Tuesday, October 11, 2016

लघुकथाःदशैँ

यसपाली दशमीको टिकाको साइत चाडैँ परेको थियो । सुन्तलीले विहानै घरको पिढीँमा गाइको गोबरले लिपपोत गरेर राम्रो बनाएकी थिइ । टीकाको साइत घर्कँदै थियो, जुठेले हतार हतार पिढीँमा नयाँ गुन्द्री ओछ्यायो । भुन्टे र पुन्टी गुन्द्रीमा आएर बसे । जुठेले एउटा पुरानो थालमा दही र चामल मुछ्यो । दुवैजनाले पालै पालो भुन्टे र पुन्टीका निधारमा सेता अक्षता लगाइदिए । टीका लगाइ नसक्दै भुन्टेले निधारमा लगाएको टीका हातले पुछेर कपाकप खान थाल्यो । त्यो देखेर पुन्टीले पनि निधारको टीका पुछेर खार्इ । धनीलाइ भन्दा गरिबलाइ देउताको बढी डर हुन्छ भन्छन् । जुठेलार्इ देउता रिसाएर के अनिष्ट हुने हो भन्ने पीरले छोप्यो । उसले एउटा जुक्ति निकाल्यो ।
जुठे- ए सुन्तली ! ले ले एउटा डोरी ।
सुन्तली- हैन यो टीकाओ बेलाँ किन चाइया हो डोरी ?
जुठे- देखिनस्, भुराहरले निधाराँ लाका टीका सप्पै खाइदिए । यिनलार्इ हात बाँधेर फेरी टीका लाउन परो । नत्र त इनले निधाराँ टीका रहनै दिन्नन् ।
सुन्तली- बर्षओ एक दिन त हो नी भुराभुरीले दही चामलको मुख देख्न पाका । खाएर के विआरेआ छन् तनी ? खान दिए त भैगोनी ।
जुठे- हैन सुन्तली, देउता रिसाउँचन् । एक छिन त नीधाराँ अक्षेता राख्नु पर्च बुझिस् !
सुन्तलीले बुझे झै गरी टाउको हल्लाउँदै भित्र गइ र भित्रबाट एउटा नाम्लाको बरीयो ल्याएर जुठेलार्इ दिइ । भुराभुरीले देउताका अक्षता खाइदिएको झोकमा जुठेले भुन्टे र पुन्टीलार्इ पहिला एक एक थप्पड हान्यो र त्यसपछि उनीहरुको हात पछाडी फर्काएर बाँधिदियो । टीकाको साइत घर्कि सकेको थियो । ‘हिड्दा ठेस नलाओस, कोर्दा केश नझरोस, देवि भउती दाइना हुन, आँटे ताकेको पुओस्’ भन्दै जुठे र सुन्तलीले फेरी एकपटक आफ्ना छोराछोरीका निधारमा दहीमा मुछेका सेता अक्षता लगाइ दिए ।
'
भोक लाग्यो! हात खोल्देउ न बा !’  भन्दै आँगनमा बसेर भुन्टे र पुन्टी रुँदै थिए । तर न जुठेले उनीहरुको बाँधेको हात फुकाइ दियो, न सुन्तलीले फुकाइ दिइ । उनीहरुलार्इ भुराभुरीले फेरी देउताको टीका खाइदेलान् र घरमा कुनै अनिष्ट आइलाग्ला भन्ने पीर थियो ।
'
दुनियामा भोक नै सबैभन्दा ठूलो आविष्कारक हो' भनेर भनिन्छ । एकछिन पछि आँगनको डिलमा एउटा अचम्मको दृष्य देखियो ।
भुन्टेले पुन्टीको निधारको दही-चामल खाँदै थियो भने पुन्टीले भुन्टेको निधारको ।
यो दृष्य देखेपछि जुठे र सुन्तलीका आँखा रसाए । दगुर्दै गएर छोराछोरीको हात फुकाइदिए ।
जुठे र सुन्तलीले एकै स्वरमा भने, ‘धिक्कार छ हाम्रो जुनीलार्इ । एउटा चाडबाडमा समेत भुराभुरीले एक छाक मीठो मसिनो खान पाउँदैनन् । हे दैव हामी गरीपलार्इ यो दशैँ कहिलै नआओस !’

No comments:

Post a Comment