Sunday, November 6, 2016

विर्सिएका दुइ महान व्यक्तित्व

विर्सिएका दुइ महान व्यक्तित्व
एकः डा. लक्ष्मी नारायण झा (धनुषा)
२०४६-२०४८ ताका म धनुषामा कार्यरत रहँदा डा. लक्ष्मी नारायण झा को बारेमा कुरा हुन्थ्यो । पँचायतको विरोध गरेको आरोपमा तत्कालिन व्यवस्थाले वहाँको हत्या गरेको थियो । आजसम्म पनि वहाँको कुनै खबर छैन । डा. झा ‘सादा जीवन उच्च विचार’का धनी थिए । टायरको चप्पल र सामान्य कुर्ता पाइजामा लगाएर आफ्नो क्लिनिकमा जान्थे, विरामी जाँच्थे, फि दिन सक्नेसँग फि लिन्थे, नसक्नेलाई सित्तैमा जाँचिदिन्थे ।
घरमा दुइजना विद्यार्थी थिए । क्लिनिकबाट बेलुकी फर्केपछि बेलुका र विहानको लागि खानको लागि चाहिने पैसा विद्यार्थी केटाहरुहरुलाई दिएर बाँकी पैसा जानकी मन्दिरमा दान गरी दिन्थे । आफूसँग रुपिया पैसा राख्ने चलन थिएन । दिनभरि कमाउने बेलुकि दान गर्ने यही नै थियो उनको दिनचर्या ।
‘मानिसले सँचय गर्न हुँदैन’ भन्ने डाक्टर साहबको मान्यता थियो । कति उच्च विचार ।
सात पुस्तालाई धन सँचय गर्ने रोगले च्यापेर त होला हाम्रो देशमा भ्रष्टाचार यति मौलाएको ।
डा. लक्ष्मी नारायण झा को आत्माले चीर शान्ति पाओस् ।
दुइः इन्द्र बहादुर खड्का (दोलखा)
२०४८-२०५१ ताका म दोलखामा कार्यरत रहँदा इन्द्र बहादुर सरका बारेमा सुनेका प्रेरणादायि कुराहरु । इन्द्र बहादुर खड्का सर EAPARD स्कूल जिरी को हेडमास्टर । यो स्कूलको ढुँगाको गारो वहाँ आँफैले लगाउनु भएको रे । २०४६ साल अघी इन्द्रसर बाहेक कसैलाई पनि इपार्डको फुलफर्म थाहा थिएन रे । २०४६ सालमा बहुदल आएपछि मात्र वहाँले इपार्डको फुलफर्म ‘डिसक्लोज’ गर्नु भएछः End of Autocratic Panchayat and Rise of Democracy. कस्तो 'डिटरमिनेशन'!!!

तिनताका त्रिविमा डिग्री पढ्ने विद्यार्थीहरु राबिसे का लागि देशका विभिन्न भागमा जाने चलन थियो । काठमाण्डौका दुइजना विद्यार्थीहरु ‘इपार्ड’ स्कूलमा राविसेका लागि खटिएका थिए । तिनताका लामासाँगु जिरी सडक थिएन । लामासाँगुबाट जिरीसम्म पैदलै हिँडेर जानुपर्थ्यो । लामासाँगु पुगेपछि ती विद्यार्थीहरुले आफ्नो झोला बोक्ने एकजना भरिया खोज्दै थिए । एकजना भारी बोकेको मानिससँग सोधेछन्, ‘ए बाजे यहाँ भारी बोक्ने मानिस पाइँदैनन्?’
भरिया- ‘पाइन्छन् नी ! किन नपाइनु । बाबुहरु कहाँसम्म पुग्ने होला ? बोक्ने सामान के थियो होला?’
राविसे-‘जिरी सम्म जाने हो । सामान त यही झोला मात्र हो ।’
भरिया- ‘ए जिरी? जिरी किन जान लाग्नु भएको होला बाबुहरु ?’
राविसे- ‘हामी राविसे जान लागेको ।’
भरिया- ‘कुन स्कूलमा होला नी ?’
राविसे- ‘इपार्ड स्कूल थाहा छ ?’
भरिया- ‘किन थाहा नहुनु । म पनि जिरी नै जाने हो । यति झोला त मै बोकी दिउँला नी, ल्याउनुस ।’
यति भनेर ती भरिया दाइले ती दुईजना राबिसेहरुको झोला समेत आफ्नो डोको माथी राखेर उकालो लागेछन् । राबिसेहरु र भरिया गफगर्दै दिनभरिको बाटो हिडेर जिरी पुगेछन् । जिरी पुगेपछि भरियाले इपार्ड स्कूलमा राबिसेहरुको झोला छोडेर घरतिर लागेछन् ।
राबिसेहरु भोलीपल्ट दशबजे स्कूलमा गएछन् । उनीहरुको आँखालाई विश्वासै भएनछ । हेडमास्टरको कुर्सीमा त 
हिजो आफ्नो झोला बोक्ने भरिया पो त बसिरहेको छ । राबिसे विद्यार्थीहरु झण्डै बेहोस भएका रे । 
इन्द्र बहादुर सरले भन्नु भएछ, ‘लेसन नँ १- आफ्नो काम सधैँ आँफै गर्नु पर्छ।’
इन्द्र बहादुर सरले आफ्नो घरलाई चाहिने नुनतेल लामासाँगुबाट आँफै बोकेर जिरीसम्म लैजानु हुन्थ्यो रे । वहाँको अर्को बानी यस्तो थियो रे । बिहान स्कूल जाँदा एक डोको मल बोकेर बारीमा लैजाने र रित्तो डोको बोकेर स्कूल जाने । दिनभरि स्कूलमा पढाउने । बेलुकी स्कूलबाट घर फर्किँदा गोठमा ओछ्याउने एक डोको पतकर त्यही डोकोमा लिएर घर फर्किने ।
२०४८ सालको आम चुनावमा इन्द्र बहादुर सरले दोलखा क्षेत्र नँ १ बाट एमालेको तर्फबाट प्रतिनिधी सभाको चुनाव जित्नु भएको थियो । पछी वहाँले त्यसबाट राजीनामा दिनु भयो ।
एकपटक दोलखाबाट काठमाण्डौ आउँदा इन्द्र बहादुर सरसँग सँगै यात्रा गर्ने मौका मिलेको थियो । वहाँले भनेको अहिलेसम्म पनि याद छ ‘इन्जिनियर साब, मागि खानेले गरी खान जान्दैन बुझ्नु भयो ?’
शायद हामी मागेर खानमै उस्ताद भएकोले नै होला गरी खान नजानेको ।

No comments:

Post a Comment