Thursday, August 25, 2016

गायत्री मन्त्र

२०२९ सालमा मेरो ब्रतबन्धमा गुरुले गायत्री मन्त्र सुनाउँदा, बर्को ओढेर, कसैले नसुन्ने गरी, मेरो कानमा आएर 'भुरभुर..फुसफुस...' गर्दै मन्त्र सुनाएको हिजो जस्तो लाग्छ । 'किन लुकेर सुनाएको होला?' भनेर बुझ्दा पछि थाहा भयो, गायत्री मन्त्र कसैले नसुन्ने गरी भन्नु पर्ने रे ! कसैले सुन्यो भने मन्त्रको प्रभाव हुँदैन भन्ने (अन्ध?)विश्वास थियो ।
'ब्रतबन्ध नगरेकाहरुले गायत्री मन्त्र सुन्यो वा भन्यो भने उ बहुलाउँछ' भन्ने सम्मको अन्धविश्वास थियो । डर का साथ आफूभन्दा ठूलाले गायत्री जपेको हेरिन्थ्यो । सुनियो भने बहुलाउने कुरामा विश्वास थियो पनि, थिएन पनि । विश्वास किन थियो भने आफूभन्दा ठूला जान्ने बुझ्नेले भनेका । विश्वास किन थिएन भने त्यस्तो भएको कतै देखिएको थिएन ।
ब्रतबन्ध भइसकेपछि घरको आँगनमा कुसको आसनमा बसेर अरुले नसुन्ने गरी औलामा गन्दै दशपटक गायत्री मन्त्र जपिन्थ्यो ।
तर आजकल गायत्री मन्त्र मोबाइलको टोन भइसकेको छ । के ब्रतबन्ध भएका, के नभएका आजकल सबैले गायत्री मन्त्र खुला रुपमा सुन्छन् । केही बार बन्देज छैन ।
आज बिहान अमृत यात्राको बेला नैकाप डाँडाको शिवमन्दिरमा वरिपरिका सात गाउँले सुन्ने गरी माइकमै गायत्री मन्त्र घन्काएको पाएँ ।
सबैभन्दा उच्च कोटीको वेदको मन्त्र 'सुन्न हुँदैन' भनेर वेद पुराण आदिलार्इ आफ्ना बाबुको बीर्ता ठान्ने कठमुल्लाहरुले नै हाम्रो सनातन धर्मको नाश गरेको हैन ? सनातन धर्मको नाश गर्नेमा 
यी कठमुल्लाहरु बाहेक अरु कोही जिम्मेवार छ ?
वास्तविकता के हो ? शास्त्र के भन्छ ? गायत्री मन्त्र सबैले सुन्न हुने हो वा हैन ?
मेरो बिचारमा गायत्री मन्त्र मानव मात्र सबैले सुन्न हुन्छ, जप गर्न हुन्छ ।


बहुलाए बहुलाइला!! मुहार पुस्तिका लगायत मेरो ब्लग मै गायत्री मन्त्र टाँसी दियाँ । 


"ॐ भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात्।"

सबैले जपौ‌ यो महामन्त्र !!

No comments:

Post a Comment