Saturday, August 11, 2018

कविताः सरकारी जागिर

न बाटो थियो, न घाटो थियो,
बर्षा थियो, उर्लँदो खहरे थियो,
ज्यान जोखिममा राखेर
कैयौँ जँघार तरियो,
कैयौँ ओराली उकाली गरियो ।
भीर पहरामा झुण्डिएर सर्भे गरियो,
योजनाका रेखाचित्र कोरियो ।
परिवार छोडियो, समाज छोडियो;
न दिन भनियो, न रात भनियो;
न घाम भनियो, न जाडो भनियो;
केवल देश भनियो, अनवरत लागियो ।
हामीले त यसरि नै जागिर खाइयो ।
बाटोमा खरीजुकाले टोकेर,
रगताम्मे भएका खुट्टा कन्याउँदै,
भुसुना, लामखुट्टेको टोकाई सहँदै
गोठमा सुत्न पाउनु पनि अहोभाग्य थियो ।
ओहो! त्यो दशबर्षे द्वन्द!!
लडाकुको लागि, पुलिसको खबरी;
पुलिसको लागि आतँककारी,
दुवै आरोप खेपियो;
जसले, जहाँ, जसरी मारे पनि हुने,
मुठीको माखो भएर हिडियो ।
तर, धन्य बाँचियो!
हामीले त यसरि नै जागिर खाइयो ।
पञ्चायतमा इतर,
प्रजातन्त्रमा पञ्चायती भुत भइयो;
उफ्! त्यो चुनाव को रन्को,
मतपत्र, मतपेटिकालाई अँगालो हालेर;
कहिले स्कूलको बेञ्चमा सुतियो,
कहिले गाविसको धुलो भुईँमा लडियो,
सफल चुनाव गरियो,
दुःख त थियो नी,
तर, न कहिलै डिभी भरियो,
न पिआरको सपना देखियो;
हामीले त यसरी नै जागिर खाइयो ।
बिना कुनै बढुवा, बिना कुनै प्रोत्साहन
तीन दशक कटाइयो !
उमेर, दुइ बीसे दश पकाइयो ।
न कुनै गुनासो गरियो
न कुनै मोलाहिजा नै गरियो;
हामीले त यसरी नै जागिर खाइयो ।
अब त न जँघार तर्न सकिन्छ,
न त उकाली ओराली नै गर्न सकिन्छ
न त भीरमा झुण्डिन सकिन्छ,
न त गोठमा सुत्न सकिन्छ ।
त्यसैले, अब हामीः
पुराना भयौँ,
मन्दबुद्धि भयौँ,
प्रविधि अमैत्री भयौँ ।
कसैले खोलो तरेर लौरो बिर्सिएछन्,
कसैलाई माछा मीठा, काँडा तीता भएछन् ।
देशमा लोकतन्त्र आयो,
नयाँ युगको शुरुवात भयो,
आशाको किरण पलायो,
विश्वास जाग्यो ।
स्वेच्छिक अवकाश आयो ।
सोचियो, 'देर आए दुरुस्त आए,'
बुढाहरुको बारेमा सोच्ने कोही त रहेछन् ।
छपन्न काटेको बुढो हड्डि, कति खियाउनु?
प्रविधि अमैत्री दिमाग कति लडाउनु ?
त्यसैले निवेदन टक्र्याइयो;
स्वैच्छिक अवकास को ।
तर
उता निवेदन मरेछ, ऐन मरेछ ।
यता आशा र विश्वास मरेछन् ।
हार्दिक समवेदना!
स्वेच्छिक अवकास योजना;
हार्दिक समवेदना आशा;
हार्दिक समवेदना विश्वास;
तिमीहरु सबैको बैकुण्ठबास होस् !!!
(प्रशासन मा प्रकाशित)
http://www.prasashan.com/2018/05/31/69813/

No comments:

Post a Comment