Sunday, March 21, 2021

मन्दबुद्धिको कचकच

(१)

हाम्रो गाउँमा पनि सरकारले बनाइदिएको एउटा स्कूल हुँदो हो, एउटा स्वास्थ्य चौकि हुँदो हो, एउटा बाटो हुँदो हो, एउटा कुलो हुँदो हो, एउटा खानेपानी हुँदो हो, एउटा बिजुली बत्ती हुँदो हो, बिजुली बस हुँदो हो, एउटा त्रिभुवन विश्वविद्यालय हुँदो हो, एउटा रिङ रोड हुँदो हो, एउटा न्यु रोड हुँदो हो, विशाल बजार हुँदो हो, एउटा त्रिभुवन राजपथ हुँदो हो, एउटा महेन्द्र राजमार्ग हुँदो हो, एउटा इन्जिनियरिङ अध्ययन संस्थान हुँदो हो, एउटा त्रिचन्द्र कलेज हुँदो हो, एउटा चिकित्सा शास्त्र अध्ययन संस्थान हुँदो हो, सरकारी गैर सरकारी कार्यालयहरु हुँदा हुन्, सँस्थानहरु हुँदा हुन्, अड्डा अदालत हुँदा हुन्, राजदूतावास हरु हुँदा हुन्, बैंकहरु हुँदा हुन्, तारे नतारे होटलहरु हुँदा हुन्, एउटा सिंहदरवार हुँदो हो, एउटा राजदरवार हुँदो हो:
त
हाम्रा बाजेहरु पनि उतै गाउँमा बस्थे, हाम्रा बा पनि गाउँको सिंहदरवार र राजदरवारमा काम गर्थे, मास्टर हुन्थे, प्रोफेसर हुन्थे, बैंक मेनेजर हुन्थे; हामी पनि उतै गाउँमा पढ्थ्यौं, उतै जागिर खान्थ्यौं, उतै बस्थ्यौं । हाम्रो गाउँमा पनि सुरुङ मार्ग बन्थे, फास्ट ट्रयाक बन्थे, जग्गाको मुआब्जा पनि आनाको पचास लाख पुग्थ्यो ।
काठमाडौं खाल्टोमा मन्दबुद्धिहरुको आगमन पनि रोकिन्थ्यो । सबैलाई सजिलो हुन्थ्यो ।
अहिले सम्मका शासकहरुले खासमा ठगेको त गाउँलाई हो ।
शासकहरुलाई गाली गर्नु पर्ने त हामी गाउँका जनताले हो ।
बिगतका शासकहरुको बदमासी हेरेर ल्याउँदा हिजोआज मन्दबुद्धिलाई संघीयता त ठीकै पो हो कि जस्तो लाग्न थालेको छ ।
ख्वाँङ ! ख्वाँङ !
केटाकेटीमा मट्टीतेलको टुकी बालेर पढ्दा धुवाँले बिगारेको फोक्सो अहिलेसम्म ठीक भएको छैन ।
ख्वांङ! ख्वांङ!! ख्वांङ !!!

(२)
कुनैपनि नयाँ मन्त्रीको मन्त्रालयमा पदभार ग्रहण गर्ने पहिलो दिन मन्त्रालयहरुमा बिहेघरको जस्तो चटारो हुन्छ । नयाँ मन्त्रीको स्वागतार्थ मन्त्रालय तथा बिभाग का उच्च देखि निम्न तहका सबै कर्मचारीहरु कामधाम छोडेर एक घण्टा अगाडिदेखि नै हातमा फूलको गुच्छा लिएर मन्त्रालयको मूलढोका अगाडि लामवद्ध भएर बसेका हुन्छन्। नयाँ मन्त्री आएपछि उनलाई फूलको गुच्छा टक्राउँदै ङिच्च हाँसेर नमस्कार भन्छन् र चियाखान जान्छन् ।
हालै नियुक्त हुनुभएका मन्त्रीजीहरु को स्वागतमा यो दासप्रथा को निरन्तरता रह्यो कि समाप्त भयो होला?
नयाँ मन्त्रीजीको स्वागत गर्नु नराम्रो हैन । गर्नुपर्छ । तर वहाँकै कार्यकक्षमा दुइचार जना उच्चपदस्थ ले मात्र गर्दा हुन्न र? सबैलाई मूलगेटमा खडा गरेर दास प्रथाको प्रदर्शन गर्न पर्छ र?
आफै दास हुन चाहने कर्मचारीहरुलाई इन्द्रेको बाउ चन्द्रे आए पनि उद्धार गर्न सक्ला र ?
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन !

(३)
ए बाबा ठाकुरे! योजनालाई भात पकाउने डिक्ची, फोटोकपी पेपर, सुपरभिजन गर्ने मोटर साइकल देखि गाडि सम्म बिओक्यु मा राखेर हाकिम सापलाई किन अर्काको आशे बनाउने ?
डिक्ची चाहिए, गाडि चाहिए बजेटमा सिधै डिक्ची किन्ने पैसा यति, गाडि किन्ने पैसा यति भनेर राखे हुन्न? बिओक्युमा छिराउन पर्छ ?
बिओक्युबाट किनेनी सिओक्युबाट किनेनी पैसो त सरकारकै सकिने हैन र?
एउटा जोक याद आयो:
एक जना सहस्रबुद्धि घोडीमा चढेर कतै जाँदै थियो । आफू घोडीमा बसे पनि भारि चाँही आफ्नै पिठ्युमा बोकेको थियो । बाटो हिड्नेले सोधेछन्, 'ए सहस्रे, यो के गरेको हो भारि त आफै बोकेको छस् त यो घोडालाई बोकाए हुन्न?'
सहस्रले भनेछ, 'घोडा हैन घोडी हो, ‌ ब्याउनी छे, तेसैले भारि नबोकाम कि भनेर ।'

(४)
दुनियाले तेसै मन्दबुद्धि भनेको हैन नी ! अर्बौ खर्चेर शिवपुरीको डाँडामा तेत्रो बाँध बनीसक्यो, अर्को त्यो भन्दा पनि ठूलो बन्दैछ रे! मन्दबुद्धिले अहिलेसम्म बुझ्न नसकेको एउटा कुरो के हो भने, आधा रोपनी जग्गा पनि सिंचाइ नगर्ने बाँध बनाउने जिम्मा चाँही सिंचाइ विभागलाई किन दिएको रहेछ? सिंचाइ बिभागमा काम गर्ने साथीभाइहरुले यो 'सिँचाइ मरु' बाँधको महिमा गाउनुको कारण के रहेछ?
'कहिल्यै योजनामा काम गरेको भए पो योजनाको मज्जा थाहा पाउँथिस्, योजनाको गाडिमा शिवपुरीको डाँडामा सयर गर्नु को मजा, रेड लेभलको चुस्कि लिंदै चिकन टेंगडी टोक्नुको मजा तँ मन्दबुद्धिलाई के थाहा ।' भनेर एकजना साथीले भन्यो र पो झसँग भएँ ।
भाँड मे जाए सिंचाइ ।

(५)
मन्दबुद्धिको गणित:
मानौं
पशुपति मा वागमती नदीको चौडाइ B =१० मि.
पानीको वेग V = २५ से. मी. प्रति सेकेण्ड
थपिने पानीको प्रवाह Q = ४० लिटर प्रति सेकेण्ड
मन्दबुद्धिले पत्ता लगाउन पर्ने:
चालीस लिटर प्रति सेकेण्ड पानी पशुपती नेर बग्दा कति गहिरो भएर बग्छ?
मन्दबुद्धि हिसाब बाट
गहिराइ, h = Q/(BxV)
= ०.०४/(१०x०.२५)
=०.०१६ मिटर
= १६ मि मि
यत्ति को लागि बिदेशबाट अर्बौंको ऋण ल्याएर योजना बनाउने? एउटा हद हुन्छ नी !
नो रासनालाइलेजस प्लीज !

(६)
मन्दबुद्धिको कचकच:
एक जना सहस्रबुद्धिले मलाई मन्दबुद्धि भनेरै थर्काए । त्यो पनि अँग्रेजीमा । ए बाबा ठाकुरे! म त मन्दबुद्धि नै हुँ नी! डिक्लेरै गरेको छु त । तर सहस्रबुद्धिहरुले हामी जस्ता मन्दबुद्धिको एउटा कुराको जवाब चाँही दिनै पर्छ । हाम्रा राष्ट्रिय प्राथमिकताहरु के के हुन? ऋण धन गरेर ल्याएको पैसोले पहिला के गर्ने? गोरु किनेर खेत जोत्ने कि खसि किनेर भोज गर्ने? भ्यु टावर बनाउने कि, इलेक्ट्रिक पावर बनाउने? काठमाडौंको नाला सफा गर्ने कि, तराइको बाँझो खेतमा पानी पटाउने ? फास्ट ट्रयाक बनाउने कि जुम्लामा चिल्लो सडक बनाउने ? गाउँमा अस्पताल बनाउने कि साहुको बारीको कान्लामा ग्याबियन जाली हालेर बजेट सक्ने?
हामी जस्ता मन्दबुद्धिले त यति भन्न सक्यौँ भने हजुरहरु जस्ता सहस्रबुद्धिहरुलाई त कति आउँछ कति ! देश बिदेश घुमेका हजुरहरु, मुत्न नजानेर साँप्रामा मुतेर बस्ने हामी मन्दबुद्धि । कहाँ हजुर कहाँ हामी । हजुरहरु आकाश हामी भनेका पाताल । तुलना नै भएन नी ‌। तरपनि
हे सहस्रबुद्धि, मन्दबुद्धिको नाममा बिदेशबाट ऋण काढि काढि ल्याएर कतै खन्याइदेउ माथी खोत्याइदेउ र कतै चिल्ला राम गर्न त भएन नी भन्ने कुरो त गर्न पाइयो नी! के भन्नुहुन्छ सहस्रबुद्धि ?
कृपया अँग्रेजीमा गाली नदिनु होला ल!

(७)
मन्दबुद्धिको कचकच:
परापूर्व काल देखि नै राज्य को सम्पूर्ण सम्पत्ती खर्चेर दरवार यही बने, मन्दिर यहीँ बने; सिँहदरबार देखि लालदरवार यहीं बने; विश्वविद्यालय, अस्पताल, कलेज, स्कूल, एयर पोर्ट, बाटो यही बने; मेलम्ची यहीँ; चाक्लो बाटो यहीँ, सुरुङ भुरुङ यहीँ; धाप बाँध यहीँ, आकासे पुल, पातले पुल यहीँ; रातो पुल, कालो पुल यहीँ; ढल यहीँ, नल यहीँ; भित्री चक्रपथ बाहिरी चक्रपथ यहीँ; यो पनि यहीँ, त्यो पनि यहीँ; सबै यहीँ ।
गाउँमा जनश्रमदान बाट बनेको एउटा खानेपानी योजना र दुइटा तुर्तुरे धारा हेरेर बिकास भएछ भनेर कसरी चित्त बुझाउँ म मन्दबुद्धिले?
हे सहस्रबुद्धि, काठमाडौं मात्र नेपाल होइन नी !
हो र?


No comments:

Post a Comment