाब गर्दा त खलासी को तलब महिनाको तीस हजार पो पुग्दो रहेछ । यात्रुलाई ठगेको र ड्राइभरबाट लुकाएको दुइचार सय पनि गन्ने हो भने त महिनाको पैतीस हजार कतै नजा ।
त्यो पचास डिग्रीको उखरमाउलोमा जानुभन्दा त काठमाण्डौको बस खलासीको जागिर नै राम्रो छैन त ?
दुईः चित्रबहादुर सिट
कार्यालय समयपछि घर फर्किँदा रिँगरोडको माइक्रो बसमा यात्रा गर्ने अवसर मिल्यो । चित्र बहादुर केसी सीट खाली रहेछ । त्यहीँ बसेँ । खलासीले ढोका नलगाउँदै ड्राइभरले गाडी हुँइक्यायो । 
मैले भनेँ ,'ए बाबु! त्यो ढोका लगाइहाल नत्र चित्रबहादुर केसी भइएला ।'
उसले कुरो बुझेन ।
मैले कुरो स्पष्ट पार्दै भने, 'तिमीलाइ थाहा छैन ? अस्ति मात्रै हाम्रा भूपू उपप्रधान मन्त्री माइक्रोबाट लडेर घाइते भएका छन् नी !'
उसले भन्यो, 'अँकल पनि जोक गर्नु हुन्छ, कही प्रधानमन्त्री पनि माइक्रो चढ्छन् ।' विचरालाई त हाम्रा भूपूउपप्रम लडेर घाइते भएको कुरा थाहै रहेनछ ।
जब अरु सहयात्रीहरुले मेरो कुरामा सहमती जनाए उस्ले कुरो पत्याए जस्तो गर्‍यो ।
मलाइ लागेको थियो हाम्रा भूपू उप्रम माइक्रोबाट लडेपछि उपत्यकाका सबै सार्वजनिक सवारी साधनहरुमा यात्रु सुरक्षाका विशेष उपाय अपनाइएको होला, ट्राफिकले थप कडाइका उपायहरु अवलम्बन गरेको होला तर त्यस्तो केही पनि भएको पाइएन । हरेक स्टपमा ढोका खोलेर यात्री नबस्दै ड्राइभरलाई गाडी हुँइक्याउन हतारो थियो । अगाडिको स्टपमा मेरो पछिल्तिरको सिट खाली भयो । मैले चिबकेसी सिट छोडेर त्यही सरेँ ।
मनमनै भनेँ, 'कठै हाम्रो सँवेदनशिलता ।'
के हामी सँबेदनाहीन हुँदै गइरहेको हो ?
आजको यक्ष प्रश्न ।


Saturday, November 12, 2016

चाकडी महात्म्य

१ 
तपाइका हाकिमको ‘मर्निङ वाक’ गर्ने बानी छ भने सबेरै उठेर हाकिम हिड्ने बाटोमा गएर उभिनु होस् । एक हप्ता सम्म  हाकिमलाई निरन्तर रुपमा धनुष्टँकारासनमा ढोग गर्नुस् । कुनै कुनै हाकिम साबहरु निकै धार्मिक स्वभावका पनि हुन्छन् । सधै विहान कुनै देवि देउताको मन्दिरमा दर्शन गर्न जाने बानी हुन्छ । उनीहरुको सधैँ निधारमा चन्दन टीका धारण गरेर अफिस आउने बानी हुन्छ । यदि यस्ता धर्मात्माहरु तपाईँका हाकिम छन् भने विहानै उठेर उनले दर्शन गर्ने मन्दिरको ढोकैमा उभिनुस । बरु भगवानको दर्शन गर्न विर्सनुहोस् तर यी धर्मात्माहरुलाई अनिवार्यरुपमा धनुष्टँकार मुद्रामा ढोग दिन चाँही नबिर्सनुहोस् । यस्ता हाकिमहरु निकै रुढ हुन्छन् । तपाईको धनुष्टँकारलाई त्यति महत्व दिए जस्तो लाग्ने छैन । तर तपाई उनीहरुको नजरमा बसीसक्नु भएको हुनेछ । तपाईँका शूरुका नौ दश वटा धनुष्टंकारहरु खेर जाने सम्भावना हुन्छ । तर हरेश नखानु होला । धनुष्टंकारको कोणमा परिवर्तन नहोस् । दुवै हात जोडेर नब्बे डिग्रीमा झुकेर गर्ने धनुष्टँकारासन उत्तम मानिन्छ । करीब एक महिनासम्म एउटै एंगलमा बराबर धनुष्टंकार चढाउनु होस् र मनले चिताएको कार्यालयमा सरुवा हुनुहोस् । मनग्गे घुस खानुस् । एउटा कुरा चाहीँ नविर्सनु होला । पहिलो भेटमा कोसेली पात लिएर जान चाँही नविर्सनु होला नी !! यस प्रकारको चाकडीमा अलि धेरै धैर्यता चाहिन्छ । हाकिमले जति वास्ता गर्दैनन् उति लिसो टाँसिदा झै टाँसी रहनु पर्छ ।
२
हाकिमको अफिस बाहिर ढुकेरै बस्ने र धनुष्टंकार चढाइ रहने । यस प्रकारको चाकडी राणाकालमा निकै प्रसिद्ध थियो । यो त्यसकै निरन्तरता हो । तिनताका मानिसहरु चाकडी बजाउन विहानै देखि सिँहदरबारको अगाडी लाइन लागेर बस्थे । श्री३ को सवारी हुने बेलामा सबैले ‘महाराजकी जय’ ‘महाराजकी जय’ भनेर जयजयकार गर्थे । महाराजको निगाह हुनु वा नहुनुमा उस्को भाग्यको भरमा हुन्थ्यो । यदि कुनै भाग्यमानी छ भने  चाँडै नै श्री ३ को निगाह हुन्थ्यो नत्र महिनौँ सम्म पनि विहानै उपस्थित हुँदै जयजयकार गरिरहनु पर्थ्यो।  श्री ३ को निगाह पाउनका लागि करीब एक महिना सम्म लगातार चाकडी बजाए पछि सामान्य मानिसले पनि दर्शन पाउँथे भन्ने गरिन्छ ।
‘यसलाइ मर्का परेकै रैच’ भनेर हाकिमको मन पग्लन सक्छ । यस प्रकारको चाकडी पनि निकै प्रभावकारी हुन्छ ।
३
यदि तपाँईको हाकिम नन भेज छ भने खिचापोखरीबाट पाँचकिलो जति कत्ले माछा लिएर हाकिम्नीकहाँ लिएर जानोस र जनकपुरको 'जलकपुर' माछा भनेर टक्रयाउनुस् । एवं रितले करीब एक महिनासम्म हाकिम्नीको माध्यमबाट हाकिमको किचनमा हप्ताको एक पटक जनकपुरको जलकपुर माछा टक्याइरहनुस् । करीब दश पटक बेठी कोशेली गरेपछि हाकिम्नी मेमसाबको अगाडी कपाल कन्याउँदै उभीनुस र मनको कुरा बताउनुस् । भोलीपल्टै मनले चिताएको काम पुरा हुनेछ ।
४
दशैको बेला चाकडीको उत्तम बेला हो । यो बेला गरिने चाकडी अलि महँगो चाहीँ हुन्छ । एउटा घोर्ले खसी डोर्‍याउँदै हाकिमकहाँ जानुस् र धनुष्टंकारका साथ हाकिम्नीलाई खसि टक्रयाउनुस् । दशैँ विदा सकिने वित्तिकै दुर्गा दाहिना हुनेछिन ।
५
हाकिमकहाँ कुकुर पालेको छ छैन हेर्ने । छ भने कुकुरको प्रसंसा गर्ने । "हजुरको डगी त नी हजुर, कस्तो ज्याद्रो । अस्ति हजुरको दर्शन गर्न जाउँ भनेर गेटबाट के चियाएको थिएँ झण्डैले खाको । कहाँबाट ल्याइसेको हजुर त्यो डगी?" हाकिमले आफ्नो डगीको कथा सुनाउने छ । बीच बीचमा बत्तीसी देखाएर हाँस्न नछोड्नु होला । यसबाट पनि काम बन्ने पक्का ।

६
जिल्लाका सबैभन्दा ठूला हाकीमको मेरीज खेल्ने बानी छ भने मृगको सुकुटी र खोया विर्केको जोगाड गर्ने अनि ठूला हाकिमलाइ मेरीज खेल्न बोलाउने । आजकल मृगको सुकुटी भनेर बाँदरको सुकुटी ल्याउने चलन छ त्यसैले आफु चाही नखाने उसलाइ पेटभरी ख्वाउने। मेरीज खेल्दा आफु चाहीँ हाकीमको देब्रे पट्टी बस्ने र यसो छड्के हेरेर हाकिमलाइ मिल्ने पत्ती फाल्ने । आफुले जानी जानी दुइ चार हजार हार्ने । उनलाइ दिनको चार पाँच हजार जिताएर पठाउने । यसबाट उनलाइ तत्काल फाइदा हुन्छ भने तपाइलाइ विस्तारै फाइदा हुदै जान्छ ।
एउटा कुरा बिचार गर्नु होला । कट फर सीट भयो भने पनि ठूला हाकिमलाइ गद्दी बाट नउठाउनु होला । नत्र लिनुको दिनु पनि पर्न सक्छ । बीच बीचमा बाँदरको सुकुटीको राम्रो राम्रो चोक्टा ल्याएर 'यो खाइसियोस त हजुर, कति मीठो छ, हुजुर आइसिन्छ भनेर स्पेशल मान्छेलाइ भनेर ल्याउन ला को' भन्न चाँही नछोड्नु होला । यसबाट तपाइको चाकडीको सुनमा सुगन्ध थपिन्छ । 
खोया बिर्केको मात लागेपछी ठूला हाकिमले पहिलेको हिसाब मिलानमा नभएको तुष पोख्दै गाली गर्न पनि सक्छन् । यस्तो अवस्थामा 'हजुर पनि त्यसै रिसाइसिन्छ' भन्दै हाँसी हाँसी गालीको स्वागत गर्ने गर्नु पर्छ । 
खान पीन सकिए पछी ठूला हाकिमलाइ झ्याँइकुटी पारेर गाडीमा हाल्ने अनि उस्को ओछ्यानमा सुकला गराएर फर्किने । 
७
जस्तोसुकै ‘पोष्ट’ किन नहोस् हाकिमको फेसबुकवालमा ‘लाइक’ र ‘कमेण्ट’ दिन नछोड्नु होला । आजकलका हाकिमहरु फेसबुकको लाइक र तपाइको कमेण्ट बक्स हेरेर तपाइ प्रति आफ्नो धारणा बनाउँछन् । हाकिमको जन्मदिनको उपलक्ष्यमा फेसबुकमा फूलबुट्टा भरिएको शुभकामनाहरु दिनु होला । हाकीमको डगी बिमार हुँदा वा स्वर्गे हुँदा पनि ‘गेट वेल सुन’ वा ‘रीप’ भनेर पोष्ट गर्न चाँही नबिर्सनु होला ।
८
अन्त्यमा, चाकडी नाप्ने सुत्र । यो सुत्रको प्रयोग सरुवा भएका वा रिटायर भएका हाकिम साबहरुले गरेमा चाकडीको सही मात्रा थाहा लाग्न सक्ने छ ।
रिटाएर भएका वा सरुवा भइ गएका हाकिम साहबहरुले निवर्तमान कार्यालयका कर्मचारीहरुले वहाँको फेसबुकमा गर्ने ‘लाइक’ को अनुभवको आधारमा निम्न सुत्र लगाइ चाकरी नापेर फेसबुकमा शेयर गरिदिनु भएमा नेपालमा हुने चाकडीको प्रतिशत थाहा लाग्ने थियो ।
C= [(A –B)/A]x100
C =
चाकडीको प्रतिशत
A =
हाकिम छँदा पाइने फेसबुके ‘लाइक’को सँख्या
B =
हाकिम छुटेपछि पाइने फेसबुके ‘लाइक’को संख्या

Sunday, November 6, 2016

विर्सिएका दुइ महान व्यक्तित्व

विर्सिएका दुइ महान व्यक्तित्व
एकः डा. लक्ष्मी नारायण झा (धनुषा)
२०४६-२०४८ ताका म धनुषामा कार्यरत रहँदा डा. लक्ष्मी नारायण झा को बारेमा कुरा हुन्थ्यो । पँचायतको विरोध गरेको आरोपमा तत्कालिन व्यवस्थाले वहाँको हत्या गरेको थियो । आजसम्म पनि वहाँको कुनै खबर छैन । डा. झा ‘सादा जीवन उच्च विचार’का धनी थिए । टायरको चप्पल र सामान्य कुर्ता पाइजामा लगाएर आफ्नो क्लिनिकमा जान्थे, विरामी जाँच्थे, फि दिन सक्नेसँग फि लिन्थे, नसक्नेलाई सित्तैमा जाँचिदिन्थे ।
घरमा दुइजना विद्यार्थी थिए । क्लिनिकबाट बेलुकी फर्केपछि बेलुका र विहानको लागि खानको लागि चाहिने पैसा विद्यार्थी केटाहरुहरुलाई दिएर बाँकी पैसा जानकी मन्दिरमा दान गरी दिन्थे । आफूसँग रुपिया पैसा राख्ने चलन थिएन । दिनभरि कमाउने बेलुकि दान गर्ने यही नै थियो उनको दिनचर्या ।
‘मानिसले सँचय गर्न हुँदैन’ भन्ने डाक्टर साहबको मान्यता थियो । कति उच्च विचार ।
सात पुस्तालाई धन सँचय गर्ने रोगले च्यापेर त होला हाम्रो देशमा भ्रष्टाचार यति मौलाएको ।
डा. लक्ष्मी नारायण झा को आत्माले चीर शान्ति पाओस् ।
दुइः इन्द्र बहादुर खड्का (दोलखा)
२०४८-२०५१ ताका म दोलखामा कार्यरत रहँदा इन्द्र बहादुर सरका बारेमा सुनेका प्रेरणादायि कुराहरु । इन्द्र बहादुर खड्का सर EAPARD स्कूल जिरी को हेडमास्टर । यो स्कूलको ढुँगाको गारो वहाँ आँफैले लगाउनु भएको रे । २०४६ साल अघी इन्द्रसर बाहेक कसैलाई पनि इपार्डको फुलफर्म थाहा थिएन रे । २०४६ सालमा बहुदल आएपछि मात्र वहाँले इपार्डको फुलफर्म ‘डिसक्लोज’ गर्नु भएछः End of Autocratic Panchayat and Rise of Democracy. कस्तो 'डिटरमिनेशन'!!!

तिनताका त्रिविमा डिग्री पढ्ने विद्यार्थीहरु राबिसे का लागि देशका विभिन्न भागमा जाने चलन थियो । काठमाण्डौका दुइजना विद्यार्थीहरु ‘इपार्ड’ स्कूलमा राविसेका लागि खटिएका थिए । तिनताका लामासाँगु जिरी सडक थिएन । लामासाँगुबाट जिरीसम्म पैदलै हिँडेर जानुपर्थ्यो । लामासाँगु पुगेपछि ती विद्यार्थीहरुले आफ्नो झोला बोक्ने एकजना भरिया खोज्दै थिए । एकजना भारी बोकेको मानिससँग सोधेछन्, ‘ए बाजे यहाँ भारी बोक्ने मानिस पाइँदैनन्?’
भरिया- ‘पाइन्छन् नी ! किन नपाइनु । बाबुहरु कहाँसम्म पुग्ने होला ? बोक्ने सामान के थियो होला?’
राविसे-‘जिरी सम्म जाने हो । सामान त यही झोला मात्र हो ।’
भरिया- ‘ए जिरी? जिरी किन जान लाग्नु भएको होला बाबुहरु ?’
राविसे- ‘हामी राविसे जान लागेको ।’
भरिया- ‘कुन स्कूलमा होला नी ?’
राविसे- ‘इपार्ड स्कूल थाहा छ ?’
भरिया- ‘किन थाहा नहुनु । म पनि जिरी नै जाने हो । यति झोला त मै बोकी दिउँला नी, ल्याउनुस ।’
यति भनेर ती भरिया दाइले ती दुईजना राबिसेहरुको झोला समेत आफ्नो डोको माथी राखेर उकालो लागेछन् । राबिसेहरु र भरिया गफगर्दै दिनभरिको बाटो हिडेर जिरी पुगेछन् । जिरी पुगेपछि भरियाले इपार्ड स्कूलमा राबिसेहरुको झोला छोडेर घरतिर लागेछन् ।
राबिसेहरु भोलीपल्ट दशबजे स्कूलमा गएछन् । उनीहरुको आँखालाई विश्वासै भएनछ । हेडमास्टरको कुर्सीमा त 
हिजो आफ्नो झोला बोक्ने भरिया पो त बसिरहेको छ । राबिसे विद्यार्थीहरु झण्डै बेहोस भएका रे । 
इन्द्र बहादुर सरले भन्नु भएछ, ‘लेसन नँ १- आफ्नो काम सधैँ आँफै गर्नु पर्छ।’
इन्द्र बहादुर सरले आफ्नो घरलाई चाहिने नुनतेल लामासाँगुबाट आँफै बोकेर जिरीसम्म लैजानु हुन्थ्यो रे । वहाँको अर्को बानी यस्तो थियो रे । बिहान स्कूल जाँदा एक डोको मल बोकेर बारीमा लैजाने र रित्तो डोको बोकेर स्कूल जाने । दिनभरि स्कूलमा पढाउने । बेलुकी स्कूलबाट घर फर्किँदा गोठमा ओछ्याउने एक डोको पतकर त्यही डोकोमा लिएर घर फर्किने ।
२०४८ सालको आम चुनावमा इन्द्र बहादुर सरले दोलखा क्षेत्र नँ १ बाट एमालेको तर्फबाट प्रतिनिधी सभाको चुनाव जित्नु भएको थियो । पछी वहाँले त्यसबाट राजीनामा दिनु भयो ।
एकपटक दोलखाबाट काठमाण्डौ आउँदा इन्द्र बहादुर सरसँग सँगै यात्रा गर्ने मौका मिलेको थियो । वहाँले भनेको अहिलेसम्म पनि याद छ ‘इन्जिनियर साब, मागि खानेले गरी खान जान्दैन बुझ्नु भयो ?’
शायद हामी मागेर खानमै उस्ताद भएकोले नै होला गरी खान नजानेको ।

Wednesday, November 2, 2016

पराजयको विजय

(हिन्दी साहित्यका प्रसिद्ध कथाकार सुदर्शन को कथा ‘हार की जीत’ को नेपाली अनुवाद )

पराजयको विजय
सुदर्शन (अनुवादः डि.पी.जैसी)

आमालाई आफ्नो छोरा र किसानलाई आफ्नो लहलहाँउदो खेत हेरेपछि जुन आनन्द आउँछ, त्यही आनन्द बाबा भारतीलाई आफ्नो घोडा हेर्दा आउँथ्यो । भगवद्-भजनबाट बाँकी रहेको समय घोडालाई अर्पण हुन्थ्यो । त्यो घोडा निकै सुन्दर थियो, निकै बलवान थियो । उसको बराबरको जोडा पुरै इलाकामा थिएन । बाबा भारती त्यसलाई ‘सुल्तान’ भनेर बोलाउँथे, आफ्नो हातले सुमसुम्याउँथे, आँफै दाना ख्वाउँथे अनि त्यसलाई हेरेर प्रसन्न हुन्थे । उनले आफ्नो धन-सम्पति जग्गा-जमीन सबै छोडिदिएका थिए, यहाँसम्म कि उनलाई शहरको जीवनबाट समेत घृणा थियो । अहिले गाउँबाट बाहिर अवस्थित एउटा सानो मन्दिरमा बस्ने गरेका थिए अनि भगवानको भजन गर्थे । उनलाई ‘म सुल्तान बिना बाँच्न सक्दिन’ भन्ने भ्रान्ति भइसकेको थियो । उनी उसको चालबाट मुग्ध थिए । भन्थे ‘यसको चाल यस्तो छ कि मानौँ बादल देखेर मयूर नाचिरहेको होस् ।’ साँझपख एकपटक सुल्तानमा चढेर जबसम्म आठ दश मीलको चक्कर लगाउँदैनथे तबसम्म उनलाई चैन आउँदैनथ्यो ।
खडगसिँह त्यस इलाकाको प्रसिद्ध डाँकू थियो । मानिसहरु उसको नाम सुनेर थरथर हुन्थे । एक कान दुई कान मैदान हुँदै सुल्तानको बयान उसको कानसम्म पनि पुग्यो । उसको हृदय सुल्तानलाई हेर्न चन्चल हुन थाल्यो । एक दिन दिउँसोको समयमा बाबा भारतीकहाँ पुग्यो अनि नमस्कार गर्दै बस्यो । बाबा भारतीले सोधे, ‘हालखबर के छ खडगसिँह ?’
खडगसिँहले झुक्दै उत्तर दियो, ‘हजुरको दया छ ।’
‘यतातिर कति कामले आयौ ?’
‘सुल्तानको चाहनाले तानेर ल्यायो ।’
‘विचित्रको जनावर छ । हेर्‌यौ भने प्रसन्न हुनेछौ ।’
‘मैले पनि निकै प्रशँसा सुनेको छु।’
‘उसको चाल देखेपछि तिमी मोहित हुने छौ ।’
‘भन्छन् हेर्दा पनि निकै सुन्दर छ रे।’
‘कुरै नगर न ! जसले उसलाई एकपटक हेर्छ हृदयमा उसको चित्र अँकित हुन्छ ।’
‘धेरै दिनदेखिको अभिलाषा थियो आज उपस्थित हुन पाएको छु।’
बाबा भारती र खडगसिँह तबेलामा पुगे । बाबाले घमण्डका साथ घोडा देखाए, खडगसिँहले आश्चर्य मान्दै हेर्‌यो । उसले सयकडौँ घोडा देखेको थियो तर यस्तो चिटिक्क परेको घोडा उसले कहिल्यै देखेको थिएन । सोच्न थाल्यो, भाग्यको कुरा हो । यस्तो घोडा त खडगसिँहसँग हुनुपर्ने हो । यो साधुलाई यस्ता चीजबाट के लाभ ? केही बेरसम्म आश्चर्यका साथ चुपचाप उभिइरह्यो । त्यसपछि उसको हृदयमा हलचल हुन थाल्यो । बालक जस्तै चँचल हुँदै भन्यो, ‘तर बाबाजी, यसको चाल नहेरी यसै के भनौँ र खै ?’
अरुको मुखबाट सुन्नका लागि उनको मन चँचल भइरहेको थियो । घोडालाई खोलेर बाहिर लगे । घोडा वायु-वेगले उड्न थाल्यो । उसको चाल देखेपछि  खडगसिँहको मुटु इर्ष्याले जल्यो । किनकि उ एउटा डाँकू थियो  त्यसैले आफूलाई मन परेको वस्तुमा आफ्नो अधिकार सम्झिन्थ्यो । उसँग बाहुबल थियो अनि मानिसहरु पनि थिए । जाँदा जाँदै उसले भन्यो, ‘बाबाजी, अब यो घोडा म तपाइसँग रहन दिन्न ।’
बाबा भारती डराए । अब उनलाई रातमा नीँद आउन छोड्यो । सम्पूर्ण रात तबेलामा बिताउन थाले । प्रत्येक क्षण खडगसिँहको भयले सताइरहन्थ्यो, तर कैयौँ महिना बीतिसके पनि उ आएन । अब चाहीँ बाबा भारती केही असावधान समेत हुन थाले र यस डरलाई एउटा झूठो दुःस्वप्नका रुपमा लिन थाले ।
साँझको समय थियो । बाबा भारती सुल्तानको पीठमा बसेर बाहिर घुम्न निस्किएका थिए । यतिबेला उनका आँखामा चमक थियो, मुखमा प्रसन्नता । कहिले घोडाको शरीरलाई हेर्थे, कहिले उसको रँगलाई अनि मनैमन दँग पर्थे । एकतिरबाट अचानक आवाज आयो, ‘ए बाबा, यस गरीबको पनि केही कुरा सुन्दै जाउ।’
आवाजमा करुणा थियो । बाबाले घोडा रोके । उनले देखे कि एउटा अपाङ्ग मानिस रुखको छाँयामा बसेर कहराइ रहेको थियो । उनले सोधे, ‘तिमीलाई के दुःख पर्‌यो ?’
अपाङ्ग मानिसले हात जोड्दै भन्यो, ‘बाबा म दुःखी छु । ममाथी दया गर्नुहोस् । रामवाला यहाँबाट तीन मील टाढा छ, मलाई त्यहाँ पुग्नु छ । घोडामा चढाएर लानुस्, भगवानले तपाँइको कल्याण गर्नेछन्।’
‘त्यहाँ तिम्रो को छ?’
‘तपाँइले दुर्गादत्त वैद्यको नाम त सुन्नु भएको होला । म उनैको सौतेनी भाई हूँ।’
बाबा भारतीले आफू घोडाबाट उत्रिएर त्यस अपाङ्ग मानिसलाई घोडामा चढाए अनि आँफै लगाम समाएर विस्तारै विस्तारै हिड्न थाले । अचानक उनलाई एउटा झट्का जस्तो लाग्यो अनि हातबाट लगाम छुट्यो । उनले देखे कि त्यो अपाङ्ग मानिस घोडाको पीठमाथी तनक्क तन्केर बसेको छ अनि घोडालाई दौडाउँदै लिएर जाँदैछ ।  उनी आश्चर्यचकित भए । उनको मुखबाट भय, विस्मय अनि निराशा मिश्रीत चित्कार निस्क्यो । त्यो अपाङ्ग मानिस डाकू खडगसिँह थियो । बाबा भारती केही बेरसम्म चुप लागेर बसे अनि एकछिन पछि पूरा बल लगाएर चिच्याउँदै भने, ‘एकछिन पख ।‘
आवाज सुनेर खडगसिँहले घोडा रोक्यो अनि उसको गर्दनमा मायापूर्वक हातले मुसार्दै भन्यो, ‘बाबाजी, अब यो घोडा तपाँइलाई दिन्न।’
‘एउटा कुरा भन्छु सुन।’ खडगसिँह रोकियो ।
बाबा भारती नजिक गएर उसलाई यसरी हेरे जसरी बगरेलाई बाख्राले हेर्छ अनि भने, ‘यो घोडा तिम्रो भइ सक्यो । मैले यसलाई फिर्ता गर्न भन्दिन । तर खडगसिँह, केवल एउटा प्रार्थना गर्छु । यसलाई अस्वीकार नगर ल! नत्र मेरो मन दुख्नेछ ।’
‘बाबाजी, आज्ञा होस् । म तपाइँको दास हूँ, तर घोडा दिन्न।’
‘अब घोडाको नाम नलेउ । मैले यस विषयमा तिमीलाई केही पनि भन्ने छैन । मेरो प्रार्थना यति मात्र हो कि यो घटना कसैसँग पनि प्रकट नगर्नु ।’
आश्चर्यले गर्दा खडगसिँहको मुख खुलेको खुलै रह्यो । उसले सोचेको थियो कि उसलाई घोडा लिएर यहाँबाट भाग्नु पर्नेछ तर बाबा भारती स्वयँले उसँग यो घटना कसैसँग पनि प्रकट नगर्न भन्दैछन् । यसबाट के प्रयोजन सिद्ध हुन सक्छ ? खडगसिँहले निकै सोच्यो, टाउको दुखायो तर केही पनि बुझ्न सकेन । उसले हार खाँदै बाबा भारतीको मुखमा आँखा गाडेर सोध्यो, ‘बाबाजी यसबाट तपाईलाई के डर छ ?’
यो सुनेर बाबा भारतीले उत्तर दिए, ‘मानिसहरुलाई यदि यस घटनाको बारेमा थाहा भयो भने उनीहरुले दीन-दुखि माथी विश्वास गर्न छोड्ने छन् ।' यति भन्दै उनले सुल्तानतिरबाट यसरी मुख फर्काए कि मानौँ उससँग उनको कुनै सम्बन्धै छैन ।
बाबा भारती त्यहाँबाट गए । तर उनका शब्दहरु खडगसिँहका कानमा उसैगरी गुन्जिरहेका थिए । सोच्थ्यो कति उच्च विचार, कति पवित्र भाव ! उनलाई यस घोडासँग प्रेम थियो, यसलाई हेरेर उनको मुख फूल जस्तै मुस्कुराउँथ्यो । भन्थे, ‘यो बिना म बाँच्न सक्दिन।’ यसको चौकिदारीमा उनी कैयौँ रात अनिँदो बसे । भजन भक्ति छोडेर चौकिदारी गरिरहे । तर आज उनको मुहारमा दुखको एउटा रेखा समेत देखिँदैन । उनलाई केवल यति पीर थियो कि मानिसहरु दीन-दुखिमाथी विश्वास गर्न नछोडिदिउन । यस्तो मानिस, मानिस हैन देवता हो ।
रात्रिको अन्धकारमा खडगसिँह बाबा भारतीको मन्दिरमा पुग्यो । चारैतिर सुनसान थियो । आकाशमा ताराहरु पिलपिल गरिरहेका थिए । केही पर गाउँमा कुकरहरु भुकीरहेका थिए । मन्दिर भित्र कुनै शब्द सुनिइरहेको थिएन । खडगसिँहले सुल्तानको लगाम समातेको थियो । उ विस्तारै विस्तारै तबेलाको गेटमा पुग्यो । गेट खुलै थियो । कुनैबेला त्यहाँ बाबा भारती स्वयँ पहरा दिइरहेका हुन्थे, तर आज उनलाई कुनै चोरी, कुनै डकैतिको डर थिएन । खडगसिँह अगाडी गएर सुल्तानलाई उसको स्थानमा बाँधी दियो अनि बाहिर निस्केर सावधानीपूर्वक गेट लगाइदियो । यतिबेला उसको आँखामा खुसीको आँसु बगिरहेको थियो । 
रात्रिको तेस्रो प्रहर बितीसकेको थियो । चौथो प्रहर शुरु हुने बित्तिकै बाबा भारती आफ्नो कुटीबाट बाहिर निस्केर चिसो पानीले स्नान गरे । त्यसपछि सपनामा हिँडे जस्तै उनका खुट्टाहरु तबेला तर्फ अघी बढे । तर गेटमा पुगेपछि उनलाई आफ्नो भूल महशूस भयो । साथै घोर निराशाले गर्दा खुट्टाहरु एकमन जत्तिकै गह्रुँगो भएको अनुभव भयो । उनी त्यहीँ अडिए । घोडाले आफ्नो स्वामीको पदचाप थाहा पाएर जोडसँग ‘हीही’ गर्‍यो । बाबा भारती आश्चर्य तथा प्रसन्नताका साथ दगुर्दै भित्र गए अनि आफ्नो प्यारो घोडालाई अँगालो मारेर यसरी रुन लागे जसरी धेरैदिन देखि बिछोड भएको आफ्नो छोरासँग भेट भएको बाबु रुन्छ । पटक पटक उसको पीठमा हात राख्थे, पटक पटक उसको मुख थपथपाउँथे । त्यसपछि सन्तोषपूर्वक भने, ‘अबदेखि कोही पनि मानिसले दीन-दुखिलाई देखेको नदेखै गर्ने छैन ।’

सेतोपाटीमा प्रकाशित (http://setopati.com/sahityapati/56169/) 



  







Tuesday, October 11, 2016

लघुकथाःदशैँ

यसपाली दशमीको टिकाको साइत चाडैँ परेको थियो । सुन्तलीले विहानै घरको पिढीँमा गाइको गोबरले लिपपोत गरेर राम्रो बनाएकी थिइ । टीकाको साइत घर्कँदै थियो, जुठेले हतार हतार पिढीँमा नयाँ गुन्द्री ओछ्यायो । भुन्टे र पुन्टी गुन्द्रीमा आएर बसे । जुठेले एउटा पुरानो थालमा दही र चामल मुछ्यो । दुवैजनाले पालै पालो भुन्टे र पुन्टीका निधारमा सेता अक्षता लगाइदिए । टीका लगाइ नसक्दै भुन्टेले निधारमा लगाएको टीका हातले पुछेर कपाकप खान थाल्यो । त्यो देखेर पुन्टीले पनि निधारको टीका पुछेर खार्इ । धनीलाइ भन्दा गरिबलाइ देउताको बढी डर हुन्छ भन्छन् । जुठेलार्इ देउता रिसाएर के अनिष्ट हुने हो भन्ने पीरले छोप्यो । उसले एउटा जुक्ति निकाल्यो ।
जुठे- ए सुन्तली ! ले ले एउटा डोरी ।
सुन्तली- हैन यो टीकाओ बेलाँ किन चाइया हो डोरी ?
जुठे- देखिनस्, भुराहरले निधाराँ लाका टीका सप्पै खाइदिए । यिनलार्इ हात बाँधेर फेरी टीका लाउन परो । नत्र त इनले निधाराँ टीका रहनै दिन्नन् ।
सुन्तली- बर्षओ एक दिन त हो नी भुराभुरीले दही चामलको मुख देख्न पाका । खाएर के विआरेआ छन् तनी ? खान दिए त भैगोनी ।
जुठे- हैन सुन्तली, देउता रिसाउँचन् । एक छिन त नीधाराँ अक्षेता राख्नु पर्च बुझिस् !
सुन्तलीले बुझे झै गरी टाउको हल्लाउँदै भित्र गइ र भित्रबाट एउटा नाम्लाको बरीयो ल्याएर जुठेलार्इ दिइ । भुराभुरीले देउताका अक्षता खाइदिएको झोकमा जुठेले भुन्टे र पुन्टीलार्इ पहिला एक एक थप्पड हान्यो र त्यसपछि उनीहरुको हात पछाडी फर्काएर बाँधिदियो । टीकाको साइत घर्कि सकेको थियो । ‘हिड्दा ठेस नलाओस, कोर्दा केश नझरोस, देवि भउती दाइना हुन, आँटे ताकेको पुओस्’ भन्दै जुठे र सुन्तलीले फेरी एकपटक आफ्ना छोराछोरीका निधारमा दहीमा मुछेका सेता अक्षता लगाइ दिए ।
'
भोक लाग्यो! हात खोल्देउ न बा !’  भन्दै आँगनमा बसेर भुन्टे र पुन्टी रुँदै थिए । तर न जुठेले उनीहरुको बाँधेको हात फुकाइ दियो, न सुन्तलीले फुकाइ दिइ । उनीहरुलार्इ भुराभुरीले फेरी देउताको टीका खाइदेलान् र घरमा कुनै अनिष्ट आइलाग्ला भन्ने पीर थियो ।
'
दुनियामा भोक नै सबैभन्दा ठूलो आविष्कारक हो' भनेर भनिन्छ । एकछिन पछि आँगनको डिलमा एउटा अचम्मको दृष्य देखियो ।
भुन्टेले पुन्टीको निधारको दही-चामल खाँदै थियो भने पुन्टीले भुन्टेको निधारको ।
यो दृष्य देखेपछि जुठे र सुन्तलीका आँखा रसाए । दगुर्दै गएर छोराछोरीको हात फुकाइदिए ।
जुठे र सुन्तलीले एकै स्वरमा भने, ‘धिक्कार छ हाम्रो जुनीलार्इ । एउटा चाडबाडमा समेत भुराभुरीले एक छाक मीठो मसिनो खान पाउँदैनन् । हे दैव हामी गरीपलार्इ यो दशैँ कहिलै नआओस !’