शुरुमा देवता र असुर दुवै नश्वर थिए । असुरहरुका गुरु शुक्राचार्यलाई मृतसंजिवनी विद्या आउने भएकोले असुरहरु जतिपटक मरे पनि पुनः जिवीत भइ हाल्थे । यसले गर्दा देवता भन्दा असुरहरु शक्तिशाली हुँदै गए । देवताहरुले मृतसंजिवनी बिद्या सिकेर आउनका लागि आफ्ना गुरु बृहस्पतीका छोरा कच लाई ऋषि शुक्राचार्य कहाँ पठाए । कच निकै सुन्दर थिए । शुक्राचार्यकी छोरी देवयानी उनको रुपबाट मोहित भइ उनलाई मन पराउन थालिन ।
कच मृतसंजिवनी विद्या सिक्न आएको हो भन्ने कुरा असुरहरुले थाहा पाए । उनीहरुले कचको बध गरे । देवयानीको अनुरोधमा गुरु शुक्राचार्यले मृतसंजिवनी विद्याको प्रयोगबाट उनलाई जिवित गराइदिन्थे । असुरहरुले पटक पटक कचको बध गरे तर देवयानीको अनुरोधमा शुक्राचार्यले उनलाई जिवित गराइ हाल्थे । एकदिन असुरहरुले एकान्तमा लगेर कचको बध गरे ।त्यसपछि उसको लासलाइ जलाएर भष्म बनाए । त्यो भष्म गुरु शुक्राचार्यको खानामा मिसाएर उनलाई ख्वाए ।
कचको खोजी भयो तर उनी फेला परेनन् । देवयानीले निकै जिद्दी गरेपछी गुरु शुक्राचार्यले ध्यान दृष्टिले हेर्दा त कच आफ्नै पेट भित्र भएको देखे । अब एउटै उपाय बाँकी रह्यो । शुक्राचार्यले कचलाई मृतसंजिवनी विद्या सिकाउने, ऋषिको पेट चिरेर कच बाहिर आउने र त्यही बिद्याको बलले ऋषिलाई पुनर्जिवित गर्ने । यही नै भयो ।
कचलाई जिवित पाएपछि देवयानी निकै खुसी भइन । एकदिन उनले कचसँग विवाहको प्रस्ताव राखिन । कचले देवयानीलाई आफू मृतसंजिवनी विद्या सिक्न आएको कुरो बताए साथै आफू गुरु शुक्राचार्यको पेटबाट निस्केको हुँदा देवयानी उनकी बहीनी पर्ने भएकोले विवाह गर्न नमिल्ने कुरो बताए ।
यो कुरो थाहा पाएपछि देवयानीले कचलाई मृतसंजिवनी विद्याको प्रयोग गर्न नसक्ने श्राप दिइन ।
देवयानीको श्राको कारण कचले मृतसंजिवनी विद्याको प्रयोग गर्न त नसक्ने भए तर उनले यो विद्या देवताहरुलाई सिकाए ।
यसपछि देवताहरु अनश्वर भएको किम्बदन्ती छ ।
No comments:
Post a Comment