२०४४ सालमा सरकारी छात्रबृत्ती मा इन्जिनियरिङ पढेर आइयो । २०४५ सालमा देशमा पचहत्तरै जिल्लामा जिल्ला सिँचाई कार्यालयहरुको स्थापना भयो । सबै जिल्लामा नयाँ इन्जिनियरहरुको पोष्टिङ भयो । नयाँ इन्जिनियरहरु खुसीसाथ जिल्ला जिल्लामा गएर काम गरे । चलेकै थियो । त्यसको दश बर्ष भित्र कसलाई सनक चढ्यो, जिल्ला कार्यालयहरूलाई गाभेर डिभिजन कार्यालयहरु खडा गरिए । एउटा बिभागलाई टुक्रा पारेर दुइवटा बिभाग बनाइए । सिंचाइ बिभाग र जलउत्पन्न प्रकोप नियन्त्रण बिभाग । आठदश बर्ष भएको थियो फेरी कसलाई सनक चढ्यो, जिल्ला जिल्लामा सिँचाइ डिभिजन खोलिए । जलउत्पन्न प्रकोप नियन्त्रण बिभागको नाम पनि मिलेन रे, भनेर जलउत्पन्न प्रकोप व्यवस्थापन बिभाग राखियो । दुइबर्ष अघी जिल्लामा कार्यालयहरुको पुनर्स्थापना हुँदा देश संघीयतामा गइसकेको थियो र भावि संरचना कस्तो हुने बिषयमा छलफल भइरहेको थियो । जिल्ला नरहने भनेर संबिधानमा लेखेर आइसकेको थियो । कसको स्वार्थको लागि हो कुन्नी, जिल्ला जिल्लामा फेरी कार्यालयहरु खोलिए । अवस्था कस्तो सम्म आयो भने चितवनको सिँचाइ कार्यालयको कम्पाउण्ड भित्र पाँचवटा कार्यालयहरुको भिड खडा भयो । पहिला एउटा कार्यालय भएको ठाउँमा पाँचवटा कार्यालयहरु आएपछि जनताहरु रनभुल्लमा परे । मेरी आमै नी ! एउटा कम्पाउण्डमा एउटै निकायका पाँचवटा हाकिम !!
अहिले स्थानीय, प्रदेश र सँघीय कर्मचारी समायोजन गर्ने बेलामा कैयौँ कार्यालयहरु खारेज भएका छन् । ती कार्यालयहरुमा प्रदेशले कब्जा जमाएको छ । बिडम्बना के छ भने प्रदेश सरकारले कार्यालयमा भएका पुराना फर्नीचर नचलाउने तर पुराना भवन र सवारीसाधनहरु एकएक गरी कब्जा जमाइसकेको अवस्था छ । क्षेत्रीय निर्देशकहरु अभिभावक गुमाएका टुहुरा बच्चाहरु हिँडे जसरी कहिले काठमाण्डौँ त कहिले साविकको निर्देशनालयमा भौँतारिँदै हिडिरहेका छन् । यतिका बर्षदेखिको सँस्थागत स्मरणको के हुने हो कसैलाई मतलब छैन ।
फेरी प्रदेशमा कार्यालय खोल्ने होलान, फेरी कर्मचारी खटिने होलान्, सँस्थागत स्मरण सकिए पछि फेरी सर्भे होलान, फेरी डिजाइन इस्टिमेट होलान आदि आदि ।
जागिरे जिवनमा पंचायत, प्रजातन्त्र, लोकतन्त्र गरि तीनवटा शासन व्यवस्था भोगिएछ; आफ्नो मन्त्रालयको नाम जलस्रोत मन्त्रालय, सिँचाइ मन्त्रालय र हाल आएर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय भएछ । कहिले श्री५को सरकार त कहिले नेपालसरकार, कहिले कुन मन्त्रालय त कहिले कुन, कहिले सिँचाइ बिभाग त कहिले जलस्रोत तथा सिँचाइ विभाग भनेर नाम परिवर्तन भइरहेको कारण दराजभरि थरिथरिका परिचयपत्रको चाँङ लागेछ । दराज भरिका परिचयपत्र नियालेर हेरेको त एउटा कुरो परिवर्तन भएको पाएँ । तीस बर्षमा मेरा काला मुठे जुँगा सेता भएछन् ।
देश बिकासको काम भनेको हामीले स्कूलमा खेल्ने रिले रेश जस्तो हो । यसमा टिम वर्क हुन्छ । चारैवटा खेलाडि मध्ये कुनै एक जनाले मात्र पनि 'ब्याटम' लिएर दगुरेन भने टिमले रेस हार्छ । अहिले हामी ब्याटम हराएका रिले रेसका खेलाडि जस्ता भएका छौँ ।
जहिले पनि सँस्थाहरुको पुनःसँरचना मात्र गरेर सिँचाइको बिकास सम्भव छैन । देशमा स्थिर सरकार छ एउटा गन्तब्यको पहिचान होस्, अनावश्यक काममा एक पैसा पनि खर्च नहोस्, सबैले रिले रेसको त्यो ब्याटम दह्रो गरी समाऔँ, देश निर्माण गर्न गाह्रो छैन ।
सबैलाई हेक्का रहोस् 'सिँचाइ गरौँ उत्पादन बढाऔँ' भन्ने हाम्रो नारा "कण्डम लगाऔँ एड्स भगाऔ " भन्ने जस्तो सजिलो चाहीँ हैन है!!
No comments:
Post a Comment