Thursday, January 12, 2017

साँढेको रजाँइ

आज देवीको अप्रेशनको टाँका फुकाउने दिन । डाक्टरले १० बजे बोलाएको थियो । यसै त कलँकी त्यसमाथी सरकारको अहिलेको बाटो चौडा अभियान । बाटोको ट्राफिक जाम, धुलो र धुँवा सहिनसक्नुको थियो । अस्पतालसम्म जान मलाइ एउटा ट्याक्सी चाहिएको थियो । मूलबाटोमा गएर धेरैबेर पर्खेपछि ढुँगाअड्डा तिरबाट एउटा टेक्सी आउँदै गरेको देखेँ ।
'ट्याक्सी' मैले आवाज दिएँ ।
'कहाँ जाने?' ट्याक्सी रोकेर उसले सोध्यो ।
'बीएण्ड बी जाने हो?' मैले सोधेँ ।
'जाने' उसले भन्यो ।
ट्याक्सीको मीटरमा जाने भन्ने कुरा एकादेशको कथा भइसकेकोले मैले सोधेँ, 'कति लिने हो?'
'नौ सय' लाज डर नमानी उसले भन्यो।
बाटोको जाम धुलो र धुँवाले पहिलेनै मेरो पारो तातीसकेको थियो । उसको 'नौसय' सुनेपछि मेरो रिसको सीमा नाघ्यो ।
'लुट्न आएको होस् काठमाण्डौ ? दिनदहाडै यसरी मानिसलाई लुट्न लाज लाग्नु पर्ने हो ।'
'कति दिने भन्नु न त' उसले सोध्यो ।
'खुरुक्क यहाँबाट निस्कीजा नत्र ट्राफिकलाई कम्ल्पेन लेखाइदिन्छु ।'
अर्ना भैँसीले जस्तै राता राता आँखा पार्दै उ त्यहाँबाट गयो ।
मैले अर्को टेक्सी पर्खेर बसेँ । एकछिन पछि एउटा टेक्सी देखियो । मैले रोकेँ । खाली रहेछ रोकियो ।
उसले पनि फेरी उही प्रश्न तेर्सायो 'कहाँ जाने?'
'बीएण्ड बी जाने हो? मैले सोधेँ ।
'जाने'
'कति लिने?'
'सात सय ।'
आधा घण्टा देखि उभिइरहेको थिएँ । ढिलो भइरहेको थियो । तर पनि मैले उसै गरी भने 'दिउँसै लुट्ने? लाज लाग्दैन ?'
उसले मिलाएर लाने कुरा गर्‍यो ।
मैले चारसय भनेँ । उसले पाँचसय भन्यो ।
मैले साढे चार सयसम्म दिने कुरो राखेँ ।
उ पाँचसय बाट तल झरेन ।
अन्त्यमा पाँचसयमा कलँकीबाट बीएण्डबी ग्वार्को गइयो ।
मनमनै सोचेँ, 'आज यसलाइ ठाउँमा लगेर नठिँग्राइ भएन ।'
फेरी सोचेँ, 'बिरामीलाई हेर्ने की, यी हरामीहरुका पछाडी लाग्ने ।'
मनले भन्यो, 'यी हरामीका पछाडी लागेर काम छैन, बिरामीकै पछि लाग।'
त्यसै गरेँ ।
बीएण्डबी बाट घर फर्किदा सुरेश शर्मा भाइले लाएको गुनका लागि धन्यवाद ।

No comments:

Post a Comment