केही समय यता आवश्यक प्रकृयानै पुरा नगरी च्याउसरि उम्रेका परामर्श सेवा तथा उनीहरुले उपलब्ध गराएको परामर्श सेवामा आएको ह्रास एउटा गम्भीर समस्याको रुपमा देखिन थालेको छ । अनाडी परामर्शदाताहरुले तयार गरेका कटपेष्ट रिपोर्टको त कुरै नगरौँ, नाम चलेका परामर्शदाताले पेश गरेका रिपोर्टहरु पनि यति निम्न स्तरका आउन थालेका छन् कि यसबाट समस्याको समाधान हुनुको साटो समस्या झन बल्झिदै गएको आभास हुन थालेको छ । योजना कार्यन्वयनमा परामर्शदाताहरु जिम्मेवार हुन नपर्ने वर्तमान व्यवस्थाको कारण यसो भएको हुनसक्छ ।
एकथरी विज्ञहरु बायोडाटा बेचेर खाने गन्हाउने खेलमा मग्न छन् भने अर्को थरी विज्ञहरु काम बेचेर तरमार्ने समुहका छन् । जबसम्म परामर्शदाता तथा त्यसमा सँलग्न विज्ञहरुलाइ उनीहरुले दिएको गलत परामर्शको कारण योजना कार्यान्वयनमा आइपर्ने ब्यवधान तथा लागतबृद्धिको लागि जिम्मेवार बनाउन सकिन्न तबसम्म यस ब्याधिबाट त्राण पाउन सकिने छाँट छैन ।
परामर्श सेवाको सम्बन्धमा केही समय पहिले सुनेको एउटा रमाइलो कथा याद आयो ।
दुधको उत्पादन कसरी बढाउने सम्बन्धमा कृषि विभागले परामर्श सेवा माग गरेको थियो । एउटा नाम चलेको विदेशि फर्मले काम पायो । अध्ययन सकियो । दुध उत्पादनमा कमी भएको कारण पत्ता लाग्यो । गाउँमा काठे गाइ पालेर दुधको उत्पादनमा कमी आएको ठहर भयो । परामर्श दाताले गाउँमा भएका गाइलाइ एउटा विदेशी विकासे बहर ल्याएर लगाउने र विस्तारै काठे गाइलाइ विकासे गाइमा परिवर्तन गर्ने परामर्श दियो ।
अर्को महिना हवाइजहाजमा राखेर विकासे बहर गाउँमा ल्याइयो । गाउँभरिका गाइहरुलाइ बहर लगाउन ल्याइयो । गाइहरुको भीड बढ्दै थियो तर बहरले कुनै इच्छा देखाइरहेको थिएन । परामर्श दातालाइ निकै अप्ठेरो पर्यो ।
स्थानीय परामर्श दाताले उक्त विदेशि परामर्शदातालाइ कानमा आएर खुसुक्क भन्यो, 'सर हाम्रो गाउँमा एकजना जोगी छ, उसले पशुको भाषा बुझ्छ । एकपटक उसलाइ ल्याएर यो बहर गोरुसँग कुरा गराउनु पर्यो । के भएर बहरलाइ जाँगर नलागेको हो पत्ता लगाउन सकिन्छ की ?'
विदेशि निकै खुसी भयो र तुरुन्तै उक्त जोगीलाइ बोलाउन पठायो । जोगी आए पछी विदेशी परामर्शदाताले उसलाइ बहरसँग कुरा गर्न अनुरोध गर्यो । जोगीले पनि कुरा बुझ्यो । उसले परामर्श सेवा दिए बापत फि माग्यो । विदेशिले उसलाइ मागेको फि दिने कुरामा सहमती जनायो ।
जोगि बहरको छेउमा पुग्यो । बहर आरामले बसेर पाउर मार्दै थियो । जोगीलाइ देखेर टाउको हल्लायो । स्थानीय परामर्शदाताले विदेशिको कानमा गएर फुक्यो, 'सर बहरले जोगीलाइ कुरा बताए जस्तो छ ।'
एकछिन बहरको वरिपरि घुमेर जोगि आयो ।
बिदेशिले सोध्यो, 'के भन्यो त बहरले?'
जोगीले भन्यो, 'उ यहाँ काम गर्न आएकै हैन रे !'
विदेशि-अनि किन आएको रे त ?
जोगी-परामर्श दिन आएको रे !
के हाम्रा परामर्श दाता हरु पनि केवल परामर्श मात्र दिन आएका हुन् ?
परामर्श सेवा पछि काम गर्नु पर्दैन ?
के हाम्रा परामर्श दाता हरु पनि केवल परामर्श मात्र दिन आएका हुन् ?
परामर्श सेवा पछि काम गर्नु पर्दैन ?
No comments:
Post a Comment