Friday, February 10, 2017

बैँककका सुन चोरको कथा र हाम्रो ब्यथा


१.         पहिलो कथा
भनिन्छ राजबुद्धि भन्दा चोर बुद्धि एक कदम अगाडि हुन्छ । चोरले करामत देखाए पछि मात्र पुलिस उस्को पछि लाग्छ । घटना घटेपछि मात्र पुलिसले चोरको योजना थाहा पाउँछ । हरेक चोरका आआफ्नै ‘मोडस अपरेण्डि’ हुँदा रहेछन् । केहि समय पहिले फेसबुकमा एउटा भिडियो आएको थियो । बैँककको एउटा सडक छेउमा एकजना सुन्दरी युवति हातमा कटौरा लिएर माग्न बसेकि हुन्छे । कारमा आएको एकजना युवकले उस्लाई देख्छ । कारबाट ओर्लिएर उक्त युवतिलाई केही पैसा दिन पकेटबाट वालेट निकाल्न लागेको हुन्छ अर्को चोर आएर वालेट खोसेर भाग्छ । बालेट चोरको पछाडि भागेको बेलामा माग्न बसेकि युवतिले उसको कार लिएर भाग्छे । उक्त युवकले पुलिसलाई फोन गर्न पकेटबाट मोबाइल निकाल्छ, मोटर साइकलमा आएको अर्को चोरले उसको मोबाइल पनि खोसेर भाग्छ । यसबाट के देखिन्छ भने बैँककका चोरहरु निकै चलाख हुन्छन् । कुनै चोरी गर्नु पर्दा उनीहरु योजना बनाउँछन् र त्यसलाई  चलाखीका साथ कार्यान्वयन गर्छन् । पुलिसले निकै पछि मात्र उनीहरुका यस्ता योजना थाहा पाउँछन् । अनि नयाँ कानून बन्छ ।  नयाँ नियम बन्छ । तबसम्म चोरहरुले अर्को नयाँ योजना बनाउन शुरु गरिसकेका हुन्छन् ।
२.      दोस्रो कथा
बैककका सुन चोरहरुको बारेमा यस्तै अर्को रमाइलो कथा छ । यसमा प्रत्यक्ष देखिने तिनजना महिला पात्र हुन्छन् । पुरुष पात्रहरु दृष्यमा आउँदैनन् । उनीहरुले पुलिसको निगरानी गर्ने र खतराको घण्टि बजाउने काम मात्र गर्छन् । सामान्यतया सुन किन्न आएका एक्ला महिला ग्राहकहरु यिनीहरुका शिकार हुन्छन् । परिदृष्य यसरी शुरु हुन्छ ।
सुन किन्न आएकि महिला ग्राहक सुन पसल भित्र छिरेपछि दुइजना महिला चोर पनि सुन पसल भित्र छिर्छन् । उनीहरु एकार्कालाई नचिनेको अभिनय गर्छन् । लक्षित ग्राहकले देख्ने गरि पहिलो महिला चोरले आफ्नो ह्यान्डब्याग पसलको शो केशको माथि छोडेर बाहिरिन्छे । दोस्रो महिला आएर ग्राहकसँग उक्त ब्याग ती ग्राहकको हो कि? भनेर सोध्छे । ग्राहकले उक्त ब्याग आफ्नो नभएको बरु भर्खरै रातो टिसर्ट लगाएको एकजना महिलाले त्यो ब्याग यहाँ छोडेर बाहिर गएको सुनाउँछे ।उक्त ब्याग लिएर दोस्रो महिला पहिलो महिलालाई खोज्न बाहिर जान्छे । दोस्रो महिला बाहिर गएपछि ब्याग हराउने पहिलो महिला आफ्नो ब्याग खोज्दै पसल भित्र आउँछे र उक्त ग्राहकसँग आफ्नो ब्यागको बारेमा सोध्छे । ग्राहकले नीलो टीसर्ट लाएको एकजना महिलाले उनलाई खोज्दै त्यो ब्याग लिएर भर्खरै बाहिर गएको सुनाउँछे । दोस्रो महिलालाई खोज्न पहिलो महिला बाहिरिन्छे । यसपछि पहिलो महिलाको अभिनय यात्रा सकिन्छ । पहिलो महिला बाहिरिएपछि दोस्रो महिला ब्याग लिएर पुनः भित्र प्रवेश गर्छे । एक छिन पछि तेस्रो चोर महिला पनि प्रवेश गर्छे । उनीहरु पनि एक अर्कालाई नचिनेको अभिनय गर्छन् । दोस्रो महिलाले ग्राहकलाई त्यो ब्यागको मालिक पत्ता नलागेको कुरा सुनाउँछे । ग्राहकले भर्खरै त्यो रातो टिसर्टवाली महिला आफ्नो ब्याग खोज्दै आएको कुरा सुनाउँछे । तेस्रो चोर महिला पनि उनीहरुको कुराकानीमा सामेल हुन्छे । यहाँ त्यो ब्यागको मालिक चिन्ने मानिस उक्त ग्राहक मात्रै हुन्छे । दोस्रो र तेस्रो महिला मिलेर ग्राहकलाई ब्यागवाली महिला खोज्न जान अनुरोध गर्छन् । यसपछि तीनैजना महिलाहरु ब्यागवाली महिलालाई खोज्न पसलबाट बाहिरिन्छन् । पहिलो महिला भेटिने कुरै थिएन किनकि पसलबाट दोस्रो महिलालाई खोज्न निस्केपछि उसको अभिनय सकिएको हुन्छ । तीनैजना महिला भएर पहिलो ब्यागवाली महिलालाई यताउता खोज्छन् तर उ भेटिन्न । अब तीनैजना भएर उक्त ब्याग खोल्ने निधो गर्छन् । त्यहाँ सुनका असर्फिहरु हुन्छन् । दोस्रो महिलाले उक्त असर्फि तीन जनाले बाँडेर लिने प्रस्ताव राख्छे । सबैले सहमती जनाउँछन् । तर तेस्रो महिलाले आफूलाई सुन नचाहिएकोले बरु नगदै दिए पनि हुने कुरा राख्छे । सुनको भाउ बजारको भन्दा सस्तोमा तोकिन्छ । दोस्रोले सहमती जनाउँछे । ग्राहक त सुन किन्न आएकि हुन्छे उसले त्यो सुन आँफैले किन्ने कुरा सुनाउँछे । दोस्रो महिलाले पनि आफूलाई नगदै भए हुने कुरा सुनाउँछे । ग्राहकलाई सस्तोमा पाइएको सुन किन्ने लोभले छोप्छ । उसले दुबैजनाको सुन आफुले किन्ने कुरा राख्छे । नचाहेको जस्तो गरेर दुइजना चोर महिलाले त्यो सुन ग्राहकलाई बेच्छन् र नगद लिएर आफ्नो बाटो लाग्छन् । पछि मात्र थाहा हुन्छ, सुन त नक्कली पो रहेछ ।
३.      हाम्रो ब्यथा
हामीकहाँ समय-समयमा राजनीतिमा देखा पर्दै, ओझेल पर्दै गर्ने हाम्रा केही नेताहरु एकापसमा मिलेर सोझा जनतालाई यसैगरी नक्कली सुन भिडाइरहेका छन् । हिजो राजनीतिको रँगमन्चमा देखिएका अभिनेताहरु आज छैनन् । आज देखिएकाहरु भोली रहँदैनन् । यिनीहरु यसैगरी जनतालाई निरन्तर ठगिरहन्छन् । यिनीहरुको यो ठग्ने ‘मोडस अपराण्डि’ सोझा जनताले निकै पछि मात्र थाहा पाउँछन् । त्यतिन्जेलसम्म निकै ढिलो भइसकेको हुने रहेछ ।

हामीकहाँ राजबुद्धि भन्दा ठगबुद्धि शानदारका साथ एक कदम अगाडि चलिरहेकै छ ।

No comments:

Post a Comment