Saturday, June 4, 2016

असल नागरिक बन्न सजिलो छैन

कुरो यस्तै २०६३ तिरको हो । विहान मास्टरी र दिउसो १०-५ सरकारी इन्जिनियर । यहि नै थियो दिनचर्या । सार्वजनिक सवारी नै मेरो एकमात्र सहारा थियो । विहानको मास्टरी सकेपछि सिंहदरवारको जागिर खान हतारो हुन्थ्यो । सिनामंगल चोकबाट मध्य उपत्यकाको बस चढे‌ँ । अनावश्यक भीड भएजस्तो लाग्यो । एकजना सिनीयर नागरिकलार्इ चारैतिरबाट अँचेटेर पकेटमारहरुले उनको पाइन्टको पकेटमा हात हालको देखे‌ । उनलार्इ त्यसको कुनै आभास भए जस्तो लागेन । सानैदेखि मोरल साइन्समा पढेको 'असल नागरिक' हुने भुतले मलाइ छोप्यो । एक निमेष पनि ढिलो नगरी उनलार्इ सतर्क गराएँ । करीब बीस पच्चीस हजारको रुपैयाँको बीटो हुँदो हो उनको पकेटमा । मेरो प्रयासबाट उनको त्यो रकम जोगियो । म 'असल नागरिक' मा दरिएँ । तर कुरो यतिकैमा सकिने वाला कहाँ थियो र?
पकेटमाराहरु करीब ६ जना जति रहेछन् । त्यो कुरो मलार्इ पछिमात्र थाहा भयो । उनीहरुको पेटमा लात हान्ने म नै भएको ठहर गरेछन् । भलीबल खेलको बीचमा टाइम आउट लिएर खेलाडी एकै ठाँउमा जम्मा भएर भावि रणनीति तय गरे जसरी नै सबै पकेटमारहरु ढोका नजिकै आएर एकै ठाउँमा जम्मा भए । एक जना पकेटमारले आफ्ना साथीहरुलाइ 'त्यही जुँगे' भन्दै मलाइ देखाएर गाइँगुइँ गरीरहेको थियो । एकजना चाहीँ मतर्फ हेर्दै 'सालेलाइ चक्कु हान्नु पर्छ' भन्दै थियो । मनमा चिसो पस्यो । गाडी सिनाम‌ँगलचोक बाट तिनकुने चोक तर्फको ओरालोमा हुँइकिदै थियो । म ढोका अगाडीकै सिटमा बसेको थिएँ ।
गाडी चलिरहेको बेलामा उनीहरुले मलार्इ केही गरेनन् । तिनकुने चोकमा रातो बत्ती बल्यो । हामी चढेको बस रोकियो । एक्कासी उनीहरु सबैले एकैचोटी ममाथि घुसा, लात, मुक्का, धक्का, गाली सबै शुरु गरे । अलिअलि आश‌ँका त थियो तर यसरी अचानक भएको प्रहार थेग्न सक्ने क्षमता ममा थिएन । हल्ला गरेँ । गुहार लगाएँ । बसमा बसेका मानिसहरुले कुरो बुझ्नु भन्दा पहिलेनै मलार्इ भकुरेर उनीहरु बसबाट उत्रिएर भागे ।
रक्ताम्मे अवस्थामा बसबाट उत्रेर तिनकुने चोकमा उत्रेर मैले पुनः गुहार लगाएँ । मलार्इ सहयोग गर्ने कोही थिएनन् । विहानको करिब १० बजेको समय थियो । सडकमा गाडीहरुको ताँती थियो । रमीते भएर सबैजना रगतले लथपत मलाइ हेरिरहेका थिए । यो सबै यति छिटो भइसकेको थियो कि मैले मेरो आफ्नो शारिरिक अवस्था पनि थाहा पाएको थिइन । अब मलाइ रिंगटा लाग्न थालिसकेको थियो । आफ्नो शरिरको अवस्थाको बारेमा चिन्तित तुल्यायो । रमिता हेरिरहेका महानुभावहरुलार्इ मलाइ सहयोग गर्न अनुरोध गरें । त्यहाँ एकजना कान्तिपुर टीभीका सम्बाददाता पनि रहेछन् । उनले मलार्इआफ्नो मोटरसाइकलमा राखेर नजिकैको ल्कीनिकमा लगे । मुखमा लागेको चोटमा मल्हम पट्टी लाग्यो । उनै सम्बाददाताको अनुरोधमा कान्तिपुर टीभीमा घटना सम्बन्धमा अन्तर्वार्ता पनि लिइयो ।
घरमा यसकुराको जानकारी दिएको थिइन । बस चढ्दा टाउको ठोक्किएको भनेर टारेको थिएँ । बेलुकी कान्तिपुर समाचारमा सबै कुरो देखेपछि घरको टेलीफोनको घण्टी बज्न शुरु भयो । आफन्त तथा साथिभाइहरुको सहानुभुति, चिन्ता, क्रोध मिश्रित प्रतिक्रियाहरु आउन थाले । केही दिनपछि नेपाल इन्जिनीयर्स एसोसियसनले ध्यान आकर्षण भएको विज्ञप्ती निकाल्यो ।
डरलाग्दो सपना जस्तै यस घटनाले मलाइ सधै झकझकाइ रहन्छ ।

कान्तिपुरका सम्बाददाताहरुले बेलुकी प्रसारण गर्ने समाचारका लागि अन्य फुटिँग सँकलन गर्ने क्रममा तिनकुने चोक नजिकैको प्रहरी कार्यालयमा गएर सोधेका रहेछन्, 'दिउँसै, तपाइहरुको नाकै मुनि, एकजना सरकारी अफिसर गुण्डाहरुबाट कुटीँदा तपाइहरु के हेरेर बस्नु भएको थियो ?'
'हामीहरुकहाँ यस घटनाको रिपोर्टिँग नै भएन' प्रहरीको जवाफ यस्तै यस्तै थियो ।
'ए ! त्यसो भए जनताहरुले रिपोर्टिँग नगरे सम्म तपाइहरुलाइ यस्ता घटनाहरुका बारेमा थाहै हुँदैन है', पत्रकारले प्रश्न गरीरहेका थिए ।
'कुरो त्यसो होइन' भन्दै प्रहरी प्रतिरक्षात्मक बन्दै थियो । बीचबीचमा टाउकोमा ब्याण्डेज बाँधेको मेरो तस्वीर पनि देखाइरहेको थियो ।
कान्तिपुर टीभीमा देखाइरहेको प्रहरी पत्रकारको यो सम्बाद चलिनै रहेको थियो । मलाइ भने उक्त आक्रमणको पीडा भइरहेको थियो । मनमनै भनिरहेको थिएँ, 'आखिर राज्य किन यति निरिह?'
आफ्नो यस अनुभवको आधारमा मलाइ के लाग्छ भने काठमाण्डौमा रहेका यस्ता बगलीमाराहरुलार्इ तह लगाउन एकदम सजिलो छ । मैले कल्पना गरेको एउटा फिसिँग स्किम यस्तो छ ।
गोरखापत्रको कटीँग गरेर हजारको नोटको साइजमा एकलाखको नोटको बीटो जस्तो बनाउने । करीब पाँच छ जनाको सादा पोशाकको मार्शल आर्टमा पोख्त (जरुरी छ) प्रहरीको टोली बनाउने । उक्त प्रहरी टोली मैलो कपडा लगाएर भर्खरै गाउँबाट शहर छिरेको जस्तो देखियोस । नोटको बीटो पकेटमा भुट्ट देखिने गरी राखियोस । बगलीमाराहरु बढी घुम्ने ठाउँहरुको बस स्टाण्डमा एक दुइ जनाको दरले पालै पालो चढ्ने । ग्रुपमा भएको आभाषै नदिने । एक लाखको नोटको बीटो बोकेको, गाउँबाट आएको मानिस देखेपछी बगलीमाराहरुले र्‌याल काड्न थालीहाल्छन् र पछी लाग्छन् । पकेट काटेर नोट पनि निकाल्छन् । 
बगलीमाराहरुले नोटको बीटो झिकेपछि सबै प्रहरीहरु एकै ठाउँमा आएर बगलीमाराहरुको पहिले 'रामधुलाइ' गर्ने अनि खुट्टामा ट्रयाकर बाँधेर डाँडा कटाउने । यस प्रकार करीब चार पाँचवटा स्टीँग अपरेशन गरेपछि बगलीमाराको उन्मुलन गर्न सजिलो हुन्छ । उनीहरुलार्इ पनि त राज्यको केही डर होस न त ! 
नेपाल प्रहरीले यो काम गर्न नसक्ने पनि होइन ।
२०७३।०२।२२
काठमाण्डौ

No comments:

Post a Comment