Saturday, January 14, 2017

विश्वासको सँकट

विश्वविद्यालयको दर्शनको कक्षामा शिक्षकले विद्यार्थीलाई सोधेछन् जिवनको अन्तिम सत्य के हो । अनेक उत्तर आएछन् तर एकजना विद्यार्थीको उत्तरबाट शिक्षक निकै खुसी भएछन् । उसको उत्तर थियो,'जिवनको अन्तिम सत्य भनेको विश्वास हो । विश्वास नभए सृष्टि पनि रहँदैन ।' शिक्षक निकै खुसी भएछन् । अहिले जहाँतहाँ विश्वासको क्षय भइरहेको छ । सबैले सबैलाई दोषि देख्छन् । कसैले कसैको विश्वास गर्न छोडिसके ।
हिजो जलस्रोत विकास सँस्थाको १७औँ साधारण सभामा भाग लिन जानु थियो । ढिलो भइरहेको थियो । जावलाखेलबाट रत्नपार्कको माइक्रोबस चढेँ । सिट खाली थिएन त्यसैले उत्रिन लागेको थिएँ खलासीले भन्यो, 'त्यही पुल्चोकमा खाली भइहाल्छ नी अँकल , एकछिन उभिनुहोस न पुल्चोकबाट सीट पाइन्छ ।
पुल्चोकमा कोही उत्रिएनन् अझै दुइचारजना यात्रु थपिए । मैले खलासीलाई भनेँ, 'खोइ त पुल्चोकमा खाली हुन्छ भनेको होइन ?'
उसले पहिले नसुनेको जस्तो गर्‍यो त्यसपछि ङिच्च हाँस्दै भन्यो, 'यस्तै हो अँकल, काठमाण्डुमा भनेको बेला कहाँ सीट पाइन्छ । सीटमा बसेर जाने भए त ट्याक्सी चढ्नु पर्छ ।'
'गुहुमा हानि मुखमा छिटा' भन्छन् त्यसैले केही नबोली उभिरहेँ । कुपण्डोलको ओह्रालो देखि थापाथली सम्म जाम थियो । साह्रै सकस साथ उभिरहेँ । बस सुनधारा पुग्यो । मलाइ दरवारमार्ग जानु थियो । त्यसैले सोधेँ, 'बाबु !यो बस जमल घुमेर जाने हो?'
उसले 'हो' भन्यो । मैले सोचेँ जमलमै उत्रिएपछि दरवारमार्ग जान सजिलो हुन्छ । बीर अस्पताल अगाडी बस रोकियो ।
'ल बीर अस्पताल, रत्नपार्क उत्रिनेहरु यहीँ उत्रिनु' खलासीले उर्दी लगायो । केही यात्री उत्रे मचाँही जमल उत्रिने भनेर त्यहाँ उत्रिन । गाडी चल्यो । तर गाडी त जमल तिर जानुको सट्टा रत्न पार्क तर्फ मोडियो । मैले भने, 'जमलबाट घुम्ने भनेको होइन ?
खलासीले मलाई प्रतिप्रश्न गर्दै भन्यो, 'कहाँ अन्कल त्यत्रो जाम देख्नु भएन?'
मलाइ रत्नपार्कमा ओह्रालदिन भनेँ । ड्राइभरले गाडी रत्नपार्क भन्दा केही अगाडी लगेर रोक्यो । बाटोको बीचमा । मलाइ एउटा लेन क्रस गर्नु पर्ने भयो । दायाँबायाँ हेरेर हतार हतार सँग बाटो काट्दै थिएँ कताबाट हुँइकिदै एउटा मोटरसाइकलमा दुइजना मुस्तण्डहरु चढेर आउँदै थिए । मैले बाटो काटीसकेको थिएँ । तर एउटा मुस्तण्ड करायो, 'के हो बुढा! बीच बाटोमा किन दगुरेको ?'
अरु हैन 'बुढा' भन्ने शब्दले निकै घोच्यो । जेष्ठ नागरिकहरुका लागि भनेर बसमा सिट रिजर्भ हुन्छन् तर त्यहाँ पनि मुस्तण्डहरु बसेका हुन्छन् । उठ्न भन्यो कि हान्ने राँगाका जस्ता आँखा देखाएर हेर्छन् । खलासी त खलासी नै भयो । उसको व्यहोरा माथी उल्लेख गरिसकेँ । उबाट कुनै कुराको आश गर्नु भनेको गोरु ब्याएर ब्याउती खानु जत्तिकै हो । बाटो घाटोहरु न वाल मैत्री छन् न अपाँग मैत्री छन्, न जेष्ठ नागरिकको समस्यालाई ध्यानमा राखेर बनाइएका छन्, न विरामीको कष्टलाई ध्यानमा राखेर बनाइएका छन् । अनुगमन गर्ने निकाय कानमा कडुको तेल हालेर बसेका छन् ।
मनमनै भनेँ, 'यो गणतन्त्र त खलासी ड्राइभर विश्वासघातीहरुलाई पो त आएको रैच ।'
दरवारमार्ग पुग्नु भन्दा पहिला जमलतिरबाट आउने one way बाटो काट्नु पनि युद्ध जिते सरि हुँदो रहेछ । जेब्रा क्रसिङ पैदल यात्रुको हो भनेर सहजताका साथ कहिल्यै बाटो पार गर्न सकिएन । त्यतिकैमा एउटा सरकारी गाडि आयो । मैले यही मौकामा बाटो काट्ने सोचेँ । ठूलै हाकिम्नी तथा हाकिमका छोराछोरी-सालासाली बोकेर आएको करोडौँ मूल्य पर्ने त्यो गाडीले झण्डै उछिट्याएको । मैले ड्राइभरलाई आँखा देखाएँ । ड्राइभरले मलाइ आँखा देखायो । ड्राइभर चाहीँ सरकारी ड्राइभर नभएर हाकिमको सालो जस्तो लाग्थ्यो । पछाडीबाट हाकिम्नीले मलाइ रणचण्डिले जसरी हेर्दै थिइन् । स्पष्ट त सुनिन तर मुखको हाउभाउबाट लाग्थ्यो उनी मलाई 'पाखे' भनिरहेकी थिइन् ।
म होटल अन्नपूर्णतिर अगाडि बढेँ । जे.भि.एस. को कार्यक्रम शुरु भइसकेको थियो । मेरो मनमा भने मानिसहरु प्रति अविश्वासको मात्रा झनै बढ्दो थियो ।

Thursday, January 12, 2017

साँढेको रजाँइ

आज देवीको अप्रेशनको टाँका फुकाउने दिन । डाक्टरले १० बजे बोलाएको थियो । यसै त कलँकी त्यसमाथी सरकारको अहिलेको बाटो चौडा अभियान । बाटोको ट्राफिक जाम, धुलो र धुँवा सहिनसक्नुको थियो । अस्पतालसम्म जान मलाइ एउटा ट्याक्सी चाहिएको थियो । मूलबाटोमा गएर धेरैबेर पर्खेपछि ढुँगाअड्डा तिरबाट एउटा टेक्सी आउँदै गरेको देखेँ ।
'ट्याक्सी' मैले आवाज दिएँ ।
'कहाँ जाने?' ट्याक्सी रोकेर उसले सोध्यो ।
'बीएण्ड बी जाने हो?' मैले सोधेँ ।
'जाने' उसले भन्यो ।
ट्याक्सीको मीटरमा जाने भन्ने कुरा एकादेशको कथा भइसकेकोले मैले सोधेँ, 'कति लिने हो?'
'नौ सय' लाज डर नमानी उसले भन्यो।
बाटोको जाम धुलो र धुँवाले पहिलेनै मेरो पारो तातीसकेको थियो । उसको 'नौसय' सुनेपछि मेरो रिसको सीमा नाघ्यो ।
'लुट्न आएको होस् काठमाण्डौ ? दिनदहाडै यसरी मानिसलाई लुट्न लाज लाग्नु पर्ने हो ।'
'कति दिने भन्नु न त' उसले सोध्यो ।
'खुरुक्क यहाँबाट निस्कीजा नत्र ट्राफिकलाई कम्ल्पेन लेखाइदिन्छु ।'
अर्ना भैँसीले जस्तै राता राता आँखा पार्दै उ त्यहाँबाट गयो ।
मैले अर्को टेक्सी पर्खेर बसेँ । एकछिन पछि एउटा टेक्सी देखियो । मैले रोकेँ । खाली रहेछ रोकियो ।
उसले पनि फेरी उही प्रश्न तेर्सायो 'कहाँ जाने?'
'बीएण्ड बी जाने हो? मैले सोधेँ ।
'जाने'
'कति लिने?'
'सात सय ।'
आधा घण्टा देखि उभिइरहेको थिएँ । ढिलो भइरहेको थियो । तर पनि मैले उसै गरी भने 'दिउँसै लुट्ने? लाज लाग्दैन ?'
उसले मिलाएर लाने कुरा गर्‍यो ।
मैले चारसय भनेँ । उसले पाँचसय भन्यो ।
मैले साढे चार सयसम्म दिने कुरो राखेँ ।
उ पाँचसय बाट तल झरेन ।
अन्त्यमा पाँचसयमा कलँकीबाट बीएण्डबी ग्वार्को गइयो ।
मनमनै सोचेँ, 'आज यसलाइ ठाउँमा लगेर नठिँग्राइ भएन ।'
फेरी सोचेँ, 'बिरामीलाई हेर्ने की, यी हरामीहरुका पछाडी लाग्ने ।'
मनले भन्यो, 'यी हरामीका पछाडी लागेर काम छैन, बिरामीकै पछि लाग।'
त्यसै गरेँ ।
बीएण्डबी बाट घर फर्किदा सुरेश शर्मा भाइले लाएको गुनका लागि धन्यवाद ।

Wednesday, January 11, 2017

बितेका कुरा

कुरो २०३८ साल ताकाको हो । त्यतिबेला म पोखरामा अोभरसियर पदमा कार्यरत थिएँ । म र मित्र आचुङ घले खानेपानी योजनाको सर्भे गर्न भदौरे हर्पन गाउँ गएका थियौ । मेघराज पौडेल प्रधान पन्च हुनुहुन्यो । उहाँ साह्रै सहयोगि हुनुहुन्थ्यो । सर्भे गर्दा गर्दै घलेजीले घाँटीमा भिरेको अल्टीमिटर कतै खसेछ । बेलुकि मात्र थाहा भयो । मेघराजजीलाइ सामान हराएको कुरो सुनायौं ।
उहाँले तुरुन्तै कटुवाल बोलाएर गाउँमा घोक हाल्न लगाउनु भयो । कटुवालले कर्नाल भिरेर गाउँको शिरमा गएर घोक हाल्न थाले ।
 ' धुँ धुँ धुँ.......हेर हेर दाजु भाइ दिदी बहिनीहरु, पोखराबाट आउनु भएका उपरसेठ साबको घडी जस्तो देखिने पानी नाप्ने मिसिन हराएकोले पाउनु हुने दाजुभाइ दिदी बहिनीहरुले त्यो सामान उपरसेठ साबकाँ पुर्‍याइदिनु होला है....धुँ धुँ धुँ ....'
भोलीपल्ट पनि सर्भेको काम चल्यो तर अल्टिमिटर भने पाइएन । गाउँमा गाइगुइ चल्यो । एकजना मानिस हिजै पोखरा गएको थियो उतै लगेर बेच्यो होला ।
सामान नपाइए पछि मेघराज ज्यूलाइ पीर पर्‍यो । आफ्नो गाउँमा आएको सरकारी टोलीको सामान हराएको राम्रो भएन भनेर पीर मान्नु भयो । अन्तिम उपाय स्वरुप डाली थाप्ने निर्णय गर्नु भयो । त्यतिबेला गाउँघरमा कुनै सामान चोरी भएपछि गाउँको एकान्तमा लगेर एउटा डाली राखिन्थ्यो । सामान चोरेको मानिसलाइ ग्लानीबोध या डर लागेर चोरेको सामान फर्काउन चाहेमा राती त्यस डालीमा सामान राखेर फर्किन्थ्यो । हराएकोले सामान पनि पाउने चोरेको मानिसलाइ चोरीको बात पनि नलाग्ने । दुवै पक्षलाइ Win Win को अवस्था थियो । कति राम्रो सामाजिक व्यवस्था ।
भोलीपल्ट कटुवालले गाउँको शिरमा गएर फेरी घोक लगाए ।
'धुँ धुँ धुँ.......हेर हेर दाजु भाइ दिदी बहिनीहरु, पोखराबाट आउनु भएका उपरसेठ साबको हराएको घडी जस्तो देखिने पानी नाप्ने मिसिन अहिलेसम्म पनि पाइएन । अब गाउँको पुछारमा डाली थाप्ने भनेर प्रधान पंचले भनेको हुँदा गाउँको पुछारमा आज राती डाली थापिन्छ । मिसिन पाउनु भएका दाजुभाइ दिदी बहिनीहरुले त्यो सामान त्यही डालीमा राखि दिनुहोला है... यदि आज राती त्यो मिसिन डालीमा नपाइएमा भोली पोखराबाट पुलिसको कुकुर ल्याएर मिसिन खोज्ने कुरा भएको छ है..... .परेको आँफै व्यहोर्नु होला '
यति भनेर उनले कर्नालले धुँ धुँ धुँ ...गरेर लामो आवाज लगाए ।
भोलीपल्ट विहान डालीमा हेर्न जाँदा अल्टीमिटर राखेको पाइयो ।
उनताकाका मानिसहरु निजामति कर्मचारीलाइ कति सहयोग गर्थे भन्ने यो एउटा सानो उदाहरण प्रस्तुत गरें ।
के अहिलेको निजामति कर्मचारीले जनताहरुबाट यतिको सहयोग पाउँछन् होला त ?