Saturday, April 1, 2017

जन्तर


अघीपछिको भन्दा आजकल गोपाल चाँडै स्कूल जान थालेको थियो । स्कूल जाने बाटोमा एउटा खुला चौर थियो । सधैँजसो त्यस चौरमा एकजना चटकेले थरी थरीका चटक देखाइरहेको हुन्थ्यो । एक दुईवटा चटक देखाइ सकेपछि उसले झोलाबाट एउटा जन्तर झिकेर बेच्न शुरु गर्थ्यो । चटकेले त्यो जन्तर लगाएपछि भूत प्रेत टाढा भाग्ने कुरा सुनाउँथ्यो ।  गोपाल त्यो जन्तर किनेर भूत भगाउन चाहन्थ्यो तर कहिल्यै पनि उसको साथमा जन्तर किन्ने पैसा भएन । उ एकछिन उभिएर चटक हेर्थ्यो अनि स्कूल तिर लाग्थ्यो ।
आज त्यस चौरमा एकजना नयाँ चटके आएको थियो । सबैले इन्डिया बाट आएको जादूगर भन्दै थिए । मानिसहरुलाई आफूतर्फ आकर्षित गर्ने उसको कला पहिलेको चटकेको भन्दा फरक थियो । उसले डमरु बजाउँदै चर्को आवाजमा मानिसहरुलाई आफूतर्फ आकर्षित गरिरहेको थियो । उसले साथमा थरीथरीका सर्पहरु पनि ल्याएको थियो । त्यसैले अघिपछिको भन्दा आज चटक हेर्ने मानिसको भीड निकै बढी थियो । चटकेको साथमा दश बाह्र बर्षको एकजना बालक पनि थियो । चटकेले उसलाई ‘जमुरी’ भनेर बोलाउँथ्यो । जमुरीको आँखामा कालो पट्टी बाँधिएको थियो । यतिकैमा चटकेले आफ्नो जादू देखाउन शुरु गर्‍यो ।
चटके– जमुरी
जमुरी - हाँ उस्ताद
चटके- यो हातमा छाता पकडेको सामने वाला बाबुले कस्तो रँगको सर्ट लगाउनु भएको छ  रे ?
जमुरी- रातो, उस्ताद  ।
चटके- अनि कस्तो रँगको जाँघिया लगाउनु भएको छ रे ?
जमुरी- नीलो  उस्ताद ।
चटके- फिर से भन् त ।
जमुरी- नीलो उस्ताद ।
सबैजना जोडले हाँस्थे । आफ्नै उमेरको जमुरीले त्यस्तो करामत गरेको देखेर गोपालले अचम्म मानिरहेको थियो । सबैजना हाँस्दा उ पनि मरिमरी हाँस्थ्यो । त्यो रातो सर्टवाला मानिसको अनुहार भने लाजले रातो पीरो हुन्थ्यो ।
चटकेले रातो सर्टवाला मानिससँग सोध्थ्यो, ‘जमुरीले ठीक भन्यो बाबु ?’
लाज माने जस्तो गरी त्यस मानिसले ‘ठीक भन्यो’ भनेर ठाउको हल्लाउँथ्यो । सबैजना आश्चर्य मान्थे । गोपाललाई यो जादू निकै रमाइलो लागिरहेको थियो ।
एकछिन पछि चटकेले फेरी बोलाउँथ्यो, ‘जमुरी,
जमुरी- ‘हाँ उस्ताद’
चटके- यो मुँछवाला बाबुको सर्टको पकेटमा कति पैसा छ रे ?
जमुरी- एक हजार पचास रुपियाँ उस्ताद।
चटके- कति कतिको नोट छ  रे ?
जमुरी- पाँच सयको दुइवटा नयाँ नोट र पचासको एउटा थोत्रो नोट उस्ताद ।
सबैजना जोडसँग हाँस्थे ।
चटकेले त्यस जुँगावाला मानिसलाई आफ्नो पकेटमा भएको रकम देखाउन आग्रह गर्थ्यो । त्यस मानिसले पकेटबाट आफूसँग भएको रुपैयाँ देखाउँथ्यो । नभन्दै उसको पकेटमा पाँच सय दरका दुइवटा नयाँ र  पचास रुपैयाँको एउटा थोत्रो नोट हुन्थ्यो । चटके र जमुरीको यो जादू सबैजना अचम्म मानेर हेरिरहेका थिए । यो जादू हेरेपछि गोपाललाई आज स्कूल जान पनि मन लागिरहेको थिएन । उसलाई त्यस चटकेका अरु जादू पनि हेर्न मन लागिरहेको थियो ।
एकछिन पछि चटकेले बाँसुरी निकालेर बजाउन थाल्यो । जमुरी हातमा डमरु बजाउँदै वरीपरी घुम्न थाल्यो । चटकेको बाँसुरी एक्कासी बज्न छोड्यो । चटकेले लाख कोशिस गर्‍यो तर उसले बाँसुरी बजाउन सकेन । छाती फुट्ने गरी फुक्यो तर बाँसुरी बजेन ।
अब चटकेलाई शँका लाग्न थाल्यो । उसले भन्यो, ‘यहाँ कोही कालाजादू जानेको मानिस बसेको हुनु पर्छ । उसले कालाजादू गरेर मेरो बाँसुरी बज्न बन्द गरेको हो।’
उसले त्यो कालाजादूवाला लाई चुनौति दिँदै भन्यो, ‘अरे डरपोक ! के छुपि छुपि जादू गर्छस् ? हिम्मत छ भने आगे आ । हेरौँ तेरो कालाजादू ठूलो कि मेरो जादू ठूलो।’
चटकेको चुनौति पछि भीडबाट एकजना कालो बस्त्र लगाएको, कालै टिका लगाएको, कालै वर्णको मानिस अगाडि आयो । उ निकै डरलाग्दो देखिन्थ्यो । उसले भुँइबाट एक चिम्टी माटो उठायो । राता राता आँखा पार्दै माटो फुक्यो । मनमनै मन्त्र पढ्यो र ‘फू’ गर्दै  जमुरीलाई त्यो माटोले हान्यो ।
जमुरीको छातीमा असह्य पीडा भयो । छाती समाउँदै जमुरी कराउन थाल्यो ।  एकैछिनमा उसले रगत बान्ता गर्‍यो र हावाले ढालेको रुख ढले झैँ ढलेर भुँइमा लडिबुडी गर्न थाल्यो । असह्य पीडाका साथ उ जोडजोड सँग  छटपटाउन थाल्यो । आफ्नो छोराको यस्तो हालत बनाएकोमा चटके त्यस कालाजादू वाला मानिस सँग निकै रिसायो । उसले पनि भुँइबाट माटो उठायो, मनमनै मन्त्र पढ्यो र ‘फू’ गर्दै त्यस कालाजादूवाला लाई माटोले हान्यो । तर कालाजादू वाला लाई त्यसले कुनै असर गरेन ।
कालाजादूवाला पहिले रिसायो । त्यसपछि जोडजोडले हाँस्न थाल्यो । उसको हाँसो पनि निकै डरलाग्दो थियो । उसका आँखाहरु रगतले भरिए जसरी राता राता भइसकेका थिए । उ साक्षात यमराज जस्तो देखिन्थ्यो । उसले फेरी भुँइबाट माटो उठायो, एउटा मन्त्र पढ्यो र ‘फू’ गर्दै त्यस माटोले चटकेलाई हान्यो । उसले त्यस चटके माथी हानेको मन्त्रको प्रभाव तुरुन्तै पर्‍यो । चटकेले आफ्ना लुगा आँफैले चात्दै, आफ्नो कपाल आँफै लुछ्दै, दुई हातले छाती पिट्दै, धुलोमा लडिबुडी गर्दै छटपटाउन थाल्यो ।
सबैजना स्तब्ध भएर यो कालोजादू हेरिरहेका थिए । सबैका मनमा ‘अब के हुने होला’ भन्ने कौतुहलता बाहेक केही थिएन । कालाजादूवालाले सबैलाई मन्त्रमुग्ध पारिसकेको थियो ।
पहिले जोडजोडसँग छटपटाइरहेको जमुरीको अहिलेसम्म गति हराइसकेको थियो । उ अधमरो भएर मुढो लडेजस्तै भूईँमा लडिरहेको थियो । उसले बेला बेलामा बिस्तारै बिस्तारै खुट्टा चलाएको देखिन्थ्यो । यसबाट उसमा प्राण बाँकी रहेको कुरा थाहा लाग्थ्यो । जमुरीको यस्तो हालत देखेर सबैजना निकै चिन्तित देखिन्थे । गोपाललाई पनि जमुरीको निकै चिन्ता लाग्न थाल्यो । उसले भगवानसँग जमुरीको जिवन रक्षाको लागि प्रार्थना गर्‍यो ।
यतिकैमा ‘बाबा मलाई बचाउ’ भन्दै जमुरी जोडले करायो । सबैमा जमुरी बाँच्न सक्छ कि भन्ने आशा पलायो ।
आफ्नो छोराको त्यस्तो गति देखेर चटके जोडजोड सँग रुन थाल्यो । चटके रोएको देखेर धेरैका आँखा रसाए । गोपालका पनि आँखा रसाए । अब चटकेले काला जादूवाला सँग हार मानीसकेको थियो । उसले घस्रिँदै गएर त्यस कालाजादूवालाको खुट्टा समायो । जोडसँग रुँदै क्षमा याचना गर्न थाल्यो, ‘गुरु! मैले तपाँईलाई चिन्न सकिन । मलाई माफ गरि देउ । जे सजाय दिनु छ मलाई देउ तर मेरो छोराको प्राण बचाइ देउ ।’
चटकेले लाख अनुरोध गर्दा पनि त्यस कालाजादूवालाले मानेन । निराश हुँदै चटकेले दर्शकहरुलाई गुहार्न थाल्यो, ‘मेरो छोराको प्राण बचाइदिनुहोस् हजुर, यसले मेरो छोरालाई मार्ने भयो ।’
दर्शकहरुले पनि कालाजादूवालालाई अनुरोध गरे । पहिलो अनुरोध गर्नेमा रातो सर्टवाला मानिस र मुँछवाला बाबु थिए ।
दर्शकको अनुरोधपछि कालाजादूवालाले भन्यो, ‘यस मानिसलाई त म माफ गर्नै सक्दिन । यसले मेरो गुरुको अपमान गरेको छ । तर तपाईँहरुले भन्नुहुन्छ भने म जमुरीको प्राण बचाइदिन्छु ।’
उसले झोलाबाट एउटा जन्तर निकाल्यो । मनमनै मन्त्र पढ्यो र त्यो जन्तर जमुरीको टाउको वरीपरी घुमाएर उसको निधारमा छोयो । निँदबाट उठे जस्तै गरी जमुरी उठ्यो । सबैले ताली पड्काएर  जादूवालालाई धन्यबाद दिए । गोपालले पनि ताली पड्कायो । आफ्नै उमेरको भएकोले होला जमुरी बाँचेकोमा गोपाल सबैभन्दा खुसी देखिन्थ्यो । आफ्नै आँखा अगाडि जन्तरको प्रत्यक्ष प्रभाव देख्न पाएकोमा उसलाई त्यस जन्तरमाथी निकै विश्वास लाग्यो ।
चटके भुँइमा लडिबुडि गरिरहेको थियो । जमुरीले कालाजादूवालाको खुट्टा समाउँदै आफ्नो बाबुको गल्ती माफ गरिदिन अनुरोध गर्‍यो । कालाजादूवालाले जमुरीको बाबुको टाउको वरिपरि जन्तर घुमाएर उसको निधारमा छोयो । चटके पनि आफ्नो शरिरको धुलो झार्दै भुँइबाट उठ्यो र आफ्नो हार स्वीकार गर्‍यो । उसले कालाजादूवालाको खुट्टा समाउँदै उसँग त्यो अचम्मको जन्तर माग्न थाल्यो ।
कालाजादूवालाले रिसाउँदै भन्यो, ‘तैले हाम्रो गुरुको जन्तरको अपमान गर्छस्, तँ जस्तालाई दिन भनेर ल्याएको जन्तर हैन । बरु कुनै सज्जनलाई चाहिन्छ भने म वहाँहरुलाई यो जन्तर दिन सक्छु । यो सामान्य जन्तर हैन । मेरो गुरुले हिमालय पर्बतबाट ल्याएको जन्तर हो । म सँग केही जन्तरहरु छन् । तपाईहरुलाई चाहिन्छ भने तपाईहरुलाई दिन सक्छु । यसको मूल्य भने केही महँगो पर्छ तर तपाइँ सज्जनहरुलाई भनेर मैले यस जन्तरको दाम दुइ सय रुपियाँ राखेको छु । केवल दुई सय रुपियाँ ।’
अहिले पनि कालाजादूवालाको त्यो जन्तर त्यही रातो सर्टवाला मानिस र मुँछवाला मानिसले तुरुन्त किने । त्यसपछि उसले बाहिर निकालेका सबै जन्तरहरु दर्शकहरु माझ हाताहात बिक्री भए । अब जन्तरको माग बढ्यो । यसरी माग बढेको देखेर कालाजादूवालाले झोलाबाट थप केही जन्तर निकाल्यो । यसपटक उसले जन्तरको मोल तीनसय रुपैयाँ तोक्यो । ती जन्तर पनि एकै छिनमा बिक्री भए । जन्तरको प्रत्यक्ष प्रभाव देखेर होला गोपाललाई पनि त्यो जन्तर किन्न मन लागेको थियो तर उसँग त्यत्रो पैसा थिएन । उसलाई आज स्कूल जान निकै ढिलो भइसकेको थियो । उ हतार हतार स्कूल तिर लाग्यो । त्यस्तो अचम्मको जन्तर किन्न नपाएकोमा उ निकै दुखि थियो । स्कूलमा पनि उसलाई बिहान हेरेको कालाजादू, जमुरी  र त्यो अचम्मको जन्तरको सम्झना मात्र आइरह्यो ।
स्कूलमा आज फुटबल म्याच भएकोले गोपाललाई घर फर्कँदा अलि ढिलो भइरहेको थियो। जादू देखाउने चौरनेर पुग्दा साँझ पर्न लागेको थियो । उसले त्यहाँ तीन चार जना मानिसहरुका साथमा जमुरीलाई देख्यो । उसलाई जमुरीको हाल बुझ्न मन लाग्यो । हतार हतार गोपाल उनीहरु भएनिर गयो । जमुरी छेउमा बसेर चिउरा-दालमोठ खाइरहेको थियो । बिहानको सिकिस्त जमुरीलाई सकुसल देखेर गोपाल खुसी भयो ।
तर एउटा कुराले उसलाई खिन्न बनायो । जमुरीको बाबु, कालाजादूवाला मानिस, रातो सर्टवाला मानिस र मुँछवाला बाबु सम्मुख भइ बसेका थिए । उनीहरु दिनभरिको कमाइ एक आपसमा बाँडिरहेका थिए ।  

सेतोपाटीमा प्रकाशित       

No comments:

Post a Comment