Tuesday, May 12, 2020

समय

नयाँ बर्ष आयो 
अनि खुसुक्क गयो
सबै पुरानो भयो ।
म पुरानो, याद पुरानो, साथ पुरानो,
पुरानो भयो सँसार ।
जिवन पुरानो
बाँकी छ त
केवल एक जिजीविषा,
अनन्त चाहना,
भोलीको पर्खाई ।

हिजै त हो कोक्रोमा झुलेको
हिजै कखरा बाह्रखरी पढेको,
हिजै त हो दुई एकाने दुई रटेको,
हिजै दशम् उत्तिर्ण गरेको,
हिजै त हो पुल्चोक गएको,
हिजै भारत पढ्न गएको,
हिजै त हो सरकारी सिन्दुर लाएको,
हिजै प्रियाको सिउँदो भरेको ।
हिजै देश बिदेश घुमेको ।
हिजै त हो तोते बोलीमा
छोराले बुबा भनी बोलाएको,
छोरीले कँधेरकुटी चढेको ।
हिजै त हो सेवानिबृत्त भएको ।
सबै कथा हिजो कै त छन् ।
भोली 
भोली त कसले देखेको छ र!
कसलाई थाहा छ र भोलीको कथा!
कसले भन्न सक्छ र भोलीको ब्यथा!
समयले कसलाई पर्खेको थियो?
कसलाई पर्खन्छ र?
तैपनि
बुझपचाएर, आँफैलाई ढाँटेर,
अनादि अनन्त समयलाई
केलेन्डर मा सजाउने धृष्टता गर्दै।
सागरलाई 'गागर'मा भर्ने चेष्टा गर्दै।
कोरोना को कहर बीच
सेकेण्ड, मिनट, घण्टा,
दिन, साता, बर्ष,
बैसाख, जेठ, असार
जनवरी फेब्रुवरी मार्च
अठार, उन्नाइस, बीस भन्दै
समयलाई नापीरहेको छु,
निरन्तर नापीरहेकै छु ।

३० बैसाख २०७७
११ मे २०२० 

No comments:

Post a Comment