Monday, November 19, 2018

टेडी बियर


तमिल कथा
टेडी बियर
वरलोट्टी रंगसामी
(अनुवाद: डि.पी. जैसी)
“बाबा यो गुलाबवाला टेडी बियर राम्रो छ हगी, किनीदिनु न बाबा” सिन्धुले जिद्दि गरी ।
“राम्रो छैन छोरी, म तिमीलाई यो भन्दा पनि ठूलो टेडी बियर किनी दिउँला नी, है ?”
“नाँइ । मलाई ठूलो खिलौना देखि डर लाग्छ । मलाई यही चाहिन्छ ।”
त्यो टेडी बियरको दाम सात सय पन्चानब्बे रुपियाँ थियो ।
समाचारपत्रमा चित्र बनाएर जीवन यापन गर्ने म जस्तो प्रेश आर्टिस्ट का लागि यो निकै ठूलो राशि थियो । हैन… हैन…. हामी गरीब हैनौँ…भोकै बस्दैनौँ । सानोतिनो आवश्यकता सजिलै पुरा हुन्छन् । ती कुराको त कुनै समस्या छैन तर यस्ता कुरा…..।
मेरो सहकर्मीको बिहे छ । केही उपहार किनौँ कि भनेर यहाँ आएको हुँ । तर साथमा सिन्धुलाई लिएर आउनु मेरो भूल थियो । उ त अहिलेसम्म त्यो टेडी बियर किन्ने भनेर हातमा लिएर उभिएकि छ । तर मलाई थाहा छ कि सिन्धुसँग इमान्दारीता देखाउनु नै श्रेयष्कर हुन्छ ।
“छोरी, यसको दाम सात सय पन्चानब्बे रुपियाँ । मतलब लगभग आठ सय रुपियाँ । हेर त, बाबाको पर्समा कति रुपियाँ छ, मात्र साठी रुपियाँ । यसको मतलब हामी अहिले यसलाई किन्न सक्दैनौँ । तर आउँदो महिना तिम्रो जन्मदिनमा अवश्य किनीदिउँला । ठीक छ।”
“प्रोमिश ?”
“प्रोमिश।”
अर्को दिन साँझ जब म अफिसबाट फर्केँ सिन्धु मसँग आएर टाँसिइ र भनी,“बाबा अब त उन्तीस दिन मात्र बाँकी छ है….”
“केको लागि बेटा ?”
“मेरो जन्मदिनको लागि । त्यो गुलाबवाला टेडी बियर हाम्रो घर आउनको लागि।”
हरेक दिन जब म अफिसबाट घर आउँथेँ, सिन्धुले बाँकी दिनहरुको सँख्या याद दिलाउन थाली।
मैले निश्चय गरेँ कि सिन्धुको जन्मदिनसम्म जसरी भएपनि उसलाई टेडी बियर किनीदिन्छु । तर कसरी ?
प्रत्येक महिना मैले कुनै न कुनै अतिरिक्त काम पाउँछु । कुनै स्पेशल एडिसन वा कलर सप्लीमेंट वा कम्तीमा पनि पोष्टरका लागि आर्टको काम पाइन्छ । यो अतिरिक्त आमदानी बाट हाम्रो घरमा साना साना खुसी - कसैका लागि नयाँ कपडा वा परिवारका साथ सिनेमा हेर्न जान वा पिकनिक जाने खर्चको जोगाड भइरहन्छ । यदि यस्तो कुनै कमाइ भएछ भने त्यो पैसाबाट सिन्धुलाई टेडी बियर किनीदिनेछु तर यो महिनामा त्यस्तो कुनै मौका आउने छाँटकाँट छैन ।
सिन्धुको जन्मदिनको बिहान म निकै उदास मन लिएर उठेँ । टेडी बियर किन्ने पैसो थिएन । कुनै न कुनै तरिकाले कमाउनु छ । नाश्ता नै नगरी चाँडै घरबाट बाहिर जान चाहन्छु । सिन्धु सुतिरहेकी छ । कोठाबाट चुपचाप बाहिर निस्कन लागेको थिएँ, सिन्धुले कम्मलबाट मुख निकाल्दै भनी,
“बाबा, मलाई जन्मदिनको शुभकामना दिन बिर्सनु भयो ?”
“मेरी राम्री नानु लाई जन्मदिनको धेरै शुभकामना !”
मेरो गला अवरुद्ध भयो । मैले उसको निधारमा चुमेँ तर आँसुलाई तल झर्न दिइन ।
कोठाबाट बाहिर निस्केपछि सिन्धुले पुनः एकपटक याद दिलाई,“बाबा, हजुरले मलाई आज टेडी बियर ल्याइदिनु हुन्छ है । मैले हजुरलाई पर्खिरहने छु ।”
म चुपचाप अफिस तिर लागेँ ।
साँझ पर्न लाग्यो । अचानक बिचार आयो, उपसम्पादकलाई भेटेर आठ सय रुपियाँ मागौँ । महिनाको अन्त्यमा तलबबाट कट्टा गर्न भनौँला । यो महिनामा खर्चमा केही कटौती गर्नु पर्छ तर चिन्ता छैन । यति बिचार गर्दै उपसम्पादकको कार्यकक्ष तर्फ लम्केँ । उनलाई आफ्नो विवसता बताएँ । तर उनले रुपियाँ दिनु भन्दा एउटा प्रस्ताव राखे ।
“हेर तिमीले मसँग बाँकी मागिरहेका छौ तर म तिमीलाई अतिरिक्त कमाइको तरीका बताउँदै छु । तिमीले यी तीनवटा कथाको लागि चित्र बनाउ । नौ सय रुपियाँ दिन्छु । तर यी चित्रहरु आज राती नै प्रेशमा जानु पर्छ । यसको अर्थ तिमीले अहिले नै, यहीँ बसेर, चित्र बनाउनु पर्छ । मलाई थाहा छ तिम्रोलागि यो कुनै ठूलो कुरो हैन । बढीमा दुइ घण्टा लाग्ला । तिमीले आठ बजेसम्ममा पैसा लिएर छोरीको जन्मदिन धुमधामका साथ मनाउन सक्छौ । बिचार गर।”
म सँग दोस्रो बिकल्प छैन ।
साँचो भन्ने हो भने म त के कुनै पनि चित्रकारले समयको सीमामा बाँधिएर राम्रो चित्र बनाउन सक्दैन । जे होस् म काममा लागेँ । मैले समय, सिन्धु, उसको जन्मदिन र टेडी बियर सबैलाई बिर्सिएँ । काम सकेर पैसा लिएर बाहिर निस्कँदा रातीको नौ बज्न लागेको थियो । टेडी बियर किन्न पसलमा पुगेँ तर पसल बन्द भइसकेको थियो । म निराश हुँदै घर फर्किएँ ।
बरण्डामा पुग्ने बित्तिकै श्रीमतीले गुनासो गर्दै भनिन,“बिचरा ! ढोकामा कुनै आवाज आयो कि बाहिर आएर हजुरलाई हेर्थी । साँझ परेपछि केही खाएकी पनि छैन । ‘बाबा आउनुहुन्छ र टेडी बियर ल्याउनु हुन्छ, तब म, बाबा र टेडी बियर मिलेर एकै साथ खाना खाने’ भन्दै थिइ । भर्खरै निदाइ।”
म हतोत्साहित भएँ । खाना खाने इच्छा पनि मरेर गयो । उदास हृदयका साथ सम्मानार्थ पठाइएको एउटा पत्रिकाको पाना फर्काएर हेर्न थालेँ । त्यसमा कुनै प्रतियोगिताको नतिजा छापिएको थियो । यस प्रतियोगितामा इनाम स्वरुप बिजेताहरुलाई गिफ्ट कुपन दिइएको थियो । यी गिफ्ट कुपनहरुलाई चुनिएका पसलहरुमा दिएर आफूलाई मन परेको सामान किन्न सकिन्थ्यो ।
मेरो मनमा एक्कासी एउटा बिचार पलायो । एउटा चार्ट पेपर लिएर त्यहाँ गुलाबवाला टेडी बियरको चित्र बनाएँ । आकार र रँगमा त्यो असली टेडी बियर जस्तै देखिन्थ्यो । आफ्नो बानी बमोजिम त्यस चित्रमा मेरो हस्ताक्षर पनि गरेँ । एउटा चकलेटको डिब्बा, जुन मेरी श्रीमतिले किनेकी थिइन, र यो चित्र लिएर हामीहरुले सिन्धुलाई जगायौँ ।
“सिन्धु छोरी, फेरी एकपटक जन्मदिनको शुभकामना । तिम्रो जन्मदिनको उपहार यो चकलेट र टेडी बियरको चित्र गिफ्ट कुपन लेउ । भोली बिहानै पसले अँकललाई यो गिफ्ट कुपन दियौ भने उनले तिमीलाई असली टेडी बियर दिनेछन् ।
“बाबा यो टेडी बियरको चित्र हजुरले बनाउनु भएको हो ?”
“हो छोरी”
मैले श्रीमतिलाई आफ्नो योजना पहिलै बताइसकेको थिएँ । भोली समय मिलाएर पसलमा जाने,पसलेलाई पहिले नै टेडी बियरको पैसादिने र सिन्धुलाई उक्त गिफ्ट कुपनको बदलामा असली टेडी बियर दिन लगाउने। सिन्धुलाई लागोस् कि उसले टेडी बियरको चित्र अर्थात गिफ्ट कुपनको सट्टामा यो असली टेडी बियर पाउँदै छे ।
सिन्धुले मैले बनाएको त्यस चित्रलाई धेरैबेरसम्म हेरी र भनी,
“बाबा यो त ठ्याक्कै त्यही पसलवाला टेडी बियर जस्तो देखिन्छ हगी । थेँक्स बाबा, आफ्नो प्रोमिस पुरा गर्नु भएकोमा।”
भोलीपल्ट अफिसबाट फर्केपछि श्रीमतिसँग टेडी बियरको बारेमा सोधेँ ।
श्रीमतिले भनिन् “कुन्नी किन हो, सिन्धुले त्यस टेडी बियरको नाम समेत लिइन”
मलाई अचम्म लाग्यो । सोचेँ, म आँफैले सिन्धुलाई पसलमा लगेर टेडी बियर दिन उचित होला ।
मैले सिन्धुलाई सोधेँ,“छोरी, आज पसलमा गएर असली टेडी बियर घरमा लिएर आउने हैन ?”
सिन्धुले केही बेरसम्म मलाई हेरीरही, केही सोची, अनि भनी, “बाबा, अब मैलै आफ्नो बिचार बदलेँ । हजुरले बनाएको चित्र निकै राम्रो छ । त्यो पसले अंकललाई यति राम्रो चित्र किन दिने नी । नाँइ बाबा, अब मलाई त्यो गुलाब वाला टेडी बियर चाहिन्न । मलाई यही चित्र चाहिन्छ । सँसारको कुनैपनि मूल्यवान बस्तुसँग म यो चित्र साट्दिन।”
छोरीको कुरा सुनेर मलाई यति खुसी लाग्यो कि मेरो कुनै चित्रले अन्तराष्ट्रीय स्तरको प्रथम पुरस्कार पाउँदा पनि मलाई यति खुसीलाग्दैनथ्यो होला । अचानक मलाई यस्तो लाग्यो कि दुनियाभरिका सबै टेडी बियरहरु किनेर आफ्नी सानी राजकुमारीको पाउमा राखि दिउँ ।

काठमाण्डौं
२०७५ मंसिर ३

सेतोपाटीमा प्रकाशित




Saturday, August 11, 2018

खाए कर्कली, नखाए सासु झर्कली!

समयको कुरो हो, कुनै जमानामा सासुले बुहारीलाई हेपेर खान दिने कर्कलो अहिले धेरैको भान्साको मीठो परिकार बन्न गएको छ । भिटामिन 'ए' ले भरपुर कर्कलोको तरकारी बनाउने तरिका पनि जानी राखौँ न त ।
बारीबाट ताजा कर्कलोका डाँठ सहितका पात लिएर आउँ । डाँठ र पात छुट्याउँ । डाँठको बाहिरको बोक्रो निकालौँ र मसिनो बनाएर काटौँ ।
पातलाई सफा पानीले पखालौँ । अलि बढी धुलो हिलो टाँसिएको पातलाई नफ्यालौँ । त्यस्ता पातलाई भुईमा राखेर पानीमा भिजाएको एउटा कपडाले घोट्दै सफा गरौँ । अब सबै पातलाई सफा पानीले धोएर गाँठा पारौँ ।
प्रेसर कुकरमा तोरीको तेल तताउँ । तेल ताते पछि एक चम्चा तोरी वा सरसौँ को गेडा, चार पाँचवटा लसुनका पोठी, दुइवटा सुकेका खुर्सानी हालौँ । अब कर्कलोको डाँठ र पात प्रेशर कुकरमा राखौँ । एक चम्चा जिराको धुलो हालेर चलाउँ । आधा लिटर जति पानी हालौँ । स्वाद अनुसार नुन र एक चिम्टी टिमुरको धुलो राखौँ । प्रेसर कुकरको ढकनी लगाएर करीब दश मिनेट पकाउँ । पाकी सके पछि बिर्को खोलेर डाडुले मिचेर कर्कलाको पेष्ट बनाऔँ । एउटा कागती निचोरेर हाल्न नबिर्सौँ नत्र साह्रै खल्लो हुनेछ । 

कर्कलोको तरकारी तयार भो ।
नयाँ उखान:
खान मन थ्यो कर्कली, भनौँ भने सासु झर्कली!!

खुसी

२०२२ साल तिरको कुरो हो । गाउँमा बृहस्पति मामाले रुद्रि लाउनु भएको थियो । गाउँको पूजाआजामा प्रसाद भनेको चिनी हालेर पकाएको मनभउ नै हुन्थ्यो । गाउँको शुद्ध घीउमा चिनी हालेर पकाएको गुलियो मनभउ; के केटाकेटि, के पाका सबैले निकै स्वाद मानेर खान्थे । धेरैजसोले थपिथपि खान्थे । कसैकसैले त दुइ तिन टपरी सम्म खान्थे ।
पूजाआजामा हामी केटाकेटीहरुलाई मन पर्ने अर्को कुरा भनेको चिनी हालेर बनाएको पञ्चामृत हुन्थ्यो । पँचामृत मा भएका अरु तिन अमृतका बारेमा हामीलाई त्यति चासो हुँदैनथ्यो । पँचामृत भनेको केवल चिनी र दुध को मिश्रण हो जस्तो लाग्थ्यो । हामीलाई खास गरी चिनीको गुलियोसँग बढी सरोकार हुन्थ्यो ।
रुद्री सकिएपछि पँडितजीले पँचामृत बाँड्दै आए । हामीहरुले हात उचालेर राख्यौँ । पँडितजीले हाम्रो हातमा पँचामृत तुर्काउँदै गए । हामीले सुरुप्प गर्दै पँचामृत खायौँ र हात टाउको तिर लगेर पुछेउँ ।
एकछिनमा बृहस्पति मामा एउटा थालीमा टीका र दक्षिणा लिएर आउनु भयो । हामी केटाकेटीहरु लामबद्ध भएर उभियौँ । मामाले 
हामीहरुलाई एकएक गरेर टीका लगाउँदै आउनु भयो । एक पैसा, दुई पैसा, पाँच पैसा जति हातमा आयो उति दिदै जानु भयो । केटीहरुले दक्षिणा पाए, केटाहरुले पाएनन् । म केटोले पनि पाउँदिन भन्नेमै थिएँ । मेरो टीका लाउने पालो आयो । 
'ए! यीनी त हाम्रा भान्जा बाबु पो रैछन!' भन्दै टीका लगाइदिनु भयो र थालीबाट एक मोहोर निकालेर मलाई दिनु भयो ।
एक मोहोर पाउँदा म सँसारको सबैभन्दा धनी भएको जस्तो लाग्यो । भुइँमा न भाँडामा जस्तो भएँ । त्यत्रो पैसा कहाँ राख्ने होला भन्ने लाग्यो ।
तुरुन्तै गोमती फुपुको पसलमा गएर एक मोहोरको नरिवल र मिश्री किनेँ । तिनताका हाम्रो गाउँमा पाइने सबैभन्दा मिठो कुरा भनेकै नरिवल र मिश्री नै थियो । साथीभाइहरु पछि लागे । उनीहरुको पनि मुख मीठो गरिदिएँ । ओहो! त्यो एक मोहोर को दक्षिणा!!
आज दशैँको टीका लाउँदा हाम्रा केटाकेटीहरुले पनि दक्षिणा पाए । मनग्गे पाए । तर मैले केटाकेटीमा एक मोहोर पाउँदा जति खुसी भएको थिएँ, त्यति खुसी भएको पाइन । शायद आजकलका केटाकेटीहरुको खुसी नरिवल मिश्री भन्दा माथी छ ।
के हालको समयमा खुसी महँगो हुँदै गइरहेको हो?

फटाहा लाले

फटाहा लाले-१:
हेर्दामा लाल बहादुर निकै सोझो देखिन्थ्यो । मैलो कछाड, मैलो फाटेको टोपी, पानी गँजी माथी मैलो इष्टकोट यहि थियो उसको पहिरन । पहिलो पटक उसलाई देख्दा उमाथी दया नपलाउने शायदै कोही थियो होला । तर उसका हरकतहरु यति खुराफाती हुन्थे कि कसैलाई विश्वासै लाग्दैनथ्यो । कालापानी गाउँमा ऊ "फटाहा लाले' को नामबाट परिचित थियो । 
कालापानी जँगलका सालका रुख काटेर लाल बहादुरले जँगल सखाप पारिसकेको थियो । बाँकी रहेका दुइ-चार वटा रुख पनि सुकेर ढल्न लागेका थिए । लालेले निरिक्षणमा गएका बनका कर्मचारीहरुलाई प्रभावमा पार्न नखोजेको हैन । तर बन बिनासको अवस्था देखेर बनका कर्मचारीहरुको समेत नौनाडि गलिसकेका थिए । उसलाई कालापानीको जँगलका सालका रुखहरु काटेको अभियोगमा बन मुद्दा लाग्यो । 
मुद्दा लागेपछि सुर्खेतबाट भागेर लाले धनगडी पुग्यो । बिना कारण उ केहि पनि गर्दैनथ्यो । धनगडी पुग्नुमा पनि एउटा कारण थियो । डि.एफ्.ओ. को ससुराली धनगडी भन्ने पत्ता लगाएर उ धनगडी पुगेको रहेछ ।
धनगडी पुगेपछि जुम्लाको हिँग बेच्ने साहु बनेर सबैभन्दा पहिला सोधिखोजी गर्दै उ डि.एफ्.ओ. को ससुराली पुग्यो । सस्तोमा हिँग बेच्यो । कहिले हिँग, कहिले जिम्मु त कहिले शिलाजीत बेच्ने बहाना बनाएर उ डि.एफ्.ओ. को सालो सँग नजिक हुन थाल्यो । एक दिन उसले डि.एफ्.ओ. को सालोसँग मीत लगायो । 
करिब तीन महिना पछि धनगडीबाट फर्केर लाले सुर्खेत आयो । साथमा भेरीको दुइ किलो माछाको कोसेली लिएर उ आफ्नो मीतकि दिदी लाई भेट्न गयो । चेलीलाई माइतीको बढी माया हुन्छ । भाइको मीत लालेले पनि डि.एफ्.ओ. को परिवारको माया पायो । यसपछि पनि करिब तीन-चार पटक भेरीको माछा कोसेली लिएर मीतकि दिदीलाई भेट्न गयो । अब उ डि.एफ्.ओ. को परिवारसँग निकै नजिक भइसकेको थियो । उसले डि.एफ्.ओ. को परिवारलाई दिदी भनेर सम्बोधन गर्थ्यो र डि‌एफ्.ओ. लाई भिनाज्यु । डि.एफ्.ओ. को परिवारले पनि उसलाई भाई भनेर बोलाउँथिन । यतिका नजिक भइसक्दा पनि अहिले सम्म उसले डि.एफ्.ओ. लाई भने भेटेको थिएन । यसमा पनि उसको स्वार्थ लुकेको थियो । उसले आफू निस्वार्थ भएको देखाउन खोजेको थियो ।
एकदिन लाले फेरी दुई किलो भेरीको माछा कोसेली लिएर दिदीलाई भेट्न गयो । कपाल कन्याउँदै उसले आफुलाई लागेको बनमुद्दा बारे दिदीलाई सुनायो र भिनाजुलाई भनेर मुद्दा फिर्ता लिन भन्दिन भनेर अनुरोध ग-यो ।
दिदी भिनाजुले अहिले सम्म लालेको कोसेली माछा निकै खाइसकेका थिए । दिदीले भिनाजुसँग कुरा राख्ने आश्वासन पायो । भोलीपल्ट भिनाजुलाई भेट्ने कार्यक्रम बनाएर लाले घर गयो ।
भोलीपल्ट बिहानै पाँच किलो भेरीको माछाको कोसेली लिएर लाले डि.एफ्.ओ. भिनाजुलाई भेट्न गयो । कपाल कन्याउँदै भुँइमा बसेर लालेले भिनाजुसँग बिन्ती ग-यो,' भिनाजु, म त हजुरको मुठीको माखो हुँ, मिच्न मन लागे मिच्नुहोस्, उडाउन मन लागे उडाउनु होस्, मबाट गल्ती भएकै हो एक पटकलाई माफ पाउँ।'
'यो त उही भगौडा लाले पो रहेछ' भनेर डि.एफ.ओ. आश्चर्यचकित भए । तर के गर्ने उनले र उनको परिवारले अहिले सम्म लालेले ल्याएका भेरीका माछा निकै खाइसकेका थिए । दया पलाएर आयो वा नुनको सोझो गरे उनै जानुन । उनले आफ्नो सालोको मीतलाई केही राहत दिने बिचार गरे । लाले दुई हात जोडेर भुँईमै बसेको थियो । 
लालेको हात समाउँदै डि.एफ्.ओ. ले भने,' ल!ल! उठ, गल्ती त ठूलो हो तर जरिवाना घटाएर तँलाई केही राहत दिऊँला, भोली अफिसमा आएर एक लाख जरिवाना भर मुद्दा टुँगाइदिउँला ।'
लालेले भोलीपल्टै आएर एकलाख जरिवाना तिरेर बन मुद्दाबाट पार पायो ।
हामीसँगको भेटमा लालेले भनेको थियो,'जम्मा पाँच लाख कमाएको थिएँ हजुर, तीन महिना सम्म यति नाटक गरेर बल्ल चार लाख फाइदा भयो ।'
शिक्षाः
सालाको मीतले ल्याएको माछा खान हुन्न ।

फटाहा लाले-२
कालापानी गाउँमा स्थानीय चुनावको माहौल थियो । मनोनयन दर्ता गर्ने दिन नजिकिँदै थियो । विभिन्न दलको उम्मेदवारिका आकांक्षीहरु प्रशस्तै थिए । लाले सँग बन मासेर कमाएको पैसा थियो । उसको मनमा पनि गा.वि.स.को अध्यक्ष बन्ने रहर पलाएर आयो । लालेले ठूलै दलको उम्मेदवारीको आश गरेको थियो । ठूला नेताहरुको घरदैलो चहारि सकेको थियो तर उसको फटाहापन देखिसकेका हुनाले उसलाई कसैले घाँस हालेनन् ।
लालेले स्वतन्त्र उम्मेदवार बनेर भए पनि चुनाव लडेरै छोड्ने र जितेरै छोड्ने अठोट ग-यो । चुनावमा भाग लिन कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक त चाहिन्छ नै तर लालेले आफ्नो लागि त्यो पनि जुटाउन सकेन । 
कृष्ण बहादुर र राम प्रसादलाई ठूला पार्टीले कालापानी गा.बि.स. अध्यक्षको लागि उम्मेदवार बनाउने घोषणा गरिसकेका थिए । 
लाले पहिला कृष्ण बहादुर कहाँ पुग्यो । उसले कृष्णलाई आफूले पनि चुनावमा प्रतिस्पर्धा गर्न लागेको तर एक जना प्रस्तावक समेत नपाएको कुरा सुनायो । उसले कृष्ण बहादुरलाई जीतको अग्रिम शुभकामना समेत दियो ।
लालेले भन्यो, 'जित त तपाईकै हुने हो, यसमा कुनै शँका छैन तर प्रतिस्पर्धि धेरै देखाउन पाए जितको मजा नै अलग हुन्छ, कृष्ण बहादुर जी ।'
'मैले के गर्नु प-यो त लाल बहादुर जी?' कृष्णले सोधे ।
'तपाईँ मेरो प्रस्तावक बनिदिनोस्, एउटा समर्थक खोजेर म पनि उम्मेदवारि दर्ता गराउँछु' लालेले भन्यो ।
कृष्णले लालेको प्रस्तावक भएर सही गरिदिए । लालेले कृष्णलाई धन्यवाद र जीतको अग्रिम बधाइ दिँदै त्यहाँबाट हिड्यो ।
त्यसपछि लाले सरासर राम प्रसाद कहाँ गयो । उसले रामप्रसाद लाई आफूले पनि चुनावमा प्रतिस्पर्धा गर्न लागेको तर एक जना समर्थक समेत नपाएको कुरा सुनायो । उसले राम प्रसादलाई लाई जीतको अग्रिम शुभकामना समेत दियो ।
लालेले भन्यो, ' जीत त तपाईकै हुने हो, यसमा कुनै शँका छैन तर प्रतिस्पर्धि धेरै देखाउन पाए जितको मजा नै अलग हुन्छ, राम प्रसाद जी ।'
'मैले के गर्नु प-यो त लाल बहादुर जी?'राम प्रसादले सोधे ।
'कृष्णजी प्रस्तावक हुनु भएको छ, तपाईँ मेरो समर्थक बनिदिनोस्, म पनि उम्मेदवारि दर्ता गराउँछु' लालेले भन्यो ।
राम प्रसादले लालेको समर्थक भएर सही गरिदिए । लालेले उनलाई धन्यवाद र जीतको अग्रिम बधाइ दिँदै त्यहाँबाट हिड्यो । 
लाल बहादुरले निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गरायो र त्यही दिन गाउँ फर्क्यो ।
उता कृष्ण बहादुर र राम प्रसाद बाजागाजा सहित आआफ्ना कार्यकर्ताहरुका साथ उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालयमा पुगे । तर उनीहरुको उम्मेदवारी दर्ता हुन सकेन । कारण, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक भएको ब्यक्ति उम्मेदवार हुन नपाउने नियम रहेछ । ठूला दलका दुवै उम्मेदवारको उम्मेदवारी दर्ता नभएपछि कार्यकर्तामा खैलाबैला मचियो । सबैले लालेको फट्याँइ थाहा पाए । लालेको खोजी शुरु भयो । भागेर गाउँ गएको कुरा थाहा भएपछि एक हुल कार्यकर्ताले गाउँमा गएर लालेलाई समाते । लालेलाई कुटपिट गरे । उसको उम्मेदवारी फिर्ता लिन भनियो । 
लालेले भन्यो, ' मलाई नकुट, म मेरो उम्मेदवारी फिर्ता लिन्छु ।'
एउटा नेपाली कागजमा 'उम्मेदवारी फिर्ता लिएको बारे' भनेर निर्वाचन अधिकृतलाई निवेदन लेखियो । लालेले दाँया बाँया हातको ल्याप्चे लगायो । कार्यकर्ताहरु त्यो निवेदन लिएर हतार हतार त्यहाँबाट हिंडे । उता लाले भागेर धनगडी मीतकहाँ पुग्यो ।
उम्मेदवारी दर्ताको अन्तिम दिन थियो । निर्वाचन अधिकृतको कार्यालयमा उक्त निवेदनमा लालेको अनुपस्थिको कारण सनाखत हुन नसकेकोले निवेदन दर्ता हुन सकेन । 
राम प्रसाद र कृष्ण बहादुरको उम्मेदवारी दर्ता भएन । लाल बहादुर कालापानी गा.वि.स. को अध्यक्षमा निर्बिरोध निर्वाचित भयो ।
पछि हामीसँगको भेटमा घिच्रो तान्दै लालेले भनेको थियो, 'प्रस्तावक र समर्थकले उम्मेदवार हुन नपाउने कुरो पनि थाहा थियो र मेरो सनाखत नभइ निवेदन दर्ता नहुने कुरा पनि थाहा थियो, त्यसैले भागेर धनगडी गएको नी ।'
शिक्षा:
फटाहा उम्मेदवारको प्रस्तावक र समर्थक कहिल्यै नबन्नु ।

भजन

जय गोविन्दा! जय गोपाला!!
डाक्टर को फिसले ढाडै सेक्यो
घट्ला भन्दा झन् झन् बढ्यो 
जय गोबिन्दा! जय गोपाला!!
नाडि छामेको पाँच सय पर्ने
दवाइ नखाई बिरामी मर्ने
जय गोबिन्दा! जय गोपाला!!
आइसियू र सिसियू मा
फुक्न पर्छ धनकी धुवाँ
जय गोबिन्दा! जय गोपाला !!
ज्वरो आइ अस्पताल गाको
दश हजार रे! रगत जँचाको
कसरी बाँच्ने जनता हामी?
जय गोबिन्दा! जय गोपाला !!
जान्ने डाक्टर बिदेश गए
नजान्ने जति बिशेषज्ञ भए
कोही डाक्टर अनसन बस्ने
कोही डाक्टर खरानी घस्ने
जनता हामी कसो गर्ने?
अस्पतालै नदेखि मर्ने?
जय गोबिन्दा! जय गोपाला!!

कविताः शुभकामना

चौहत्तरमा धुलो धुवाँ जति खाईयो खाइयो,
पचहत्तरमा खान नपरोस्;
बाटो हिड्दा मुखमा 'मास्क' कति लाइयो लाइयो ,
पचहत्तरमा लाउन नपरोस् ।
चौहत्तरमा घृणाका गित जति गाउनु गाइयो,
पचहत्तरमा गाउन नपरोस् ।
माइतिघर मण्डलामा उभिएर;
जातियता, क्षेत्रीयताका नारा जति लाउनु लाइयो
पचहत्तरमा लाउन नपरोस् ।
आफ्नो देश कस्लाई प्यारो हुँदैन र?
बिभीषण बनेर पराइकहाँ जति धाउनु धाइयो,
अब धाउन नपरोस् ।
मागेर कोही ठूलो हुँदैन,
जति मागियो मागियो,
पचहत्तरमा माग्न नपरोस् ।
स्वदेशकै माटो प्यारो, स्वदेशकै पानी मीठो,
अब बिदेशी भीषा लाउन नपरोस् ।
हवाइजहाज चढेर हाँस्दै गएको छोरो
कफिनमा सुतेर आउन नपरोस् ;
पराइकहाँ भाँडा माझ्न गएकि चेली,
बिक्षिप्त भएर फर्कन नपरोस् ।
मलाई मेरो देश राम्रो लाग्छ;
सयौँ थुँगा फूलका माला....गाउन छोड्न नपरोस् ।
आमाको माया, पीपलु छाँयाबाट टाढा रहेर;
मरुभुमिको उखरमाउलोमा निस्सासिँदै;
आफ्नो बारी बाँझो राखि, बिदेशीको बारी गोड्न नपरोस् ।
शुभकामना-२०७५

कविताः चित्कार

पाथ छ, फुटपाथ छैन
कहाँबाट हिँडौँ?
बस छ, सिट छैन
कहाँ बसेर यात्रा गरौँ?
सुन्दर गगन छ, धुलैधुलो छ
सास कसरी फेरुँ?
धारा छ, पानी छैन
आँत कसरी भिजाउँ ?
सुन्दर धर्ती छ, ओत छैन
वतन कहाँ बताउँ ?
पकेट छ, पैसो छैन
मुखमा माड कसरी लाउँ?
अस्पताल छ, डाक्टर छैन
औषधीमूलो गर्न कहाँ जाउँ?
स्कूल छ, मास्टर छैनन्
बालबच्चालाई कहाँ पढाउँ?
छरछिमेक छ, चिनजान छैन
कसलाई गुहार लगाउँ?
मानिस छन्, मानव छैनन्
कस्को विश्वास गरौँ?
मन्दिर छ, धर्म छैन
कसरी पूजा गरुँ?
हे भगवान!
यस नर्कपुरीमा,
म कसरी बाँचौँ?

कविताः सरकारी जागिर

न बाटो थियो, न घाटो थियो,
बर्षा थियो, उर्लँदो खहरे थियो,
ज्यान जोखिममा राखेर
कैयौँ जँघार तरियो,
कैयौँ ओराली उकाली गरियो ।
भीर पहरामा झुण्डिएर सर्भे गरियो,
योजनाका रेखाचित्र कोरियो ।
परिवार छोडियो, समाज छोडियो;
न दिन भनियो, न रात भनियो;
न घाम भनियो, न जाडो भनियो;
केवल देश भनियो, अनवरत लागियो ।
हामीले त यसरि नै जागिर खाइयो ।
बाटोमा खरीजुकाले टोकेर,
रगताम्मे भएका खुट्टा कन्याउँदै,
भुसुना, लामखुट्टेको टोकाई सहँदै
गोठमा सुत्न पाउनु पनि अहोभाग्य थियो ।
ओहो! त्यो दशबर्षे द्वन्द!!
लडाकुको लागि, पुलिसको खबरी;
पुलिसको लागि आतँककारी,
दुवै आरोप खेपियो;
जसले, जहाँ, जसरी मारे पनि हुने,
मुठीको माखो भएर हिडियो ।
तर, धन्य बाँचियो!
हामीले त यसरि नै जागिर खाइयो ।
पञ्चायतमा इतर,
प्रजातन्त्रमा पञ्चायती भुत भइयो;
उफ्! त्यो चुनाव को रन्को,
मतपत्र, मतपेटिकालाई अँगालो हालेर;
कहिले स्कूलको बेञ्चमा सुतियो,
कहिले गाविसको धुलो भुईँमा लडियो,
सफल चुनाव गरियो,
दुःख त थियो नी,
तर, न कहिलै डिभी भरियो,
न पिआरको सपना देखियो;
हामीले त यसरी नै जागिर खाइयो ।
बिना कुनै बढुवा, बिना कुनै प्रोत्साहन
तीन दशक कटाइयो !
उमेर, दुइ बीसे दश पकाइयो ।
न कुनै गुनासो गरियो
न कुनै मोलाहिजा नै गरियो;
हामीले त यसरी नै जागिर खाइयो ।
अब त न जँघार तर्न सकिन्छ,
न त उकाली ओराली नै गर्न सकिन्छ
न त भीरमा झुण्डिन सकिन्छ,
न त गोठमा सुत्न सकिन्छ ।
त्यसैले, अब हामीः
पुराना भयौँ,
मन्दबुद्धि भयौँ,
प्रविधि अमैत्री भयौँ ।
कसैले खोलो तरेर लौरो बिर्सिएछन्,
कसैलाई माछा मीठा, काँडा तीता भएछन् ।
देशमा लोकतन्त्र आयो,
नयाँ युगको शुरुवात भयो,
आशाको किरण पलायो,
विश्वास जाग्यो ।
स्वेच्छिक अवकाश आयो ।
सोचियो, 'देर आए दुरुस्त आए,'
बुढाहरुको बारेमा सोच्ने कोही त रहेछन् ।
छपन्न काटेको बुढो हड्डि, कति खियाउनु?
प्रविधि अमैत्री दिमाग कति लडाउनु ?
त्यसैले निवेदन टक्र्याइयो;
स्वैच्छिक अवकास को ।
तर
उता निवेदन मरेछ, ऐन मरेछ ।
यता आशा र विश्वास मरेछन् ।
हार्दिक समवेदना!
स्वेच्छिक अवकास योजना;
हार्दिक समवेदना आशा;
हार्दिक समवेदना विश्वास;
तिमीहरु सबैको बैकुण्ठबास होस् !!!
(प्रशासन मा प्रकाशित)
http://www.prasashan.com/2018/05/31/69813/

मरिलानु के छ र?

गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर मन्त्रीजीको स्वागत गरे । एकैछिनमा मन्त्रीजीले कलशमा बत्ती बालेर सप्ताहको उद्घाटन गरे ।
मन्त्रीजीले श्रद्धालुहरुलाई सम्बोधन गर्दै भने, 'हेर्नुहोस् भक्तजनहरु, भगवानको कृपाले मेरो काठमाण्डौँमा चारवटा घर छन्, करीब बीस रोपनी जग्गा छ । चारवटा घर र बीस रोपनी जग्गा  भएर के गर्ने, बस्ने त एक रोपनीमा बनेको एउटा घरमा न हो; त्यस घरमा दशवटा कोठा छन्, दशवटा कोठा भएर के गर्ने;  बस्ने त आखिर एउटा कोठामा न हो ।’ 
भक्तजनहरुले रमाइलो मान्दै मन्त्रीजीको प्रवचन सुनिरहेका थिए ।
वातावरणलाई थप रमाइलो बनाउँदै मन्त्रीजीले भने, 'एउटा कोठामा पनि एउटा मात्र खाट छ; के गर्नुहुन्छ, त्यही एउटा खाट पनि हामी बुढाबुढीले आधाआधा बाँडेर सुत्नु परेको छ ।'
भक्तजनहरुले चाख मानेर मन्त्रीजीको प्रवचन सुनिरहेका थिए । वातावरण रमाइलो भइरहेको थियो ।
मन्त्रीजीले भने, ‘हुन त बैँकमा  लाखौँ रुपियाँ पनि राखेको छ; तर के गर्ने छोराछोरी अमृकामा बस्छन् हामी बुढाबुढीलाई चिनी रोग लागेको छ;  खानामा बिहान दुइटा रोटी, बेलुकी दुइटा रोटी भए पुगिहाल्छ ।'
कुराको बीट मार्दै मन्त्रीजीले भने, 'बुझ्नु भो, मानिससँग जति सम्पत्ती भए पनि आखिर दुइटा रोटी र आधा खाट भए पुग्नि रैछ, केही नचाहिँदो रैछ । मरीलानु पनि त केही छैन, त्यसैले मेरो तर्फबाट यस स्कूलका लागि दश लाख रुपियाँ चन्दा लेख्नुहोस्, तपाइँहरु समय मिलाएर काठमाण्डौँ आउँदा मलाई भेटेर रकम लिनु होला।'
मन्त्रीजीको दानशिलता देखेर भक्तजनहरुले तालीको गडगडाहटबाट उनको स्वागत गरे, मुक्तकँठले उनको प्रशँसा गरे । मन्त्रीजीको प्रवचनको प्रभावले धेरै भक्तजनहरुमा बैराज्ञ उत्पन्न भइसकेको थियो ।  भक्तजनहरुले पनि आआफ्नो गच्छे अनुसार हजार, दशहजार, पचासहजार सम्मको दान दिने घोषणा गरे ।
खोलाखेते हरिदाइ सँग पकेटमा भैँसी बेचेको पचासहजार रुपियाँ थियो । स्टेजमा गएर पचास हजार नगदै बुझाए । आयोजकहरुले उनलाई दानबीर हरि भनेर फूलको माला र सम्मानपत्रले सम्मान गरे । कालीपारे हर्कप्रसादले हिजोमात्र मनी एक्सचेञ्चबाट छोराले कतारबाट पठाएको पचास हजार बुझेर आएका थिए । रकम पकेटमै थियो । उनले पनि दायाँबाँया नहेरि स्टेजमा गएर सबै रकम दान गरे । गहतेकी पण्डितनी बजैले जतनसाथ जोगाएर राखेको पेवाको पचिस हजार दान गरिन । कसैले नगद दिए कसैले यती दिने, उती दिने भनेर बाचा गरे । आयोजकहरुले सबैलाई फूलमाला र अबिरको टीका लगाएर सम्मान गरे ।
मन्त्रीजीलाई अर्को कार्यक्रममा जान हतार भइरहेको थियो । आयोजकहरुले मन्त्रीजीलाई बीस तोलाको चाँदिको करुवा र सम्मानपत्र दिएर सम्मान गरे । मन्त्रीजी हेलीकप्टर चढेर काठमाण्डौँ लागे ।
सप्ताहको पहिलो दिनमै मन्त्रीज्यूको दश लाख समेत गरेर करीब बीस लाख जति रकम उठ्यो ।
त्यसको केही दिनपछि सप्ताहका आयोजकहरु मन्त्रीजीबाट दश लाख रुपियाँ लिन भनेर काठमाण्डौँ गए । दुइ दिनको कसरत पछि बल्ल बल्ल मन्त्रीजी भेट भए । यस पटक आफूसँग सुको कौडो नभएकोले दश लाख रुपियाँ दिन असमर्थ रहेको कुरा सुनाए । अर्कोपटक आउँदा फरक नपर्ने दिने आश्वासन दिए । आयोजकहरुले दिएको चाँदिको करुवा मन्त्रीजीको बैठक कोठाको दराजमा सजाएर राखिएको थियो । सबैले त्यस करुवालाई हेरे । मन अमीलो पार्दै आयोजकहरु बाहिरिए । त्यसपछि आयोजकहरु करिब पाँच चोटी काठमाण्डौँ गए । तर मन्त्रीजीले कबोल गरेको दश लाख कहिलै दिएनन् । आयोजकहरुले कुरा बुझे, त्यसपछि कहिलै पनि मन्त्रीजीकहाँ माग्न गएनन् ।
त्यसको केही महिनामा हृदयघातको कारण मन्त्रीजीको निधन भयो । त्यो खबर सुनेर आयोजकहरु मध्येको एकजनाले भने, 'कठैबरा! मरिलानु त केही पनि रहेनछ ।'
(सेतोपाटीमा प्रकाशित  https://setopati.com/literature/161135 )

कन्सलटेण्ट

(कन्सल्टेण्ट सम्बन्धमा सुनेका रमाइला कथा)
कन्सल्टेण्ट-१
पशु सम्बन्धी एकजना डच कन्सल्टेण्ट पञ्जाबको भ्रमणमा आएछ । करीब दुइ सय गाईको बथानमा एउटा मात्र साँढे देखेर अचम्म मानेछ । उता आफ्नो देशमा पाँचवटा गाइको माझ एउटा साँढे, यता दुइ सय गाइको माझ एउटा साँढे । उसले एउटा पँजाबी साँढे लिएर स्वदेश फर्कने र बढी भएका साँढेहरु बेचेर फाइदा कमाउने निधो गरेछ र एउटा पँजावी साँढे लिएर स्वदेश फर्किएछ ।
स्वदेश फर्केको भोलीपल्ट दुइ सय गाइको माझ एउटा पँजाबी साँढे राखेर वाँकी डच साँढे बेचिदिएछ । डच कन्सल्टेण्ट मख्ख थियो ।
तर अचम्म भएछ । पँजाबमा छँदा त्यति एक्टिभ साँढे हलेण्ड पुगेपछि पुरै निष्क्रिय भएछ । चिन्तित हुँदै डचले पँजाबी साहुलाई खबर गरेछ । भोलीपल्टै हवाइजहाजको टिकट काटेर पँजाबी साहु हलेण्ड पुगेछ ।
पंजाबी साहुले साँढेको कानमा गएर के खुसुरफुसुर गरेथ्यो, साँढे जुरुक्क उठेर पुरै एक्टिभ भएछ ।
डचले अचम्म मान्दै पँजाबी साहु सँग सोधेछ, 'हैन साथी, साँढेको कानमा त्यस्तो के कुरा गर्यौ र एक्कासी यसरी एक्टिभ भयो?'
पँजाबी साहुको उत्तर थियो 'तिमी यहाँ कन्सल्टेण्टको रोलमा हैन, कन्ट्रयाक्टरको रोलमा आएको हो, यत्ती मात्र भनेको थिएँ, एक्टिभ भइहाल्यो !'

कन्सल्टेण्ट-२
'नेपालमा दुग्ध उत्पादन बढाउन के गर्नु पर्छ?' भन्ने बिषयमा परामर्श दिन एकजना बिदेशि परामर्शदातालाई ल्याइएछ । नेपालका केही गाउँ डुलेर परामर्शदाताले एउटा रिपोर्ट तयार गरेछ ।
नेपाली गोरुहरुबाट गर्भाधान भएका गाइहरुले कम दुध दिने भएकोले बिदेशि मुर्रा साँढे ल्याएर गर्भाधान गराउने हो भने नेपाली गाइहरुले पनि मनग्गे दुध दिन सक्ने निष्कर्ष का साथ रिपोर्ट बुझाएछ र साँढे लिन आफ्नो देश फर्किएछ ।
त्यसको केही समयपछि एउटा मुर्रा साँढेलाई हवाइजहाजमा राखेर नेपाल ल्याइएछ । साँढेलाईकाठमाण्डौँ नजिकको एउटा गाउँमा ट्रायलको लागि लगिएछ ।
गाइहरुलाई मुर्रा साँढे लगाउन किसानहरु आआफ्ना गाइहरु लिएर उपस्थित भएछन् ।
तर अचम्म! साँढेले गाईहरु प्रति कुनै चासो देखाएनछ । बिदेशि कन्सल्टेण्टको पसीना छुटेछ । एकजना बृद्धले बिदेशिको कानमा गएर भनेछन्, 'हाम्रो गाउँमा पशुको भाषा बुझ्ने एकजना जोगी छन्, शायद उनले यो अरुचीको कारण बताउन सक्छन्, तर उनलाई कन्सल्टेन्सी फि दिनुपर्छ।'
बिदेशि परामर्शदाता खुसी भएछ, तुरुन्त जोगीलाई बोलाउन पठाएछ । जोगि हाजिर भएछन् ।
अग्रीम कन्सल्टेन्सी फि बुझेपछि जोगि साँढे छेउ गएछन् र साँढेसँग कानमा खुसुरफुसुर गरेछन् । साँढेले टाउको हल्लाएर 'हब्बाँ' गरेछ ।
बिदेशिले सोधेछ, 'साँढेले के भन्यो त? किन चासो नदेखाएको रहेछ?'
जोगीले भनेछन्, 'यो साँढे यहाँ काम गर्न आएको हैन रे!'
'अनि किन आएको रे त?' निराश हुँदै कन्सल्टेण्टले सोधेछ ।
जोगीले मुसुमुसु हाँस्दै भनेछन्, 'कन्सल्टेन्सी गर्न आएको रे!!'
कन्सल्टेण्ट-३
काँडे तार ले घेरेको एउटा ठूलो चरन थियो । त्यहाँ भित्र धेरै गाइहरू चरिरहेका थिए । बार बाहिर एउटा बहर गोरु झोक्राएर बसीरहेको थियो । त्यहाँ अर्को एउटा बहर गोरू आयो र काँडे तारको बार नाघेर भित्र जाने शुर गर्यो ।
पहिलो बहर: यहाँबाट नफड्क साथी, उता पर सजिलो छ त्यहाँबाट फड्किन अलि सजिलो छ ।
दोस्रो बहर: उता सजिलो भए तिमी यहाँ के हेरेर बसेको?
पहिलो बहरः एक पटक म पनि यहाँबाट फड्किएर जाने कोसिस गरेको थिएँ काँडेतारमा अण्डकोष अड्कियो र फर्किएँ । 
उसले दुख मान्दै काँडेतारमा अड्किएको एउटा बस्तु देखायो ।
दोस्रो बहरः त्यसो भए तिमी यहाँ के गरेर बसेको त?
पहिलो बहरः कन्सल्टेन्सी । खै मेरो फी पाउँ त !!
कन्सलटेण्ट-४
दुर्गम क्षेत्रको कुरो हो । एउटा गोठालोले आफ्ना जनावरहरु चराइरहेको थियो । त्यहाँ एउटा बीएमडब्लु कार धुलो उडाउँदै आयो । ब्रोनी सुट, गुस्सी जुत्ता, रेब्यान चश्मा र वाइएसएल टाइ लगाएको ड्राइभरले कारको झ्यालबाट बाहिर हेरेर गोठालो सँग सोध्यो, ‘यदि मैले तिम्रा भेडाहरुको यकिन सँख्या भन्न सकेँ भने मलाई एउटा भेडो दिन्छौ ?
गोठालोले त्यस शहरिया ठिटोलाई तलदेखि माथीसम्म हेर्यो, त्यसपछि आफ्ना जनावरहरु तर्फ हेर्यो र सहमतीमा ठाउको हल्लाउँदै भन्यो, ‘हुन्छ, दिउँला नी !’
त्यस शहरिया केटोले आफ्नो कार पार्क गर्यो, झोलाबाट एउटा आइबीएम् थिंक प्याड निकाल्यो र आफ्नो सेलफोन सँग जोड्यो । त्यसपछी उसले इन्टरनेटमा नासाको पेज सर्फ गर्यो र जिपीएस नेभिगेसन सिस्टमसँग कनेक्ट भयो, त्यस क्षेत्रलाई स्क्यान गर्यो, एउटा डेटाबेस र एउटा जटील सुत्रहरु भएको एक्सेलको स्प्रेडसिट खोल्यो, आफ्नो ब्ल्याकबेरीमा इमेल गर्यो र केही समयमै उताबाट जवाब पनि पायो । अन्त्यमा उसले आफूसँग ल्याएको एउटा मिनियचर प्रिन्टरमा तीस पेज लामो रिपोर्ट प्रिन्ट गर्यो र गोठाला तर्फ हेर्दै भन्यो, ‘तिमीसँग १,५८६ वटा भेडाहरु छन् ।‘
गोठालोले भन्यो, ‘एकदम ठीक! ल, लैजाउ एउटा भेडो ।‘
त्यस शहरिया ठिटोले छानेर एउटा जनावर लियो र आफ्नो गाडिमा लगेर राख्यो ।
गोठालोले भन्यो,’ यदि मैले तिम्रो व्यवसायको बारेमा ठ्याक्कै बताउन सकेँ भने मेरो जनावर फिर्ता दिन्छौ ?’
‘ओके, ह्वाइ नट’, शहरियाले अँग्रेजीमा हुन्छ भन्यो ।
गोठालोले भन्यो, ‘स्पष्ट छ, तिमी कन्सल्ट्यान्ट हो ।‘
‘ठीक ! तर तिमीले कसरी अनुमान गर्यौ ?’ आश्चर्य मान्दै शहरिया ठिटोले सोध्यो ।
गोठालोले भन्यो, ‘अनुमान सनुमान केही गर्न पर्दैन । पहिलो कुरो, कसैले नबोलाईकन तिमी यहाँ आयौ; दोस्रो कुरो, मलाई थाहा भएको तर तिमीसँग सोध्दै नसोधेको प्रश्नको उत्तर बताउन पनि तिमीले म सँग 'फी' माग्यौ; तेस्रो र महत्वपूर्ण कुरो, तिमीलाई भेडो कस्तो हुन्छ र कुकुर कस्तो हुन्छ भन्ने पनि थाहा रहेनछ ।‘
‘खै ! फिर्ता गर मेरो कुकुर !’ गोठालोले झर्किँदै भन्यो ।
( कन्सल्टेण्ट पुराण समाप्तम्)

काँइल'दाइ

काँइल'दाइ -१
ठिटाहरु टिभीमा बेल्जियम र पानामा को फुटबल खेल हेरेर बसेका थिए । यत्तिकैमा काँइला दाई कुलोमा पानी फर्काएर आए । ठिटाहरुको चाला देखेर काइला दाईले कड्किँदै भने, "असार'ओ मैनाछ; भोली चाक्लेखेत रोप्न भँ'र खेताला बोला'छ; न जोत्ने गोरुलाई घाँस हाले'ओ छ, न पीँडो ख्वाएको छ; न कुलो'आँ पानी हेर्न ग'को छ; मानो रोपेर मुरी फलाउने बेलाँ यो रातरातभरि भकुण्डो हेरेर बसेर भोली कल्ले तेरो खेत रोप्दिन्छ र तेरो भुँडी फुटाउँचस् ए साँइदुवा ?"
काईला दाइ कड्किँदै थिए," दिनभरी मोबाइ'लाँ मुण्टो गाडे'ओ छ, रातभरि टिभी'आँ टाँसिएको छ, न पढेर केई गर्ला जस्तो छ, न भीषा झार्न सके'ओ छ, मैना दिन देखि घराँ आमा थला परेर सुते'इ छ, म एउटा बुढो तेरी आमालाई स्या'रेर बसुँ कि उता खेताँ जाम्? आज तेरा करँग नभाँचि त केको छोड्तेँ नी !!"
काँइला दाइ लाठो लिन बाहिर गए । ठिटाहरु काँइला दाइलाई यसो भन्दै थिए," ह्या!! कस्तो झुर बुढो, एउटा गोल भइसकेछ, बोरै गर्दियो नी!!"
बाउ छोराको रडाको पर्ला जस्तो थियो । मेरो पनि भोली टारीखेतमा रोपाइ भएकोले, खेतमा पानी लाउन हिँडे।'
तपाईहरु त राती बाह्रबजे को खेल हेरेर सुत्ने होला, हैन?
हरि शरणम्!!


काँइल'दाइ-२
आज पनि रोपाइ भएन । काँइला दाइको चाक्लेखेत र मेरो टारीखेत दुवै बाँझो रहने भए । सबै तयारी थियो तर खेतालाहरुले भर काटे । 
किन नआएका होलान भनेर सोध्न गएको त उनीहरु पनि रातभरि टिभीमा फुटबल हेरेर बसेछन् ।
काँइला दाइलाई भेट्न गएको त टाउको निहुराएर बसेका रैछन् ।
'काइला दाइले चाक्लेखेत रोप्नु भयो?' मैले थाहा नपाए जसरी सोधेँ ।
उनले दुखेसो पोखे, "यसपाली गहुँ पनि फलेन, चैते धान पनि रोपिएन, यइ चाक्लेखेत थियो, यस्तै चाला हुने हो भने त्यो पनि रोपिएला जस्तो छैन बाबु । दुइ हलको मेलो त थियो नी, खेतालाले भर काटे । घरकै केटो त्यस्तो भएसी परकालाई त के भनाइ भयो र भाइ।"
काईला दाइले भन्दै गए," अघिल्लो मैन रातभरी छक्का चौका भन्दै कराएर सुत्न दिएनन्, अहिले त्यो के जाति वडकप हो कि के हो हेरेर बसेपछि यिनीहरुलाई थालमा पस्केर दिएको भात खान पनि हतार; हिजो म बुढोलाई 'झुरबुढो' भनेर गाली गर्यो । हैन! आचलका केटाहरु के भ'का हुन्? यो दे'शाँ यस्तो के हुन लागेको हो बाबु ?"
आकासमा बादल लागेको थियो । साथमा छाता पनि थिएन । हिले बर्षा भएर रुझ्ने डरले 'यस्तै हो काँ'ल दाई' भनेर म त्यहाँबाट हिँडें ।
बाटोभरी काइला दाइ को अनुहार याद आइरहेको थियो । बाटोमा एउटाले असारे गित गाएर हिड्दै थियो ।
सिम खेतलाई सिमको पानी, टारीखेतलाई कुलो,
धनसम्पती भन्नुमात्रै माया रैछ ठूलो ।।
गुलीयो कसार,
पूर्वको ढोका उघारी हेर लाएछ असार ।।
असार मासको छिपछिपे हिलो छुनलाई घीन लायो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लायो ।

काँइल'दाइ-३
यता टारीखेत रोप्ने खेताला नपा'र बिसोकप सिसोकप छोडेर मस्कोबाट घर फर्कियो ।
काइला दाइ पिंढीमा तमाखु तानेर बसेका थिए । मलाइ देख्ने बित्तिकै सोधे, ' बिदेश गइत्तिस भन्ने सुने'ओ थिएँ, कइले फर्किस ए कान्छा बिदेशबाट?'
मः हिजो फर्केँ काँइल'दाइ ।
काइला दाइः क्यार्न गइत्तिस अरे बिदेश?
मः बिसोकप हेर्न ।
काँइला दाइ: अनि, हेरिस् त बिसोकोप? कस्तो हुँदो रैच?
म- हेरिन काँइल'दाइ, ह्याँ कान्छिले खेताला पाइएनन् भँ'र भाइबरमा कराको करै गरी, अनि फर्कि आएँ ।
काइला दाइः यो मानो रोपेर मुरी फलाउने बे'लाँ बिसोकप राख्ने मुर्दारको सतेनाश होस्!!

काँइल'दाइ-४
अस्तिसम्म फल्नाले छक्का हानो, ढिस्कानाले चौका हानो भँ'र टीबी अगाडि तीन बित्ता उफ्रेर सुत्न दिएनन् ।
अइले यो असार मा'साँ फेरी रोल्डानोले हेट्टी अरो, मेस्सीले मिस अरो भन्दै कोइ उफ्रेको उफ्रै छन्, कोइ नुन खा'का कुखुरा झोक्रिँदा झैँ झोक्रिएका छन् । न खानको ट्याम छ न सुत्नको । आफू त सुतेनन् सुतेनन् म बुढोलाई धरी सुत्न दिएनन् साँइदुवा हरुले ।
यिनका हरेलाँ करेला फल्ना भँ'र !!
कली भनेको त येइ रइच्च कि क्या हो कान्छा ?

काँइल'दाइ-५
कैले घुँडा फाटे'आ पतलुन ला'र हिड्याछन्, कैले हर्जिन्टेना'ओ कमेज ला'र हल्ला अर्दै हिड्याछन्, कैले शरिरभरि टाटुले खोपेर रँग्याछन्, कैले के अर्या छन् कैले के !! ह्याँ आफूले खेताला नपा'र आज पनि चाक्लेखेत रोप्न सकिन ।
अब असार पन्ध्र'आ दिन हिलो छ्यापाछ्याप अरेर धान'ओ खेत माड्न आउनी होलान् ।
हैन ए कान्छा, कति उत्ताउला भ'का हुन आचलका केटाकेटीहरु!! 
यिनै उत्ताउलाहरुको सँगत अरेर परार साल असाराँ एउटा मुन्तरीको जागिर गा'थ्यो । यसपाली'ओ असार पन्ध्रले कुन चाँई मुन्तरीको जागिर उड्नी हो फेरी !!
हे कली!!!!

काँइल'दाइ-६
म टारीखेत तिर पानी लाउन जाँदै थिएँ । बाटोमा काँइल'दाइ चाक्लेखेतको आलीमा बसेर सुर्ती माड्दै रहेछन् । मलाई देखेपछि काँइल'दाइ ले सोधे, 'ए कान्छा! फेरी निर्दलले जितेको हो र? भर्खरै एक हुल ठिटाहरु पहेँलो गँजी ला'र, "ए'मार ए'मार जिन्नाबात" भन्दै चाक्लेखेतको आली हुँदै नारा लाउँदै गए गाँठे ।

काँइल'दाइ-७
ए कान्छा, हाउँरा पालाँ लमाए खोलाको पानी ल्यार पनि चाक्ले खेताँ अनधी र झिनुवा रोपिएकै हो । अनधीको लट्टे खाइएकै हो । अइले आर विसो'बैँ को पैसो ऋन लिएर, तीन पल्ट टेन्डर अरे पनि कुलोआँ थोपो पानी चलेको हैन ।
तीन साल अगी मन्तिरी आए, सचिप आए, भासन अरे गए। उपभौता सम्ती बनाउन पर्च भने बानाएम्, पैसो जम्मा अर्न पर्च भने तीन लाख जम्मा अरेम्, अइले सम्म त कुलो'आँ पानी आउँच र रोपाइ अरम्ला भनेको त फुस्स पो होला जस्तो छ ए गाँठे।
उता सडक खन्ने भँ'र सप्पै कुलो पुर्दिए । बनाइ दे भन्दा कुट्न आउलान जस्तो अर्चन । गाउँका तरुना तन्नेरी सप्पै बिदेश भासिए । बोल्दिने कोइ छैनन् । नेता जति सप्पैका भ्याकु रैचन् । भाडामा ला'र पैसो कमाउँदा रैचन् । बिरोध गरे बिकास बिरोधी भैएला भन्ने डर ।
पर्धान मुन्तरीले अब कोइ कर्मचारी बिदेश जान्नन् भनेको कुरो पत्यार निबेदन लिएर बिभागाँ गएको त सप्पैजना कोइ अमृका गएका रैचन , कोइ यूरोप गएका रैचन ।
अब यो असार मासाँ कुलो'आँ पानी चलेको छैन, कोदो रोपम् भने जन छैनन्, भोकभोकै मरिन्च कि क्या हो कान्छा !!


काँइल'दाइ-८
काँइल'दाइ- होइन होला!
म- हो क्या काँइल'दाइ हो!
काँइल'दाइ- काहाँ रैच नी?
म- बुढानिलकण्ठ तिर हो रे!
काँइल'दाइ- कसरी रैच नी?
म- पचास भनेजस्तो लाग्तो!
काँइल'दाइ- पचास हजार?
म- काँइल'दाइ पनि, काँ को हजार, लाख भनेको लाख !
काँइल'दाइ- पचास लाख????
म- अँ
काँइल'दाइ-एक आनाको पचास लाख?
म- अँ!
काँइल'दाइ- ए मेरी आम्मै नी!! दश आना भने जस्तो मान्तेँ । भनेसी पाँच करोड?
म- अँ!
काँइल'दाइ- तो साँइलो पनि तँ जस्तै सरकारी कर्मचारी हैन र ?
म- हो !
काँइल'दाइ- अनि कसरी कमा'च तनी तेत्रो पैसो?
म- कुन्नी त काँईल'दाइ !


काँइल'दाइ-९
म- हेलो काँइल'दाइ!
काँइल'दाइ- हेलो! यति बिहानै क्यार्न फुन अरीस् कान्छा?
म- काँइल'दाइ फलफूल, हर्लिस्क लिएर मलाई भेट्न आउनु न !
काँइलदा'इ- किन यसरी बोलीस् कान्छा? सँचै त छस्?
म- थलाँ परेओ छु, काँइल'दाइ !
काँइलदा'इ- किन र? के भो'र कान्छा ?
म- आज बिहानबाट उँधै पनि उभै पनि भ'र धन्न मरेको नी काँइल'दाइ ।
काँइल'दाइ- के नखानु खाइत्तिस र त्यस्तो भो तनी ?
म- केइ खा'को हैन काँइल'दाइ । हिजो अपिसमा पाकेट'ओ दुधको एक कप चिया खाएको थिएँ ।
काँइल'दाइ- तेसैमा कैफियत परो कि?
म- आज'ओ पत्रिकाले पनि २३ वटा दु'धाँ आचि'याँ पाइने कोलीकिरा भेटिए भँ'र लेखे'ओ छ । तेसैले हो कि काँइल'दाइ !
काँइलदा'इ- होला कान्छा होला ! पँहेलो भन्दैमा सुन हुन्न, सेतो भन्दैमा दुध हुन्न । होस पुर्याउनु पर्च!!
म- हो! काँइल'दाइ हो !!
काँइलदा'दाइ- जमाना खराब छ कान्छा, बिचार पुर्याएस है, बिचार पुर्याएस ।
म- लौन! काँइलदा'इ, फलफूल, हर्लिस्क लिएर भेट्न आउनुस् न!! सारै आत्तिएँ ।
काँइलदा'इ- हुन्च आँउचु, नआत्तियस् !!
म- अइलेलाई फोन राखेँ काँइल'दाइ, कटक्क पेट काट्यो !!


काँइल'दाइ-१०
बिहानै काँइल'दाइलाई भेटुम भनेर गएको त काँइल'दाइ झोक्किएर बसेका रहेछन् । 
म- नमस्कार काँइल'दाइ ।
काँइल'दाइ- यो कलीमा के को नमस्कार गर्चस् केटा !
म- फेरी के पीर परो हाउँरा काँइल'दाइलाई? 
काँइल'दाइ- न मावली पट्टिको कोइ खेल्न गा'को हो, न ससुराली पट्टिको तैपनि रातभरि बिसोकप भनेर उफ्रेका छन्, सुत्न दिएका हैनन् ।
म- चार बर्षमा एक पटक आउने खेल हो काँइल'दाइ, रमाइलो अर्न दिनुस् न त ठिटाह'र लाई ।
काँइल'दाइ- एकातिर तेस्तो छ, अर्कोतिर खेताला नपा'र अझै चाक्लेखेतमा रोपाइ हुन सकेको छैन ।
म- काँइल'दाइलाई चाक्लेखेतको पीर, मलाई टारीखेतको पीर; मैले पनि कहाँ रोप्न पा'को छु तनी!
काँइल-दाइ- तो कुरो हैन, कुरो अर्कै छ केटा ।
म- के कुरो परो फेरी?
काँइल'दाइ- एकातिर आफूलाई रोपाइको पीर छ अर्कोतिर नातिकेटोले 'भोली चाक्लेखेताँ असार पन्ध्र मनाउने हो हजुरबा' भनेर चार बाकस रउसी ल्याएर घरको कोठीमा राखेको छ ।
म- अजिँगरको आहारा दैवले जुराउँचन् भनेको यही हो काँइलदाइ ।
काँइलदाइ- के भन्च यो केटो? मइले रउसी खा'को देखिच्चस्?
म- तेसो कहाँ भनिच्चु तनी । भोली चाक्ले खे'ताँ हिलो खेल्न आउनीह'रलाई रोप्न लाउनु पर्च काँइल'दाइ । बरु हल गोरुको बेवस्ता अर्न परो ।
काँइल'दाइ- इस्! अरे रोपाइ!! परार पनि आ'का हैनन् मुन्तिरीलाई लिएर ? रोपाइ अर्नि भए भँ'र दँग परेको त हिलो छ्यापाछ्याप अरेर मरे! अर्नी ख्वाउन ग'की मँगली भाउजुको गा'लाँ मुन्तरीले टोकेर घाउ पारेको बिर्सिस् !
म- यसपाली तेस्तो हुन्न काँइल'दाइ ।
काँइल'दाइ- तँ पनि गतिलो छैनस् भो ! त्यै रउसी खान पाउँचु कि भँ'र तिनेरूको पछे लिएर बोल्चस् !
काँइल'दाइको पारो चढ्न थालेकोले त्यहाँ धेरैबेर बस्न उचित लागेन र हिँडे ।
काँइल'दाइको कुरो सुनेर आएपछि अहिले मलाई भोलीको बिश्वकपमा कुन देशले जित्छ होला भन्ने भन्दा पनि भोलीको हिलो छ्याप्ने कार्यक्रममा कुनचाँहि मँगली भाउजुको गालामा घाउ हुनी हो र, कुनचाँहीँ मुन्तरीको जागीर चट हुने हो भन्ने उत्सुकताले घेरेको छ ।

काँइल'दाइ-११
आज पहिलोपल्ट काँइल'दाइलाई खुसी देखेँ ।
म- क्या हो काँइल'दाइ, आज त निकै खुसी देखिनुहुन्च नी!
काँइल'दाइ- खुसी छु केटा । यति सजिलो कुरो था'नपार दुःख पाइएको रैच !
म- के रैच त्यस्तो कुरो ?
काइँल'दाइ- गमलामा धान रोपेर टन का टन, मन का मन धान फल्ने रैच, येत्रो दिन देखि बेका'राँ टारी खेत को चिन्ता लिएर बसेँ ।
म- ए! तेसो पो!!
काँइल'दाइ- अब न खे'ताँ पानी लाउने टन्टो भो, न रोग लाग्ला भन्ने डर भो, न गोड्न पर्ने पीर भो, न काट्नु पर्ने झँझट रह्यो, न झ्याँट्नु पर्ने चिन्ता, न दाँइ हाल्ने गोरू नपाइला भन्ने पिरलो । यति सजिलो कुरो पनि थ'नपाउने हामी जस्ता गोज्याँग्राले दुःख नपाए अरु कल्ले दुःख पाउँच तनी ?
म- जान्नु पर्च नी, तेसै हुन्च तनी !! उनीहरुले पनि कम दुःख अरेर जानेका हुन तनी तेस्तो कला? अमृका, अष्टेलिया घुमेर सिकेका पो हुन् त !
काँइल'दाइ- जानेओ कुरो सिकाए र पो हाम्ले पनि सिकेम् । हेर कान्छा! म पनि यस पाली देखि गमलामा धान रोप्ने बिचा'राँ छु । बिहान'ओ ढिँडो निले'सी बिहान एक पल्ट गमलामा चुठ्छु, बेल्काको ढीँडो निलेसि बेल्का एक पल्ट गमलामा चुठ्छु । न कु'लाँ पानी लाउने टन्टो, न आलीबाट लडिएला भन्ने पीर, न हर्रेउ ले डस्ला भन्ने डर । म त ढुक्क छु कान्छा ! बुझिस्?
म- बुझेँ काँइल'दाइ, बुझेँ!!


काँइल'दाइ-१२
म- घुँडामा के भयो नी काँइल'दाइ?
काँइल'दाइ- हेर न कान्छा, घुँडो ठोक्किएर टनटनी भएर यस्तरी सुन्नीयो! 
म- टारीखेत'ओ आलीबाट लड्नु भयो कि क्या हो?
काँइल'दाइ- टारी खेत'ओ रोपाइ त तेस्तै भयो क'र नी केटा, के को आली'ट लड्नु नी !
म- अनि के भयो तनी घुँडामा?
काँइल'दाइ- सप्पैले भकुण्डो खेल हेरेर बसेया छन्, म मात्तै किन बाहिर बस्ने भँ'र टिभी'याँ भकुण्डो हेर्न भँ'र बसेँ ।
म- अनि?
काँइल'दाइ- टिभी'याँ एउटा केटोले गोल हान्न लाओ थियो ।
म- अनि?
काइलदा'इ- मैले पनि थाहै नपाइ 'गोल' भन्दै खुट्टो उचालेर ठोक्दा छेउको खाटमा खुट्टो ठोक्किएर यो गति भयो कान्छा!
म- कठै! हाउँरा काँइल'दाइ !!
काँइल'दाइ- क्यार्चस् कान्छा, यसपाली न टारी खेत'ओ रोपाइ भयो, न शरिरले सुख पाओ । साढेसाती नै चलिच्चन् कि क्या हो, यो खुट्टो सन्च भएसी एक पल्ट पातीचौरे हेराउनी'काँ नगै भएन ।


काँइल'दाइ-१३
आज बिहान गण्डकी नुहाएर फर्कँदा घुमाउने चौतारी नेर काँइल'दाइ सँग भेट भयो । हातमा लोटा लिएर काँइल'दाइ पनि गण्डकी नुहाउन हिडेका रैचन । हाम्रो कुराकानीको अँश ।
म- नमस्कार काँइल'दाइ!
कादा- चाइनेजो, यति बिहानै गण्डकी नुहा'र आइचस् तनी !
म- अरु केइ नअरेनी, बाउ बाजेले अरेको यति कर्म त अर्न परो नी काँइल'दाइ !
कादा- चाइनेजो, तो त हो क'र केटा ! तर एक मैनादेखि चाइनेजो, केइ काम न'पा झैँ चाइनेजो, तँ पनि एउटा भकुण्डो'ओ पछाडि क्यार्न दुकुरेको छस् तनी?
म- काँइल'दाइलाई थाहै रैइन्च, यो त बिसोकप हो क'रनी !
कादा- बिसोकप हो भनेर मलाई समेत दुइ दिनसम्म हेर्न ले'र गइस् र मेरो घुँडो समेत जखमी पार्दि'स । तै दिन'ड ओरालो उकालो अर्न अली सकस भइर्च ।
म- काँइल'दाइ पनि, आँफैले खा'टाँ किक हान्नुन्च, अइले मलाई दोष लाउनुन्च ।
कादा- चाइनेजो, नकरा भो, तँ पनि गतिलो छैनस् !!
म- काँइल'दाइले जे भनेनी, बिसोकपको अलिकति नशा त काँइल'दाइलाई पनि लाइच्च भो, नत्र त्यसरी घुँडै फुक्लिने गरि लात्ती त चलाउँदैनन् भो कसैले !
कादा- हैन कान्छा, आज'नी छ र षेल?
म- आज त तेस्रो र चौथो हुने को षेला छ काँइल'दाइ ।
कादा- चाइनजो, पइलो दोस्रोको सकियो?
म- भोली छ काँइल'दाइ !
कादा- चाइनजो, कान्छा मलाइ नी बोलाएस् है त !
म- बोलाम्न त बोलाम्ला, तर मेरो छेउमा बसेर हेर्न पाउनुहुन्न नी !
कादा- चाइनेजो, किन तेसो भनिस कान्छा ?
म- अस्ति लात्तीले हानेर खाट भाचेउ बुढा, आज मेरो खुट्टामा बजाएउ भने ? मेरो नलीहाड भाँच्नु छैन काँइल'दाइ !
कादा-हुन्च! हुन्च!! तेरो छेउमा नबसौँला, तर बोलाएस् नी ! एक मैना देखि'ड लखेटेको तो भकुण्डो कल्ले भेट्टाउँदो रैच भँ'र हेर्नु छ क्या मलाइ ।