Monday, May 23, 2016

अस्तित्व (हिन्दी)

हँसी ने रोदन से कहा
तुम न होते तो मेरा क्या अर्थ था ।
अमृत ने बिषसे कहा
तुम नहीँ होते तो मेरा क्या काम था।
उजाला ने अन्धेरे से कहा 
तुम नही होते तो मुझे कौन ढुँडता ।
धुप ने छाँव से कहा
तु हो तभी तो मेरी चर्चा होती है ।
सुख ने दुख से कहा 
तुम हो तभी तो मेरा महत्व है ।
जिवन ने मृत्यु से आहिस्ता से कहा
तुम न होते तो मेरा अस्तित्व ही क्या था ।

अस्तित्व

हाँसोले रोदनसँग भन्यो
तिमी नभए मेरो के अर्थ ।
अमृतले बिषसँग भन्यो
तिमी नभए मेरो के काम ।
उज्यालोले अँध्यारोलार्इ भन्यो
तिमी नभए मलार्इ कस्ले खोज्ने ।
घामले छाँयासँग भन्यो
तिमी छौ र पो मेरो कुरा हुन्छ ।
सुखले दुख सँग भन्यो
तिमी छौ र पो मेरो महत्व छ ।
जिवनले मृत्युुुसँग सुस्तरी भन्यो
तिमी नभए मेरो के अस्तित्व ।

Saturday, May 21, 2016

काठमाण्डौ निजगढ द्रुतमार्गः हामी कहाँ चुक्यौँ ?

काठमाण्डौँ निजगढ द्रुतमार्गका सम्बन्धमा पुनः बहस प्रारम्भ भएको छ । यस लेखमा भारतमा पीपीपी मोडलमा निर्माण भएका केही योजनाहरुमा काम गरेको अनुभवको आधारमा पीपीपी-बुट-टोल मोडेलका केही आधारभूत तथ्यहरुका बारेमा प्रकाश पार्न खोजिएको छ ।
यस मोडलमा जानुपूर्व निजी क्षेत्रले सबैभन्दा पहिले यस प्रकारका योजनाहरुलार्इ लगानी-प्रतिफलको तराजुमा जोखेर मात्र निर्णय लिने गर्छन् । सँरचनाहरुको निर्माण, सडकको मर्मत सँभार र सँचालन लगानीमा पर्छ भने सवारी साधनहरुबाट उठाइने टोल एकमात्र प्रतिफल हो ।  सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्दा पीपीपी-बुट-टोल मोडेल अन्तर्गत निर्माणहुने सडक आयोजनाहरुमा निजी क्षेत्रले योजनाको सम्पुर्ण निर्माण खर्च, सँचालन खर्च र मर्मत खर्च व्यहोर्नु पर्छ । लगानीकर्ताले यस प्रकार निर्माण र मर्मतमा खर्च गरेको रकम, त्यसको ब्याज र लगानीको प्रतिफल योजनाको निर्माण सम्पन्न भएपछि तोकिएको समयावधिसम्ममा त्यस सडकमा गुड्ने सवारीसाधनहरुवाट उठाउने टोलबाट प्राप्त गर्छ । सवारी साधनहरुबाट उठाइने यो टोल नै एकमात्र प्रतिफलको आधार हो ।  यसप्रकार सरसर्सी हेर्दा कुनै पनि सडक आयोजना पीपीपी-बुट-टोल मोडल अन्तर्गत सम्भाव्य हुनका लागि लगानिकर्ताले विचार गर्ने एउटै मात्र आधार भनेको भविष्यमा त्यस बाटोमा गुड्ने सवारीको सँख्या नै हो । सँभाव्य सवारीको सँख्याले प्रतिफल दिन सक्ने ठहर भयो भने लगानीकर्ता आकर्षित हुन्छ अन्यथा हुँदैन । यदि लगानीकर्ताले योजनाको निर्माणमा गर्ने लगानी र त्यसबाट प्राप्त हुने प्रतिफलका बीच अन्तर भयो भने के हुन्छ ?
यस प्रकारको अन्तर कम गर्न भारत सरकारले लगानीकर्तालार्इ चालिस प्रतिशत सम्म पुँजीगत अनुदान दिएर योजना निर्माण गरिएका उदाहरणहरु छन् । लगानीकर्ताहरुका लागि कुनै सडक आयोजना निकै आकर्षक हुन्छन् भने कुनै आयोजना कम आकर्षक हुन्छन् । कम आकर्षक योजनाका लागि सरकारले अनुदान दिएको छ भने बढी आकर्षक योजनाहरुका लागि लगानीकर्ताहरुले उल्टै सरकारलार्इ अनुदान दिएका उदाहरणहरु पनि छन् । यसप्रकार लगानीकर्ताहरुले सरकारलार्इ दिने अनुदानलार्इ ‘नेगेटिभ ग्रान्ट’ पनि भनिन्छ । उदाहरणका लागि डि.एस. कन्सट्रक्सनले पीपीपी मोडल अन्तर्गत दिल्ली-गुडगाँव द्रुतमार्ग बनाउँदा शुरुमै सरकारलार्इ ६७ करोड ‘नेगेटिभ ग्रान्ट’ दिएको थियो किनकि यो सडकमा गुड्ने सवारीको सँख्या उल्लेख्य थियो र प्रतिफल आकर्षक थियो । यस्तै गरि सत्यम कम्प्युटर्स ग्रुप अन्तर्गतको सोमा इन्टरप्राइज-नागार्जुन कन्सट्रक्सन कम्पनी र मेटास कम्पनीले नौ किलोमिटर लामो होसुर देखि इलेक्ट्रोनिक सिटी सम्मको रु ४५० करोडको लगानीमा निमार्ण हुने योजनाका लागि सरकारलार्इ शुरुमै रु १६ करोड ‘नेगेटिभ ग्रान्ट’ दिएको थियो । गुजरातको भारुच देखि सुरतसम्मको बाटोलार्इ ६ लेनमा स्तरोन्नत गर्ने रु ४९२ करोडको कामका लागि इदा इन्फ्रास्ट्रकचर नामक कम्पनीले सरकारलार्इ रु ५०४ करोड सम्मको ‘नेगेटिभ ग्रान्ट’ दिएको उदाहरण छ । भारतको पीपीपी मोडलमा यस्ता उदाहरणहरु प्रशस्त भेटिन्छन् । नेगेटिभ ग्रान्टबाट भारत सरकारले सडक बन्नु पूर्वनै अर्बौ रुपैयाको रकम प्राप्त गर्न सफल भएको छ ।
सोझो हिसाबले हेर्दा जबसम्म लगानीकर्ताले आफ्नो लगानीमा सरकारबाट सुरक्षाको प्रत्याभूति पाउँछ तबसम्म मात्र लगानी गर्न आउँछ । नत्र आउँदैन । काठमाण्डौ निजगढ सडकमा लगानीकर्ताले वार्षिक १५ अर्बको न्यूनतम प्रतिफलको प्रत्याभूति माग्नुलार्इ अनुचित मानिदैन । यो उस्को कुरो हो । यसको एउटा कारण काठमाण्डौ तराइ जोड्ने अन्य सडकहरुको समानान्तर निर्माणबाट प्रतिफलमा पर्न जाने सम्भाव्य जोखिमलार्इ लिन सकिन्छ । सबैले आफ्नो लगानीको सुरक्षा चाहेकै हुन्छन् । भारतमा पीपीपी मोडलमा निर्माण भएका सडकहरुमा सरकारले लगानीकर्ताहरुलार्इ केही कुराहरुमा आश्वस्त पारेको छ । लगानीकर्ताले जति सवारी सँख्याको हिसाब गरेर प्रतिफलको गणना गरेको हुन्छ यदि त्यो सवारीसँख्यामा कमी आयो भने उसको लगानी डुब्ने डर हुन्छ । योजनाको प्रतिफलको ग्यारेन्टी दिन साधारणतया सडक निर्माणको काम सम्पन्न भएपछि करिब ७ बर्षसम्म उक्त सडकको समानान्तर हुने गरी अर्को सडक निर्माण गर्न नपाइने व्यवस्था ‘कन्सेसन एग्रीमेन्ट’ मै गरिएको हुन्छ । यस प्रकारको व्यवस्थाले गर्दा प्रतिफलमा गणना गरिएका सबै सवारि साधनहरु तोकिएको अवधिसम्म यही बाटोबाट हिड्छन र लगानीकर्ताले पनि पुर्वानुमान अनुसारको प्रतिफल पाउँछ । तर उक्त अवधिभित्रै यदि अर्कै समानान्तर सडक निर्माण भयो भने सवारीसाधनहरु अर्को नयाँबाटोबाट गुड्न सक्छन् र लगानीकर्ताको लगानी जोखिममा पर्न सक्छ । सरकारले लगानीकर्ताको मात्रै हितमा हेरेर हुँदैन । सडक प्रयोगकर्ताको हितमा पनि उत्तिकै ध्यान दिनु पर्छ । यसैले सरकारले कुनै पनि लगानीकर्तालार्इ सम्पूर्ण कन्सेसन अवधिसम्मका लागि समानान्तर सडक निर्माण सम्बन्धि उक्त निषेधको सुविधा दिएको हुदैन । केवल सात या दश बर्षका लागि मात्र लगानीकर्ताले उक्त सुविधा पाउँछ । उक्त सडकमा लगानीकर्ताको एकाधिकार नहोस, समयमा आवश्यक मर्मत सुधार गरोस सडक उपयोगकर्ताले सुविधा पाउन भन्ने ध्येयले यसो गरिएको हुन्छ । निर्माण सम्पन्न भएको सात या दश वर्षपछि सरकारले अर्को लगानीकर्ताबाट समानान्तर सडक बनाउन पाउने आफ्नो अधिकार सुरक्षित राखेको हुन्छ । लगानीकर्ताहरुलार्इ थप प्रत्याभूति प्रदान गर्न सरकारले पछि बन्न सक्ने उक्त समानान्तर सडकको टोल फी पहिलो सडकको भन्दा करीब २५ प्रतिशतले बढी हुनेछ भनेर पहिलो लगानीकर्ताको कन्सेसन एग्रीमेन्टमा उल्लेख गरेको हुन्छ । यसबाट सरकारले सडक प्रयोगकर्तालार्इ बढी टोल तिरेर बैकल्पिक मार्गको प्रयोग गर्न पाउने आफ्नो स्वेक्षिक अधिकार सुरक्षित गरिदिएको छ भने साथसाथै सडकमा पहिलो लगानीकर्ताको एकाधिकार पनि तोडेको छ ।
हामीकहाँ पीपीपी मोडलको चयन गर्दा पहिलेको सरकार यही विन्दुमा चुकेको देखिन्छ । काठमाण्डौ-हेटौडा मार्गको कुरा हुँदै गर्दा काठमाण्डौ-निजगडको कुरो हुन हुदैनथ्यो वा काठमाण्डौ-निजगडको कुरो चल्दै गर्दा काठमाण्डौ-हेटौडा मार्गको कुरो चल्न हुँदैनथ्यो । कारण, यी दुवै सडकहरुले गणना गरेको सवारी साधनहरु बाडिन जान्छन् र प्रतिफल पनि घट्न जान्छ फलस्वरुप लगानी-प्रतिफलको अनुपात पनि घट्न गइ योजना सम्भाव्य नहुन सक्छ । यहि कारणले हुनसक्छ काठमाण्डौ निजगड सडकको प्रस्तावमा रु १५ अर्बको न्यूनतम प्रत्याभूति चाहेको । विगतमा भएको यही गल्तीको कारण अहिले दुवै योजनाहरु पीपीपी मोडल अन्तर्गत धरापमा परेका हुन र काठमाण्डौ-निजगड सडक सरकारले परम्परागत मोडलबाट निर्माण गर्ने अग्रसरता देखाएको हुन सक्छ । भारतमा जस्तै कम्पीटिटिभ रोडको व्यवस्था राख्न सकेको भए दुवै सडक पीपीपी मोडलबाट बन्न सक्ने अवस्था थियो । पहिले दुवै सडक पीपीपी मोडलबाट बनाउने कुरा हुँदा कम्पीटिटिभ रोडको यही बुँदामा गल्ती भएको थियो भने अहिले काठमाण्डौ निजगड सडक अन्य मोडालिटीबाट बनाउँदा काठमाण्डौ-हेटौडा सडक धरापमा पर्न जाने सम्भावन बढ्न गएको छ । जुन कुनै मोडालिटीबाट सडक निर्माण गरिने भएता पनि सडक त सरकारलेनै बनाएको मानिन्छ । सरकार आँफैले परम्परागत तरिकाबाट निर्माण गरेर बनाए पनि वा पीपीपी मोडेल अवलम्बन गरी बनाए पनि अहिलेलार्इ कुनै एउटा सडकको मात्र कुरा गर्नु उचित हुन्छ । यसो गर्दा दुइवटै सडक (काठमाण्डौ-निजगढ र काठमाण्डौ-हेटौडा) बन्नेछन् नत्र 'भूइको टिप्न खोज्दा पोल्टाको पोखिने' भने जस्तै हुन जाने सम्भावना बढ्न गएको छ ।
सरकारले बनाउन सक्ने वा नसक्ने भन्ने बहस व्यर्थ हो । जुनकुनै मोडलबाट बनाए पनि सडकको अन्तिम स्वामित्व सरकारकै हो । सरकारले बनाउन नसक्ने कुरो हैन । कुल लागत रु १०० अर्ब खर्च लाग्ने र पाँच बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस योजनामा बार्षिक २० अर्ब खर्च गर्नु पर्ने हुन्छ । बर्षमा दश महिनाका दरले काम गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न गर्न मासिक २ अर्ब रुपैया खर्च गर्नु पर्छ । नेपाली निर्माण व्यवसायिहरुले अहिलेकै क्षमता र गतिमा काम गर्ने हो भने यो लक्ष्य त्यति सजिलो छैन । हामीकहाँ उपलब्ध प्रविधिबाट बाटोमा पर्ने करिब १० किमी लम्बाइमा फैलिएका पुलहरु र केही स्थानमा निर्माण गरिने आइफेल टावर जति अग्ला पुलहरुको निर्माण कार्य त्यति सहज छैन । यस विषयमा भावनामा बगेर गरिने राजनीतिक टिकाटिप्पणी र त्यस्ता टिप्पणीहरुबाट पूर्वाग्रही भइ हतारमा गरिने निर्णयहरु भन्दा पनि गम्भीर प्राविधिक छलफलको खाँचो छ ।

सेतोपाटिमा प्रकाशित मिति २०७३।२।१

बुद्ध पुर्णिमाका अवसरमा


एकजना राजकुमार थियो । नाम थियो स्वर्ण । खानाको निकै शौकिन । उसको एउटा चाहना थियोः लगातार भोक लागिरहोस र दिनभरिनै थरिथरिका ब्यन्जनहरुको स्वाद लिएर खान पाइयोस । तर प्रकृतिले उसको यो इच्छा पुरा हुन दिने कुरै भएन । खाना खाएर अघाउन पर्ने भएकोमा उ दुखि थियो ।
उसको यो इच्छापुर्ति गर्न दरवारमा उसले एउटा बैद्य राखेको थियो । एकथरि खानाको स्वाद लिएर पेटभरि खाए पछि बैद्यले उसलार्इ एउटा औषधि दिन्थ्यो र स्वर्णले सम्पूर्ण खाना वान्ता गर्थ्यो । उसलार्इ पुनः भोक लाग्थ्यो । नयाँ परिकार तयारि अवस्थामा रहन्थे । स्वर्णले स्वादका साथ नयाँ व्यन्जन पेटभरि खान्थ्यो । बैद्यले औषधि दिन्थ्यो, उ वाक्थ्यो । दिनभरि यो क्रम निरन्तर चलिरहन्थ्यो ।
एकदिन गौतमबुद्ध घुम्दै घुम्दै स्वर्णको राजकुमारको राज्यमा पुगेछन् । एकजना निकै विद्वान भिक्षु आएर आफ्नो राज्यमा बसेको कुरा स्वर्णले थाहा पाएछ । निकै राम्रो प्रवचन दिन्छ भन्ने कुरा पनि थाहा पाएछ । भिक्षु पहिले राजकुमार रहेको र दरवारको सुख सुविधा त्यागेर भिक्षु भएर हिडेको कुरा पनि थाहा पाएछ । एकपटक गौतम बुद्धको प्रवचन सुन्न मन लागेछ । स्वर्णले आफ्नो नियमित खानपिन छोडेर भोलिपल्ट बुद्धको प्रवचन सुन्न पुगेछ । बुद्धको प्रवचनबाट उ यति प्रभावित भएछ कि भोलीपल्टैबाट गेरुवा बस्त्र धारण गरि बुद्धको शरणमा पुगेछ ।
यो परिवर्तन सम्पूर्ण रुपमा अप्राकृतिक थियो । हिजोसम्म खानामा मात्र लिप्त स्वर्णको यति छिटो भएको परिवर्तन देखेर बुद्धले आफ्ना भिक्षुहरुसँग भनेछन्, 'यति शिघ्र परिवर्तन सम्भव हुँदै हुँदैन । भोली दुइवटा कुरा हुन सक्छन् । या त स्वर्ण यहाँ आउँदै आउँदैन या त उ बहुलाउँछ ।'
भोलीपल्ट साँचै बुद्धले भनेजस्तै भएछ । स्वर्ण बहुलाएको खबर आएछ ।
उपसँहार
हिजोसम्म फेसबुकमा दिनको पचास गाली, पचास घृणा, पचास कुविचार, र पचास हिँसा पस्कने महानुभावहरुले एक्कासी आज बुद्धपूर्णीमाको दिन पारेर निकै राम्रा राम्रा शुभकामनाहरु लेखिरहेको पाएको छु । के एक दिनमा यस्तो परिवर्तन सम्भव छ ? स्वर्ण राजकुमार जस्तै कतै यि महानुभावहरु पनि भोली बहुलाएको देख्न नपरोस ।
हामी इन्जिनियरहरुले वाटो बनाउँदा कुनै पनि मोडमा ट्रान्जिसन कर्भको डिजाइन गर्छौ । सवारीसाधनको  भेलोसिटीलाइ विस्तारै विस्तारै परिवर्तन गरिन्छ लड्न बाट बचाइन्छ । यसैगरि कुनैपनि परिवर्तन विस्तारै विस्तारै हुनु पर्छ ।
बुद्धम शरणम गच्छामी ।

(बुद्ध पुर्णिमाका अवसरमा )