Wednesday, April 5, 2017

आफ्नै कुरा

आफ्नै कुरा-१
२०४६ सालमा सिँचाइ विभागको जागिरमा प्रवेश गर्दा केन्द्रमा एउटा जलस्रोत मन्त्रालय, एउटा विभाग, ७५ जिल्लामा ७५ वटा जिल्ला सिँचाइ कार्यालयहरु, र केही आयोजनाहरु थिए । पछि मन्त्रालय दुइ भागमा टुक्रियो, विभाग पनि दुइ भागमा टुक्रियो र जिल्ला सिँचाइ कार्यालयहरु विघटन गरी दुइ तीन जिल्लाहरुलाई गाभी डिभीजन/सब डिभिजन कार्यालयहरु खोलिए । यसरी दुइवटा विभागका आफ्ना आफ्ना कार्यालयहरु खोल्दा कार्यालयहरुको सँख्या ७५ बाट नबढाउने र नयाँ दरबन्दि सृजना पनि नगर्ने भन्ने सहमती थियो । यही आधारमा जउप्रनिवि र सिबि का डिभीजन सबडिभीजन कार्यालयहरु खोलिएका थिए । 
 
यो निर्णय ज्यादै अव्यवहारिक थियो । सबै जिल्लामा एउटै कार्यालयबाट सिँचाइ तथा नदी नियन्त्रण कार्यको सेवा पाइरहेका सेवाग्राहीहरुलाई सुलभ सेवा प्राप्त गर्न निकै गाह्रो भइरहेको थियो । खास गरि पहाडी तथा हिमाली जिल्लाका सेवाग्राहीहरुलाई सरकारले दिएको यो सेवा 'न निल्नु न ओकल्नु' भएको थियो । यसै अवसरको फाइदा उठाउँदै टाठाबाठाहरुले सरकारले दिएको सुविधाको भरपुर दूरुपयोग गरे भने सोझा जनता सधैँ सेवाबाट बन्चित भए ।
देश सँघीयतामा प्रवेश गरेपछि हाल पुनः ७५ जिल्लामा कार्यालय खोल्ने काम भएको छ । जिल्लाको अस्तित्व नै विलिन भइ स्थानीय निकायको गठन हुन्छ भन्ने जान्दा जान्दै फेरी ७५ जिल्लामा सय भन्दा बढी कार्यालय खोल्ने जुन निर्णय भयो त्यो पनि गलत थियो । सँघीयता लागु भइसकेपछि लहडमा गरिएको त्यो निर्णयले केही समयमा मृत्युवरण गर्ने कुरा पक्का छ ।
पछिल्लो निर्णय गर्दा कार्यालयको सँख्या ७५ मा नबढाउने कुरा पनि विचार गरिएन र कर्मचारीको नयाँ दरबन्दि नथप्ने कुरा पनि मानिएन । सयकडौ नयाँ दरबन्दिहरु सृजना गरिए । नेपाल सरकार माथी आर्थिक भार थोपरियो ।
विगतमा सिँचाइको एउटा कार्यालय भएको प्राँगणमा अहिले चार देखि पाँच वटा कार्यालयहरु स्थापना भएका छन् । जागिरको उत्तरार्धमा पुगेका हामीहरु त रनभुल्लमा छौँ भने सेवाग्राही कति रनभुल्लमा होलान । 
हाम्रा निर्णयहरु दूरदर्शी छैनन् भन्ने यो भन्दा निकृष्ट उदाहरण अरु केही पनि हुन सक्दैन ।
धमीलो पानीमा माछा मार्ने प्रथाको अन्त्य कहिले हुने होला ?
आफ्नै कुरा-२
स्थानीय स्वायत्त शासन एेन २०५५ आएपछि सिँचाइ विकासमा अर्को नीतिगत परिवर्तन आयो । पहाडमा १० हेक्टर भन्दा कम र तराइमा १०० हेक्टर भन्दा कम सिँचाइ क्षेत्रफल भएका योजनाहरु स्थानीय विकास मन्त्रालय अन्तर्गत सँचालन गर्ने निर्णय भयो । सिँचाइ नीति २०६० को तर्जुमा हुँदा यो थ्रेसहोल्डलाई बढाएर पहाडमा र तराइमा क्रमशः २५ हेक्टर र २०० हेक्टर बनाइयो । 
यो निर्णय यति अदूरदर्शी थियो कि पहाडी तथा हिमाली जिल्लामा २५ हेक्टर भन्दा माथीका योजना पाउनै हम्मे पर्‍यो । सयौँको सँख्यामा प्राविधिक जनशक्ति रहेको सिँचाइ विभागको जनशक्ति माखा मारेर बस्ने र थोरै मात्र जनशक्ति भएको जिल्ला प्राविधिक कार्यालयलाई 'खन्याइ देउ घोप्ट्याई देउ' भयो । कतिपय सिँचाइ कार्यालयहरुले ५ हेक्टरका योजनाहरुलाई २५ हेक्टर भनेर कार्यान्वयन गरे भन्ने हल्ला समेत चल्यो । जे होस् दश बर्ष सम्म यो क्रम चलेपछि मात्र सिँचाइ विभागका आँखा खुले । सिँचाइ नीति २०७० बनाउँदा साना सिँचाईको परिभाषालाई बडो कठीनाइका साथ पुनः परिभाषित गरियो । पहाडमा १० हेक्टर र तराइमा १०० हेक्टर ।
यी सबै काम कारवाही भइरहँदा सिँचाइका उपभोक्ता किसानहरुको अवस्था के भयो होला भनेर कसैले हेक्का राखेको पाइएन । तलको काल्पनिक तर तीतो यथार्थले सिँचाइका उपभोक्ताको पीर मर्का दर्शाउने कोशिस गरेको छु ।
मानौँ पहाडी जिल्लाको एउटा सिँचाइ योजनाको क्षेत्रफल १५ हेक्टर छ । सिँचाइ नीति २०६० भन्दा पहिला यो योजना सिँचाइ विभागको कार्यक्षेत्र भित्र थियो । सिँचाइ नीति २०६० आए पछि यो योजना जिल्ला प्राविधिक कार्यालयको कार्यक्षेत्र भित्र पर्न गयो । २०७० साल पछि यो योजना पुनः सिँचाइ विभागको कार्यक्षेत्रम पर्न आयो । जिल्लामा सिँचाइ विभागको साइनबोर्ड झुन्ड्यायर बस्ने सिँचाइ बिभाग तर सेवा माग्न आउने कृषक उपभोक्तालाई जिल्ला प्राविधिक कार्यालयको बाटो देखाउने काम भयो । सेवाग्राहीहरुलाई घडीको पेन्डुलम बनाइयो । सिँचाइ विभागका कर्मचारीहरु उपभोक्ता सामु यति निरिह देखिए कि उनीहरुको अस्तित्व नै सँकटमा परेको महशुस भयो ।
हाम्रा नीति निर्माताहरु उपभोक्ताहरु प्रति कति सवेदनाहीन छन् भन्ने कुराको यो भन्दा नराम्रो उदाहरण के हुन सक्ला ।
एक दुइ दिनमा हामी सिँचाइ दिवस मनाउन गइरहेका छौँ । 'सिँचाइ गरौ उत्पादन बढाऔ' भन्ने हाम्रो अहिलेको नारा रहेको छ । के व्यक्तिगत तथा लहडका भरमा सँस्थागत सँरचना तथा नीति नियमहरुमा गरिने परिवर्तनहरुले सिँचाइको विकास सम्भव छ ?
हेक्का रहोस् 'सिँचाइ गरौ उत्पादन बढाऔ' भन्ने नारा 'कण्डम लगा‌औँ एड्स भगाऔँ' भन्ने जस्तो हैन । यस क्षेत्रमा लागेका हामी सबैमा एउटा दृढ निश्चय र इमान्दारिताको खाँचो छ ।

आफ्नै कुरा-३
२०५५ सालको कुरो हो त्यतिबेला म क्षेत्रिय सिँचाइ निर्देशनालय, सुर्खेत मा कार्यरत थिएँ । इन्जिनीयरिङ अध्ययन सँस्थान पुल्चोकमा पहिलो पटक जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर शिक्षा शुरु हुन गइरहेको थियो । यसअघी इन्जिनियरिङमा स्नातकोत्तर शिक्षा आर्जन गर्न विदेश जानुको विकल्प थिएन । सिँचाइ विभागले आफ्ना इन्जिनियरहरुलाई यहीँ नेपालमै जलस्रोत इन्जिनीयरिङमा एम.ई. पढाउने उद्देश्यका साथ इअसँ पुल्चोकसँग समझदारी गरेको थियो । इअसँमा पढ्नका लागि प्रवेश परिक्षा अनिवार्य छ । त्यसैले सिँचाइ विभागले आफ्ना इन्जिनीयरहरुलाई प्रवेश परिक्षामा भाग लिन आउनका लागि पत्र काट्यो । बाहिर जिल्लामा काम गरिरहेका म लगायत करीब सत्तरी जना साथीहरुले काठमाण्डौँ आइ प्रवेश परिक्षामा सामेल भयौँ । इअसँ ले उत्कृष्ट ६ जनालाई रेगुलर विद्यार्थीको कोटा अन्तर्गत सहुलियत फि मा पढ्ने व्यवस्था गरेको थियो । म, बशिष्ठजी र भोला जी को नाम रेगुलरमा निस्कियो । रुडकीमा बीइ गर्न जाँदा चार नम्बरमा नाम निस्केको थियो । यसपटक पाँच नम्बरमा निस्कियो । बीइको पढाइ सकेको १२ बर्ष पछि स्नातकोत्तरमा नाम निस्किएकोमा खुसी भइयो ।
जब सिँचाइ विभागबाट मनोनयन गर्ने पालो आयो तब त्यहाँ मेरो नाम थिएन । कारण बुझ्न जाँदा थाहा भयो 'प्रवेश परिक्षाको रिजल्टको कुनै माने छैन, बरिष्ठताको आधारमा मनोनयन गरिएको रहेछ ।
मैले सोधेँ, 'त्यसो भए हामी बाहिर जिल्लामा काम गरिरहेकाहरुलाई पत्र काटी काटी किन प्रवेश परिक्षाका लागि बोलाएको?'
'इलिजिबिलिटीका लागि' भनेर उत्तर आयो ।
इअसँको प्रकृया पुर्‍याउनका लागि मात्र हामीलाई बलिको बोको बनाइएको रहेछ भन्ने कुरा प्रष्ट भयो ।
तिनताका निसेनि मा एउटा प्रावधान थियोः स्नातकोत्तर गरेको पाँच बर्षपछि बल्ल माथिल्लो पदको खुल्ला प्रतियोगितामा बस्न पाउने । निसेनि को यही प्रावधानमा टेकेर पहिलै एम.ई. गरेका कतिपय मित्रहरुले सिमीत प्रतिस्पर्धाबाट माथिल्लो पदमा प्रोमोशन भए । त्यसैले जति चाँडो एम.ई. गर्‍यो त्यति चाँडो प्रतिस्पर्धामा बस्न पाउने भएकोले चाँडै एम.ई. गर्न जरुरी थियो ।
प्रवेश परिक्षामा उत्कृष्ट नतिजा ल्याएको भएता पनि मेरो मनोनयन नभकोमा उनले चासो देखाए । उनको हस्तक्षेप पछि मात्र योग्यता क्रमको आधारमा मनोनयन गर्ने भन्ने आदेश भयो । तर मनोनयनको प्रक्रिया शुरु भएन । इअसँले भर्ना हुन आउने सुचना निकाल्यो तर अन्तिम समयसम्म मनोनयनको प्रक्रिया शूरु भएन । हामीहरुले विभागमा अध्ययन विदाका लागि निवेदन दिएर इअसँमा भर्ना भयौँ ।
हाम्रो पढाइ चालू थियो तर मनोनयनको निर्णय भएको थिएन । यसैबीच विश्वराज रेग्मी सचिवको सरुवा भएर विश्वनाथ सापकोटा सचिव नियुक्त भएर आए । हाम्रो टोली सचिवजीलाई भेट्न गयो । हाम्रो कुरा सुनेपछि उनले आश्चर्य मान्दै भने 'कस्तो अचम्म, चिठी काटेर जाँच दिन बोलाउने अनि नाम निस्किए पछि पढ्न जान नदिने !!!'
उनले हामीहरुलाई पढाइमा निरन्तरता दिन भने र केही दिनमै हाम्रो मनोनयन गर्ने कुरा गरे । हामी खुसी हुँदै फर्कियौँ । तर त्यसको केही दिनसम्म पनि कारवाहि नटुँगिएको हुनाले हामीहरु पुनः सचिवलाई भेट्न गयौँ । हार खाँदै उनले भने, "मैले तपाईहरुलाई दिएको बचन हारेँ । तपाइहरुको मनोनयन हुन सकेन ।"
पछि कुरो बुझ्दै जाँदा वास्तविकता थाहा लाग्यो । जलस्रोत मन्त्रालयमा रेग्मी थरका एकजना सहसचिव थिए । उनी काठमाण्डौ युनिभर्सिटीका शर्माजीका अनन्य मित्र रहेछन् । सिँचाइका इन्जिनीयरहरुलाई केयू मा एम.ई पढाउने उनको धोको रहेछ तर सिँचाइ विभागबाट उल्टो प्रस्ताव आयो टी.यू. को । बस् के थियो, उनैले हाम्रो मनोनयनको फाइललाई लट्टु घुमाए जसरी घुमाउँदा रहेछन्। उनको तर्क पनि विचित्रको थियो । 'विदेश पढ्न जाँदा पो छात्रबृत्ती दिने हो स्वदेशमा पढ्न पनि के को छात्रबृत्ती । फेरी इन्जिनीयरहरुलाई एम.ई. पढ्न छात्रबृत्ती दिने हो भने शाखा अधिकृतलाई एमए गर्न किन नदिने, इन्जिनीयरले त कुस्तुर कमाएका हुन्छन् ती जावालाई केको छात्रबृत्ती अादि ।'
हाम्रो पढाइ चालू थियो दोस्रो सचिव विश्वनाथ जीको पनि सरुवा भयो । लोकमान सिँह कार्की जलस्रोत सचिव भएर आए । हामी उनलाई भेट्न गयौँ । हामीले आफ्नो पुरानो गीत गायौँः 'चिठी काटीकाटी प्रवेश परिक्षामा भाग लिन बोलायो, नाम निकाल्यौँ तर मनोनयन गरेन ।'
उनले आश्चर्य र क्रोध दुवै प्रकट गरे । यति स्पष्ट कुरोमा पनि यति लामो समयसम्म कुनै निर्णय लिन नसकेकोमा आश्चर्य माने भने जलस्रोतका रेग्मी सहसचिवको पारा देखेर उनको पारो तात्यो । तुरुन्त एउटा समिती गठन भयो । समितिले आफ्नो राय दियो । हाम्रो मनोनयन भयो ।
यसै बीच निसेनीमा रहेको डिग्रीलाई पाको हुन पाँच बर्ष लाग्ने प्रावधान खारेज भइसकेको थियो । जुन प्रावधानका कारण यत्रो घम्साघम्सी भयो त्यो नै खारेज भयो । मनमनै भन्यौँ, "कुन चाहीको ज्वाँइलाई प्रोमोसन गराउनु थियो गराए अनि नियम खारेज गरे ।" यहाँ ज्वाईहरुलाई भनेर नीति नियम परिवर्तन हुने कुरा कुनै नौलो थिएन । हामीले पनि नौलो मानेनौँ ।
प्रवेश परिक्षामा १४ नम्बर बाहिर परेका साथीहरु अर्को बर्ष निदरलेण्डमा पूर्ण छात्रबृत्तीमा पढ्न गए । हामीहरु लाटाले पापा हेरे झैँ हेरेको हेरै भयौँ ।

रेग्मी सहसचिव, जस्ले आफ्ना सिनीयर कर्मचारीहरुलाई त यस्तो व्यवहार गरे भने जिल्लामा काम गर्दा सोझा जनतालाई कति चुसे होलान् कल्पना मात्र गर्दा पनि आङ सिरिङ हन्छ । मानिस फटाहा हुन्छन् भन्ने सुनेको थिएँ तर यति धेरै फटाहा पनि हुन्छन् भन्ने कुरा प्रत्यक्ष भोग्न पाइयो ।
यसप्रकार इन्जिनीयरिङ अध्ययन सँस्थानले स्वदेशमै पहिलो पटक जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तरको पढाइ शुरु गरेको थियो । इअसँ पुल्चोकको जलस्रोत सँकाय स्नातकोत्तरको पहिलो ब्याच भएकोमा गर्व पनि लाग्छ ।


Saturday, April 1, 2017

जन्तर


अघीपछिको भन्दा आजकल गोपाल चाँडै स्कूल जान थालेको थियो । स्कूल जाने बाटोमा एउटा खुला चौर थियो । सधैँजसो त्यस चौरमा एकजना चटकेले थरी थरीका चटक देखाइरहेको हुन्थ्यो । एक दुईवटा चटक देखाइ सकेपछि उसले झोलाबाट एउटा जन्तर झिकेर बेच्न शुरु गर्थ्यो । चटकेले त्यो जन्तर लगाएपछि भूत प्रेत टाढा भाग्ने कुरा सुनाउँथ्यो ।  गोपाल त्यो जन्तर किनेर भूत भगाउन चाहन्थ्यो तर कहिल्यै पनि उसको साथमा जन्तर किन्ने पैसा भएन । उ एकछिन उभिएर चटक हेर्थ्यो अनि स्कूल तिर लाग्थ्यो ।
आज त्यस चौरमा एकजना नयाँ चटके आएको थियो । सबैले इन्डिया बाट आएको जादूगर भन्दै थिए । मानिसहरुलाई आफूतर्फ आकर्षित गर्ने उसको कला पहिलेको चटकेको भन्दा फरक थियो । उसले डमरु बजाउँदै चर्को आवाजमा मानिसहरुलाई आफूतर्फ आकर्षित गरिरहेको थियो । उसले साथमा थरीथरीका सर्पहरु पनि ल्याएको थियो । त्यसैले अघिपछिको भन्दा आज चटक हेर्ने मानिसको भीड निकै बढी थियो । चटकेको साथमा दश बाह्र बर्षको एकजना बालक पनि थियो । चटकेले उसलाई ‘जमुरी’ भनेर बोलाउँथ्यो । जमुरीको आँखामा कालो पट्टी बाँधिएको थियो । यतिकैमा चटकेले आफ्नो जादू देखाउन शुरु गर्‍यो ।
चटके– जमुरी
जमुरी - हाँ उस्ताद
चटके- यो हातमा छाता पकडेको सामने वाला बाबुले कस्तो रँगको सर्ट लगाउनु भएको छ  रे ?
जमुरी- रातो, उस्ताद  ।
चटके- अनि कस्तो रँगको जाँघिया लगाउनु भएको छ रे ?
जमुरी- नीलो  उस्ताद ।
चटके- फिर से भन् त ।
जमुरी- नीलो उस्ताद ।
सबैजना जोडले हाँस्थे । आफ्नै उमेरको जमुरीले त्यस्तो करामत गरेको देखेर गोपालले अचम्म मानिरहेको थियो । सबैजना हाँस्दा उ पनि मरिमरी हाँस्थ्यो । त्यो रातो सर्टवाला मानिसको अनुहार भने लाजले रातो पीरो हुन्थ्यो ।
चटकेले रातो सर्टवाला मानिससँग सोध्थ्यो, ‘जमुरीले ठीक भन्यो बाबु ?’
लाज माने जस्तो गरी त्यस मानिसले ‘ठीक भन्यो’ भनेर ठाउको हल्लाउँथ्यो । सबैजना आश्चर्य मान्थे । गोपाललाई यो जादू निकै रमाइलो लागिरहेको थियो ।
एकछिन पछि चटकेले फेरी बोलाउँथ्यो, ‘जमुरी,
जमुरी- ‘हाँ उस्ताद’
चटके- यो मुँछवाला बाबुको सर्टको पकेटमा कति पैसा छ रे ?
जमुरी- एक हजार पचास रुपियाँ उस्ताद।
चटके- कति कतिको नोट छ  रे ?
जमुरी- पाँच सयको दुइवटा नयाँ नोट र पचासको एउटा थोत्रो नोट उस्ताद ।
सबैजना जोडसँग हाँस्थे ।
चटकेले त्यस जुँगावाला मानिसलाई आफ्नो पकेटमा भएको रकम देखाउन आग्रह गर्थ्यो । त्यस मानिसले पकेटबाट आफूसँग भएको रुपैयाँ देखाउँथ्यो । नभन्दै उसको पकेटमा पाँच सय दरका दुइवटा नयाँ र  पचास रुपैयाँको एउटा थोत्रो नोट हुन्थ्यो । चटके र जमुरीको यो जादू सबैजना अचम्म मानेर हेरिरहेका थिए । यो जादू हेरेपछि गोपाललाई आज स्कूल जान पनि मन लागिरहेको थिएन । उसलाई त्यस चटकेका अरु जादू पनि हेर्न मन लागिरहेको थियो ।
एकछिन पछि चटकेले बाँसुरी निकालेर बजाउन थाल्यो । जमुरी हातमा डमरु बजाउँदै वरीपरी घुम्न थाल्यो । चटकेको बाँसुरी एक्कासी बज्न छोड्यो । चटकेले लाख कोशिस गर्‍यो तर उसले बाँसुरी बजाउन सकेन । छाती फुट्ने गरी फुक्यो तर बाँसुरी बजेन ।
अब चटकेलाई शँका लाग्न थाल्यो । उसले भन्यो, ‘यहाँ कोही कालाजादू जानेको मानिस बसेको हुनु पर्छ । उसले कालाजादू गरेर मेरो बाँसुरी बज्न बन्द गरेको हो।’
उसले त्यो कालाजादूवाला लाई चुनौति दिँदै भन्यो, ‘अरे डरपोक ! के छुपि छुपि जादू गर्छस् ? हिम्मत छ भने आगे आ । हेरौँ तेरो कालाजादू ठूलो कि मेरो जादू ठूलो।’
चटकेको चुनौति पछि भीडबाट एकजना कालो बस्त्र लगाएको, कालै टिका लगाएको, कालै वर्णको मानिस अगाडि आयो । उ निकै डरलाग्दो देखिन्थ्यो । उसले भुँइबाट एक चिम्टी माटो उठायो । राता राता आँखा पार्दै माटो फुक्यो । मनमनै मन्त्र पढ्यो र ‘फू’ गर्दै  जमुरीलाई त्यो माटोले हान्यो ।
जमुरीको छातीमा असह्य पीडा भयो । छाती समाउँदै जमुरी कराउन थाल्यो ।  एकैछिनमा उसले रगत बान्ता गर्‍यो र हावाले ढालेको रुख ढले झैँ ढलेर भुँइमा लडिबुडी गर्न थाल्यो । असह्य पीडाका साथ उ जोडजोड सँग  छटपटाउन थाल्यो । आफ्नो छोराको यस्तो हालत बनाएकोमा चटके त्यस कालाजादू वाला मानिस सँग निकै रिसायो । उसले पनि भुँइबाट माटो उठायो, मनमनै मन्त्र पढ्यो र ‘फू’ गर्दै त्यस कालाजादूवाला लाई माटोले हान्यो । तर कालाजादू वाला लाई त्यसले कुनै असर गरेन ।
कालाजादूवाला पहिले रिसायो । त्यसपछि जोडजोडले हाँस्न थाल्यो । उसको हाँसो पनि निकै डरलाग्दो थियो । उसका आँखाहरु रगतले भरिए जसरी राता राता भइसकेका थिए । उ साक्षात यमराज जस्तो देखिन्थ्यो । उसले फेरी भुँइबाट माटो उठायो, एउटा मन्त्र पढ्यो र ‘फू’ गर्दै त्यस माटोले चटकेलाई हान्यो । उसले त्यस चटके माथी हानेको मन्त्रको प्रभाव तुरुन्तै पर्‍यो । चटकेले आफ्ना लुगा आँफैले चात्दै, आफ्नो कपाल आँफै लुछ्दै, दुई हातले छाती पिट्दै, धुलोमा लडिबुडी गर्दै छटपटाउन थाल्यो ।
सबैजना स्तब्ध भएर यो कालोजादू हेरिरहेका थिए । सबैका मनमा ‘अब के हुने होला’ भन्ने कौतुहलता बाहेक केही थिएन । कालाजादूवालाले सबैलाई मन्त्रमुग्ध पारिसकेको थियो ।
पहिले जोडजोडसँग छटपटाइरहेको जमुरीको अहिलेसम्म गति हराइसकेको थियो । उ अधमरो भएर मुढो लडेजस्तै भूईँमा लडिरहेको थियो । उसले बेला बेलामा बिस्तारै बिस्तारै खुट्टा चलाएको देखिन्थ्यो । यसबाट उसमा प्राण बाँकी रहेको कुरा थाहा लाग्थ्यो । जमुरीको यस्तो हालत देखेर सबैजना निकै चिन्तित देखिन्थे । गोपाललाई पनि जमुरीको निकै चिन्ता लाग्न थाल्यो । उसले भगवानसँग जमुरीको जिवन रक्षाको लागि प्रार्थना गर्‍यो ।
यतिकैमा ‘बाबा मलाई बचाउ’ भन्दै जमुरी जोडले करायो । सबैमा जमुरी बाँच्न सक्छ कि भन्ने आशा पलायो ।
आफ्नो छोराको त्यस्तो गति देखेर चटके जोडजोड सँग रुन थाल्यो । चटके रोएको देखेर धेरैका आँखा रसाए । गोपालका पनि आँखा रसाए । अब चटकेले काला जादूवाला सँग हार मानीसकेको थियो । उसले घस्रिँदै गएर त्यस कालाजादूवालाको खुट्टा समायो । जोडसँग रुँदै क्षमा याचना गर्न थाल्यो, ‘गुरु! मैले तपाँईलाई चिन्न सकिन । मलाई माफ गरि देउ । जे सजाय दिनु छ मलाई देउ तर मेरो छोराको प्राण बचाइ देउ ।’
चटकेले लाख अनुरोध गर्दा पनि त्यस कालाजादूवालाले मानेन । निराश हुँदै चटकेले दर्शकहरुलाई गुहार्न थाल्यो, ‘मेरो छोराको प्राण बचाइदिनुहोस् हजुर, यसले मेरो छोरालाई मार्ने भयो ।’
दर्शकहरुले पनि कालाजादूवालालाई अनुरोध गरे । पहिलो अनुरोध गर्नेमा रातो सर्टवाला मानिस र मुँछवाला बाबु थिए ।
दर्शकको अनुरोधपछि कालाजादूवालाले भन्यो, ‘यस मानिसलाई त म माफ गर्नै सक्दिन । यसले मेरो गुरुको अपमान गरेको छ । तर तपाईँहरुले भन्नुहुन्छ भने म जमुरीको प्राण बचाइदिन्छु ।’
उसले झोलाबाट एउटा जन्तर निकाल्यो । मनमनै मन्त्र पढ्यो र त्यो जन्तर जमुरीको टाउको वरीपरी घुमाएर उसको निधारमा छोयो । निँदबाट उठे जस्तै गरी जमुरी उठ्यो । सबैले ताली पड्काएर  जादूवालालाई धन्यबाद दिए । गोपालले पनि ताली पड्कायो । आफ्नै उमेरको भएकोले होला जमुरी बाँचेकोमा गोपाल सबैभन्दा खुसी देखिन्थ्यो । आफ्नै आँखा अगाडि जन्तरको प्रत्यक्ष प्रभाव देख्न पाएकोमा उसलाई त्यस जन्तरमाथी निकै विश्वास लाग्यो ।
चटके भुँइमा लडिबुडि गरिरहेको थियो । जमुरीले कालाजादूवालाको खुट्टा समाउँदै आफ्नो बाबुको गल्ती माफ गरिदिन अनुरोध गर्‍यो । कालाजादूवालाले जमुरीको बाबुको टाउको वरिपरि जन्तर घुमाएर उसको निधारमा छोयो । चटके पनि आफ्नो शरिरको धुलो झार्दै भुँइबाट उठ्यो र आफ्नो हार स्वीकार गर्‍यो । उसले कालाजादूवालाको खुट्टा समाउँदै उसँग त्यो अचम्मको जन्तर माग्न थाल्यो ।
कालाजादूवालाले रिसाउँदै भन्यो, ‘तैले हाम्रो गुरुको जन्तरको अपमान गर्छस्, तँ जस्तालाई दिन भनेर ल्याएको जन्तर हैन । बरु कुनै सज्जनलाई चाहिन्छ भने म वहाँहरुलाई यो जन्तर दिन सक्छु । यो सामान्य जन्तर हैन । मेरो गुरुले हिमालय पर्बतबाट ल्याएको जन्तर हो । म सँग केही जन्तरहरु छन् । तपाईहरुलाई चाहिन्छ भने तपाईहरुलाई दिन सक्छु । यसको मूल्य भने केही महँगो पर्छ तर तपाइँ सज्जनहरुलाई भनेर मैले यस जन्तरको दाम दुइ सय रुपियाँ राखेको छु । केवल दुई सय रुपियाँ ।’
अहिले पनि कालाजादूवालाको त्यो जन्तर त्यही रातो सर्टवाला मानिस र मुँछवाला मानिसले तुरुन्त किने । त्यसपछि उसले बाहिर निकालेका सबै जन्तरहरु दर्शकहरु माझ हाताहात बिक्री भए । अब जन्तरको माग बढ्यो । यसरी माग बढेको देखेर कालाजादूवालाले झोलाबाट थप केही जन्तर निकाल्यो । यसपटक उसले जन्तरको मोल तीनसय रुपैयाँ तोक्यो । ती जन्तर पनि एकै छिनमा बिक्री भए । जन्तरको प्रत्यक्ष प्रभाव देखेर होला गोपाललाई पनि त्यो जन्तर किन्न मन लागेको थियो तर उसँग त्यत्रो पैसा थिएन । उसलाई आज स्कूल जान निकै ढिलो भइसकेको थियो । उ हतार हतार स्कूल तिर लाग्यो । त्यस्तो अचम्मको जन्तर किन्न नपाएकोमा उ निकै दुखि थियो । स्कूलमा पनि उसलाई बिहान हेरेको कालाजादू, जमुरी  र त्यो अचम्मको जन्तरको सम्झना मात्र आइरह्यो ।
स्कूलमा आज फुटबल म्याच भएकोले गोपाललाई घर फर्कँदा अलि ढिलो भइरहेको थियो। जादू देखाउने चौरनेर पुग्दा साँझ पर्न लागेको थियो । उसले त्यहाँ तीन चार जना मानिसहरुका साथमा जमुरीलाई देख्यो । उसलाई जमुरीको हाल बुझ्न मन लाग्यो । हतार हतार गोपाल उनीहरु भएनिर गयो । जमुरी छेउमा बसेर चिउरा-दालमोठ खाइरहेको थियो । बिहानको सिकिस्त जमुरीलाई सकुसल देखेर गोपाल खुसी भयो ।
तर एउटा कुराले उसलाई खिन्न बनायो । जमुरीको बाबु, कालाजादूवाला मानिस, रातो सर्टवाला मानिस र मुँछवाला बाबु सम्मुख भइ बसेका थिए । उनीहरु दिनभरिको कमाइ एक आपसमा बाँडिरहेका थिए ।  

सेतोपाटीमा प्रकाशित