हैडाखण्डी बाबा
त्यतिबेला म यस्तै नौ दश बर्षको थिएँ होला । शहरमा हैडाखण्डी नाम गरेका ठूला बाबा आएका छन् भन्ने हल्ला चलेको थियो । बाह्र बर्ष सम्म गुफामा बसेर तपस्या गरेका रे ! उनको दर्शन गरेपछि मनले आँटेको कुरो पुरा हुन्छ रे ! एक हप्ता बस्छन् रे ! यस्तै यस्तै हल्ला सुन्थें । कतिपय घरका मानिसहरु सपरिवार बाबाको दर्शन गर्न जाँदै थिए। स्कूलका कतिपय साथीहरुले बाबालाई भेटेर आएको कुरो सुनाउँथे । मलाई पनि बाबालाई भेट्न जाने हुटहुटी चल्न थाल्यो ।
बाबा को आश्रम हामी बसेको ठाउँबाट एक घण्टा जति टाढा थियो । स्कूल छोडेर जान मन लाग्दैनथ्यो । त्यसैले स्कूल छुट्टी भएपछि जाने निधो गरें । घरमा कसैलाई पनि भनेको थिइन ।
पुण्ये मेरो निकै मिल्ने साथी थियो । पूण्येलाई भनेँ । उ पनि तयार भयो । स्कूल छुट्टी भएपछि पुण्ये र म दुइ भाइ मिलेर हैडाखण्डी बाबाको दर्शन गर्न हिँड्यौँ र बेलुका पख बाबाको आश्रममा पुगियो ।
आश्रममा ठूलो पण्डाल लगाएको थियो । पण्डाल बिजुली बत्तीले झलमल थियो । माथी अग्लो आसनमा बाबाजी बिराजमान थिए । तल उनका हजारौं भक्तजनहरु थिए । बाजागाजा का साथ भजन भइरहेको थियो । त्यस्तो रमाइलो मैंले पहिलोपल्ट देख्दै थिएँ । मेरो वाल मष्तिष्कमा बाबा प्रति असीम श्रद्धा पलाएर आयो ।
बाबाजीको दर्शनको लागि एउटा लाइन लागेको थियो । लाइन निकै लामो थियो । साँझ परि सकेको हुनाले पुण्ये ले फर्कौँ फर्कौँ भनीरहेको थियो तर म भने बाबाजीको आश्रमको त्यो झिलीमिलीबाट यती मुग्ध भइसकेको थिएँ कि कुनै पनि हालतमा बाबाजीको दर्शन नगरि नजाने अठोट लिएँ ।
पुण्य र म हैडाखण्डी बाबाको दर्शन गर्न लाइनमा बस्यौँ । शायद त्यस लाईनमा हामी जस्ता बालकहरु अरु कोही पनि थिएनन् । कसैले हामीलाई दर्शन गराउन पहिला लिएर पनि गएनन् । शायद हामीभन्दा अगाडि पछाडि ठूला मानिसहरु भएकोले हामीलाई उनैका छोराहरु भन्ने ठाने होलान्।
लाइन बिस्तारै बिस्तारै सर्दै थियो । झमक्क रात परेपछि आश्रमको चमक झन् झन् बढ्दै थियो । हामी दुइ वालक लाईनमा उभिएर बाबाको दर्शन गर्न व्यग्र थियौँ । हामी भन्दा अगाडिका मानिसहरु कोहीले बाबाको खुट्टामा ढोग्दै थिए, कोही लम्पसार परेर साष्टाङ्ग दण्डवत गर्दै थिए । बाबाले सबैको टाउकोमा हात राखेर आशिर्वाद दिइरहेका थिए । लगभग एक घण्टा लाइनमा उभीएपछि हाम्रो पालो आयो । मैंले पनि बाबाको खुट्टा समातेर ढोगें । बाबाले मेरो टाउकोमा हात राखेर आशिर्वाद दिए । पुण्येले पनि ढोग्यो । पुण्येलाई पनि आशिर्वाद दिए । मलाई निकै आनन्द आयो । अब मनले आँटेको कुरो पुरा हुनेमा हामी दुइ वालक ढुक्क थियौँ ।
आश्रमबाट बाहिर निस्कँदा पुरै अँध्यारो भइसकेको थियो । त्यहाँबाट एकघण्टा पैदल हिडेपछि बल्ल घर पुगिन्थ्यो । खडानन्द बाजेले सुनाएका भूतका कथाहरु सबै याद आउन थाले । अघीसम्मको रमाइलो मनमा डरले घर गर्यो । कतै यस्सो छ्यास्स गर्यो कि भूतले तर्साए जस्तो लाग्न थाल्यो । पुण्य निकै डराएको थियो । मैंले पुण्येलाई सम्झाउँदै भने, 'हेर पुण्ये केइ हुन्न बुझिस् । हामीले बाबाको दर्शन गरेर आएका छौँ भूतले त के भूतको बाउले पनि हामीलाई छुन सक्दैन बुझिस् । मैंले 'हैडाखण्डी बाबा की' भन्छु तैंले 'जय' भन् । भूत सूत भाग्छ ।'
मैंले हैडाखण्डी बाबा की भनें, पुण्येले जय भन्यो । बाबाको जयजयकार गर्दै हामी दुइ वालक रातीको करीब नौ बजे तिर घरमा पुगियो । घरमा छोराहरु हराए भनेर दुइ परिवारमा रुवाबासी चलीसकेको रहेछ । हामी पुगेपछि सबै खुसी भए ।
भोलीपल्टबाट पुण्ये र म स्कूलमा साथीहरुसँग हैडाखण्डी बाबाको बारेमा गफ लाउनेमा एक नंबरमा परियो । सबै साथीहरुलाई वरिपरी राखेर हैडाखण्डी बाबाको बर्णन गर्यौँ । बाटोमा भूतसँग कसरी लड्दै लड्दै आयौँ भनेर गफ लगायौँ ।
करिब एक हप्ताको बसाइ पछि हैडाखण्डी बाबा त्यहाँबाट अर्को शहर तर्फ लागे । त्यसको करिब पन्ध्र दिन पछि बा र बा साथीहरुले कुरा गरेको सुनेँ, 'हैडाखण्डीलाई त पुलिसले समातेर लगेछ । हैडाखण्डी हैन हँडिया खानी बाबा परेछ ।'
म छाँगाबाट खसे जस्तो भएँ । मेरो आस्थामा ठूलो चोट लाग्यो । त्यसदिन देखि आजसम्म म कुनै पनि बाबाको नजिक परेको छैन ।
No comments:
Post a Comment