Friday, March 26, 2021

सेफ्टीका कुरा

सेफ्टीका कुरा-१

तीनको नियम (Rule of Three)

घरको छतमा जाँदा बाँसको साधारण भर्‍याङ प्रयोग नगरेको को होला ? तर कहिले काँही यस्ता भर्‍याङबाट लडेर घाइते हुने र मृत्यु सम्म भएका घटनाहरु देख्न सुन्न पाइन्छ । एउटा घटना ।
साल ठ्याक्कै याद भएन सन् २००६/०७ तिरको कुरो हुनुपर्छ । निर्माण तथा यातायात मन्त्रालयको सहसचिव अध्यक्ष रहने एउटा कार्यान्वयन समिति थियो । निर्माण व्यवसायी महासँघ, सोसाइटी अफ कन्सलटिङ आर्किटेक्टरल इन्जिनियरिङ फर्मा(SCAEF) आदि त्यसका सदस्य थिए । मैले त्यहाँ करीब चार पाँच बर्ष जति जलस्रोत मन्त्रालयको प्रतिनिधित्व गरेँ । नियमित मिटिङ हुन्थ्यो ।
स्व. केशवमान अमात्य SCAEF को अध्यक्ष हुनुहुन्थ्यो । मिटिङमा सधैँ भेट हुन्थ्यो । एक दिनको मिटिङमा केशव जीले सेतो कपडा लगाएर आउनु भएको देखियो । हामीकहाँ साथीभाईले सेतो कपडा लगाएको देखेपछि सोधिने पहिलो जिज्ञासा भनेको परिवारको कस्लाई के भयो ? भन्ने नै हुन्छ । केशव जी ले सुनाएको घटना सुन्दा हाम्रो आँङ्ग नै सिरिङ्ग भयो ।
केशवजीको दाजुको घर निर्माण सकिएको थियो । छतमा पानी टँकी थियो तर पानी टँकीमा जाने भर्‍याङ बनेको थिएन । बाँसको अस्थाइ भर्‍याङ थियो । टँकी हेर्न जानुपर्यो भने त्यसैबाट माथीतल गर्नुहुन्थ्यो । दशैँको बेला थियो । दाजुले टँकीमा पानी चढाउन पम्प अन गर्नुभएछ र टँकीमा पानी चढ्यो कि चढेन भनेर हेर्न त्यही बाँसको भर्‍याङबाट माथी जान लाग्नु भएको रहेछ । भर्‍याङ अलि ठाडो रहेछ । माथी चढ्न लाग्दा भर्‍याङ सिधै पछाडिपट्टी पल्टेर भर्‍याङ सँगै दाजु लड्नु भएछ । टाउकोको पछाडि पट्टी चोट लागेर ठाउँको ठाउँ दाजुको देहान्त भएछ । चोट यति भयानक थियो कि दाजुका दुइवटै आँखाका गेडि बाहिर निस्किन लागेका थिए रे ! त्यस दुर्घटनाको कुरो सुन्दा नै हाम्रो आँङ सिरिङ्ग भयो । हे भगवान कस्तो भयानक दुर्घटना !
एउटा सामान्य असावधानीले गर्दा मानिसको ज्यान पनि जान सक्छ ।
सेफ्टीका कुरा:
सुरक्षाको हिसाबले निर्माण स्थलमा हेण्ड रेलिङ नभएको भर्‍याङ प्रयोग नै गर्न पाइन्न । रेलिङ समातेर भर्‍याङ चढ्दा Rule of Three भन्ने नियम पालना गर्नुपर्छ भनेर सिकाइन्छ। यो भनेको के हो भने भर्याङ चढ्दा जहिले पनि हाम्रा चारवटा हात खुट्टाहरुले तीनवटा विन्दुहरु समातेको हुनुपर्छ । दुइटा हातले समातेर एउटा खुट्टा उचाल्ने/ दुइटा खुट्टाले टेकेर एउटा हात सार्ने । यसो गर्दा जहिले पनि तीनवटा विन्दुहरु भर्याङको सम्पर्कमा हुन्छन् ।
सकभर बाँसका यस्ता भर्‍याङ प्रयोग नगर्ने, प्रयोग गर्नै परे भर्‍याङको फेद नचिप्लने र टुप्पो नखुस्किने गरी राम्रोसँग बाँधेर राख्ने अनि Rule of Three को पालना गर्दै भर्‍याङ चढ्ने । सकभर एक्लै भर्‍याङ नचढ्ने, कसैलाई तलबाट समात्न लगाएर चढ्ने ।
सानो असावधानीले ज्यान पनि जान सक्छ ।
सावधान रहौँ, सुरक्षित रहौँ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-२

इनारमा पानी हालौँ

के भनेको होला? इनारबाट त पानी निकालिन्छ कहाँ पानी हाल्ने कुरा गरेको होला भन्नु भयो होला हैन ? कुरो त्यस्तै छ ।
२०४५/४६ साल तिरको कुरो हो । इन्जिनियरिङ क्याम्पसको पछाडि पट्टि पर्ने ज्वागल टोलमा हाम्रो डेरा थियो । मच्छेन्द्रनाथको भोटो देखाउने दिन भएकोले अफिसमा बिदा थियो । यसदिन स्थानीयबासीहरुले आ-आफ्नो टोलमा रहेका इनारहरु सफा गर्ने प्रचलन छ । हामीहरु बसेको घर नजिकै एउटा इनार थियो । त्यसदिन त्यो इनार पनि सफा गर्ने कार्यक्रम रहेछ । त्यसटोलमा पाइपबाट खानेपनीको बितरण भएकोले खानेपानीको लागि इनारको प्रयोग कमै हुन्थ्यो । इनारको प्रयोग कम भएको थियो ।
बिहानको करीब एघार बजेको थियो । हामीहरु खाना खाएर गफ गरिरहेका थियौँ । इनारमा एक्कासी रुवाबासी चल्यो । हाम्रो घरबेटी दिदी, उनको छोरा लगायत अन्य महिलाहरु पनि जोडजोडले रोइरहेका थिए । हामीहरु हतार हतार त्यहाँ गयौँ । इनार भित्र दुइजना मानिसहरु अचेत अवस्थामा लडेका थिए । बाहिर रुवाबासी थियो । इनारमा बेहोस मध्ये एकजना हाम्रो घरबेटी दाई र अर्को चाँही उनको आफ्नो ठूलो दाजु थिए ।
सामान्यतया मानिस यस्तो अवस्थामा किमकर्तब्य विमूढ हुन्छ । के गर्ने के नगर्ने भन्ने हुन्छ । यतिकैमा डोरीमा बाँधेर मानिसलाई भित्र पठाउने प्रयास हुन थाल्यो । तर डोरीमा बाँधेको मानिस आधा बाटोमै बेहोस भयो र उसलाई बाहिर निकालियो । स्थिती झन् डरलाग्दो भयो ।
अहिले जस्तो सबैका हात हातमा मोबाइल पनि थिएन, सबैका घरमा फोन पनि थिएनन् । नजिकै हाम्रो साथी मधुसुदन महत जी को घर थियो । वहाँको घरमा लेण्डलाइन फोन थियो । अचेत मानिसलाई अस्पताल पठाउन भन्दा पहिला त इनारबाट निकाल्न जरुरी थियो । मेरो दिमागमा एम्बुलेन्सको साथ साथै दमकललाई पनि फोन गर्ने बिचार आयो । दमकलसँग इनार भित्र छिर्ने सिढी आदि हुने भएकोले उनीहरुलाई फोन गर्ने बिचार आएको थियो ।
एम्बुलेन्स र दमकललाई फोन गरेर हामी पुनः इनारमा आयौँ । रुवाबासी यथावत थियो । तर इनार भित्र जाने हिम्मत कसैको थिएन । त्यतिकैमा त्यहाँ एकजना बृद्ध आउनु भयो । वहाँले 'इनारमा पानी हाल! इनारमा पानी हाल!!' भन्नु भयो । सबैले घरघरबाट बाल्टिमा पानी ल्याएर इनारमा खन्याउन थाले । त्यसपछि वहाँले एकजना मानिसलाई इनार भित्र जान भन्नु भयो । डोरीमा झुण्डिएर पहिला एक जना मानिस इनार भित्र छिरे । यसपटक भने उ बेहोस भएन । त्यसपछि दोस्रो मानिस पनि इनार भित्र छिरे र दुइ जना बेहोस मानिसहरुलाई पालो पालो इनार बाट बाहिर निकाले ।त्यतिकैमा त्यहाँ दमकल पनि आइपुग्यो । बेहोस मानिसहरुलाई त्यही दमकलमा राखेर अस्पताल पुर्‍‍याइयो । अस्पतालले उनीहरु दुवैलाई मृत घोषित गरिदियो ।
यसबाट एउटा कुरो के स्पष्ट हुन्छ भने इनारहरुमा बिषालु ग्यास भरिएको हुन्छ । यस्तो ग्यास पानीमा घुलनशील हुन्छ । यसैले पहिलो पटक मानिसलाई भित्र पठाउँदा बेहोस भयो र पानी छर्केर भित्र पठाउँदा केही भएन । शुरुमै उक्त बृद्धको अनुभव प्रयोग गरेर इनारमा पानी छर्केर भित्र गएको भए शायद दुवै दाजुभाइको ज्यान जोगिन्थ्यो होला । उनीहरु बेहोस हुने बित्तिकै हामी बाहिर भएकाहरुले पनि इनारमा पानी हाल्न पाएको भए शायद उनीहरुको ज्यान जोगाउन सकिन्थ्यो होला ।
बेहोस (मृत) ‍‍‍भएका घरबेटी दाइलाई अस्पताल पुर्‌याउँदा मैले उनलाई टाउको तिरबाट समाएर उठाएको थिएँ । अहिलेसम्म पनि मच्छेन्द्रनाथको भोटो देखाउने दिन उनको अनुहार मेरो अगाडि आउँछ ।
इनार, ढल तथा यस्तै अन्य सुरुङहरुमा बिषालु ग्यास भरिएको हुन्छ । त्यहाँ भित्र छिर्दा सावधानी अपनाउनु पर्छ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-३

निर्माण साइटका कुरा

जिन्दगि भरिको कमाइबाट बनाउन लागेको एउटा घर को निर्माण कार्य हेर्न कसलाई मन नलाग्ला? सिमेण्ट सेट भयो कि? मिस्त्रीले इटाका टुक्रा पारेर फाल्यो कि? मसला खेर गयो कि? क्युरिङको लागि पानी को जोहो, किला काँटी देखि डोको डोरी सम्मको जोहो गर्नु कम झण्झटिलो हुन्न । बिहान देखि बेलुका सम्म घर निर्माणको ठाउँमा नखट्ने को होला? यसैले सबैले निर्माण साइटमा पालना गर्नु पर्ने सेफ्टी सम्बन्धी सामान्य नियम जानेकै हुनुपर्छ ।
१) निर्माण साइटमा जाँदा फर्मामा रहेको किला खुट्टामा गाडिएर कैयौँ मानिस घाइते भएका छन् । यसैले चप्पल लगाएर कहिलै नजाऔँ । सकभर सेफ्टी जुता लगाएर जाउँ ।
२) सामानहरु बोकेर लैजाने बाटोमा छिरलिएर रहेका सामानहरु जस्तै, इटाका टुक्रा, डोरी आदि हटाऔँ । त्यसमा ठेस लागेर वा अल्झिएर लड्ने डर हुन्छ ।
३)निर्माण सामाग्रीहरु यथास्थानमा राखेर निर्माण स्थललाई चिटिक्क पारेर राखौँ । यसलाई प्राविधिक भाषामा 'हाउस किपिङ' भनिन्छ ।
४) साना बच्चा बच्ची बोकेर निर्माण स्थलमा नघुमौँ ।
५) आफ्ना वा कामदारका ठूला बच्चा बच्चीहरुलाई निर्माण स्थलमा जान नदिउँ । यस्तो ठाउँलाई उनीहरुले लुकामारी खेल्ने ठाउँ बनाउँछन् । भर्याङको रेलिङ मात्र हाल्न बाँकी रहेको घरको सिढीबाट बच्चा बच्ची खसेर कैयौँ दुर्घटनाहरु भएका छन् ।
६) कामदारहरुले छत माथीबाट जथाभावि सामान फाल्ने गर्छन् । यसो गर्न नदिउँ । नगरि नहुने भए निगरानी बीच मात्र गरौँ ।
७) उचाइमा काम गर्ने कामदारहरुको बिशेष सुरक्षा गरौँ । मचान राम्ररी कसेको छ कि छैन हेरौँ ।
८) ढलानको दिन कामदारहरु बढी हुने भएकोले सेफ्टीको बिशेष आवश्यकता हुन्छ । कतिपय कामदारहरु बच्चा बच्ची बोकेर आएका हुन्छन् उनीहरुको बिशेष ख्याल गरौँ । सकिन्छ भने केही मिठाइ किनेर यस्ता बच्चाबच्चीलाई भुलाउँ ( मैंले त्यसै गरेको थिएँ )।
९) घर बनाउँदा बाँसका अस्थाइ भर्याङबाट लडेर निकै दुर्घटनाहरु भएका छन् । यस्तो भर्यांङ चढ्दा वा झर्दा निकै सावधानी अपनाऔँ । भर्याङको तल्लो भाग र माथिल्लो भाग राम्ररी बाँधिएको छ कि छैन चेक गरौँ ।
१०) भर्याङ चढ्दा Rule of three कहिल्यै नबिर्सौँ ।
११) निर्माण साइटको लागि टिँचर आयोडिन, पट्टी भएको एउटा प्राथमिक उपचार किट किनी राखौँ ।
सेफ्टी नियमको पालना गरौँ सुरक्षित रहौँ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-४

झण्डै

निर्माण साइटमा काम गर्दा होस् वा सडकमा हिंड्दा होस् वा घरमै होस् हामी मध्ये धेरैले यो 'झण्डै' देखेका छौँ । कतिपयले त भोगेका पनि हौंला ।
माथी बाट X ले फालेको छडले तल बसेको Y को झण्डैले टाउको नफुटेको ।
बाटोमा पोखिएको तेलमा चिप्लेर झण्डैले हात नभाँचिएको ।
बाथरुममा साबुनको टुक्रामा चिप्लिएर झण्डैले टाउको नफुटेको ।
आज बाटो काट्दा झण्डैले गाडिले नहानेको ।
त्यो बच्चा झण्डैले छतबाट नखसेको ।
'मंगोल' को ढकनी खुला रैछ, झण्डैले भित्र छिरेको ।
आदि आदि
यो 'झण्डै' लाई सेफ्टीको भाषामा 'नियर मिस इन्सिडेन्ट्स' भनिन्छ । यस्तोमा अलिकति तलमाथी भएको भए मानिसको ज्यान पनि जान सक्थ्यो । तर हामीकहाँ यसलाई कसैले भाग्य बलीयो भएर बाँचेको भन्छन्, कसैले दशा कमजोर भएर बाँचेको भन्छन्, कसैले के भन्छन्, कसैले के भन्छन् । तर यो विशुद्ध रुपमा सेफ्टी को हेलचक्रयाँइ नै हो ।
यस प्रकारका 'नियर मिस इन्सिडेन्स्' को अध्ययनबाट पनि सेफ्टीको पाठ सिक्न सकिन्छ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-५

बेरुत बिष्फोट र हामी
बेरुतमा हालै भएको भयँकर बिष्फोट सेफ्टीको सामान्य नियम पनि पालना नगरेर भएको भन्ने छ । एमोनियम नाइट्रेटमा आफै बिष्फोट हुँदैन । जब यो 'कन्ट्यामिनेट' हुन्छ अनिमात्र यो खतरनाक हुन्छ भन्ने कुरो आएको छ । गलत तरिकाले भण्डारण गरेको कारण कन्ट्यामिनेट भएर यस्तो भयानक दुर्घटना भएको हो भन्ने कुरो स्पष्ट भएको छ ।
यस दुर्घटनाबाट हामीले केही पाठ सिकेर निम्न कुराहरु तुरुन्त गर्नुपर्छ ।
-नेपालमा पनि कतै यस प्रकारका रसायनहरु भण्डारण गरिएका छन् कि? खोजेर त्यसको उचित व्यवस्थापन गर्ने ।
-घना बस्ती नजिक भएका पेट्रोल पम्पहरु हटाउने ।
- ग्यास सिलिन्डर बेच्ने ठाउँहरुलाई घना बसोबास बाट टाढा राख्ने ।
-दुर्घटना एक्कासी हुने हैन, बिगतमा 'नजरअन्दाज' गरिएका गल्तीहरुको सँगालोको रुपमा आउने हो ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-६
नट-बोल्ट

रुडकी विश्वविद्यालय, भारतमा हामीलाई स्ट्रक्चर पढाउने गुरुले भनेको कुरो बाट कुरो शुरु गरौँ ।
For want of a nail the shoe was lost, for want of a shoe the horse was lost, for want of a horse the battle was lost and ultimately the kingdom was lost.
घोडाको टापमा ठोकिएको एउटा सामान्य किला समयमा नठोक्दा राज्य नै हार्नु परेको यो कुरो निकै महत्वपूर्ण छ ।
मेलाम्चीको गेटमा लगाइएको नट बोल्ट खुस्केर गेट भाँचियो अनि त्यत्रो ठूलो दुर्घटना निम्त्यो भन्ने कुरो समाचारमा आएको छ । यदि यो हो भने यसमा सामान्य इन्जिनियरिङ सिद्धान्त पालना नभएको देखिन्छ ।
नट-बोल्ट को इन्जिनियरिङ बुझ्न सजिलो छ । यहाँ तीन प्रकारका फेलरहरु हुन सक्छन् ।
१) नट बोल्ट को गुना कमजोर भएर फुस्किने
२) बोल्ट कमजोर भएर भाँचिने
३) नट-बोल्ट ले जोडेका पाता नै च्यातिने ।
कुनै पनि इन्जिनियरले नट-बोल्ट लगाउँदा अन्य कुराको अतिरिक्त माथी उल्लिखित तीन कुराहरुको प्रयोगशालामा जाँच गरेको हुनुपर्छ वा उत्पादकले यी तीन कुराहरुको प्रत्याभूती (ग्यारेण्टि) दिएको हुनुपर्छ । अनिमात्र त्यस्ता सामाग्रीहरु काममा प्रयोग गर्न पाइन्छ ।
हालै पाकिस्तान को एउटा शहरमा बाटो छेउमा टाँगिएको एउटा बिशाल बिलबोर्ड हावाले उडाएर बाटोमा गुडिरहेको सवारी साधन माथी झरेर हताहत भएको समाचार हेरेको थिएँ । यसमा पनि त्यही नट-बोल्ट कमजोर भएकै कारण बिलबोर्डलाई हावाले उडाएको हुनुपर्छ ।
नेपालमा पनि हावाहुरी लाग्दा कैयौँ बिलबोर्डहरु र कैयौँ घरको छतका जस्ता पातहरु हावाले उडाएर मानिसहरु घाइते भएको सुनिन्छ । यहाँ पनि उही नट-बोल्ट नै 'करामत' छ ।
हाम्रा शहरहरुमा झुण्ड्याइएका बिल बोर्डमा कसेका नट-बोल्ट हरु ठीक ठाक त छन् नी? तिनमा खिया लागेर कुनै दुर्घटना त पर्खेर बसेका छैनन् नी? कस्ले हेर्ने ? महानगरलाई फुर्सत होला नहोला, आफ्नो घरको छत वा अन्य ठाउँमा लगाइएका नट-बोल्ट हरु सहि सलामत त छन् नी, भनेर एकपटक नजर लाउने हो कि ? कतै खियाले जिर्ण भएका त छैनन्? चेक गर्ने हो कि?
एउटा सामान्य नट-बोल्ट त हो नी! भनेर नहेपौँ । सियो सानो भएर के भयो त? भेट्टायो भने भुँडि पनि छेडिदिन सक्छ ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-७
ज्यानमारा भक्कु चप्पल

कुरो २०३८ साल तिरको हो । उमेश झा जी र म पोखरा मुस्ताङ चोकमा एउटा कोठा भाडामा लिएर बसेका थियौँ । खाना चाँही 'पेइङ गेष्ट' भएर घरबेटी कै भान्सामा खान्थ्यौँ । हाम्रो डेरा पहिलो तल्लामा थियो । भान्सा भुँइ तल्लामा । अफिस चाँही बिरौटा चोकमा थियो । रुडकी को तयारी मा थियौँ । बिहान नौ बजेसम्ममा खाना तयार हुन्थ्यो । खाना तयार भएपछि घरबेटीका छोराहरुले खाना खान बोलाउँथे । हामी दुइ भाइ तल ओर्लेर खाना खान जान्थ्यौँ ।
तल माथी गर्ने घरको सिँढी बाहिरबाट थियो । पानी परेको बेला भिजेर चिप्लो भएको हुन्थ्यो ।
पोखरा न पर्यो, एकदिन बिहानै देखि पानी परिरहेको थियो । तलबाट घरबेटी दिदीले 'खाना तयार भयो, खाना खान आउनु' भनेर बोलाउनु भयो । पानी परिरहेको थियो । छाता ओढेर उमेश जी अगाडि अगाडि र म पछाडि पछाडि भएर ओर्लँदै थियौँ । मैंले त्यति बेला निकै चलेको भक्कु चप्पल लगाएको थिएँ । पानी परेकोले 'सिमेण्ट पनिङ' गरेको सिँढी चिप्लो भएको थियो । मेरो खुट्टा चिप्लीएर सिँढीको माथीबाट ढ्याँंङ ढ्याँङ गर्दै तल सम्म पुगेँ ‌। टाउको ठोकिएर म बेहोस भएछु।
उमेशजी र अरुहरु भएर मलाई खाटमा सुताउनु भएछ ।
उमेशजीले मलाई होसमा ल्याउन वहाँको गाउँमा चलेको एउटा तरिका अपनाउनु भएछ । बेहोस भएको मान्छेलाई एक छिनको लागि नाक मुख थुनीदिने हो भने मर्नेवाला नै रहेछ भनेपनि मर्नु भन्दा पहिला एकपटक होसमा आउनै पर्छ । उमेश जी ले त्यसै गर्नु भएछ । म होसमा आएँ । हात खुट्टा करङ सबै दुरुस्त भएकोले अस्पताल जान परेन ।
एकछिन आराम गरेपछि खाना खाइयो र अफिस लागियो ।
शिक्षा:
खास गरि बर्षाको बेलामा कम हिडिने बाटो, आँगनहरु, छतहरु, बाहिरबाट बनाइएका घरका सिँढीहरुमा काउली लागेर चिप्लो भएको हुन्छ । यस्तो बेलामा खुट्टामा लगाउने जुत्ता चप्पल राम्रो ग्रीप भएको परेन भने उत्तानाटांङ लाउने प्रबल संभावना हुन्छ ।
यो बर्षामा आफ्नो छतमा, बरण्डामा, सिँढीमा लागेको काउली सफा गर्नु भयो?
कस्तो चप्पल लाएर तलमाथी, भित्र बाहिर गर्दै हुनुहुन्छ? आफ्नो बाथरुममा पुरानो भक्कु चप्पल जस्तो चिप्लिने चप्पल त राख्नु भएको छैन नी? यदि राख्नु भएको छ भने यो स्टाटस पढेपछि तुरुन्त बाहिर मिल्काइदिनुहोस् ।

भक्कु चप्पल ज्यानमारा हुन्छ । 

Safety starts with 'S' but begins from 'U'

सेफ्टीका दुइटा कुरा-८

(१) गमला
घर वरिपरि ढकमक्क फुलेका फूलका गमला राख्न कस्को मनले नमान्दो हो ! तर यही गमला घरको प्यारापेट माथी राखियो भने यो ठूलो सेफ्टी हजार्ड हुन जान्छ । प्यारापेट माथी राखेका गमला लडेर कैयौँ मानिस घाइते भएका छन्, कैयौँ को त ज्यान पनि गएको छ । यसरी माथीबाट खसेको गमला सिधै तल बसेको मानिसको टाउकोमा बजारिने भएकोले यसको चोट निकै गम्भिर तृा घातक हुन्छ । यसैले बाटो हिँड्दा कसैको कौसीमा ढकमक्क फूलेका फूल देख्नुभयो भयो तर्केर हिड्नुमै श्रेयष्कर हुन्छ ।
खास गरि भुँइचालोको बेलामा प्यारापेटमा सजाएर राखेका यस्ता गमलाहरु झरेर तल रहेका मानिसको टाउकोमा बजारिएर गम्भीर चोट लाग्न सक्छ । तपाँइहरुले पनि यदि प्यारापेटमा यसरी नै गमला सजाएर राख्नु भएको छ भने आजै हैन अहिलै गएर नखस्ने ठाउँमा राखिहाल्नुस् ।
(२) जस्ता-पाता को छानोलाई अँठ्याएर राख्न बनाइएको इटाको पेटी:
कतिपय घरका दुइपाखे वा एकपाखे जस्तापाताको छाना हरुमा धुरीको दाँया बायाँ एउटा इटाको पेटीले अँठ्याएको देख्नु भएको होला । जस्तापाताको सतह चिल्लो हुने भएकोले यस प्रकारको इटाको पेटी र जस्तापाता बीच 'बोण्ड' भएको हुन्न । खास गरि भुँइचालो को बेला यस्ता इटाका पेटीहरु छानाबाट चिप्लिएर झर्छन् ।
२०४५ को भूँइचालो एउटा घटना । त्यतीबेला म नेपाल बिद्युत प्राधिकरणमा कार्यरत थिएँ । भूकम्प पछि नेबिप्रा ले बनाएको क्षति मूल्याँकन समितिमा सदस्य बनाइयो । हामीहरुलाई पूर्वाञ्चल र जनकपुरका नेबिप्रा का सँरचनाको क्षतिको मूल्याँकन गर्न खटाइएको थियो । त्यतिबेला धरानमा भएको क्षति प्रत्यक्ष देखेको हो । साह्रै नै हृदयविदारक थियो धरानको अवस्था । त्यहाँ जस्तापाताको छानामाथी बनाइएको इटाको पेटी झरेर एकजनाको मृत्यु भएको थियो । घटना यस्तो थियो ।
घरका सबैजना सुतिरहेका थिए । घरमूली चाँही भूँइचालो जानुभन्दा केही अघी उठेर नित्यकर्म को लागि बाहिर निस्किएका रहेछन् । पाँच बज्न पाँच मिनेटमा एक्कासी भुँइचालो आयो । छानालाई अँठ्याएर राख्न बनाइएको इटाको पेटीले जस्तापाता लाई छोडेर चिप्लिँदै तल झर्यो र उनको टाउकोमा लाग्यो । उनको ज्यान गयो । घरलाई केही भएन, परिवारका अन्य सदस्यलाई केही पनि भएन तर घरमूलीको ज्यान गयो ।
जस्तापाताको छानामा यस प्रकारको कुनैपनि भारी वस्तुहरु राख्नु भनेको सेफ्टी हजार्ड हो । जस्तापाता लाई जे-हुक वाला र नट बोल्टले कसेकै राम्रो हो ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-९
दूध र ग्यास चुलो:

पानी तताउँदा उम्लिन्छ । दूध तताउँदा पनि उम्लन्छ । पानी उम्लिए पनि पोखिन्न तर दूध उम्लिए पछि पोखिन्छ । त्यसैले ग्यास चूलोमा दूध उम्लीएपछि दुर्घटना हुने डर हुन्छ । यसमा सावधानी अपनाउन पर्छ ।
ग्यास चुलोमा दुध उम्लियो भने ग्यासको ज्वाला निभ्छ तर ग्यास भने निरन्तर आइरहेको हुन्छ । बिर्सिएर लामो समयसम्म ग्यास बन्द गर्न बिर्सियो भने कोठाभरि ग्यास भरिन्छ ।
यस्तोमा निम्न कुराहरुमा बिचार पुर्याउनु पर्छ:
१) तुरुन्त लाइटर/सलाइ बालेर ग्यास बाल्नु हुन्न । यस्तो गरियो भने कोठामा भएको ग्यास सल्केर आगलागि हुन्छ ।
२) एक्जस्ट फ्यान पनि चलाउन हुन्न । त्यसो गर्दा स्वीच र फ्यानको मोटर गरेर दुइ ठाउँमा स्पार्क हुन्छ र आगो लाग्छ ।
३) बत्ती बाल्नु हुन्न । यसो गर्दा पनि बत्तीको स्वीचमा स्पार्क भएर ग्यासमा आगो सल्कन्छ ।
के गर्ने?
यसरी दूध उम्लेर कोठामा ग्यास भरिएको गन्ध आएको पाइएमा सबैभन्दा पहिला ग्यास बन्द गर्ने । कोठाका झ्याल ढोका खोल्ने । ग्यासको गन्ध हटेपछि मात्र, आवश्यक भए बत्ती 'स्वीच अन' गर्ने, ग्यास बाल्ने, एक्जस्ट फ्यान चलाउने आदि गर्न सकिन्छ ।
चूलोमा दूध बसाले पछि उम्लिएर ग्यास अफ नगरी भान्साबाट बाहिर ननिस्कौँ । अनि फेसबुक चलाउँदा चलाउँदा दूध उम्लेको पत्तै नहोला ।
Safety starts with 'S' but begins from 'U'.

सेफ्टीका कुरा-१०
चोकिङ

छिमेकमा एउटा पार्टी थियो । हामीलाई चु. निम्तो थियो । सपरिवार पार्टीमा गएका थियौँ । शाकाहारी, मांसाहारी गरेर बिभिन्न आइटमहरु थिए । छरछिमेकका सबै जम्मा भएका थियौँ । निकै रमाइलो सामाजिक वातावरण थियो ।
मेनुमा एउटा आइटम खसिको तारेको मासु थियो । अलि बढी फ्राई गरेर होला निकै साह्रो भएको थियो । दुइ चार पीस प्लेटमा हालेको थिएँ । मलाई त्यो मासु चपाउन गाह्रो भएर प्लेटमा साइड लगाएर राखेँ । मेरो छोरीले पनि प्लेटमा दुइ चार पिस राखेर आफ्ना साथीहरुसँग खाँदै थिइ। पहिलो गास मै उसको घाँटीमा त्यो साह्रो मासु अडकिएछ ।
त्यसरी घाँटीमा केही अड्किएपछि मानिस बोल्न नसक्ने हुँदो रहेछ । दिमाग शुन्य हुँदो रहेछ । जुरुक्क उठेर घाँटी समाउँदै हिड्न थालिछ । सबैजना पार्टीको रमझममा व्यस्त थियौँ । मेरो बुहारी र छोराले यसरी भौँतारिँदै हिडेको देखेपछि चोकिङ भएको अडकल काटेछन् । छोरो र उसका साथीहरुले 'चोकिङ चोकिङ' भन्दै कराएछन् । सँयोगले डा. बिराट तिमिल्सेना त्यही थिए । उनले तुरुन्त छोरीलाई समाते । छोरीलाई निहुरी पारेर पछाडि पट्टी हातले ढ्याप ढ्याप पार्दै घाँटीमा अड्किएको मासु झार्न खोजे । दुइटा हात पेटमा राखेर 'झ्याँक-झ्याँक' पार्दै झार्न खोजे, यसलाई डाक्टरी भाषामा Heimlich Maneuvor वा abdominal thrust भन्दो रहेछ । तीन चार मिनटसम्म पनि छोरीको अवस्थामा सुधार नभएपछि मेरो मनले अनिष्ट सोच्यो । मेरा हात गोडा गल्न थाले । किंकर्तब्य बिमूढ भएर म भुँइमा थचक्क बसेँ । डा. बिराटले आश्वासन दिइ रहे, 'न आतित्नुस अँकल एक छिनमा ठीक हुन्छ' ।
छोरीको अनुहार हेर्थेँ, भगवानलाई सम्झिन्थेँ । करिब पाँच मिनट सम्म डा. बिराट लगातार लागि रहे । कहिले पछाडि ढ्याप ढ्याप हान्थे कहिले पेटमा हात राखेर पछाडिबाट उठाउँदै झ्याँक-झ्याँक पार्थे । अन्त्यमा भगवान दाहिना भए । घाँटीमा अड्किएको मासु बाहिर निस्क्यो । ठूलो अनिष्ट टर्यो । छोरीलाई कुशल देख्न पाएपछि मेरो पनि सास फिर्ता आयो ।
शिक्षा:
चोकिङ बाट मानिसको मृत्यु पनि हुन सक्छ । खाने कुरो साह्रो छ भने निकै होसीयारीका साथ खानु पर्छ । मेरो छोरीलाई जस्तै सबैलाई तुरुन्त डाक्टरको सेवा उपलब्ध नहुन सक्छ ।
हाम्रा बाबु-बाजेले खाना खानु भन्दा पहिला आगोलाई चढाएर, खाना वरिपरि पानी घुमाएर 'वासुदेवाय गदाचक्रम त्रिपुरे चराचर....' भन्दै खानालाई पूजा गरेपछि पहिलो गासमा एक दुइ सिता मात्र मुखमा लगेर चपाउने र निल्ने गर्थे । यसो गरेर मुखलाई रसिलो बनाएपछि मात्र खाना खाने चलन थियो । खाना पस्किनु भन्दा पहिला छेउमा एउटा अँखोरामा पानी राखिदिने चलन थियो ।
बुढाबुढीहरुलाई खाना दिँदा छेउमा एउटा कचौरामा घीउ, एउटामा चिनी राखिदिने चलन थियो ।
'चोकिङ' को मामलामा हाम्रा पुर्खाहरु निकै सचेत थिए ।
Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-११

स्पिरिट ल्याम्प

अहिले त कोरोना छ कतै भोज भतेरमा जानु भएको छैन होला । तर भोज भतेर हरुमा खाना तातो राख्न भनेर भाँडाको तलपट्टी एउटा सानो ज्वाला धपघप गरेर बलेको त देख्नु भएको होला । स्पिरिट बाट बल्ने भएकोले यसलाई स्प्रिट ल्याम्प भन्छन् ।
कुरो सन् २००० को हो । हामी चौध भाइ* ईअसं, पुल्चोकमा एमएस्सी इन्जिनियरिङ गरिरहेका थियौँ । नेपालमा जलस्रोत इन्जिनियरिङमा पहिलो पटक एमएस्सी को पढाइ शुरु भएको थियो, हामी त्यहाँ भर्ना भएका थियौँ ।
साथी बिकासमान सिंह डंगोल जी को घरमा छोराहरुको कुनै धार्मिक अनुष्ठान थियो । एमएस्सी पढ्ने हामी तेह्र भाईहरुलाई निम्तो थियो त्यसैले डंगोल जी को बल्खु स्थित घरमा सामेल भएका थियौँ ।
कार्यक्रममा डंगोलजीका आफन्त लगायत छिमेकीहरुको पनि उपस्थिती थियो । खानाको व्यवस्था गर्न क्याटरिङ बोलाइएको थियो । निकै रमाइलो वातावरण थियो । हामी सबै निकै रमाइरहेका थियौँ । खाना तयार भइसकेको थियो । लाइनमा उभिएर कसैले आफ्नो प्लेटमा खाना राख्दै थिए कोही आफ्नो पालो पर्खेर उभिएका थिए । हामी साथीहरु एक ठाउँमा उभीएर गफमा मस्त थियौँ ।
शायद ल्याम्पमा स्पिरिट सकिन लागेर होला क्याटरिङको एउटा भाइले ल्याम्पमा स्पिरिट भर्न लागेको थियो । ल्याम्पको आगो ननिभाइकनै स्पिरिट भर्न लागेको रहेछ । एक्कासी उसको हातमा रहेको स्पिरिटको बोतल मा आगोले समात्यो र उसको हातमा आगो लाग्यो । उसले आत्तिएर स्पिरिट को त्यो बोतल हातबाट मिल्काउँदा हाम्रो साथी बिकास मान जीको खुट्टामा ठोकियो र बिकास जीको खुट्टामा आगोले समात्यो । यो सबै कुरा यति छिटो छिटो भयो कि, के भएको हो भनेर बुझ्दा बुझ्दै बिकासजीको खुट्टामा ह्वार ज्वार गर्दै आगोको लप्काले समात्यो । त्यतिकैमा एक जना दाजुले विकासजीलाई भुँइमा लडाएर एउटा कपडाले बेर्नु भयो । आगो त नियन्त्रणमा आयो तर बिकास जी को खुट्टा नराम्रो गरि जल्यो । त्यसपछि लामो समयसम्म क्याम्पस आउन सक्नु भएन । पछि जाँचको बेला बडो कठीनसँग जाँच दिनु भयो ।
अहिले पनि त्यो घटना सम्झिँदा शरिरका रौं ठडिन्छन् ।
शिक्षा
स्पिरिट एक अति नै प्रज्वलनशिल पदार्थ हो । यदि क्याटरिङको त्यो भाइले ल्याम्प निभाएर स्पिरिट रिफिल गरेको भए शायद यस दुर्घटनालाई टार्न सकिन्थ्यो ।
पेट्रोल, स्पिरिट, एलपीजी ग्यास आदि अत्यधिक प्रज्वलनशिल पदार्थहरु हुन यिनीहरुलाई आगोको नजिक पनि पर्न दिन हुन्न ।
*एमएस्सी पहिलो ब्याचका हामी चौधभाइ हरु
बिकास मान सिंह डंगोल
बशिष्ठ राज अधिकारी
भोला छतकुली
रोशन कुमार श्रेष्ठ
सतीश बास्तोला
नवराज प्रधान
सूर्य प्रसाद रिजाल
रमेश प्रसाद कोइराला
दुर्गादत्त खरेल
निवास चन्द्र श्रेष्ठ
फत्त बहादुर थापा
संजीब मान राजभंडारी
रिमाल
म

Safety starts with 'S' but begins from 'U'

सेफ्टीका कुरा-१२

आधारभूत लाइफ सपोर्ट:

आज सेफ्टीका केही प्रोफेसनल कुरा गरौँ । आफ्नो टोल छिमेकमा कोही दुर्घटनामा पर्यो भने हामी तुरुन्त उसको सहयोगको लागि दौडिन्छौँ । यो मानविय गुण पनि हो । तर यस्तो उद्धारमा सहभागि हुँदा सबैभन्दा पहिलो नियम भनेको 'आफूलाई घाइतेको भन्दा बढी जोखिममा नराख्नु' भन्ने छ । आफू सुरक्षित नभई अरुलाई उद्धार गर्न सकिन्न । त्यसैले उद्धारमा सहभागि हुँदा 'हिरो' बन्ने हैन कि आफ्नो जोखिमको अवस्था हेरेर मात्र उद्धारमा सहभागि हुनु पर्छ । आफू सुरक्षित भएपछि अस्पताल पुर्याउन भन्दा पहिला फ्लोचार्ट मा देखाए बमोजिम जिवन सुरक्षाका आधारभूत तरिकाहरु अपनाउन पर्छ ।
 
Safety starts with 'S' but begins from 'U'

No comments:

Post a Comment