Friday, November 25, 2016

चुहिएको छाना कस्ले टाल्ने ?


एकः चुहिएको छाना कस्ले टाल्ने ?
चारतले घर थियो । सबै तलामा फरक फरक परिवार बस्थे । छाना सबैको साझा थियो । बर्षामा छानो चुहिएछ । सबैभन्दा माथिल्लो तलाको मानिसले भनेछ, 'छाना सबैको साझा हो मैले मात्र किन टाल्ने ?' उसले आफू बच्ने उपाय निकालेछ । पानी चुहिएको छानाको ठिक तल एउटा प्वाल पारेछ । अब पानी उ बसेको भन्दा तलको तलामा त्यसै गरी चुहिन थालेछ । त्यहाँको मानिस पनि छाना टाल्न नगइ आफ्नो भुँइमा प्वाल पारेछ । पानी तल छिरेछ उ ढुक्क भएछ । एवँ रितले माथि बसेका सबैलै प्वाल पार्दा पार्दै छानाबाट चुहिएको पानी सिधै भुइँ तलामा पुगेछ । बिचरा भुँइतलाको मानिसलाइ अरु कुनै उपाय नलागेपछि छाना टाल्न गएछ र छाना टालेछ ।

दुईः बच्चाका किताबहरु किन च्यातिएका हुन्छन् ?
अफिसमा हाकिमले हकारेपछि लोग्नेले घरमा गएर आफ्नी श्रीमतिलाइ हकारेछ । श्रीमति सुँक्क सुँक्क गर्दै किचनमा बसेकी थिइन्, एकछिनपछि स्कूलबाट छोरो आएछ । झोला सोफामा फ्याँकेछ, जुत्ता एकातिर, मोजा अर्को तिर, टिफिन क्यारियर अर्को तिर मिल्काएर टीभीमा कार्टुन लगाउँदै आमासँग भनेछ, 'ममी ! भोक लाग्यो ।'
आमा चाहिँलाइ लोग्नेले हकारेको झोक कहाँ पोखु, कहाँ पोखु भैरहेको थियो छोराका गालामा एक चडकन दिँदै भनिछन्, 'ल ! खा ! भोक लागेको भए ।'
छोरो हक्क न बक्क भएछ ।
बेलुकी होम गर्न बसेको बेला आमाले गालामा लगाएको चडकन सम्झेछ । के गरु के नगरु भएपछि उसले पनि छेउमा भएको किताब निकालेर चात्न थालेछ ।
साराँसः
प्रधानमन्त्रीले मन्त्रीहरुलाई हकारेछन्, मन्त्रीले सचिवलाई, सचिबले कार्यालय प्रमुखलाई, कार्यालय प्रमुखले कारिन्दालाई, कारिन्दाले कार्यालय सहयोगिलाई, कार्यालय सहयोगिले सेवाग्राहीलाई । बिचरा ! सेवाग्राही, जताबाट पनि मारमा।
आजको यक्ष प्रश्नः यो 'एडहोकिज्म' कहिले सम्म ?


No comments:

Post a Comment