(१)
काठमाडौंमा पढ्दा पाटन अशोक हल नजिक डेरा थियो । पहिला नारायण दाइ, झलक दाइको को डेरा थियो । पछि वहाँहरु जागिरमा लागेपछि म एक्लै बस्थेँ । पुरै टोल भरिमा डेरा गरेर बस्ने काठमाडौ बाहिरको म मात्र एक्लो प्राणी थिएँ । त्यसैले, मलाई केटाकेटी देखि बुढा बुढी सबैले माया गर्थे । 'भाट खायो?' चिया खायो?' भनेर कुरा शुरु हुन्थ्यो । बाहिरबाट आउँदा सवैले सञ्चो बिसञ्चो सोध्थे । बिरामी भएको बेला औषधी ल्याएर खान दिन्थे । केटाकेटीहरु गणित, नेपाली सिक्न आउँथे । तीन चार जनालाई त नियमित पढाउँथें । निशुल्क । केटाकेटीहरुसँगबाट मैले नेवारी शब्दहरु सिकेको थिएँ । "जा" माने भात, 'ल' माने पानी, 'हाकु' माने कालो, 'मैचा' माने केटी, 'माक' माने बाँदर आदि आदि । म सबैको प्यारो भएको थिएँ । मेरो डेरा सबैको मिलन केन्द्र जस्तो थियो ।
मेरो डेराको छेउमा सानुदाइको टेलरिङ पसल थियो । सानुदाइ साह्रै मिलनसार, साह्रै दयालु, साह्रै सहयोगि थिए । मकहाँ पाहुना आउँदा सानुदाइले आफ्नो पसलको साँचो दिँदै भन्थे, 'आज टिम्रोमा मान्छेहरु आएको छ, टिमी मेरो पसलमा गएर सुत्नु ।'
एकदिन सानुदाइले बिहानै आएर भने ।
'आज हामीहरु टिम्रो डेरामा मासु पकाएर खान आउँछ है ।'
मलाई अचम्म लाग्यो । त्यहीं छेउमा घर भएको सानुदाइले मेरो साँघुरो डेरामा किन मासु पकाएर खान आउन लागेका होलान् ! होला नी केही कारण भनेर केही सोधीन । तर मलाई खुलतुली भइरहेको थियो ।
दिउँसो सानुदाइ, श्यामदाइ, भरतदाई, र अरु दुइ तीन जना दाइहरु झोलामा कुखुराको मासु र रक्सी लिएर आए । अरु दाइहरु सानुदाइको पसल भित्र छिरे । सानुदाइ मासु पकाउन मेरो डेरामै बसे । फितावाला स्टोभ बाले । मिट मसला हालेर बडो लोभलाग्दो तरिकाले कुखुराको मासु पकाए ।
नेवारको त जातैले पाएको मासु रक्सी पनि किन लुकि लुकि खाएको होला भनेर मलाई भने अचम्म लागिरहेको थियो ।
सानुदाइलाई सोधें, 'सानुदाइहरुको त जातैले पाएको मासु रक्सी पनि लुकेर खानु पर्छ र? हामीले पो लुकेर खान्छ त !'
सानुदाइले भने, 'हामी बज्राचार्य भनेको टिमीहरुको बाहुन भन्याजस्टो हो । कुखुराको मासु खान्दैन । टेसैले लुक्न पर्छ । कसैलाई नभन ल ।'
मैंले हुन्छ भनें ।
मासु पाकेपछि सानुदाई मासुको भाँडो बोकेर आफ्नो पसलमा गए । दाइहरुले ढोका थुनेर मासु, चिउरा, रक्सी खाए ।
अहिलेसम्म कसैलाई पनि भनेको थिइन । आज त्रिचालीस बर्षपछि भनें ।
सो सरी ! सानुदाइ ।
(२)
अशोक हल अगाडिको डेरा डेरा नभइ मेरो दोस्रो घर जस्तो थियो । सबै आफ्ना भएका थिए । भाइटिकाको दिन बैनीहरुले टिका लगाइदिन्थे । टोलमा कुनै भोज भतेर भयो भने निमन्त्रणा हुन्थ्यो । सुकुलमा पलेटी कसेर भोज खानुको मजै बेग्लै थियो ।
म बसेको घर मर्मत गर्नुपर्ने भएकोले डेरा सार्नु पर्ने भयो । सारियो । सानुदाइको सामिप्य छुट्यो । पुल्चोक तिर एउटा राणाजीको पुरानो घरमा डेरा सारें । बैठक कोठा रहेछ । सिलिङ, भित्ता इनामेल पेण्ट गरको निकै राम्रो कोठा थियो । त्यसैले कोठामा खाना पकाएर खान नपाइने शर्त थियो । बाहिरको खानाले सञ्चो भएन । त्यसैले त्यहाँको बसाइ लामो भएन । त्यसपछि गावहालमा डेरा सरियो ।
उता सानुदाइले पनि टेलरिङको पेशा छोडेर पुल्चोक ईन्जिनियरिङ् क्याम्पस अगाडि किराना सामानको पसल खोले । म पनि जागिरे भएँ । सानुदाइसँगको भेटघाट पातलो भएको थियो । पुल्चोक तिर जाँदा कहिले काँही पसलमा भेट हुन्थ्यो ।
एकपटक मलाई पैसाको निकै समस्या पर्यो । भान्छामा खानेकुरा सकिएको थियो । महिना सकिनै लागेको हुँदा तलब आउने बेला त भएको थियो तर अरुसँग माग्न मन लागेन । सानुदाइलाई संझें । गावहालबाट पुल्चोक सानुदाइको पसलमा गएँ । बाँकीमा सामान किनें । सानुदाइले कुरो बुझेछन् र भने, 'टिमीसँग पैसा सकिए जस्तो छ, यो पचास रुपियाँ पनि राख, मलाई पछि डिए हुन्छ ।'
मैंले सामान र नगद पचास रुपियाँ लिएर त्यहाँबाट हिँडें । चार पाँच दिन पछि तलब आयो । सबभन्दा पहिले सानुदाइको हिसाब चुक्ता गरें । सानुदाइले सदा झैं फिस्स हाँस्दै भने, 'कटी हटार गरेको ! पछि डिन्डा पनि हुन्ठ्यो नी ।'
एकदिनको कुरो हो । म र मेरो एकजना साथी पुल्चोकबाट गावहाल तर्फ डेरामा जाँदै थियौँ । हाम्रो डेरा बाटोको दायाँ तर्फ भएपनि बाटोको बायाँ बाट हिँड्नु पर्छ भन्ने नियम अनुसार बायाँ साइड बाटै हिँडि रहेका थियौँ । सानुदाइ साइकलमा चढेर मंगलबजार तर्फ जान लागेका रहेछन् । हामीलाई देखेछन् । पछाडिबाटै बोलाउँदै भने, 'टिमीहरु कटा जान लागेको? सञ्चै छ?"
मैंले सञ्चै छ सानुदाइ भनें ।
एउटा हात उचालेर 'ल ! गयो है!' भनेर साइकलमा अघी बढे । केही अघी पुग्ने बित्तीकै सानुदाइको पाइन्टको पकेटबाट नोटहरु भरभर गरेर झर्न थाले । साइकल चलाउँदा पकेटमा राखेको नोटहरु सर्दै सर्दै झरेको रहेछ । सानुदाइले पैसा झरेको थाहा पाएका थिएनन् । साइकलमा अगाडि बढे ।
मैंले जोडसँग सानु दाइ लाई बोलाएँ । फर्केर हेरे । पैसा झरेको थाहा पाएछन् । साइकल फर्काएर आए । तबसम्म मैले भुँइमा झरेका नोटहरु उठाइ सकेको थिएँ । सात आठ सय रुपियाँ जति थियो । सुका कप चिया र बाह्र रुपियाँ पाथी पोखरेली मसिनो चामल पाइने जमानामा सात आठ सय भनेको ठूलै रकम थियो । मैले पैसा सानुदाइलाई दिएँ ।
सानुदाइले भने, 'हट्टेरिका ! आज टिमीहरु नभएको भए बर्बाडै हुने रैछ, साहुलाई डिन भनेर ल्याको पैसा ठियो ।'
पैसा गनेर पकेटमा राखेर साइकल चढ्दै सानुदाइ मंगलबजार तर्फ लागे । हामी डेरा तर्फ लाग्यौं ।
'जसले अरुको भलो गर्छ, भगवानले उसको भलो गर्छ' भन्ने कुरो साँचो रहेछ ।
अस्तु
(अहिले सानुदाइ हामी माझ हुनुहुन्न, श्रद्धाञ्जली सानुदाइ )
No comments:
Post a Comment