कुरो २०४८ साल ताकाको हो । धनुषा जिल्लाको भरतपुर गाविसमा नहर निर्माणकाे काम भइ रहेको थियो । एकजना कामदारलार्इ बिच्छीले डस्यो भन्ने खबर आयो । तुरुन्तै त्यतातिर लागियो । बिच्छीले कामदारको खुट्टाको साहीँली औलाको टुप्पैमा डसेको रहेछ । विच्छीको बिषको पीडा खपी नसक्नुको हुँदो रहेछ । कामदार प्राण जाने गरी कराइ रहेको थियो । त्यति सानो प्राणी तर त्यसको बिषको पीडा यति पीडादायक हुन्छ भन्ने कुरा मलाइ थाहा थिएन । के गर्ने, के नगर्ने भनेर हामी सोच्दै थियौ, त्यतिकैमा त्यहीँ साइटमा काम गर्ने अर्को कामदारले भन्यो, 'गिरीलाइ विच्छीको बिष झार्ने मन्त्र आउँछ ।'
तुरुन्त गिरी लाइ बोलाइयो । गिरी आयो ।
उसले एउटा झाडु मगायो । पकेटबाट एउटा चक्कु झिक्यो । सलाइ झिकेर आगो बाल्यो र आगोमा चक्कु तताउन थाल्यो । फेरी पकेटमा हात हाल्यो र खैनी सँग खाने चुना को बट्टा झिक्यो । यता उता हेर्यो र छैवेमा भएको एउटा आँकको हाँगा भाँचेर ल्यायो । आँकको भाँचेको हाँगाबाट निस्कीएको दुधमा चुना मिसायो र घोल्यो । आगोबाट चक्कु झिक्यो । चक्कु रातो भइसकेको थियो ।
बिच्छीको बिष खुट्टाको औँला हुँदै कामदारको तीघ्रासम्म पुगिसकेको थियो । कामदार तीघ्रा समातेर छटपटाइ रहेको थियो ।
गिरीले कामदारको खुट्टा समातेर उसको घाउ चक्कुले चिर्यो र आँकको दुधसँग मिसाएको पेष्ट घाउमा लगायो ।
अनि उसले झाडु समातेर मन्त्र पढ्न थाल्यो ।
ए हे
ए हे
कैलास पर्बत मे शिवजी की गलामे
नाग देवता
ए हे
ए हे
कैलास पर्बतमे
शिवजीके साथ मेँ
पार्बती माता
ए हे
ए हे
भुर भुर भुर
हुँ हुँ हुँ हु
मन्त्र पढ्दै घाउ देखि माथी तिघ्रा सम्म र तिघ्रा देखि तल घाउसम्म कुचोले हान्दै थियो ।
नभन्दै चमत्कार भयो । बिषको प्रभाव घट्दै गयो । तीघ्रासम्म पुगेको बिष विस्तारै तल झर्न थाल्यो । करीब आधा घण्टामा कामदारलाइ बिषले छोडीसकेको थियो ।
मलाइ अचम्म लाग्यो र गिरीसँग त्यो बिष झार्ने मन्त्र सिकाइदिन भनेँ ।
उसले फिस्स हाँस्दै भन्यो, 'मन्त्र सन्त्र केही पनि होइन सर । त्यही आँकको दुध र चुनाको कमाल हो ।'
No comments:
Post a Comment