कुरो २०३८ साल ताकाको हो । त्यतिबेला म पोखरामा अोभरसियर पदमा कार्यरत थिएँ । म र मित्र आचुङ घले खानेपानी योजनाको सर्भे गर्न भदौरे हर्पन गाउँ गएका थियौ । मेघराज पौडेल प्रधान पन्च हुनुहुन्यो । उहाँ साह्रै सहयोगि हुनुहुन्थ्यो । सर्भे गर्दा गर्दै घलेजीले घाँटीमा भिरेको अल्टीमिटर कतै खसेछ । बेलुकि मात्र थाहा भयो । मेघराजजीलाइ सामान हराएको कुरो सुनायौं ।
उहाँले तुरुन्तै कटुवाल बोलाएर गाउँमा घोक हाल्न लगाउनु भयो । कटुवालले कर्नाल भिरेर गाउँको शिरमा गएर घोक हाल्न थाले ।
' धुँ धुँ धुँ.......हेर हेर दाजु भाइ दिदी बहिनीहरु, पोखराबाट आउनु भएका उपरसेठ साबको घडी जस्तो देखिने पानी नाप्ने मिसिन हराएकोले पाउनु हुने दाजुभाइ दिदी बहिनीहरुले त्यो सामान उपरसेठ साबकाँ पुर्याइदिनु होला है....धुँ धुँ धुँ ....'
भोलीपल्ट पनि सर्भेको काम चल्यो तर अल्टिमिटर भने पाइएन । गाउँमा गाइगुइ चल्यो । एकजना मानिस हिजै पोखरा गएको थियो उतै लगेर बेच्यो होला ।
सामान नपाइए पछि मेघराज ज्यूलाइ पीर पर्यो । आफ्नो गाउँमा आएको सरकारी टोलीको सामान हराएको राम्रो भएन भनेर पीर मान्नु भयो । अन्तिम उपाय स्वरुप डाली थाप्ने निर्णय गर्नु भयो । त्यतिबेला गाउँघरमा कुनै सामान चोरी भएपछि गाउँको एकान्तमा लगेर एउटा डाली राखिन्थ्यो । सामान चोरेको मानिसलाइ ग्लानीबोध या डर लागेर चोरेको सामान फर्काउन चाहेमा राती त्यस डालीमा सामान राखेर फर्किन्थ्यो । हराएकोले सामान पनि पाउने चोरेको मानिसलाइ चोरीको बात पनि नलाग्ने । दुवै पक्षलाइ Win Win को अवस्था थियो । कति राम्रो सामाजिक व्यवस्था ।
भोलीपल्ट कटुवालले गाउँको शिरमा गएर फेरी घोक लगाए ।
'धुँ धुँ धुँ.......हेर हेर दाजु भाइ दिदी बहिनीहरु, पोखराबाट आउनु भएका उपरसेठ साबको हराएको घडी जस्तो देखिने पानी नाप्ने मिसिन अहिलेसम्म पनि पाइएन । अब गाउँको पुछारमा डाली थाप्ने भनेर प्रधान पंचले भनेको हुँदा गाउँको पुछारमा आज राती डाली थापिन्छ । मिसिन पाउनु भएका दाजुभाइ दिदी बहिनीहरुले त्यो सामान त्यही डालीमा राखि दिनुहोला है... यदि आज राती त्यो मिसिन डालीमा नपाइएमा भोली पोखराबाट पुलिसको कुकुर ल्याएर मिसिन खोज्ने कुरा भएको छ है..... .परेको आँफै व्यहोर्नु होला '
यति भनेर उनले कर्नालले धुँ धुँ धुँ ...गरेर लामो आवाज लगाए ।
भोलीपल्ट विहान डालीमा हेर्न जाँदा अल्टीमिटर राखेको पाइयो ।
उनताकाका मानिसहरु निजामति कर्मचारीलाइ कति सहयोग गर्थे भन्ने यो एउटा सानो उदाहरण प्रस्तुत गरें ।
के अहिलेको निजामति कर्मचारीले जनताहरुबाट यतिको सहयोग पाउँछन् होला त ?
No comments:
Post a Comment