Friday, March 26, 2021

सेफ्टीका कुरा

सेफ्टीका कुरा-१

तीनको नियम (Rule of Three)

घरको छतमा जाँदा बाँसको साधारण भर्‍याङ प्रयोग नगरेको को होला ? तर कहिले काँही यस्ता भर्‍याङबाट लडेर घाइते हुने र मृत्यु सम्म भएका घटनाहरु देख्न सुन्न पाइन्छ । एउटा घटना ।
साल ठ्याक्कै याद भएन सन् २००६/०७ तिरको कुरो हुनुपर्छ । निर्माण तथा यातायात मन्त्रालयको सहसचिव अध्यक्ष रहने एउटा कार्यान्वयन समिति थियो । निर्माण व्यवसायी महासँघ, सोसाइटी अफ कन्सलटिङ आर्किटेक्टरल इन्जिनियरिङ फर्मा(SCAEF) आदि त्यसका सदस्य थिए । मैले त्यहाँ करीब चार पाँच बर्ष जति जलस्रोत मन्त्रालयको प्रतिनिधित्व गरेँ । नियमित मिटिङ हुन्थ्यो ।
स्व. केशवमान अमात्य SCAEF को अध्यक्ष हुनुहुन्थ्यो । मिटिङमा सधैँ भेट हुन्थ्यो । एक दिनको मिटिङमा केशव जीले सेतो कपडा लगाएर आउनु भएको देखियो । हामीकहाँ साथीभाईले सेतो कपडा लगाएको देखेपछि सोधिने पहिलो जिज्ञासा भनेको परिवारको कस्लाई के भयो ? भन्ने नै हुन्छ । केशव जी ले सुनाएको घटना सुन्दा हाम्रो आँङ्ग नै सिरिङ्ग भयो ।
केशवजीको दाजुको घर निर्माण सकिएको थियो । छतमा पानी टँकी थियो तर पानी टँकीमा जाने भर्‍याङ बनेको थिएन । बाँसको अस्थाइ भर्‍याङ थियो । टँकी हेर्न जानुपर्यो भने त्यसैबाट माथीतल गर्नुहुन्थ्यो । दशैँको बेला थियो । दाजुले टँकीमा पानी चढाउन पम्प अन गर्नुभएछ र टँकीमा पानी चढ्यो कि चढेन भनेर हेर्न त्यही बाँसको भर्‍याङबाट माथी जान लाग्नु भएको रहेछ । भर्‍याङ अलि ठाडो रहेछ । माथी चढ्न लाग्दा भर्‍याङ सिधै पछाडिपट्टी पल्टेर भर्‍याङ सँगै दाजु लड्नु भएछ । टाउकोको पछाडि पट्टी चोट लागेर ठाउँको ठाउँ दाजुको देहान्त भएछ । चोट यति भयानक थियो कि दाजुका दुइवटै आँखाका गेडि बाहिर निस्किन लागेका थिए रे ! त्यस दुर्घटनाको कुरो सुन्दा नै हाम्रो आँङ सिरिङ्ग भयो । हे भगवान कस्तो भयानक दुर्घटना !
एउटा सामान्य असावधानीले गर्दा मानिसको ज्यान पनि जान सक्छ ।
सेफ्टीका कुरा:
सुरक्षाको हिसाबले निर्माण स्थलमा हेण्ड रेलिङ नभएको भर्‍याङ प्रयोग नै गर्न पाइन्न । रेलिङ समातेर भर्‍याङ चढ्दा Rule of Three भन्ने नियम पालना गर्नुपर्छ भनेर सिकाइन्छ। यो भनेको के हो भने भर्याङ चढ्दा जहिले पनि हाम्रा चारवटा हात खुट्टाहरुले तीनवटा विन्दुहरु समातेको हुनुपर्छ । दुइटा हातले समातेर एउटा खुट्टा उचाल्ने/ दुइटा खुट्टाले टेकेर एउटा हात सार्ने । यसो गर्दा जहिले पनि तीनवटा विन्दुहरु भर्याङको सम्पर्कमा हुन्छन् ।
सकभर बाँसका यस्ता भर्‍याङ प्रयोग नगर्ने, प्रयोग गर्नै परे भर्‍याङको फेद नचिप्लने र टुप्पो नखुस्किने गरी राम्रोसँग बाँधेर राख्ने अनि Rule of Three को पालना गर्दै भर्‍याङ चढ्ने । सकभर एक्लै भर्‍याङ नचढ्ने, कसैलाई तलबाट समात्न लगाएर चढ्ने ।
सानो असावधानीले ज्यान पनि जान सक्छ ।
सावधान रहौँ, सुरक्षित रहौँ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-२

इनारमा पानी हालौँ

के भनेको होला? इनारबाट त पानी निकालिन्छ कहाँ पानी हाल्ने कुरा गरेको होला भन्नु भयो होला हैन ? कुरो त्यस्तै छ ।
२०४५/४६ साल तिरको कुरो हो । इन्जिनियरिङ क्याम्पसको पछाडि पट्टि पर्ने ज्वागल टोलमा हाम्रो डेरा थियो । मच्छेन्द्रनाथको भोटो देखाउने दिन भएकोले अफिसमा बिदा थियो । यसदिन स्थानीयबासीहरुले आ-आफ्नो टोलमा रहेका इनारहरु सफा गर्ने प्रचलन छ । हामीहरु बसेको घर नजिकै एउटा इनार थियो । त्यसदिन त्यो इनार पनि सफा गर्ने कार्यक्रम रहेछ । त्यसटोलमा पाइपबाट खानेपनीको बितरण भएकोले खानेपानीको लागि इनारको प्रयोग कमै हुन्थ्यो । इनारको प्रयोग कम भएको थियो ।
बिहानको करीब एघार बजेको थियो । हामीहरु खाना खाएर गफ गरिरहेका थियौँ । इनारमा एक्कासी रुवाबासी चल्यो । हाम्रो घरबेटी दिदी, उनको छोरा लगायत अन्य महिलाहरु पनि जोडजोडले रोइरहेका थिए । हामीहरु हतार हतार त्यहाँ गयौँ । इनार भित्र दुइजना मानिसहरु अचेत अवस्थामा लडेका थिए । बाहिर रुवाबासी थियो । इनारमा बेहोस मध्ये एकजना हाम्रो घरबेटी दाई र अर्को चाँही उनको आफ्नो ठूलो दाजु थिए ।
सामान्यतया मानिस यस्तो अवस्थामा किमकर्तब्य विमूढ हुन्छ । के गर्ने के नगर्ने भन्ने हुन्छ । यतिकैमा डोरीमा बाँधेर मानिसलाई भित्र पठाउने प्रयास हुन थाल्यो । तर डोरीमा बाँधेको मानिस आधा बाटोमै बेहोस भयो र उसलाई बाहिर निकालियो । स्थिती झन् डरलाग्दो भयो ।
अहिले जस्तो सबैका हात हातमा मोबाइल पनि थिएन, सबैका घरमा फोन पनि थिएनन् । नजिकै हाम्रो साथी मधुसुदन महत जी को घर थियो । वहाँको घरमा लेण्डलाइन फोन थियो । अचेत मानिसलाई अस्पताल पठाउन भन्दा पहिला त इनारबाट निकाल्न जरुरी थियो । मेरो दिमागमा एम्बुलेन्सको साथ साथै दमकललाई पनि फोन गर्ने बिचार आयो । दमकलसँग इनार भित्र छिर्ने सिढी आदि हुने भएकोले उनीहरुलाई फोन गर्ने बिचार आएको थियो ।
एम्बुलेन्स र दमकललाई फोन गरेर हामी पुनः इनारमा आयौँ । रुवाबासी यथावत थियो । तर इनार भित्र जाने हिम्मत कसैको थिएन । त्यतिकैमा त्यहाँ एकजना बृद्ध आउनु भयो । वहाँले 'इनारमा पानी हाल! इनारमा पानी हाल!!' भन्नु भयो । सबैले घरघरबाट बाल्टिमा पानी ल्याएर इनारमा खन्याउन थाले । त्यसपछि वहाँले एकजना मानिसलाई इनार भित्र जान भन्नु भयो । डोरीमा झुण्डिएर पहिला एक जना मानिस इनार भित्र छिरे । यसपटक भने उ बेहोस भएन । त्यसपछि दोस्रो मानिस पनि इनार भित्र छिरे र दुइ जना बेहोस मानिसहरुलाई पालो पालो इनार बाट बाहिर निकाले ।त्यतिकैमा त्यहाँ दमकल पनि आइपुग्यो । बेहोस मानिसहरुलाई त्यही दमकलमा राखेर अस्पताल पुर्‍‍याइयो । अस्पतालले उनीहरु दुवैलाई मृत घोषित गरिदियो ।
यसबाट एउटा कुरो के स्पष्ट हुन्छ भने इनारहरुमा बिषालु ग्यास भरिएको हुन्छ । यस्तो ग्यास पानीमा घुलनशील हुन्छ । यसैले पहिलो पटक मानिसलाई भित्र पठाउँदा बेहोस भयो र पानी छर्केर भित्र पठाउँदा केही भएन । शुरुमै उक्त बृद्धको अनुभव प्रयोग गरेर इनारमा पानी छर्केर भित्र गएको भए शायद दुवै दाजुभाइको ज्यान जोगिन्थ्यो होला । उनीहरु बेहोस हुने बित्तिकै हामी बाहिर भएकाहरुले पनि इनारमा पानी हाल्न पाएको भए शायद उनीहरुको ज्यान जोगाउन सकिन्थ्यो होला ।
बेहोस (मृत) ‍‍‍भएका घरबेटी दाइलाई अस्पताल पुर्‌याउँदा मैले उनलाई टाउको तिरबाट समाएर उठाएको थिएँ । अहिलेसम्म पनि मच्छेन्द्रनाथको भोटो देखाउने दिन उनको अनुहार मेरो अगाडि आउँछ ।
इनार, ढल तथा यस्तै अन्य सुरुङहरुमा बिषालु ग्यास भरिएको हुन्छ । त्यहाँ भित्र छिर्दा सावधानी अपनाउनु पर्छ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-३

निर्माण साइटका कुरा

जिन्दगि भरिको कमाइबाट बनाउन लागेको एउटा घर को निर्माण कार्य हेर्न कसलाई मन नलाग्ला? सिमेण्ट सेट भयो कि? मिस्त्रीले इटाका टुक्रा पारेर फाल्यो कि? मसला खेर गयो कि? क्युरिङको लागि पानी को जोहो, किला काँटी देखि डोको डोरी सम्मको जोहो गर्नु कम झण्झटिलो हुन्न । बिहान देखि बेलुका सम्म घर निर्माणको ठाउँमा नखट्ने को होला? यसैले सबैले निर्माण साइटमा पालना गर्नु पर्ने सेफ्टी सम्बन्धी सामान्य नियम जानेकै हुनुपर्छ ।
१) निर्माण साइटमा जाँदा फर्मामा रहेको किला खुट्टामा गाडिएर कैयौँ मानिस घाइते भएका छन् । यसैले चप्पल लगाएर कहिलै नजाऔँ । सकभर सेफ्टी जुता लगाएर जाउँ ।
२) सामानहरु बोकेर लैजाने बाटोमा छिरलिएर रहेका सामानहरु जस्तै, इटाका टुक्रा, डोरी आदि हटाऔँ । त्यसमा ठेस लागेर वा अल्झिएर लड्ने डर हुन्छ ।
३)निर्माण सामाग्रीहरु यथास्थानमा राखेर निर्माण स्थललाई चिटिक्क पारेर राखौँ । यसलाई प्राविधिक भाषामा 'हाउस किपिङ' भनिन्छ ।
४) साना बच्चा बच्ची बोकेर निर्माण स्थलमा नघुमौँ ।
५) आफ्ना वा कामदारका ठूला बच्चा बच्चीहरुलाई निर्माण स्थलमा जान नदिउँ । यस्तो ठाउँलाई उनीहरुले लुकामारी खेल्ने ठाउँ बनाउँछन् । भर्याङको रेलिङ मात्र हाल्न बाँकी रहेको घरको सिढीबाट बच्चा बच्ची खसेर कैयौँ दुर्घटनाहरु भएका छन् ।
६) कामदारहरुले छत माथीबाट जथाभावि सामान फाल्ने गर्छन् । यसो गर्न नदिउँ । नगरि नहुने भए निगरानी बीच मात्र गरौँ ।
७) उचाइमा काम गर्ने कामदारहरुको बिशेष सुरक्षा गरौँ । मचान राम्ररी कसेको छ कि छैन हेरौँ ।
८) ढलानको दिन कामदारहरु बढी हुने भएकोले सेफ्टीको बिशेष आवश्यकता हुन्छ । कतिपय कामदारहरु बच्चा बच्ची बोकेर आएका हुन्छन् उनीहरुको बिशेष ख्याल गरौँ । सकिन्छ भने केही मिठाइ किनेर यस्ता बच्चाबच्चीलाई भुलाउँ ( मैंले त्यसै गरेको थिएँ )।
९) घर बनाउँदा बाँसका अस्थाइ भर्याङबाट लडेर निकै दुर्घटनाहरु भएका छन् । यस्तो भर्यांङ चढ्दा वा झर्दा निकै सावधानी अपनाऔँ । भर्याङको तल्लो भाग र माथिल्लो भाग राम्ररी बाँधिएको छ कि छैन चेक गरौँ ।
१०) भर्याङ चढ्दा Rule of three कहिल्यै नबिर्सौँ ।
११) निर्माण साइटको लागि टिँचर आयोडिन, पट्टी भएको एउटा प्राथमिक उपचार किट किनी राखौँ ।
सेफ्टी नियमको पालना गरौँ सुरक्षित रहौँ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-४

झण्डै

निर्माण साइटमा काम गर्दा होस् वा सडकमा हिंड्दा होस् वा घरमै होस् हामी मध्ये धेरैले यो 'झण्डै' देखेका छौँ । कतिपयले त भोगेका पनि हौंला ।
माथी बाट X ले फालेको छडले तल बसेको Y को झण्डैले टाउको नफुटेको ।
बाटोमा पोखिएको तेलमा चिप्लेर झण्डैले हात नभाँचिएको ।
बाथरुममा साबुनको टुक्रामा चिप्लिएर झण्डैले टाउको नफुटेको ।
आज बाटो काट्दा झण्डैले गाडिले नहानेको ।
त्यो बच्चा झण्डैले छतबाट नखसेको ।
'मंगोल' को ढकनी खुला रैछ, झण्डैले भित्र छिरेको ।
आदि आदि
यो 'झण्डै' लाई सेफ्टीको भाषामा 'नियर मिस इन्सिडेन्ट्स' भनिन्छ । यस्तोमा अलिकति तलमाथी भएको भए मानिसको ज्यान पनि जान सक्थ्यो । तर हामीकहाँ यसलाई कसैले भाग्य बलीयो भएर बाँचेको भन्छन्, कसैले दशा कमजोर भएर बाँचेको भन्छन्, कसैले के भन्छन्, कसैले के भन्छन् । तर यो विशुद्ध रुपमा सेफ्टी को हेलचक्रयाँइ नै हो ।
यस प्रकारका 'नियर मिस इन्सिडेन्स्' को अध्ययनबाट पनि सेफ्टीको पाठ सिक्न सकिन्छ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-५

बेरुत बिष्फोट र हामी
बेरुतमा हालै भएको भयँकर बिष्फोट सेफ्टीको सामान्य नियम पनि पालना नगरेर भएको भन्ने छ । एमोनियम नाइट्रेटमा आफै बिष्फोट हुँदैन । जब यो 'कन्ट्यामिनेट' हुन्छ अनिमात्र यो खतरनाक हुन्छ भन्ने कुरो आएको छ । गलत तरिकाले भण्डारण गरेको कारण कन्ट्यामिनेट भएर यस्तो भयानक दुर्घटना भएको हो भन्ने कुरो स्पष्ट भएको छ ।
यस दुर्घटनाबाट हामीले केही पाठ सिकेर निम्न कुराहरु तुरुन्त गर्नुपर्छ ।
-नेपालमा पनि कतै यस प्रकारका रसायनहरु भण्डारण गरिएका छन् कि? खोजेर त्यसको उचित व्यवस्थापन गर्ने ।
-घना बस्ती नजिक भएका पेट्रोल पम्पहरु हटाउने ।
- ग्यास सिलिन्डर बेच्ने ठाउँहरुलाई घना बसोबास बाट टाढा राख्ने ।
-दुर्घटना एक्कासी हुने हैन, बिगतमा 'नजरअन्दाज' गरिएका गल्तीहरुको सँगालोको रुपमा आउने हो ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-६
नट-बोल्ट

रुडकी विश्वविद्यालय, भारतमा हामीलाई स्ट्रक्चर पढाउने गुरुले भनेको कुरो बाट कुरो शुरु गरौँ ।
For want of a nail the shoe was lost, for want of a shoe the horse was lost, for want of a horse the battle was lost and ultimately the kingdom was lost.
घोडाको टापमा ठोकिएको एउटा सामान्य किला समयमा नठोक्दा राज्य नै हार्नु परेको यो कुरो निकै महत्वपूर्ण छ ।
मेलाम्चीको गेटमा लगाइएको नट बोल्ट खुस्केर गेट भाँचियो अनि त्यत्रो ठूलो दुर्घटना निम्त्यो भन्ने कुरो समाचारमा आएको छ । यदि यो हो भने यसमा सामान्य इन्जिनियरिङ सिद्धान्त पालना नभएको देखिन्छ ।
नट-बोल्ट को इन्जिनियरिङ बुझ्न सजिलो छ । यहाँ तीन प्रकारका फेलरहरु हुन सक्छन् ।
१) नट बोल्ट को गुना कमजोर भएर फुस्किने
२) बोल्ट कमजोर भएर भाँचिने
३) नट-बोल्ट ले जोडेका पाता नै च्यातिने ।
कुनै पनि इन्जिनियरले नट-बोल्ट लगाउँदा अन्य कुराको अतिरिक्त माथी उल्लिखित तीन कुराहरुको प्रयोगशालामा जाँच गरेको हुनुपर्छ वा उत्पादकले यी तीन कुराहरुको प्रत्याभूती (ग्यारेण्टि) दिएको हुनुपर्छ । अनिमात्र त्यस्ता सामाग्रीहरु काममा प्रयोग गर्न पाइन्छ ।
हालै पाकिस्तान को एउटा शहरमा बाटो छेउमा टाँगिएको एउटा बिशाल बिलबोर्ड हावाले उडाएर बाटोमा गुडिरहेको सवारी साधन माथी झरेर हताहत भएको समाचार हेरेको थिएँ । यसमा पनि त्यही नट-बोल्ट कमजोर भएकै कारण बिलबोर्डलाई हावाले उडाएको हुनुपर्छ ।
नेपालमा पनि हावाहुरी लाग्दा कैयौँ बिलबोर्डहरु र कैयौँ घरको छतका जस्ता पातहरु हावाले उडाएर मानिसहरु घाइते भएको सुनिन्छ । यहाँ पनि उही नट-बोल्ट नै 'करामत' छ ।
हाम्रा शहरहरुमा झुण्ड्याइएका बिल बोर्डमा कसेका नट-बोल्ट हरु ठीक ठाक त छन् नी? तिनमा खिया लागेर कुनै दुर्घटना त पर्खेर बसेका छैनन् नी? कस्ले हेर्ने ? महानगरलाई फुर्सत होला नहोला, आफ्नो घरको छत वा अन्य ठाउँमा लगाइएका नट-बोल्ट हरु सहि सलामत त छन् नी, भनेर एकपटक नजर लाउने हो कि ? कतै खियाले जिर्ण भएका त छैनन्? चेक गर्ने हो कि?
एउटा सामान्य नट-बोल्ट त हो नी! भनेर नहेपौँ । सियो सानो भएर के भयो त? भेट्टायो भने भुँडि पनि छेडिदिन सक्छ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-७
ज्यानमारा भक्कु चप्पल

कुरो २०३८ साल तिरको हो । उमेश झा जी र म पोखरा मुस्ताङ चोकमा एउटा कोठा भाडामा लिएर बसेका थियौँ । खाना चाँही 'पेइङ गेष्ट' भएर घरबेटी कै भान्सामा खान्थ्यौँ । हाम्रो डेरा पहिलो तल्लामा थियो । भान्सा भुँइ तल्लामा । अफिस चाँही बिरौटा चोकमा थियो । रुडकी को तयारी मा थियौँ । बिहान नौ बजेसम्ममा खाना तयार हुन्थ्यो । खाना तयार भएपछि घरबेटीका छोराहरुले खाना खान बोलाउँथे । हामी दुइ भाइ तल ओर्लेर खाना खान जान्थ्यौँ ।
तल माथी गर्ने घरको सिँढी बाहिरबाट थियो । पानी परेको बेला भिजेर चिप्लो भएको हुन्थ्यो ।
पोखरा न पर्यो, एकदिन बिहानै देखि पानी परिरहेको थियो । तलबाट घरबेटी दिदीले 'खाना तयार भयो, खाना खान आउनु' भनेर बोलाउनु भयो । पानी परिरहेको थियो । छाता ओढेर उमेश जी अगाडि अगाडि र म पछाडि पछाडि भएर ओर्लँदै थियौँ । मैंले त्यति बेला निकै चलेको भक्कु चप्पल लगाएको थिएँ । पानी परेकोले 'सिमेण्ट पनिङ' गरेको सिँढी चिप्लो भएको थियो । मेरो खुट्टा चिप्लीएर सिँढीको माथीबाट ढ्याँंङ ढ्याँङ गर्दै तल सम्म पुगेँ ‌। टाउको ठोकिएर म बेहोस भएछु।
उमेशजी र अरुहरु भएर मलाई खाटमा सुताउनु भएछ ।
उमेशजीले मलाई होसमा ल्याउन वहाँको गाउँमा चलेको एउटा तरिका अपनाउनु भएछ । बेहोस भएको मान्छेलाई एक छिनको लागि नाक मुख थुनीदिने हो भने मर्नेवाला नै रहेछ भनेपनि मर्नु भन्दा पहिला एकपटक होसमा आउनै पर्छ । उमेश जी ले त्यसै गर्नु भएछ । म होसमा आएँ । हात खुट्टा करङ सबै दुरुस्त भएकोले अस्पताल जान परेन ।
एकछिन आराम गरेपछि खाना खाइयो र अफिस लागियो ।
शिक्षा:
खास गरि बर्षाको बेलामा कम हिडिने बाटो, आँगनहरु, छतहरु, बाहिरबाट बनाइएका घरका सिँढीहरुमा काउली लागेर चिप्लो भएको हुन्छ । यस्तो बेलामा खुट्टामा लगाउने जुत्ता चप्पल राम्रो ग्रीप भएको परेन भने उत्तानाटांङ लाउने प्रबल संभावना हुन्छ ।
यो बर्षामा आफ्नो छतमा, बरण्डामा, सिँढीमा लागेको काउली सफा गर्नु भयो?
कस्तो चप्पल लाएर तलमाथी, भित्र बाहिर गर्दै हुनुहुन्छ? आफ्नो बाथरुममा पुरानो भक्कु चप्पल जस्तो चिप्लिने चप्पल त राख्नु भएको छैन नी? यदि राख्नु भएको छ भने यो स्टाटस पढेपछि तुरुन्त बाहिर मिल्काइदिनुहोस् ।

भक्कु चप्पल ज्यानमारा हुन्छ । 

Safety starts with 'S' but begins from 'U'

सेफ्टीका दुइटा कुरा-८

(१) गमला
घर वरिपरि ढकमक्क फुलेका फूलका गमला राख्न कस्को मनले नमान्दो हो ! तर यही गमला घरको प्यारापेट माथी राखियो भने यो ठूलो सेफ्टी हजार्ड हुन जान्छ । प्यारापेट माथी राखेका गमला लडेर कैयौँ मानिस घाइते भएका छन्, कैयौँ को त ज्यान पनि गएको छ । यसरी माथीबाट खसेको गमला सिधै तल बसेको मानिसको टाउकोमा बजारिने भएकोले यसको चोट निकै गम्भिर तृा घातक हुन्छ । यसैले बाटो हिँड्दा कसैको कौसीमा ढकमक्क फूलेका फूल देख्नुभयो भयो तर्केर हिड्नुमै श्रेयष्कर हुन्छ ।
खास गरि भुँइचालोको बेलामा प्यारापेटमा सजाएर राखेका यस्ता गमलाहरु झरेर तल रहेका मानिसको टाउकोमा बजारिएर गम्भीर चोट लाग्न सक्छ । तपाँइहरुले पनि यदि प्यारापेटमा यसरी नै गमला सजाएर राख्नु भएको छ भने आजै हैन अहिलै गएर नखस्ने ठाउँमा राखिहाल्नुस् ।
(२) जस्ता-पाता को छानोलाई अँठ्याएर राख्न बनाइएको इटाको पेटी:
कतिपय घरका दुइपाखे वा एकपाखे जस्तापाताको छाना हरुमा धुरीको दाँया बायाँ एउटा इटाको पेटीले अँठ्याएको देख्नु भएको होला । जस्तापाताको सतह चिल्लो हुने भएकोले यस प्रकारको इटाको पेटी र जस्तापाता बीच 'बोण्ड' भएको हुन्न । खास गरि भुँइचालो को बेला यस्ता इटाका पेटीहरु छानाबाट चिप्लिएर झर्छन् ।
२०४५ को भूँइचालो एउटा घटना । त्यतीबेला म नेपाल बिद्युत प्राधिकरणमा कार्यरत थिएँ । भूकम्प पछि नेबिप्रा ले बनाएको क्षति मूल्याँकन समितिमा सदस्य बनाइयो । हामीहरुलाई पूर्वाञ्चल र जनकपुरका नेबिप्रा का सँरचनाको क्षतिको मूल्याँकन गर्न खटाइएको थियो । त्यतिबेला धरानमा भएको क्षति प्रत्यक्ष देखेको हो । साह्रै नै हृदयविदारक थियो धरानको अवस्था । त्यहाँ जस्तापाताको छानामाथी बनाइएको इटाको पेटी झरेर एकजनाको मृत्यु भएको थियो । घटना यस्तो थियो ।
घरका सबैजना सुतिरहेका थिए । घरमूली चाँही भूँइचालो जानुभन्दा केही अघी उठेर नित्यकर्म को लागि बाहिर निस्किएका रहेछन् । पाँच बज्न पाँच मिनेटमा एक्कासी भुँइचालो आयो । छानालाई अँठ्याएर राख्न बनाइएको इटाको पेटीले जस्तापाता लाई छोडेर चिप्लिँदै तल झर्यो र उनको टाउकोमा लाग्यो । उनको ज्यान गयो । घरलाई केही भएन, परिवारका अन्य सदस्यलाई केही पनि भएन तर घरमूलीको ज्यान गयो ।
जस्तापाताको छानामा यस प्रकारको कुनैपनि भारी वस्तुहरु राख्नु भनेको सेफ्टी हजार्ड हो । जस्तापाता लाई जे-हुक वाला र नट बोल्टले कसेकै राम्रो हो ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-९
दूध र ग्यास चुलो:

पानी तताउँदा उम्लिन्छ । दूध तताउँदा पनि उम्लन्छ । पानी उम्लिए पनि पोखिन्न तर दूध उम्लिए पछि पोखिन्छ । त्यसैले ग्यास चूलोमा दूध उम्लीएपछि दुर्घटना हुने डर हुन्छ । यसमा सावधानी अपनाउन पर्छ ।
ग्यास चुलोमा दुध उम्लियो भने ग्यासको ज्वाला निभ्छ तर ग्यास भने निरन्तर आइरहेको हुन्छ । बिर्सिएर लामो समयसम्म ग्यास बन्द गर्न बिर्सियो भने कोठाभरि ग्यास भरिन्छ ।
यस्तोमा निम्न कुराहरुमा बिचार पुर्याउनु पर्छ:
१) तुरुन्त लाइटर/सलाइ बालेर ग्यास बाल्नु हुन्न । यस्तो गरियो भने कोठामा भएको ग्यास सल्केर आगलागि हुन्छ ।
२) एक्जस्ट फ्यान पनि चलाउन हुन्न । त्यसो गर्दा स्वीच र फ्यानको मोटर गरेर दुइ ठाउँमा स्पार्क हुन्छ र आगो लाग्छ ।
३) बत्ती बाल्नु हुन्न । यसो गर्दा पनि बत्तीको स्वीचमा स्पार्क भएर ग्यासमा आगो सल्कन्छ ।
के गर्ने?
यसरी दूध उम्लेर कोठामा ग्यास भरिएको गन्ध आएको पाइएमा सबैभन्दा पहिला ग्यास बन्द गर्ने । कोठाका झ्याल ढोका खोल्ने । ग्यासको गन्ध हटेपछि मात्र, आवश्यक भए बत्ती 'स्वीच अन' गर्ने, ग्यास बाल्ने, एक्जस्ट फ्यान चलाउने आदि गर्न सकिन्छ ।
चूलोमा दूध बसाले पछि उम्लिएर ग्यास अफ नगरी भान्साबाट बाहिर ननिस्कौँ । अनि फेसबुक चलाउँदा चलाउँदा दूध उम्लेको पत्तै नहोला ।
Safety starts with 'S' but begins from 'U'.

सेफ्टीका कुरा-१०
चोकिङ

छिमेकमा एउटा पार्टी थियो । हामीलाई चु. निम्तो थियो । सपरिवार पार्टीमा गएका थियौँ । शाकाहारी, मांसाहारी गरेर बिभिन्न आइटमहरु थिए । छरछिमेकका सबै जम्मा भएका थियौँ । निकै रमाइलो सामाजिक वातावरण थियो ।
मेनुमा एउटा आइटम खसिको तारेको मासु थियो । अलि बढी फ्राई गरेर होला निकै साह्रो भएको थियो । दुइ चार पीस प्लेटमा हालेको थिएँ । मलाई त्यो मासु चपाउन गाह्रो भएर प्लेटमा साइड लगाएर राखेँ । मेरो छोरीले पनि प्लेटमा दुइ चार पिस राखेर आफ्ना साथीहरुसँग खाँदै थिइ। पहिलो गास मै उसको घाँटीमा त्यो साह्रो मासु अडकिएछ ।
त्यसरी घाँटीमा केही अड्किएपछि मानिस बोल्न नसक्ने हुँदो रहेछ । दिमाग शुन्य हुँदो रहेछ । जुरुक्क उठेर घाँटी समाउँदै हिड्न थालिछ । सबैजना पार्टीको रमझममा व्यस्त थियौँ । मेरो बुहारी र छोराले यसरी भौँतारिँदै हिडेको देखेपछि चोकिङ भएको अडकल काटेछन् । छोरो र उसका साथीहरुले 'चोकिङ चोकिङ' भन्दै कराएछन् । सँयोगले डा. बिराट तिमिल्सेना त्यही थिए । उनले तुरुन्त छोरीलाई समाते । छोरीलाई निहुरी पारेर पछाडि पट्टी हातले ढ्याप ढ्याप पार्दै घाँटीमा अड्किएको मासु झार्न खोजे । दुइटा हात पेटमा राखेर 'झ्याँक-झ्याँक' पार्दै झार्न खोजे, यसलाई डाक्टरी भाषामा Heimlich Maneuvor वा abdominal thrust भन्दो रहेछ । तीन चार मिनटसम्म पनि छोरीको अवस्थामा सुधार नभएपछि मेरो मनले अनिष्ट सोच्यो । मेरा हात गोडा गल्न थाले । किंकर्तब्य बिमूढ भएर म भुँइमा थचक्क बसेँ । डा. बिराटले आश्वासन दिइ रहे, 'न आतित्नुस अँकल एक छिनमा ठीक हुन्छ' ।
छोरीको अनुहार हेर्थेँ, भगवानलाई सम्झिन्थेँ । करिब पाँच मिनट सम्म डा. बिराट लगातार लागि रहे । कहिले पछाडि ढ्याप ढ्याप हान्थे कहिले पेटमा हात राखेर पछाडिबाट उठाउँदै झ्याँक-झ्याँक पार्थे । अन्त्यमा भगवान दाहिना भए । घाँटीमा अड्किएको मासु बाहिर निस्क्यो । ठूलो अनिष्ट टर्यो । छोरीलाई कुशल देख्न पाएपछि मेरो पनि सास फिर्ता आयो ।
शिक्षा:
चोकिङ बाट मानिसको मृत्यु पनि हुन सक्छ । खाने कुरो साह्रो छ भने निकै होसीयारीका साथ खानु पर्छ । मेरो छोरीलाई जस्तै सबैलाई तुरुन्त डाक्टरको सेवा उपलब्ध नहुन सक्छ ।
हाम्रा बाबु-बाजेले खाना खानु भन्दा पहिला आगोलाई चढाएर, खाना वरिपरि पानी घुमाएर 'वासुदेवाय गदाचक्रम त्रिपुरे चराचर....' भन्दै खानालाई पूजा गरेपछि पहिलो गासमा एक दुइ सिता मात्र मुखमा लगेर चपाउने र निल्ने गर्थे । यसो गरेर मुखलाई रसिलो बनाएपछि मात्र खाना खाने चलन थियो । खाना पस्किनु भन्दा पहिला छेउमा एउटा अँखोरामा पानी राखिदिने चलन थियो ।
बुढाबुढीहरुलाई खाना दिँदा छेउमा एउटा कचौरामा घीउ, एउटामा चिनी राखिदिने चलन थियो ।
'चोकिङ' को मामलामा हाम्रा पुर्खाहरु निकै सचेत थिए ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-११

स्पिरिट ल्याम्प

अहिले त कोरोना छ कतै भोज भतेरमा जानु भएको छैन होला । तर भोज भतेर हरुमा खाना तातो राख्न भनेर भाँडाको तलपट्टी एउटा सानो ज्वाला धपघप गरेर बलेको त देख्नु भएको होला । स्पिरिट बाट बल्ने भएकोले यसलाई स्प्रिट ल्याम्प भन्छन् ।
कुरो सन् २००० को हो । हामी चौध भाइ* ईअसं, पुल्चोकमा एमएस्सी इन्जिनियरिङ गरिरहेका थियौँ । नेपालमा जलस्रोत इन्जिनियरिङमा पहिलो पटक एमएस्सी को पढाइ शुरु भएको थियो, हामी त्यहाँ भर्ना भएका थियौँ ।
साथी बिकासमान सिंह डंगोल जी को घरमा छोराहरुको कुनै धार्मिक अनुष्ठान थियो । एमएस्सी पढ्ने हामी तेह्र भाईहरुलाई निम्तो थियो त्यसैले डंगोल जी को बल्खु स्थित घरमा सामेल भएका थियौँ ।
कार्यक्रममा डंगोलजीका आफन्त लगायत छिमेकीहरुको पनि उपस्थिती थियो । खानाको व्यवस्था गर्न क्याटरिङ बोलाइएको थियो । निकै रमाइलो वातावरण थियो । हामी सबै निकै रमाइरहेका थियौँ । खाना तयार भइसकेको थियो । लाइनमा उभिएर कसैले आफ्नो प्लेटमा खाना राख्दै थिए कोही आफ्नो पालो पर्खेर उभिएका थिए । हामी साथीहरु एक ठाउँमा उभीएर गफमा मस्त थियौँ ।
शायद ल्याम्पमा स्पिरिट सकिन लागेर होला क्याटरिङको एउटा भाइले ल्याम्पमा स्पिरिट भर्न लागेको थियो । ल्याम्पको आगो ननिभाइकनै स्पिरिट भर्न लागेको रहेछ । एक्कासी उसको हातमा रहेको स्पिरिटको बोतल मा आगोले समात्यो र उसको हातमा आगो लाग्यो । उसले आत्तिएर स्पिरिट को त्यो बोतल हातबाट मिल्काउँदा हाम्रो साथी बिकास मान जीको खुट्टामा ठोकियो र बिकास जीको खुट्टामा आगोले समात्यो । यो सबै कुरा यति छिटो छिटो भयो कि, के भएको हो भनेर बुझ्दा बुझ्दै बिकासजीको खुट्टामा ह्वार ज्वार गर्दै आगोको लप्काले समात्यो । त्यतिकैमा एक जना दाजुले विकासजीलाई भुँइमा लडाएर एउटा कपडाले बेर्नु भयो । आगो त नियन्त्रणमा आयो तर बिकास जी को खुट्टा नराम्रो गरि जल्यो । त्यसपछि लामो समयसम्म क्याम्पस आउन सक्नु भएन । पछि जाँचको बेला बडो कठीनसँग जाँच दिनु भयो ।
अहिले पनि त्यो घटना सम्झिँदा शरिरका रौं ठडिन्छन् ।
शिक्षा
स्पिरिट एक अति नै प्रज्वलनशिल पदार्थ हो । यदि क्याटरिङको त्यो भाइले ल्याम्प निभाएर स्पिरिट रिफिल गरेको भए शायद यस दुर्घटनालाई टार्न सकिन्थ्यो ।
पेट्रोल, स्पिरिट, एलपीजी ग्यास आदि अत्यधिक प्रज्वलनशिल पदार्थहरु हुन यिनीहरुलाई आगोको नजिक पनि पर्न दिन हुन्न ।
*एमएस्सी पहिलो ब्याचका हामी चौधभाइ हरु
बिकास मान सिंह डंगोल
बशिष्ठ राज अधिकारी
भोला छतकुली
रोशन कुमार श्रेष्ठ
सतीश बास्तोला
नवराज प्रधान
सूर्य प्रसाद रिजाल
रमेश प्रसाद कोइराला
दुर्गादत्त खरेल
निवास चन्द्र श्रेष्ठ
फत्त बहादुर थापा
संजीब मान राजभंडारी
रिमाल
म

Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-१२

आधारभूत लाइफ सपोर्ट:

आज सेफ्टीका केही प्रोफेसनल कुरा गरौँ । आफ्नो टोल छिमेकमा कोही दुर्घटनामा पर्यो भने हामी तुरुन्त उसको सहयोगको लागि दौडिन्छौँ । यो मानविय गुण पनि हो । तर यस्तो उद्धारमा सहभागि हुँदा सबैभन्दा पहिलो नियम भनेको 'आफूलाई घाइतेको भन्दा बढी जोखिममा नराख्नु' भन्ने छ । आफू सुरक्षित नभई अरुलाई उद्धार गर्न सकिन्न । त्यसैले उद्धारमा सहभागि हुँदा 'हिरो' बन्ने हैन कि आफ्नो जोखिमको अवस्था हेरेर मात्र उद्धारमा सहभागि हुनु पर्छ । आफू सुरक्षित भएपछि अस्पताल पुर्याउन भन्दा पहिला फ्लोचार्ट मा देखाए बमोजिम जिवन सुरक्षाका आधारभूत तरिकाहरु अपनाउन पर्छ ।
 
Safety starts with 'S' but begins from 'U'

कोरोना गणित

 कोरोना गणितः

राजाको चेस खेल्ने बानी थियो । एकजना भारदार सँग बसेर चेस खेल्थे । राजालाई हराउन गाह्रो थियो । एक दिन राजाले भारदारलाई भने, यदि मलाई हराउन सकिस भने तैंले मागेको पाउँछन् ।'
राजा र भारदार चेस खेल्न बसे । भारदार ले राजालाई हरायो । राजाले भने, ' ल माग, मागेको पाउँछन् ।'
भारदार गणितज्ञ थियो । उसले भन्यो, 'महाराज मलाई धेरै केहि चाहिन्न, यस चेस बोर्डको चौसठ्ठी कोठाहरु मैंले भने जसरी मकैको गेडाले भर्दिनुहोस् ।'
राजाले भने, 'के के न माग्ला भनेको त मकैका गेडा पो माग्दो रहेछ, अरु कुरा माग, सुन चाँदि, हिरा जवाहरात जे मागे पनि पाउँछस्, माग ।'
भारदार ले भन्यो, 'माफ गर्नु होला महाराज, मलाई त्यस्तो केही चाँहिदैन, यो चेस बोर्ड को पहिलो कोठामा एक गेडा, दोस्रो कोठामा दुइ गेडा, तेस्रो कोठामा चार गेडा, चौथोमा आठ गेडा, पाँचौँ कोठामा सोह्र गेडा गर्दै बोर्डका चौसठ्ठी कोठा मकैको गेडाले भर्दिए हुन्छ महाराज ।'
राजाले हुन्छ भने । राजा लगायत दरवारका सबैजनाले भारदारलाई हाँसेर उडाए ।
त्यस पछि राजाका भण्डारेहरुले मकैको गेडाले चेसबोर्डको कोठा भर्न शुरु गरे ।
१, २, ४, ८, १६, ३२, ६४, १२८, २५६, ५१२,१०२४, २०४८, ४०९६, ८१९२, १६३८४, ३२७६८, ६५५३६, १३१०७२, २६२१४४, ५२४२८८, १०४८५७६, २०९७१५२, ४१९४३०४, ८३८८६०८, १६७७७२१६.......
बल्ल पचीसवटा कोठा भरिए ‌।
अब सबै कोठाको मकैको सँख्या जोड्ने हो भने नेपालको जनसँख्या भन्दा बढी हुन्छ । राजाले भारदार को फट्याँइ बुझे र उसलाई क्वारेन्टाइन मा पठाइदिए ।
हुन त मानव जिवन अमूल्य हो । अन्य देशहरुको तुलनामा नेपालमा कम क्षति भएको हो । तर पनि जुन परिवारमा पर्‍यो त्यसलाई त शत प्रतिशत क्षति भएको हो । पहिलो लहरमा कम क्षति भए पनि दोस्रो लहर पुनः शुरु भएको छ ।

कोरोनाको गणित बुझौँ र सतर्क रहौँ ‌।

चण्डी

 चण्डी:

हाम्रो गाउँको नाम फलेवास । फलफूलको वास भएकोले यसको नाम फलेवास रहेको हो भन्ने भनाई छ ।
रुडकीको गर्मी छुट्टीमा घरमा गएको बेला गाउँको सबैभन्दा मीठो आँप पाइने ठाउँमै गएर आँप किन्थ्यों र पेट भरि खान्थ्यौँ । रुप बहादुर बिक को कालीबम्बै आँप निकै मिठो थियो । एक दिन कालीबम्बै खान भनेर रुपे दाइ कहाँ गयौं । पिढींमा उनको छोरो बिरामी भएर सुतेको रहेछ । भाउज्युले धानका फुला बनाएर ख्वाउँदै थिइन् ।
मैले सोधें, 'बाबुलाई सँचो छैन र भाउजु?
भाउजुले भनिन्, 'हेर्नुस् न बाबु, चार पाँच दिन भयो, ज्वरोले मुण्टो उठाउन सकेको छैन । केइ खान पनि मान्दैन । यो धानको फुला खान्छ कि भनेर ख्वाउन लागेकी । यसरी सुतीसुती ख्वाउन परेको छ ।
मै उसको निधार छामें । आगोको भुँग्रो जस्तो ज्वरो थियो ।
मैले त्यस बाबुलाई भनें, 'यसरी सुतेर खायो भने त सर्प भइन्छ । उठेर खानु पर्छ । ल उठ । म फुक्दिन्छु ।'
भाउज्युले उसलाई टाउको तिर समातेर उठाइन् । मैले अलिकति खरानी मगाँए । भाउजुले भित्र गएर अँगेनाबाट खरानी लिएर आइन ।
मैंले उसको निधारमा खरानीको टिका लगाएर चण्डी पाठ गर्दै फुक्न थाले
'ॐ यदगुह्यं परमलोके सर्वरक्षाकरं नृणान ।
यन्न कस्यचिदाख्यातं तन्मे ब्रु हि पितामह ।
......
.......
फट्! फट्!! फट्!!!
त्यसपछि फेरी चुट्कीमा खरानी लिए अली चर्को आवाजमा भुचरा खेचरा ले फुक्न थालें ।
अभिचाराणि सर्वाणी मन्त्रयन्त्रणी भूतले ।
भूचराः खेचराश्चैव जलजाश्चोपदेशिका: ।
सहजा कुलका माला डाकिनी शाकिनी तथा ।
अन्तरिक्षचरा घोरा डाकिन्यश्च महाबला ।
ग्रहभूतपिशाचाश्च यक्षगन्धर्व राक्षसाः ।
ब्रह्मराक्षवेतालाः कुष्माण्डा भैरवादय: ।
फट्! फट्!! फट्!!!
धानको फुला वरीपरी खरानी घुमाएँ र फट्! फट्!!फट्!!! गर्दै उसलाई भनें, 'ल अब बाबुलाई सञ्च हुन्छ । खाने बेलामा उठेर खाएस् है ?'
उसले हुन्छ को इशारामा टाउको हल्लायो ।
हामीले पाकेका आँप झारेर पेटभरि खायौँ र त्यहाँबाट हिंड्यौँ ।
भोलीपल्ट त अचम्म भयो, त्यो बाबु हाम्रो घर अगाडिको चौरमा खेल्न आएको रहेछ । शायद सञ्चो भएको कुरो मलाई देखाउन पनि होला ।
'रामु (मेरो भाई) को दाइले फुकेर सञ्चो बनाउनु भयो' भनेर साथीभाइसँग भन्दो रहेछ । भाउजुले त पँधेरामा गएर मेरो गुनगान नै गाइछन् ।
हाम्रो गाउँमा डाक्टर थिएनन् । यसरी नै भुचरा खेचरा ले फुकेर धेरै रोग सँचो हुन्थ्यो ।
रोग साँचो गर्न औषधीले मात्र हुन्न । मनोवैज्ञानिक उपचार पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
जय दुर्गे !

Sunday, March 21, 2021

सानुदाइ

  (१)

काठमाडौंमा पढ्दा पाटन अशोक हल नजिक डेरा थियो । पहिला नारायण दाइ, झलक दाइको को डेरा थियो । पछि वहाँहरु जागिरमा लागेपछि म एक्लै बस्थेँ । पुरै टोल भरिमा डेरा गरेर बस्ने काठमाडौ बाहिरको म मात्र एक्लो प्राणी थिएँ । त्यसैले, मलाई केटाकेटी देखि बुढा बुढी सबैले माया गर्थे । 'भाट खायो?' चिया खायो?' भनेर कुरा शुरु हुन्थ्यो । बाहिरबाट आउँदा सवैले सञ्चो बिसञ्चो सोध्थे । बिरामी भएको बेला औषधी ल्याएर खान दिन्थे । केटाकेटीहरु गणित, नेपाली सिक्न आउँथे । तीन चार जनालाई त नियमित पढाउँथें । निशुल्क । केटाकेटीहरुसँगबाट मैले नेवारी शब्दहरु सिकेको थिएँ । "जा" माने भात, 'ल' माने पानी, 'हाकु' माने कालो, 'मैचा' माने केटी, 'माक' माने बाँदर आदि आदि । म सबैको प्यारो भएको थिएँ । मेरो डेरा सबैको मिलन केन्द्र जस्तो थियो ।
मेरो डेराको छेउमा सानुदाइको टेलरिङ पसल थियो । सानुदाइ साह्रै मिलनसार, साह्रै दयालु, साह्रै सहयोगि थिए । मकहाँ पाहुना आउँदा सानुदाइले आफ्नो पसलको साँचो दिँदै भन्थे, 'आज टिम्रोमा मान्छेहरु आएको छ, टिमी मेरो पसलमा गएर सुत्नु ।'
एकदिन सानुदाइले बिहानै आएर भने ।
'आज हामीहरु टिम्रो डेरामा मासु पकाएर खान आउँछ है ।'
मलाई अचम्म लाग्यो । त्यहीं छेउमा घर भएको सानुदाइले मेरो साँघुरो डेरामा किन मासु पकाएर खान आउन लागेका होलान् ! होला नी केही कारण भनेर केही सोधीन । तर मलाई खुलतुली भइरहेको थियो ।
दिउँसो सानुदाइ, श्यामदाइ, भरतदाई, र अरु दुइ तीन जना दाइहरु झोलामा कुखुराको मासु र रक्सी लिएर आए । अरु दाइहरु सानुदाइको पसल भित्र छिरे । सानुदाइ मासु पकाउन मेरो डेरामै बसे । फितावाला स्टोभ बाले । मिट मसला हालेर बडो लोभलाग्दो तरिकाले कुखुराको मासु पकाए ।
नेवारको त जातैले पाएको मासु रक्सी पनि किन लुकि लुकि खाएको होला भनेर मलाई भने अचम्म लागिरहेको थियो ।
सानुदाइलाई सोधें, 'सानुदाइहरुको त जातैले पाएको मासु रक्सी पनि लुकेर खानु पर्छ र? हामीले पो लुकेर खान्छ त !'
सानुदाइले भने, 'हामी बज्राचार्य भनेको टिमीहरुको बाहुन भन्याजस्टो हो । कुखुराको मासु खान्दैन । टेसैले लुक्न पर्छ । कसैलाई नभन ल ।'
मैंले हुन्छ भनें ।
मासु पाकेपछि सानुदाई मासुको भाँडो बोकेर आफ्नो पसलमा गए । दाइहरुले ढोका थुनेर मासु, चिउरा, रक्सी खाए ।
अहिलेसम्म कसैलाई पनि भनेको थिइन । आज त्रिचालीस बर्षपछि भनें ।
सो सरी ! सानुदाइ ।

(२)
अशोक हल अगाडिको डेरा डेरा नभइ मेरो दोस्रो घर जस्तो थियो । सबै आफ्ना भएका थिए । भाइटिकाको दिन बैनीहरुले टिका लगाइदिन्थे । टोलमा कुनै भोज भतेर भयो भने निमन्त्रणा हुन्थ्यो । सुकुलमा पलेटी कसेर भोज खानुको मजै बेग्लै थियो ।
म बसेको घर मर्मत गर्नुपर्ने भएकोले डेरा सार्नु पर्ने भयो । सारियो । सानुदाइको सामिप्य छुट्यो । पुल्चोक तिर एउटा राणाजीको पुरानो घरमा डेरा सारें । बैठक कोठा रहेछ । सिलिङ, भित्ता इनामेल पेण्ट गरको निकै राम्रो कोठा थियो । त्यसैले कोठामा खाना पकाएर खान नपाइने शर्त थियो । बाहिरको खानाले सञ्चो भएन । त्यसैले त्यहाँको बसाइ लामो भएन । त्यसपछि गावहालमा डेरा सरियो ।
उता सानुदाइले पनि टेलरिङको पेशा छोडेर पुल्चोक ईन्जिनियरिङ् क्याम्पस अगाडि किराना सामानको पसल खोले । म पनि जागिरे भएँ । सानुदाइसँगको भेटघाट पातलो भएको थियो । पुल्चोक तिर जाँदा कहिले काँही पसलमा भेट हुन्थ्यो ।
एकपटक मलाई पैसाको निकै समस्या पर्यो । भान्छामा खानेकुरा सकिएको थियो । महिना सकिनै लागेको हुँदा तलब आउने बेला त भएको थियो तर अरुसँग माग्न मन लागेन । सानुदाइलाई संझें । गावहालबाट पुल्चोक सानुदाइको पसलमा गएँ । बाँकीमा सामान किनें । सानुदाइले कुरो बुझेछन् र भने, 'टिमीसँग पैसा सकिए जस्तो छ, यो पचास रुपियाँ पनि राख, मलाई पछि डिए हुन्छ ।'
मैंले सामान र नगद पचास रुपियाँ लिएर त्यहाँबाट हिँडें । चार पाँच दिन पछि तलब आयो । सबभन्दा पहिले सानुदाइको हिसाब चुक्ता गरें । सानुदाइले सदा झैं फिस्स हाँस्दै भने, 'कटी हटार गरेको ! पछि डिन्डा पनि हुन्ठ्यो नी ।'
एकदिनको कुरो हो । म र मेरो एकजना साथी पुल्चोकबाट गावहाल तर्फ डेरामा जाँदै थियौँ । हाम्रो डेरा बाटोको दायाँ तर्फ भएपनि बाटोको बायाँ बाट हिँड्नु पर्छ भन्ने नियम अनुसार बायाँ साइड बाटै हिँडि रहेका थियौँ । सानुदाइ साइकलमा चढेर मंगलबजार तर्फ जान लागेका रहेछन् । हामीलाई देखेछन् । पछाडिबाटै बोलाउँदै भने, 'टिमीहरु कटा जान लागेको? सञ्चै छ?"
मैंले सञ्चै छ सानुदाइ भनें ।
एउटा हात उचालेर 'ल ! गयो है!' भनेर साइकलमा अघी बढे । केही अघी पुग्ने बित्तीकै सानुदाइको पाइन्टको पकेटबाट नोटहरु भरभर गरेर झर्न थाले । साइकल चलाउँदा पकेटमा राखेको नोटहरु सर्दै सर्दै झरेको रहेछ । सानुदाइले पैसा झरेको थाहा पाएका थिएनन् । साइकलमा अगाडि बढे ।
मैंले जोडसँग सानु दाइ लाई बोलाएँ । फर्केर हेरे । पैसा झरेको थाहा पाएछन् । साइकल फर्काएर आए । तबसम्म मैले भुँइमा झरेका नोटहरु उठाइ सकेको थिएँ । सात आठ सय रुपियाँ जति थियो । सुका कप चिया र बाह्र रुपियाँ पाथी पोखरेली मसिनो चामल पाइने जमानामा सात आठ सय भनेको ठूलै रकम थियो । मैले पैसा सानुदाइलाई दिएँ ।
सानुदाइले भने, 'हट्टेरिका ! आज टिमीहरु नभएको भए बर्बाडै हुने रैछ, साहुलाई डिन भनेर ल्याको पैसा ठियो ।'
पैसा गनेर पकेटमा राखेर साइकल चढ्दै सानुदाइ मंगलबजार तर्फ लागे । हामी डेरा तर्फ लाग्यौं ।
'जसले अरुको भलो गर्छ, भगवानले उसको भलो गर्छ' भन्ने कुरो साँचो रहेछ ।
अस्तु
(अहिले सानुदाइ हामी माझ हुनुहुन्न, श्रद्धाञ्जली सानुदाइ )

हैडाखण्डी बाबा

 हैडाखण्डी बाबा

त्यतिबेला म यस्तै नौ दश बर्षको थिएँ होला । शहरमा हैडाखण्डी नाम गरेका ठूला बाबा आएका छन् भन्ने हल्ला चलेको थियो । बाह्र बर्ष सम्म गुफामा बसेर तपस्या गरेका रे ! उनको दर्शन गरेपछि मनले आँटेको कुरो पुरा हुन्छ रे ! एक हप्ता बस्छन् रे ! यस्तै यस्तै हल्ला सुन्थें । कतिपय घरका मानिसहरु सपरिवार बाबाको दर्शन गर्न जाँदै थिए। स्कूलका कतिपय साथीहरुले बाबालाई भेटेर आएको कुरो सुनाउँथे । मलाई पनि बाबालाई भेट्न जाने हुटहुटी चल्न थाल्यो ।
बाबा को आश्रम हामी बसेको ठाउँबाट एक घण्टा जति टाढा थियो । स्कूल छोडेर जान मन लाग्दैनथ्यो ।‌ त्यसैले स्कूल छुट्टी भएपछि जाने निधो गरें । घरमा कसैलाई पनि भनेको थिइन ।
पुण्ये मेरो निकै मिल्ने साथी थियो । पूण्येलाई भनेँ । उ पनि तयार भयो । स्कूल छुट्टी भएपछि पुण्ये र म दुइ भाइ मिलेर हैडाखण्डी बाबाको दर्शन गर्न हिँड्यौँ र बेलुका पख बाबाको आश्रममा पुगियो ।
आश्रममा ठूलो पण्डाल लगाएको थियो । पण्डाल बिजुली बत्तीले झलमल थियो । माथी अग्लो आसनमा बाबाजी बिराजमान थिए । तल उनका हजारौं भक्तजनहरु थिए । बाजागाजा का साथ भजन भइरहेको थियो । त्यस्तो रमाइलो मैंले पहिलोपल्ट देख्दै थिएँ । मेरो वाल मष्तिष्कमा बाबा प्रति असीम श्रद्धा पलाएर आयो ।
बाबाजीको दर्शनको लागि एउटा लाइन लागेको थियो । लाइन निकै लामो थियो । साँझ परि सकेको हुनाले पुण्ये ले फर्कौँ फर्कौँ भनीरहेको थियो तर म भने बाबाजीको आश्रमको त्यो झिलीमिलीबाट यती मुग्ध भइसकेको थिएँ कि कुनै पनि हालतमा बाबाजीको दर्शन नगरि नजाने अठोट लिएँ ।
पुण्य र म हैडाखण्डी बाबाको दर्शन गर्न लाइनमा बस्यौँ । शायद त्यस लाईनमा हामी जस्ता बालकहरु अरु कोही पनि थिएनन् । कसैले हामीलाई दर्शन गराउन पहिला लिएर पनि गएनन् । शायद हामीभन्दा अगाडि पछाडि ठूला मानिसहरु भएकोले हामीलाई उनैका छोराहरु भन्ने ठाने होलान्।
लाइन बिस्तारै बिस्तारै सर्दै थियो । झमक्क रात परेपछि आश्रमको चमक झन् झन् बढ्दै थियो । हामी दुइ वालक लाईनमा उभिएर बाबाको दर्शन गर्न व्यग्र थियौँ । हामी भन्दा अगाडिका मानिसहरु कोहीले बाबाको खुट्टामा ढोग्दै थिए, कोही लम्पसार परेर साष्टाङ्ग दण्डवत गर्दै थिए । बाबाले सबैको टाउकोमा हात राखेर आशिर्वाद दिइरहेका थिए । लगभग एक घण्टा लाइनमा उभीएपछि हाम्रो पालो आयो । मैंले पनि बाबाको खुट्टा समातेर ढोगें । बाबाले मेरो टाउकोमा हात राखेर आशिर्वाद दिए । पुण्येले पनि ढोग्यो । पुण्येलाई पनि आशिर्वाद दिए । मलाई निकै आनन्द आयो । अब मनले आँटेको कुरो पुरा हुनेमा हामी दुइ वालक ढुक्क थियौँ ।
आश्रमबाट बाहिर निस्कँदा पुरै अँध्यारो भइसकेको थियो । त्यहाँबाट एकघण्टा पैदल हिडेपछि बल्ल घर पुगिन्थ्यो । खडानन्द बाजेले सुनाएका भूतका कथाहरु सबै याद आउन थाले । अघीसम्मको रमाइलो मनमा डरले घर गर्यो । कतै यस्सो छ्यास्स गर्यो कि भूतले तर्साए जस्तो लाग्न थाल्यो । पुण्य निकै डराएको थियो । मैंले पुण्येलाई सम्झाउँदै भने, 'हेर पुण्ये केइ हुन्न बुझिस् । हामीले बाबाको दर्शन गरेर आएका छौँ भूतले त के भूतको बाउले पनि हामीलाई छुन सक्दैन बुझिस् । मैंले 'हैडाखण्डी बाबा की' भन्छु तैंले 'जय' भन् । भूत सूत भाग्छ ।'
मैंले हैडाखण्डी बाबा की भनें, पुण्येले जय भन्यो । बाबाको जयजयकार गर्दै हामी दुइ वालक रातीको करीब नौ बजे तिर घरमा पुगियो ‌ । घरमा छोराहरु हराए भनेर दुइ परिवारमा रुवाबासी चलीसकेको रहेछ । हामी पुगेपछि सबै खुसी भए ।
भोलीपल्टबाट पुण्ये र म स्कूलमा साथीहरुसँग हैडाखण्डी बाबाको बारेमा गफ लाउनेमा एक नंबरमा परियो । सबै साथीहरुलाई वरिपरी राखेर हैडाखण्डी बाबाको बर्णन गर्यौँ । बाटोमा भूतसँग कसरी लड्दै लड्दै आयौँ भनेर गफ लगायौँ ।
करिब एक हप्ताको बसाइ पछि हैडाखण्डी बाबा त्यहाँबाट अर्को शहर तर्फ लागे । त्यसको करिब पन्ध्र दिन पछि बा र बा साथीहरुले कुरा गरेको सुनेँ, 'हैडाखण्डीलाई त पुलिसले समातेर लगेछ । हैडाखण्डी हैन हँडिया खानी बाबा परेछ ।'
म छाँगाबाट खसे जस्तो भएँ । मेरो आस्थामा ठूलो चोट लाग्यो । त्यसदिन देखि आजसम्म म कुनै पनि बाबाको नजिक परेको छैन ।

सहस्रपुराण

 सहस्रपुराण-१

सहस्रेको पीएचडी:
एउटा पिएचडी गरेर नामको अगाडि डाक्टर झुण्ड्याउने धोको कस्को हुन्न र? सहस्रबुद्धिको पनि थियो । त्यसैले पिएचडी गर्न लण्डन गयो । बिषय थियो: भ्यागुताको कान कुन खुट्टामा हुन्छ?
सहस्रेले एउटा भ्यागुतो लिएर आयो र त्यस भ्यागुतो लाई डाइसेक्सन टेबलमा राख्यो । पहिला भ्यागुताको पछाडिको दाहिने खुट्टा काट्यो र भागुतालाई भन्यो, 'भ्यागुता उफ्री ।' भ्यागुतो उफ्र्यो । सहस्रले नोटबुकमा नोट गर्यो । 'नट द हाइन्ड राइट लेग' ।
सहस्रेले भ्यागुताको पछाडीको देब्रे खुट्टो काट्यो र भन्यो, 'भ्यागुता उफ्री ।' अगाडिका दुइ खुट्टाले सकि नसकि भ्यागुतो उफ्र्यो । सहस्रले नोटबुकमा नोट गर्यो । नट द हाइन्ड लेफ्ट लेग ।
भ्यागुतो पीडाले छटपटाइरहेको थियो । सहस्रेले भ्यागुताको अगाडिको दाहिने खुट्टा काटिदियो र भन्यो, 'उफ्री भ्यागुता ।' उफ्रन गाह्रो भयो । सहस्रेले फेरी भन्यो,' जम्प माइ डियर फ्रग ।' भ्यागुतो अगाडिको बाँकी एउटा खुट्टोले अन्तिम पटक उफ्र्यो । सहस्रले नोटबुकमा नोट गर्यो । नट द फ्रन्ट राइट लेग ।
अब भ्यागुतो को अगाडिको बाँया खुट्टा मात्र बाँकी थियो । सहस्रेले बाँकी रहेको त्यो खुट्टा पनि काट्यो र भन्यो, 'उफ्री भ्यागुता ।' यसपटक भ्यागुतो उफ्रेन । 'जम्प माइ डियर फ्रग' । भ्यागुतो उफ्रेन । कन्फर्म गर्न सहस्रेले एक पटक, दुइ पटक, तीन पटक सम्म 'उफ्री भ्यागुता', 'जम्प माइ डियर भ्यागुता', 'उफ्री भ्यागुता' भन्यो । तर भ्यागुतो उफ्रेन ।
सहस्रले नोटबुकमा नोट गर्यो । 'फ्रन्ट लेफ्ट लेग ।'
कन्क्लुजनमा मा लेख्यो, 'फ्रम द मेथड अफ इलिमिनेसन, इट इज कन्फर्मड द्याद फ्रग्स ह्याभ देर इयर्स एट देर फ्रन्ट लेफ्ट लेग्स'
अहिले डा. सहस्रबुद्धि एउटा ठूलै आयोगको अध्यक्ष मा नियुक्ति पाएर आरामको जिन्दगी बिताउँदै छ ।
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला ।
इति श्री सहस्रपुराण सहस्रबुद्धि विद्यावारिधी कृतीनाम प्रथम अध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्र पुराण शिक्षित मूढहरु प्रति लक्षित विशुद्ध व्यंगात्मक प्रस्तुती हो, कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

सहस्र पुराण-२
सहस्र कन्सल्टेन्सी सेवा:
पिएचडी गरेपछि डा. सहस्रले एउटा कन्सल्टेन्सी सेवा खोल्यो । गाउँमा भेडा कति छन् भनेर सर्भे गर्नु थियो । सहस्रबुद्धिको वायोडाटा निकै 'रिच' भएकोले काम उसैलाई पर्ने नै भयो । पर्यो ।
एक दिनको कुरो हो । गाउँको खर्कमा एउटा गोठालो आफ्ना जनावरहरु चराइरहेको थियो । त्यहाँ एउटा बीएमडब्लु कार धुलो उडाउँदै आयो । ब्रोनी सुट, गुस्सी जुत्ता, रेब्यान चश्मा र वाइएसएल टाइ लगाएको डा. सहस्रले कारको झ्यालबाट टाउको निकालेर बाहिर हेर्दै गोठालो सँग सोध्यो, ‘यदि मैले तिम्रा भेडाहरु कति छन् भनेर ठ्याक्कै भन्न सकेँ भने मलाई एउटा भेडो दिन्छौ ?
गोठालोले सहस्रबुद्धिलाई तलदेखि माथीसम्म हेर्यो, त्यसपछि आफ्ना जनावरहरु तर्फ हेर्यो र सहमतीमा ठाउको हल्लाउँदै भन्यो, ‘हुन्छ, दिउँला नी !’
सहस्रले आफ्नो कार पार्क गर्यो, झोलाबाट एउटा आइबीएम् थिंक प्याड निकाल्यो र आफ्नो सेलफोन सँग जोड्यो । त्यसपछी उसले इन्टरनेटमा नासाको पेज सर्फ गर्यो र जिपीएस नेभिगेसन सिस्टमसँग कनेक्ट भयो, त्यस क्षेत्रलाई स्क्यान गर्यो, एउटा डेटाबेस र जटील सुत्रहरु भएको एक्सेलको स्प्रेडसिट खोल्यो, आफ्नो एप्पलमा इमेल गर्यो र केही समयमै उताबाट जवाब पनि पायो । अन्त्यमा उसले आफूसँग ल्याएको एउटा मिनियचर प्रिन्टरमा तीस पेज लामो रिपोर्ट प्रिन्ट गर्यो र गोठाला तर्फ हेर्दै भन्यो, ‘तिमीसँग १,५८६ वटा भेडाहरु छन् ।‘
गोठालोले भन्यो, ‘एकदम ठीक! ल, लैजाउ एउटा भेडो ।‘
सहस्रले छानेर एउटा जनावर लियो र आफ्नो गाडिमा लगेर राख्यो ।
गोठालोले भन्यो, 'यदि मैले तिम्रो व्यवसायको बारेमा ठ्याक्कै बताउन सकेँ भने मेरो जनावर फिर्ता दिन्छौ ?’
‘ओके, ह्वाइ नट’, सहस्रले अँग्रेजीमा हुन्छ भन्यो ।
गोठालोले भन्यो, ‘स्पष्ट छ, तिमी कन्सल्ट्यान्ट हो ।‘
‘ठीक ! तर तिमीले कसरी अनुमान गर्यौ ?’ आश्चर्य मान्दै डा. सहस्रले सोध्यो ।
गोठालोले भन्यो, ‘अनुमान सनुमान केही गर्न पर्दैन । पहिलो कुरो, कसैले नबोलाईकन तिमी यहाँ आयौ; दोस्रो कुरो, मलाई थाहा भएको तर तिमीसँग सोध्दै नसोधेको प्रश्नको उत्तर बताउन पनि तिमीले म सँग 'फीस' माग्यौ; तेस्रो र महत्वपूर्ण कुरो, तिमीलाई भेडो कस्तो हुन्छ र कुकुर कस्तो हुन्छ भन्ने पनि थाहा रहेनछ ।‘
‘खै ! फिर्ता गर मेरो कुकुर !’ गोठालोले झर्किँदै भन्यो ।
सुन्नेलाई सुनकोमाला भन्नेलाई फूलको माला ।
इतिश्री डा. सहस्र कन्सल्टेन्सी सेवा नाम द्वितीय अध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्र पुराण शिक्षित मूढहरु प्रति लक्षित विशुद्ध व्यंगात्मक प्रस्तुती हो, कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

सहस्रपुराण-३
सहस्र-हजुरआमा संवाद
लामो समय पछि डा. सहस्रबुद्धि गाउँमा हजुरआमालाई भेट्न गयो । नाति केटोले डाक्टरी पास गरेको कुरो गाउँ भरि चर्चा थियो । हजुरआमाको भुँइमा खुट्टो थिएन । नातिले ढुँग्रो(स्टेथेसकोप) लिएर आउँछ र आफ्नो छाती दुखेको सञ्चो गर्छ भन्नेमा हजुरआमा ढुक्क थिइन ।
सहस्रबुद्धिले हजुरआमालाई 'हाई ग्रानमा ! हाउ आर यु डुइङ?' भन्दै छेउमा बस्यो । हजुरआमाले कुरो बुझिनन् फिस्स हाँस्दै मायाले सहस्रको टाउको मुसारिन ।
हजुरआमा- कठै मेरो नातिको टाउकाको रौ सप्पै झरेछन् ।
सहस्र-पढाइमा धेरै मेहनत गर्न पर्छ 'ग्रानमा' ?
हजुरआमा- मेरो नातिले कति गिलास पढ्यो ?
सहस्र- पिएचडी ।
हजुरआमा- यो प्याच्डि भनेको कति गिलास हो! मलाइ भन त नाति ।
सहस्र- (हाँस्दै) बीस क्लास भन्दा पनि हुन्छ ग्रानमा ।
हआ- राम राम ! बीस गिलास !! स्याबास मेरो नाति ।
सहस्र दंग पर्छ ।
हजुरआमा- गाउँमा त मेरो नाति डाउटर भयो भनेर भन्दै थे ।
सहस्र- हो ग्रानमा, म डक्टर भएको छु ।
हजुरआमा- बल्ल मेरो मनको धोको पुरा हुने भयो । खै खै तेरो ढुँग्रोले मेरो छाती जाँचेर हेर्त नाति । पोहोर देखि हो, यस्सो जाडो बढ्यो कि यो छाती दुखेर हल न चल पार्छ । ल्या को होलान् नी !
सहस्र- ग्रानमा पनि! म तेस्तो डक्टर हैन क्या ।
हआ- (निरास हुँदै) अनि कस्तो डाउटर होस् तनी ?
सहस्र- मैंले भ्यागुताको कान कुन खुट्टामा हुन्छ भनेर पत्ता लगाएको ग्रानमा ।
हआ- तेसो भए तँ भ्यागुता'ओ डाउटर होस्, मुन्छे'ओ हैनस् ।
सहस्र- तेस्तो हैन ग्राममा । एकच्युएल्ली भ्यागुताले कुन खुट्टाबाट सुन्छ भन्ने थाहा भयो भने त्यसको तेही खुट्टाको स्याहार गर्न पर्च ।‌तेसकोको लागि मैंले एउटा 'भ्यागुता केयर सेन्टर' खोलेको छु । देश भरि शाखा कार्यालय छन् । हजुरको ग्रानसन ठूलो मान्छे भइसक्यो ग्रानमा ।
हजुरआमा- भनेसी अब पनि मैंले छाती जँचाउन उही सन्तेको छोराकहाँ जानपर्नी भयो हैन ?
सहस्र- आइ एम नट ए मेडिकल डक्टर ग्रानमा!
हआ- हँ?
सहस्र- म मेडिकल डक्टर हैन भन्या ग्रानमा ।
हआ- बीस गिलास पास गरें पनि भन्च, डाउटर हैन पनि भन्च, भ्यागुताको कान पनि भन्च, के पढेर आइचस् के ! कुरो बुझिन नाति ।
सहस्र- यु जस्ट कुड नट अन्डरस्ट्याण्ड ग्रानमा । एनी वे आइ इन्जोएड मिटुङ यु ।
हजुरआमा- के बोल्न थाल्यो के! बोल्न पनि सप्पै बिर्से जस्तो छ ।
सहस्र- ह्वाट?
हजुरआमा- हलो भनेको के हो ?थाहा छ कि बिर्सीस् ?
सहस्र- टेलीफोनमा रिप्लाई गर्दा हलो भन्छन् हैन ग्रानमा?
हजुरआमा- जुआ नी जुआ !
सहस्र- त्यो महाभारतमा युधिष्ठिरले शकुनी सँग खेल्छ नी!
हजुरआमा- हरिस थाहा छ?
सहस्र- ह्वाइट नट, हि इज माइ वेष्ट फ्रेण्ड!
हजुरआमा- अनौ ?
सहस्र- 'यु नो' भने को हो?
हजुरआमा- हल्लुँण भइचस् नाति !
सहस्र- ह्वाट?
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला ...
इतिश्री सहस्रपुराण सहस्र-हजुरआमा संवादे तृतीयोध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्र पुराण शिक्षित मूढहरु प्रति लक्षित विशुद्ध व्यंगात्मक प्रस्तुती हो, कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।

सहस्रपुराण-४
कथा : पंचतन्त्रबाट
चारजना पंडित थिए । ती मध्ये तीनजना सहस्रबुद्धि थिए भने एकजना मन्दबुद्धि । एक दिनको कुरो हो, सहस्रबुद्धि र मन्दबुद्धिहरु जंगलको बाटो हुँदै कतै जाँदै थिए । बाटोमा कुनै एउटा मरेको जनावरको हाडको टुक्रा भेटियो । सहस्रबुद्धिहरु मिलेर आफ्नो आफ्नो विद्याको प्रयोग गर्ने बिचार गरे ।
सहस्रबुद्धि १-मैले मेरो विद्याको बलले यो हाडको टुक्राबाट यस जनावरको पुरै अस्थिपंजर बनाउन सक्छु ।
सहस्रबुद्धि २- मैले मेरो विद्याको बलले त्यसमा मांसपेशी र रगत भर्न सक्छु ।
सहस्रबुद्धि ३- मैंले त्यस शरिरमा प्राण भर्न सक्छु ।
मन्दबुद्धिले उनीहरुको कुरो सुनिरहेको थियो । यतिकैमा सहस्रबुद्धि-१ ले कमण्डलुबाट हातमा पानी लिएर ऐंक्रिंक्रांक्रिं भन्दै मन्त्र जप्यो र स्वाहा भन्दै हाडको टुक्रामा पानी छर्क्यो । त्यहाँ बाघको अस्थीपञ्जर तयार भयो । सहस्रबुद्धि-२ पनि के कम थियो र! उसले पनि कमण्डलु बाट हातमा पानी लियो र ऐंह्रिंक्रांक्रिं भन्दै मन्त्र जप्यो र अस्थीपञ्जरमा पानी छर्क्यो । त्यस अस्थीपञ्जरमा बाघको मांसपेशी र रगत थपियो । त्यहाँ एउटा डरलाग्दो बाघको शरिर तयार भयो । अब त्यसमा प्राण भर्न मात्र बाँकी थियो ।
जसै सहस्रबुद्धि-३ ले कमण्डलु बाट पानी झिकेर मन्त्र पढ्न लागेको थियो मन्दबुद्धिले भन्यो, 'पख्नुस साथी, यसमा प्राण भर्नु भयो भने त यो बाघले हामी सबैलाई खाइदिन्छ, त्यसैले यस्तो गल्ती नगर्नुहोस् ।'
तर कसैले पनि मन्दबुद्धिको कुरो सुनेनन् !
मन्दबुद्धिले भन्यो, 'तपाँइहरुले यस बाघमा प्राण भर्ने नै हो भने एकछिन पख्नुस् । मेरो विद्याको बलले म त्यो रुखमा चढ्छु अनि यसमा प्राण भर्नु होला ।'
मन्दबुद्धि रुखमा चढ्यो । सहस्रबुद्धि-३ ले बाघमा प्राण भर्यो । बाघले सहस्रबुद्धि हरुलाई मारेर खायो ।
शिक्षा:
सहस्रबुद्धि हुनुभन्दा मन्दबुद्धि हुनुमै आफ्नो र जगको कल्याण छ ।
ईतिश्री सहस्रबुद्धि पंचतन्त्रे कथानाम चतुर्थ अध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्रपुराण शिक्षित मूढहरु प्रति लक्षित विशुद्ध व्यंगात्मक लेख हो, कसैको व्यक्तिगत जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ - मन्दबुद्धि)

सहस्रपुराण-५
सहस्रबुद्धिको बुद्धि कहाँ हुन्छ?
भ्यागुताको कान कुन खुट्टामा हुन्छ? भन्ने बिषयमा विद्यावारिधी गरेपछि डा. सहस्रबुद्धिको चर्चा एक्कासी चुलीयो । के बिद्यार्थी के सोधकर्ता सबै सहस्रबुद्धिका फ्यान भए । सहस्रबुद्धिलाई भ्याइ नभ्याइ हुन थाल्यो । कहिले सोल्टी होटल त कहिले होटल याक एण्ड यती । कहिले नगरकोटको रेजिडेन्सियल सेमीनार त कहिले गोकर्णको ककटेल डिनर । बिषय हुन्थ्यो, भ्यागुताको कान कुन खुट्टामा हुन्छ । डा. सहस्रले धाराप्रवाह रुपमा आफ्नो शोधपत्रको चर्चा गरे । सबै मन्त्रमुग्ध भएर डा. सहस्रले त्यो प्रस्तुती सुने । प्रस्तुतीलाई बीट मार्दै डा. सहस्रले भने, 'यु नो, इट वाज सो डिफिकल्ट फर मी टु कन्क्लुड इन ह्वीच लेग्स द फ्रग्स ह्याभ देर इयर्स । आइ ह्याभ युज्ड द फेमस थ्योरी अफ इलिमिनेसन एण्ड एण्ड द रेस्ट यु अल नो । आइ इन्ज्वोएड योर प्रिजेन्स सो मच सो, मच सो मच द्याट आइ सिम्प्ली कुड नट एक्सप्रेस इन वर्डस् । एण्ड आइ रियल्ली मिन इट । थेंक यु अल ।'
स्रोतादीर्घाबाट तालीको गडगडाहट आयो । वी अन्डरस्ट्यान्ड डक्टर सहस्र, इट मस्ट ह्याभ बीन भेरी डिफिकल्ट । एक जना स्रोताले मनमनै भने ।
एनी क्वेस्चन्स? डा. सहस्रले क्युएण्डए सेसन ओपन गरे ।
अब प्रश्न उत्तरको पालो आयो । डा. सहस्रले सबैले सोधेका एक एक प्रश्नहरुको जवाब दिए । बीच बीचमा सहभागिहरुलाई आफूले खोलेको 'फ्रग्स केयर सेन्टर' अर्थात 'भ्यागुता स्याहार केन्द्र' को भ्रमण गर्ने निम्तो पनि दिए । सहभागिहरु खुसी भए ।
एक जना सहभागिको अन्तिम प्रश्न यस्तो थियो, 'डा. सहस्र कुड यु प्लीज टेल अस द सेक्रेट अफ योर नलेज?'
गमक्क पर्दै डा. सहस्रबुद्धि कुर्सीबाट उठे, आफ्नो भुक्क फुलेको पेटमा बाँधेको पीतलको पेटीमा हात राख्दै भने, 'यु नो, यदि मैले पेटमा यो पीतलको पेटी बाँधेर हिडिन भने, यु नो, नलेजको प्रेसरले मेरो भुँडि फुटेर मर्न बेर लाउँदिन, यु नो ।'
उत्तर: सहस्रबुद्धिको बुद्धि पेटमा हुन्छ ।
ईतिश्री सहस्रपुराणे सहस्रबुद्धि बुद्धिस्थाने कथानाम पंचमं अध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्रपुराण शिक्षित मूढहरु प्रति लक्षित विशुद्ध व्यंगात्मक लेख हो, कसैको व्यक्तिगत जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ - मन्दबुद्धि)

सहस्रपुराण-६
भुुस पराल खाने सहस्रबुद्धिहरु
दुइजना सहस्रबुद्धिहरु मन्दबुद्धिको गाउँमा बास बस्न पुगेछन् । भोलीपल्ट विहान एक जना सहस्रबुद्धि नदीमा नुहाउन गएछन् । अर्का चाँही पीँढिमा बसेका रहेछन् । मन्दबुद्धिले नदीमा नुहाउन गएका सहस्रबुद्धिलाई देखाउँदै पीँढिमा बसेका सहस्र सँग भनेछन्, 'नदीमा नुहाउन गएका हजुरका साथी निकै विद्वान जस्तो लाग्यो मलाइ त । आहा! कति धपक्क बलेको अनुहार हो !''
आफ्नो अगाडी अरुको प्रसंसा किन सह्य हुन्थ्यो उनलाई । मुख बाँगो पार्दै भनेछन् , 'के को विद्वान हुनु, गोरु हो गोरु । मेरो सँगतले यतिको भएको हो ।'
नदीमा नुहाउन गएका सहस्रबुद्धि फर्केर आएर पीँढिमा बसे । पीँढिमा बसेका सहस्र चाँही नुहाउन नदी तर्फ लागे । मन्दबुद्धिले पहिला जसरी पीँढिमा बसेका सहस्र सँग सोधे, 'ती नदीमा नुहाउन गएका हजुरका साथी निकै विद्वान जस्तो लाग्यो मलाइ त । आहा! कति धपक्क बलेको अनुहार हो!'
मुख बाँगो पार्दै पीँढिमा बसेका सहस्रले भने, 'के को विद्वान हुनु, भैँसी हो भैँसी । मेरो सँगतले यतिको भएको हो ।'
केही समय पछि नदीमा नुहाउन गएका सहस्र पनि फर्के । खाना खाने बेला भएको थियो । मन्दबुद्धिले एउटा नांलोमा पराल र अर्को नांलोमा भुुुस ल्याएर दुवै जना सहस्रबुद्धिहरु को अगाडी राखि दिए ।
रिसले आगो हुँदै सहस्रहरु कराए, 'यो के गरेको ?'
मन्दबुद्धिले भने, 'मेरो केही दोष छैन हजुर । उहाँले हजुरलाई गोरु भन्नु भयो पराल पस्केर ल्याँए अनि उहाँले हजुरलाई भैँसी भन्नु भयो भुस पस्केर ल्याएँ ।
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला....
इतिश्री सहस्रपुराण सहस्रबुद्धि भुसपराल भोजननामा पष्ठम् अध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्रपुराण पढेलेखेका शिक्षित मुढहरु प्रति लक्षित विशुद्ध व्यंग हो । कसैको जिवनीसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

सहस्रपुराण-७
बोकाका खुट्टा कतिवटा हुन्छन्?
एकदिन मन्दबुद्धि र सहस्रबुद्धि बीच बोकाका खुट्टा कतिवटा हुन्छन् भन्ने बिषयमा विवाद परेछ । सहस्रबुद्धिले भन्ने दुइ वटा, मन्दबुद्धिले भन्ने चार वटा।
दिनभरी विवाद गरेछन् ।
स.बु- दुइ,
म.बु-चार
स.बु-हैन दुइ,
म.बु- हैन चार
स.बु-टिडब्लुओ टु,
म.बु-दुइ दुना चार ।
तिनीहरुको झगडा सुनेर बाटो हिड्ने बटुवाहरु समेत दिक्क मानेर आआफ्नो बाटो लागेछन् । दिनभरि झगडा गरेपछि साँझपख भोक पनि लागेछ । दुवैजना आआफ्नो घर तर्फ लागेछन् ।
घरमा गएर सहस्रबुद्धिले आफ्नो जहानसँग भनेछ, 'सुनिस नी सानीकी आमा, आज एउटा मूर्ख सँग भेट भयो र दिन भरि झगडा गरेर आइयो ।'
सानीकी आमा- फेरी आज के कुरामा झगडा परो? कसैसँग झगडा नगरी त खाएको कहाँ पच्छ र हजुरलाई ? कस्तो बानी हो कुन्नी !
सहस्रबुद्धिले भनेछ- कस्तो मूर्ख परेछ । बोकाका खुट्टा चारवटा हुन्छन् पो भन्छ ए !
सानीकी आमाले आश्चर्य मान्दै भनी, 'ठीकै त भनेछ नी । बोकाका खुट्टा चारवटा त हुन्छन्। हजुरले कतिवटा भन्नु भयो र ?'
सहस्रबुद्धिले सानीकी आमालाई दुवै हातले लोप्पा लाउँदै भनेछ, 'इस् यत्रो हुन्छन् चारवटा । मैंले मानेपो हुन्छन् चारवटा। मैले नमानेपछि कसरी हुन्छन्? पछाडिका दुइटा खुट्टा हुन्, अगाडिका दुइटा हात हुन् बुझिस्?'
सानीकी आमा बेहोस भएर अहिले आइसीयूमा छिन् भन्ने खबर आएको छ ।
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला....
इतिश्री सहस्रपुराण सहस्रबुद्धि छाग चरण सँख्या नामा सप्तमं अध्याय समाप्तम् ।
(डिस्क्लेमर: सहस्रपुराण पढेलेखेका शिक्षित मुढहरु प्रति लक्षित विशुद्ध व्यंग हो । कसैको जिवनीसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

लघुकथा: भ्रष्टाचार बिरुद्ध दिवस

 

विश्व भ्रष्टाचार विरुद्धको दिवस थियो। नेताजीले सभागृहमा भाषण ठोके,'खबरदार! कसैले भ्रष्टाचार गर्ला, खबरदार! कसैले जनतालाई दु:ख देला, खबरदार! कसैले अन्डरटेबल गर्ला । अब भ्रष्टाचारीका दिन गए, अब जनताका दिन आए, हामी सुनौलो नेपाल बनाउँछौ हामी भ्रष्टाचारीको दोहोलो काड्छौँ', भ्रष्टाचारी बिरुद्ध शुन्य सहनशिलता हुनेछ।'
दर्शकदिर्घाबाट पर्र पर्र तालीका पर्रा छुटे, नेताजीको मन प्रफुल्ल भयो । आज नेताजीलाई फुर्सत छैन । दिनभरि भाषण भाषण र भाषण मात्रै छ । भ्याइ नभ्याइ भाषण गर्नु परेको छ ।
आजको अन्तिम भाषण ब्यापार सँघमा थियो । नेताजीले ब्यापारीहरुलाई आश्वस्त पार्दै भने, 'तपाँइहरु ढुक्क हुनुहोस्, अब देशमा भ्रष्टहरुका दिन गए, देशमा भ्रष्टाचारीको बीऊ पनि रहने छैन, अब भ्रष्टाचार एकादेशको कथा हुनेछ, हामी सुनौलो नेपाल बनाउने छौ, सुनको नेपाल बनाउनेछौं ।'
दर्शकदिर्घाबाट उस्तैगरी पर्र पर्र तालीका पर्रा छुटे । अघिल्लो लहरमा बसेका सुन व्यपारी मेहताजीले उफ्री उफ्री ताली बजाए । नेताजीले मेहताजी लाई देखे, मेहताजीले नेताजीलाई हेर्दै कुटिल हाँसो हाँसे ।
भाषण सकियो । मेहताजी र नेताजीको भेट भयो । मेहताजीले कानेफुसी गर्दै के भने कुन्नी !
नेताजीले हुन्छ भनेर सहमतीमा टाउको हल्लाए ।

ओइ मान्छे!

 ओइ मान्छे!

मेरो वेवास्ता गर्ने?
हेप्नी?
तँलाई त ज्ञानी भन्थे त!
सर्वश्रेष्ठ भन्थे त !
पढालेखा भन्थे त !
सबै मीथ्या लाग्न थाल्यो !
एसएलसी पास त होस् ?
ज्यामितीय श्रेणी पढिस् ?
एक, दुइ, चार, आठ, सोह्र, बत्तीस, चौसठ्ठी,
डट डट डट टु सिक्टी फोर टर्मस् !
कति हुन्छ ?
भन् !
भन् मान्छे भन् !
कति हुन्छ भन् ?
अब
'कमन रेसियो' पाँच बनाएर हेर
एक, पाँच, पच्चीस, एक सय पच्चिस,
डट डट डट डट..... टु सिक्सटी फोर टर्मस
भन् ! कति हुन्छ? भन् !
विज्ञान पढिस्?
स्वास्थ्य शारिरिक पढिस्?
महामारी बारे पढिस्?
प्लेग पढिस्?
सार्स पढिस्?
इबोला नी इबोला?
सुनेको हो?
ए मान्छे, सुनिस्?
चिट चोरेर पास गरिस्?
ओइ चार पास!
तँ कसरी एसएलसी पास?
चिट चिट पसीना आएन?
चिट चोर्दा?
ओइ लम्फू!
बा आमाले भनेनन्?
त्यो नाइजेरियन ट्रेडसले भनेन?
जागेश्वर ले भनेन?
शेर बहादुर ले भनेन?
डाक्टर शेर बहादुर पुन भन्या !
ओइ मान्छे!
कस्ता कस्ता कहाँ गए,
मुसाका छाउरा दरवार?
मैंले अमृका हल्लाएँ,
मैंले युरोप हल्लाएँ
चीन, जापान, भारत
सबै हल्लाएँ ।
उत्तर दक्षिण पूर्व पश्चिम
सबै हल्लाएँ ।
अझै हल्लाउँछु ।
तबसम्म हल्लाउँछु
जबसम्म तेरो घैंटोमा घाम लाग्दैन।
अहिले मेरो सम्राज्य छ ।
मेरो राज्यमा कहिल्यै घाम अस्ताउँदैन ।
तेरो मिसाइल फू !
तेरो एटम बम फू !
तेरो हाइड्रोजन बम पनि फू !
तेरो विज्ञान फू,
तेरो सभ्यता फू,
फू! फू!!
तँ जाबोले फुर्ती लाउने ?
ओइ मान्छे!
मैंले के नै मागेको छु?
दुइ मिटर दूरी हैन?
एउटा मास्क हैन?
साबुन पानीले हात धो भनेको हैन?
यि तीन कुरा भन्दा बढी
अरु केही मागेको छु ?
बढ्ता मागेँ?
मेरो बेवास्ता गर्ने?
मलाई हेप्नी?
पख!
हेर्दै जा !
तँलाई थैलोमा हालेर गाड्छु ।
तेरो नाम निशान मेटाउँछु ।
तँलाई बलिन्धारा रुवाउँछु ।
अब त मलाई चिनिस्?
ओइ मान्छे!
ओइ! आफूलाई विद्वान हूँ भन्ने मान्छे !
ओइ! आफूलाई सर्वश्रेष्ठ ठान्ने मान्छे !
ओइ सभ्य हू भन्ने मान्छे !
मलाई चिनिस् ?
म विश्वको राजा हूँ,
चक्रवर्ती महाराज
कोरोना ।