Sunday, March 21, 2021

म कसरी बाँगो भएँ?

केटाकेटीमा म साह्रै सोझो थिएँ रे ! हुनत केटाकेटीमा सबै सोझा नै हुन्छन् । तर जब समाजको सम्पर्कमा आइन्छ तब सँगतको असर पर्न शुरु हुन्छ । टोलमा एकजना खडानन्द काका थिए । निकै रमाइला थिए । भूतका कथा सुनाउँथे । हामीहरु रमाइलो मानेर सुन्थ्यौं । तेती बेला हामी केटाकेटीहरु पनि अलिअलि जोड घटाउ गर्न जान्ने भएका थियौं ।

एकदिन काकाले गणितका प्रश्न तेर्साए, 'ल भन केटाहरु हो, एउटा आँखाले दुई कोष परसम्म देख्छ भने दुइटा आँखाले कति टाढा देख्छ?'
म गणितमा अलि तीखो थिएँ, सबैलाई उछिनेर हत्त न पत्त जवाब दिएँ, 'चार कोष काका '
खडानन्द काका र काकाका साथीहरु गललल हाँसे । मैंले दुइको पहाडा मनमनै पढेँ । दुइ एकाने दुइ, दुइ दुना चार । ठीकै त थियो । तर काकाहरु किन हाँसे भनेर बुझ्न सकिन ।
खडानन्द काका हामीलाई छोड्ने वाला थिएनन् । फेरी सोधे, 'ल यसपाली अलि सजिलो सोध्छु भन; एउटा रुखमा बीसवटा चरा बसेका छन्; उताबाट एउटा शिकारी आएर ड्याम्म बन्दुक पड्कायो ; एउटा चरो गोली लागेर भुँइमा झर्यो; अब रुखमा कति चरा बाँकी रहे ? ल भन ।'
उत्तर उन्नाइस हुन्छ भन्ने थाहा भएर पनि यस पटक म चुप थिएँ । साथी खिम बहादुर ले बहादुरी देखाउँदै भन्यो, 'उन्नाइस।'
काकाहरु फेरी हाँसे ।
हामी भने ट्वाँ परेर काकाहरु हाँसेको हेर्दै थियौं ।
खडानन्द काका भने हामीलाई छोड्ने वाला थिएनन् । फेरी सोधे, 'ल ऐकिक नियम लगाएर भन केटाहरु हो । तिमीहरु अहिले दश बर्षका भयौ, अहिले तिमीहरुका एउटा बाउ छन् । तिमीहरु बीस बर्षका भएपछि तिमीहरुका कतिवटा बाउ हुन्छन् ?'
ऐकिक नियम त मेरो लागि बायाँ हातको खेल थियो । तर फेरी हाँसेर उडाउने हुन् कि भनेर बोलीन । खिम बहादुर पन अगुल्टोले हानेको कुकुर भएको थियो; बोल्ने कुरै भएन । तर मोहलाल बोलीहाल्यो, 'दुइ जना ' ।
काकाहरु पहिला भन्दा पनि जोडले हाँसे । हामीलाई गणित पढाउने गुरु गलत कि खडानन्द काका गलत भनेर म असमञ्जसमा परेँ । एकजना काका त हाँस्दा हाँस्दै लडिबुडि गर्न थाले । हामीबाट काकाहरुले भरपुर मनोरञ्जन लिइरहेका थिए, तर हामी भने चिनो हराएको हरिबँश भएका थियौँ ।
साँझ घरमा गएर बा लाई सबै कुरो सुनाएँ । बाले भन्नु भयो, 'तिमीहरुलाई उल्लु बनाएछ खडेले ‌‌।'
बा ले सबैको उत्तर भन्नु भयो । त्यसपछि म पनि एक पटक लाटो हाँस्दा झैं हाँसे ।
अहिले म निकै बाँगो भएको छु । सोझो कुरो पनि पहिला बाँगो गरेर सोच्छु अनि बल्ल सोझो सोच्छु । खडानन्द काका हरुको बिगबिगि जो छ समाज मा ।

No comments:

Post a Comment