लियो टल्सटाय (भावानुवादः डि.पी. जैसी)
जबसम्म नथुनी यादव जिवित थियो र भोलाको बाउले पनि घरको कामकाज गर्थ्यो तबसम्म यीनीहरुबीच कुनै मनमुटाव थिएन, दुवै परिवार निकै प्रेमभावका साथ मिलेर बसेका थिए । असल छिमेकि थिए, एक अर्काको सहयोग गर्थे । तर जब घरको जिम्मेवारी छोराहरुमा सर्यो तब सबैकुरा बदलियो ।
झगडाको लागि ठूलै कुरा हुनुपर्छ भन्ने रहेनछ । दुई परिवारमा झगडाको शुरुवात यसरी भएको थियो ।
भोलाकि बुहारीले केही कुखुरा पालेकी थिइ । एउटा कुखुराले सधैं गोठमा गएर अण्डा पार्थ्यो । बुहारी सधैं गोठमा गएर अण्डा लिएर आउने गर्थी । एक दिन केटाकेटीहरुसँग डराएर त्यो कुखुरोले छिमेकिको आँगनमा गएर अण्डा पारेछ । बेलुकीपख बुहारीले गोठमा गएर हेर्दा त्यहाँ अण्डा थिएन । सासु सँग सोधी, तर उसलाई पनि के थाहा । देवरले भन्यो, 'केही पहिला हाम्रो कुखुरा जीवछको आँगनमा कराइ रहेको थियो, त्यतै कतै अण्डा पारेको पनि हुनसक्छ ।'
भोलाकी बुहारीले त्यहाँ गएर अण्डा खोज्न थाली । जीवछकि आमाले घरबाट बाहिर निस्केर सोधी, 'के भयो बुहारी ?'
बुहारीले भनी, 'हाम्रो कुखुराले तिम्रो आँगनमा अण्डा पारेर गएछ त्यही खोजेको । तिमीले देखेको भए भन है !'
जीवछकि आमाले भनी, 'मलाइ थाहा छैन । हाम्रा कुखुराले अण्डा दिन छोडेका छैनन् । अहिलेसम्म कसैका कुखुराका अण्डा बटुल्दै हिड्न परेको पनि छैन हामीलाई । यसरी अर्काको घर आँगनमा छिर्दै अण्डा खोज्ने चलन पनि छैन हामीकहाँ ।'
यति कुरा मात्र के सुनेकि थिइ, भोलाकी बुहारी रिसले आगो भइ । तथानाम गाली गर्न थाली । जीवछकी आमा पनि कम थिइन । एउटा कुराको सयवटा उत्तर दिन थाली । भोलाकी पत्नी बाहिरबाट पानी लिएर फर्कदै थिइ, त्यहीँ आइपुगी र झगडामा मिसिइ । उताबाट जीवछकी पत्नी पनि दगुर्दै आइपुगि र भोलाकि बुहारीलाई भए नभएका आरोप लगाउँदै गाली गर्न थाली । सबै आइमाइहरु एक ठाउँमा जम्मा भएर एकअर्कालाई धारे हात लगाउँदै गाली गर्दै थिए ।
'आफ्नै घरको बुढो ससुरोलाई त खान नदिएर मार्दैछे छुच्चीले, हामीलाई दोष लगाउछे!'
'चोरको सन्तान, पोहोर साल हाम्रो गोठबाट चोरेको जुआ तुरुन्त फिर्ता गर ।'
'माग्नेका सन्तान, हाम्रो कोदालीको बीड भाँचेको कस्ले नी? तुरुन्त बनाइहाल ?'
दुईतिर जुआ समातेर तानातान भयो । थुइक्क थुइक्क भन्दै एकार्कालाई थुकाथुक भयो । त्यसपछि एक आपसमा हात हालाहाल भयो ।
जीवछ खेतबाट फर्कँदै थियो उ पनि त्यस झगडामा मिसियो । यतिकैमा भोला पनि आइपुग्यो । आँगनमा पुरा महाभारत नै मच्चियो । भोला र जीवछ एक आपसमा लड्न थाले । भोला बलीयो थियो । उसले जीवछको दाह्रीमा समातेर लडायो । गाउँलेहरुले बडो मुस्किलले दुवैलाई छुट्याए । यस लडाइमा जीवछको दाह्रीका केही रौं उखेलिए । पञ्चायतमा पेश गर्न भनेर जीवछले एउटा कागजमा दाह्रीका रौं बटुलेर पोको पार्यो त्यसपछि पञ्चायत बसायो ।
जीवछले भन्यो, 'भोलालाई गोड्न दिन भनेर मैले दाह्री पालेको हैन । उसबाट हर्जाना भराइ पाउँ ।' जीवछकी पत्नी पनि गाउँमा घुम्दै गाउँलेहरुलाई भोला विरुद्ध बयान दिन अनुरोध गर्न थाली । भोलाको बुढो बाउले उनीहरुलाई सम्झाउँदै भन्यो, 'छिमेकि त जिउँदाका जन्ती र मर्दाका मलामी हुन बाबु । यति सानो कुरामा पनि झगडा गर्नु त मुर्खता हो । यसो सोचेर हेर त । जाबो एउटा अण्डाले गर्दा यत्रो झगडा भयो । कतिको नै थियो र एउटा अण्डा ? भगवानले सबैलाई पालेका छन् बाबु ! झगडा गर्नु ठीक होइन । छिमेकिले गाली नै गरेछन् भने पनि, गाली को बदला गाली दिएर आफ्नो आत्मालाई दुःख दिनु उचित हो र ? कदापि हैन । हामी सबै पापी हौं, त्यसैले एकआपसमा झगडा गर्छौं । अहिलेसम्म जे हुनु भैगयो, यसलाई विर्सनु नै उचित हुन्छ, यसलाई अगाडी नबढाउ । रिस भनेकै पापको मूल हो । मैले भनेको संझीराख है बाबु हो, यो झगडालाई अझै बढायौ भने तिमीहरुकै हानी हुनेछ ।'
तर बुढाको कुरामा कसैले पनि ध्यान दिएनन् । भोलालाई छिमेकिको अगाडी नम्र भएर बाँच्न मंजुर थिएन । भोलाले भन्थ्यो, 'जीवछलाई धनको घमण्ड छ । तर म पनि कसैले दिएको खाएर त बाँचेको छैन नी ! यसलाई मामाघर पठाउन सकिन भने अनि भन्नु ।' भोलाले जीवछ विरुद्ध नालिश हाल्यो ।
यो मुद्दा चलिरहेकै बेला जीवछको बैलगाडीको पाँग्राको एउटा किल्ला हरायो । उसको परिवारले पनि भोलाको जेठो छोराको विरुद्ध चोरीको आरोप लगाउदै मुद्दा दायर गर्यो ।
लडाइ झगडा नभएको दिनै थिएन । घरका ठूला मानिसहरु लडेको देखेर सानासाना केटाकेटीहरु पनि आपसमा झगडा गर्न थाले । लुगा धुन नदीमा गएका बेला आइमाइहरु अरु सबै काम छोडेर बाझाबाझ गर्न शुरु गरिहाल्थे ।
शुरुमा त आपसमा गाली गरेरै झगडा सकिन्थ्यो तर अब त एक अर्काका सामानहरु पनि चोर्न थाले । बाच्नै गाह्रो हुन थाल्यो । झगडा मिलाउँदा मिलाउँदा अदालतका कर्मचारीहरु पनि थाकि सके । कहिले जीवछले भोलालाई थुन्न लगाउँथ्यो त कहिले भोलाले जीवछलाई । कुकुर जस्तै जति झगडा गर्थे उतिनै रिस पनि बढ्दै जान्थ्यो । छ बर्षसम्म यही अवस्था रह्यो । भोलाको बुढो बाउले धेरै पटक सम्झाउँदै भन्यो, 'बाबुहरु हो ! यो के गरेको ? बदलाको भाव छोडिदेउ । यो आपसको शत्रुता छोडेर आफ्नो आफ्नो काममा लाग । अरुलाई दुःख दिएमा आफ्नै हानी हुन्छ ।' तर कसैको कानमा बतास लागेन ।
यो झगडा शुरु भएको पनि सात बर्ष भइसकेको थियो । गाउँमा कसैको बिहे थियो । गाउँका स्त्री पुरुष सबै जम्मा भएका थिए । कुरै कुरामा भोलाकी बुहारीले जीवछलाई घोडा चोरेको दोष लगाई । जीवछ रिसले आगो भयो । जुरुक्क उठेर उसलाई यति जोडले मुडकिले हान्यो कि, उ सात दिनसम्म थला परी । त्यतिबेला उ गर्भवती पनि थिइ । भोला बडो खुसी भयो, मनमनै भन्यो, 'अब काम बन्ने भयो । गर्भवती स्त्रीलाई पिटेको अपराधमा यसलाई जेलमा सडाउन सकिन भने मेरो नाम पनि भोला हैन ।' तुरुन्त गएर मुद्दा हाल्यो । जाँचबुझ भयो । बुहारीलाई कुनै ठूलो चोटपटक लागेको थिएन, यसैले मुद्दा खारेज भयो । भोला चुप बस्नेवाला थिएन । माथिल्लो अदालतमा गयो र त्यहाँको एकजना सुब्बालाई घुस दिएर जीवछलाई बीस कोर्रा हान्ने फैसला लेखाउन सफल भयो । त्यति बेला जीवछ अदालतको बाहिर उभिएको थियो । त्यस्तो फैसला सुन्ने वित्तिकै भन्यो, 'कोर्राले हान्दा मेरो शरिर त जल्ने नै जल्छ तर त्यसको पनि केही न केही भष्म नगरी त किन छोडुँला र !'
जीवछका कुरा सुनेपछि भोला तुरुन्त अदालतमा गएर भन्यो, 'हजुर ! त्यो जीवछले मेरो घर जलाउने धम्की दिँदै छ । त्यसको साक्षी सबैजना छन् ।'
न्यायाधीशले जीवछलाई बोलाएर सोधे 'तिमीले भनेको कुरा साँचो हो ?'
जीवछ-सबै कुरा झुठो हो हजुर। मैले केही धम्की दिएको छैन । हजुरहरुसँग अधिकार छ, जस्तो इच्छा लाग्छ त्यस्तै गर्नुहोस् । के यसैलाई न्याय भन्छन् ? चोरलाई चौतारो र साधुलाई सुली जस्तो भएन र हजुर ?
जीवछले अझै केही भन्न खोजिरहेको थियो तर उसको मुटुमा गाँठो परेर केही बोल्न सकेन । उ भित्तातर्फ फर्कियो ।
जीवछको अनुहार हेर्दा न्यायाधीशलाई निश्चय भइसकेको थियो कि यसले भोलालाई कुनै न कुनै तरिकाले दुःख दिनेवाला छ । उसले जीवछलाई सम्झाउँदै भन्यो – हेर भाइ, बुद्धिले काम लिनुपर्छ है । गर्भवती स्त्रीलाई पीटेको कुरा कसरी ठीक हुन सक्छ भन त ? भगवानको कृपाले धन्य कुनै ठूलो चोट लागेन, नत्र के हुन्थ्यो, के थाहा ! आफ्नो अपराधको लागि भोला सँग माफी माग्यौ भने मैले आफ्नो फैसलामा पुनर्विचार गरौंला ।
सुब्बाले भन्यो - धारा ११७ अनुसार एक पटक फैसला भइसकेको बिषयमा निर्णय फेर्न पाइदैन श्रीमान् । फैसला कार्यान्वयन हुनुपर्छ ।
न्यायाधीश - तिमी चुप लाग । भगवान शान्ति प्रिय हुनुहुन्छ, उनको आज्ञा पालन गर्नु सबैको प्रमुख धर्म हो ।
जीवछले भन्यो - हजुर, अहिले म पचासको भएँ । घरमा एउटा बिहे भइसकेको छोरो छ । आजसम्म मेरो शरिरमा कोर्रा बर्सेको छैन । मैले कुनै गल्ती नै गरेको छैन, उल्टै भोलासँग मैले माफी माग्ने ? असम्भव । सहनुको पनि सीमा हुन्छ । कस्तो मानिसको फेला परेछु भनेर यसले पनि मलाई सधैं सम्झिरहने छ ।
फेरि पनि जीवछका ओठहरु थरथराउन थाले उसको बोली लरबराउन थाल्यो र केही पनि बोल्न सकेन । जीवछ वाहिर निस्कियो ।
अदालत गाउँबाट चार कोष टाढा थियो । भोला घरमा पुग्दा अँध्यारो भइसकेको थियो । घोडालाई तबेलामा बाँध्यो र घरभित्र पस्यो । घरमा कोही पनि थिएनन् । आइमाइहरु गोठमा गाइबस्तु बाँध्दै थिए छोराहरु खेतबाट फर्किएका थिएनन् । भोला भित्र गएर बस्यो र मनमनै सोच्न थाल्यो । कोर्रा हान्ने आदेश सुनेपछि जीवछको मुख कसरी लत्रेको थियो ! विचरा भित्तोतिर मुख फर्काएर रुँदै थियो । सँगै खेलेको साथी मैले उसमाथी यति धेरै रिस नगर्नु पर्ने थियो । यदि म माथी कोर्रा हान्ने आदेश भएको भए मेरो दशा कस्तो हुनेथियो होला ।
उसलाई अनायास जीवछ माथी दया पलायो । यतिकैमा बुढो बाउले आएर सोध्यो- जीवछलाई सजाय भयो ?
भोला- अदालतले उसलाइ दोषी पायो । बीस कोर्रा हान्ने आदेश दिएको छ ।
बुढो- अनर्थ भयो । भोला, तैले राम्रो गरिनस् । यस्ता कुराले जति हानी जीवछलाई हुन्छ तँलाइ पनि उत्ति नै हानी हुन्छ । जीवछलाई कोर्रा हान्न लगाएर तँलाइ के फाइदा हुन्छ ?
भोला- उसले दोहोर्याएर अब यस्तो काम गर्ने छैन ।
बुढो- किन गर्दैन, उसले तैंले भन्दा के नराम्रो काम गरेको छ र ?
भोला- स्वास्नीलाई झण्डै मारेको थियो, अहिले आएर घरै जलाउने धम्कि दिएको छ । उसको आरती उतारौं त ?
बुढो- (लामो सास फेर्दै) छोरा, तँ सबैतिर घुम्छस, म चाँही घरमै बसी रहन्छु, त्यसैले तैले सबै दुनिया देखेको र मैले केही पनि नदेखेको ठानेको छस् । तर वास्तवमा यस झगडाले तँलाइ चाहीँ केही पनि नदेख्ने अन्धो बनाइदिएको छ । अरुको दोष देख्छस् तर आफ्नो दोष देखिरहेको छैनस । जीवछले तँलाइ के गरेको छ भन् त ! एक्लै पनि कहिलै लडाइ हुन्छ ? दुईजना नभइ लडाइ सम्भव छैन । यदि तँ शान्त स्वभावको भइदिएको भए लडाइ कसरी हुन्थ्यो? मलाइ भन त उसको दाह्री कसले उखेलेको हो ? उसको गोठबाट दाना कस्ले चोरेको हो ? उसलाई अदालतमा कसले पुर्याएको हो ? त्यसमाथी सबै दोष जीवछको टाउकोमा थोपर्दै छस् ! तँ आफैमा खराब छस्, सबै झगडाको मूल कारण यही हो । मैले तँलाइ यही शिक्षा दिएको थिएँ ? बिर्सिइस्, म र जीवछको बाउ कति मिलेर बसेका थियौं । कसैको घरमा अन्न सकियो भने अँइचो पँइचो गरेर काम चलाउँथ्यों, एकजना अर्कै काममा जाने परेमा अर्कोले उसका गाइ बाख्रा चराउन लग्थ्यौं । एकजनालार्इ कुनै चिजको आवश्यकता भयो भने अर्कोले तुरुन्तै दिन्थ्यौं । न कुनै लडार्इ थियो न कुनै झगडा हुन्थ्यो । कति मिलेर बसेका थियौं । तर अहिले ? अहिले त तैंले पुरै महाभारत रचेर बसेको छस्, के यसैको नाम जीवन हो ? हे भगवान! तैले किन यस्तो पापकर्म गर्दैछस् बाबु ? तँ त यस घरको मालिक होस, यमराजको सामु तैले जवाब दिनु पर्छ है बिचार गर। आइमाइ केटाकेटाकेटीहरुलाई पनि गाली गर्न र ताना सुनाउने भन्दा बढ्ता केही सिकाउन सकिनस् । हिजो पनि आइमाइहरु एकार्कालाई गाली गर्दै थिए । समाजमा भलादमि भएर बाँच्नु पर्दैन ? के गालीको बदला गाली दिँदैमा समस्याको समाधान हुन सक्छ? होइन छोरा होइन, महापुरुषहरुको भनाइ छ, यदि कसैले तँलाइ गाली नै दियो भने पनि सहन सिक्नु पर्छ, यसो गरेमा पछि उ स्वयंलाई पछुतो हुन्छ । यदि कसैले तेरो एउटा गालामा थप्पड हान्यो भने पनि नम्र भएर अर्को गालो पनि थापि दिनु, उ लज्जित भएर तेरो भक्त हुनेछ । अभिमान नै सबै दुःखको कारण हो । तँ किन चुप छस् ? मैले गलत कुरा त गरेको छैन नी ?
भोला चुप थियो । केही पनि बोलिरहेको थिएन ।
बुढोले छोरालाई सम्झाउँदै भन्यो-महात्माहरुले बोलेको कुरा कहिल्यै असत्य भएको छ ? कहिल्यै भएको छैन । उनीहरुका एक एक अक्षर ढुंगामा कोरीएको रेखा सरह हुन्छन् । आफ्नै जीवनलाई यसो फर्केर हेर त । जहिले देखि तिमीहरुबीचको यो महाभारत शुरु भएको छ त्यस दिन देखि तँ दुखी छस् की सुखी ? यो मुद्दा मामिला, वकीलको फिस र आवत जावतमा लागेको खर्च कति भइसक्यो हिसाब गरेर हेर त । तेरा छोराहरु कति राम्रा र बलीया छन् तर तेरो आमदानी बढ्नुको साटो झन घटीरहेको छ । किन ? सबै तेरो मुर्खताको कारण । अब सबै कुरा छोडेर छोराहरुलाई लिएर खेतीपातीको काममा लाग । तर तँलाइ त लडाइको भूत सवार भएको छ सुखसँग बस्न किन दिन्थ्यो र । पोहोर साल जौ को खेती किन भएन थाहा छ ? किनकी समयमा छरिएन । मुद्दामा दगुर्ने कि जौ लगाउने ? हेर छोरा, आफ्नो काम गर, खेतीबारी बिग्रन नदे । यदि कसैले तँलाई दुःख नै दिन आयो भने पनि उसलाई क्षमा गर्न सिक, भगवान यसैमा प्रसन्न रहन्छन् । यसो गरिस भने तेरो अन्तःकरण शुद्ध भएर तँलाई आनन्द प्राप्त हुनेछ ।
भोलाले केही पनि भनेन ।
बुढो-छोरा, यो बुढो बाउले भनेको कुरा मान । अदालतमा गएर मुद्दा फिर्ता ले । भोली होलीको दिन हो, जीवछको घरमा गएर नम्रतापूर्वक उसलाई सँगै होली खेल्ने भनेर निम्तो पठा । हाम्रो घरका पनि सबैजनालाई अबदेखि उनीहरुसँग लडाइ झगडा नगर्ने प्रेमभाव बढाउने भनेर सम्झा ।
बाबुको कुरा सुनेपछि भोलाको मनमा उनले साँचो कुरा बोलीरहेको जस्तो लाग्यो । तर यस महाभारतलाई कसरी समाप्त गर्ने भन्ने कुरा उसको दिमागमा आइरहेको थिएन । भोलाको मनको कुरा बुझेर बुढाले भन्यो-छोरा, मैले तेरो मनको कुरा बुझें । लाज मान्नुपर्ने केही कुरा छैन जीवछ सँग गएर फेरि मित्रता गर । आगोको झिल्कोलाई फैलन दिनु भन्दा पहिलै निभाउन बुद्धिमानी हुन्छ, एकपटक आगो फैलिएपछि त केही पनि गर्न सकिन्न ।
बुढोले अरु केही भन्न चाहन्थ्यो तर बीचैमा घरका आइमाइहरु कोलाहल गर्दै घरभित्र छिरे । उनीहरुले जीवछलाई कोर्रा हान्न दिएको आदेश र उसले घरमा आगो लगाइदिने धम्कि दिएको कुरा थाहा पाइ सकेका थिए । भर्खरै छिमेकी आइमाइहरुसँग झगडा गरेर आउँदै थिए । आउँदा वित्तिकै भन्न लागे- 'हामीले हाकिमलाई घूस दिएर मुद्दा जिताएको भनेर जीवछले आरोप लगाइरहेको छ । भोलाको सबै कुरा लेखेर राजाकहाँ विन्तीपत्र तयार गरेको छ । आधा सम्पत्ती नलिइ त कहाँ छोडुला र भन्दै थियो ।' यति कुरा सुन्ने बित्तिकै, भोलाको मनमा रिसको आगो फेरि दन्कियो ।
चैतको महिना थियो । घरमा घरमूलीले गर्नु पर्ने काम निकै थियो । भोलालाई आइमाइको कुरा सुनेर बस्ने फुर्सत थिएन । उ गोठमा गएर गाइवस्तुलाई घाँस दिएर केही काम गर्दै थियो । काम सकेपछि बेलुकिको खाना खाएर सुत्ने विचारमा थियो । यतिबेला उसले आफ्नो बुढो बाउले भनेको कुरा र जीवछ सँगको लडाइको कुरा बिर्सिएको थियो । घर भित्र छिर्न ढोका उघार्नै लागेको थियो, नजिकै कोही बोलेको सुन्यो-'त्यो दुष्टलाई त मार्नै पर्ने हो, किन बाँचेको होला, कति दुःख दिन सकेको होला ।' बाहिरबाट जीवछले भोलालाई गाली गरिरहेको थियो । यस्तो कुराले भोलालाई पागल बनायो । चुपचाप उभीएर गाली दिएको सुनीरह्यो । जब जीवछले गाली दिन छोड्यो तब उ रिसाउँदै घर भित्र पस्यो ।
भित्र उज्यालो थियो । बुहारी बत्ती कातेर बसीरहेकी थिइ, पत्नी खाना बनाउँदै थिइ, ठूलो छोरोले दुध तताइरहेको थियो, माहिलो रामायणको किताब पढेर बसेको थियो, कान्छो बाहिर घोडालाई दाना दिन जान लागेको थियो । सुखको सबै सामाग्री घरमा थियो तर छिमेकि सँगको लडाइको पीडा सही नसक्नुको थियो ।
रिसले गर्दा उसको मनमा आगो लागिरहेको थियो । जथाभावी सामान छिरलेको भन्दै घरका आइमाइहरुलाई गाली गर्न थाल्यो । 'त्यो दुष्ट राक्षसलाई त मार्नै पर्ने हो' भन्ने जीवछका शब्दहरु उसका कानमा गुञ्जिरहेका थिए । यतिकैमा कान्छो छोरो खाना खाएर तबेलामा जान बाहिर निस्कियो । भोला पनि उ सँगै बाहिर निस्कियो । छोरो तबेलातिर गएपछि उ एक्लै भयो । कोर्रा हान्ने आदेश दिएको दिन जीवछले बोलेका कुरा हरु सम्झियो 'कोर्राले हान्दा मेरो शरिर त जल्ने नै जल्छ तर त्यसको पनि केही न केही भष्म नगरी त किन छोडुँला र ।' भोलाले मनमनै सोच्यो-जीवछ निकै दुष्ट छ, चैतको महिना सबैतिर सुख्खा छ, बाहिर हावा पनि चलिरहेको छ, कतै करेसाबाट आएर घरमा आगो लगाएर भाग्ने त हैन । यसरी आगो लगाउन आएको बेलामा उसलाई समाउन पाएँ भने त जेलमा सडेर मर्नेछ ।
यति सोचेर उ गल्लीमा पुग्यो । नजिकै कुनै वस्तु हल्लिए जस्तो लाग्यो । उसलाई त्यो वस्तु जीवछ हो जस्तो लाग्यो तर त्यहाँ केही पनि थिएन । जताततै सुनसान थियो । बिरालोको चालमा केही अगाडी पुगेको थियो, टाउकोमा गम्छा बाँधेको एकजना मानिसलाई आगोको अगुल्टो हातमा लिएर उभीएको देख्यो । आज यसलाई रंगेहात नसमाइ छोड्दिन भन्दै अगाडि बढ्दै थियो तर उ त्यहाँ पुग्न नपाउँदै गोठको छानामा आगो लाग्यो । आगोको उज्यालोमा जीवछ प्रष्ट देखियो । आज यसलाई नसमाइ छोड्दिन भन्दै बाजले चरो समाउन झम्टे झैं भोला उसलाई समाउन भनेर दगुर्यो तर उसलाई देखेपछि जीवछ झाडीमा खरायो भागे झैं भाग्यो ।
'पख्लास डाँका' भन्दै भोला उसको पछिपछि दगुर्यो । जीवछको कमीजको फुर्को समाउन मात्र सकेको थियो, तर उ छुटाएर भाग्न सफल भयो । भोला जोडसँग भुँइमा पछारियो ।
'चोर, ज्यानमारा, समात, समात' भन्दै फेरि उठेर उसलाई समाउन दगुर्यो । यतिकैमा जीवछ आफ्नो घर पुगिसकेको थियो । भोला त्यहाँ गएर उसलाई समाउन मात्र लागेको थियो तर जीवछले उसलाई चिरपाटोले यसरी हान्यो कि उ बेहोस भएर भुँइमा पछारियो। होसमा आएपछि यताउति हेर्यो, जीवछ त्यहाँ थिएन । आफ्नो घर तिर फर्केर हेर्यो यस्तो रातमा पनि घाम लागे जत्तिकै उज्यालो देखियो । गोठको छाना दनदनी जलीरहेको थियो । आगोको ज्वाला झनझन बढीरहेको थियो ।
भोला भुँइमा टाउको ठोक्दै गुहार माग्न थाल्यो-गुहार! गुहार!! लौ न मेरो त सत्यनाश भयो ! कराउँदा कराउँदै उसको कण्ठ अवरुद्ध भयो । उ दगुर्न चाहन्थ्यो तर उसका खुट्टा लुला भइसकेका थिए । भुँइमा पछारियो । फेरि उठ्यो घरसम्म पुग्दा चारैतिर आगो फैलिइसकेको थियो । ठूलो भीड जम्मा भइसकेको थियो तर अब केही पनि गर्न सकिँदैनथ्यो । आगोको डरले छिमेकिहरुले पनि आआफ्ना घरका सामानहरु बाहिर फ्याँक्न लागेका थिए । हावाले उडाएर जीवछको घरमा पनि आगोले समात्यो । हेर्दा हेर्दै आधा गाउँ जलेर खरानी भयो । भोलाको केही पनि बचेन । कुखुरा, पशु, लत्ता कपडा, अन्न, पशुको दाना, हलो जुआ, बैलगाडा आदि सबै जलेर स्वाहा भयो । भगवानको कृपाले कसैको ज्यान चाँही गएन ।
जीवछले भने गोठका गाइवस्तु फुकाउन भ्यायो र घरका केही सामानहरु पनि निकाल्न भ्यायो । आगो रातभरी जलीनै रह्यो । भोलाको घरको छाना जलेर झरेपछि उ केही सामान झिक्न जान लागेको थियो तर आइमाइहरुले उसलाई त्यहाँ जान दिएनन् । उ फेरि त्यहाँ जान खोज्यो तर खुट्टा अल्झिएर लड्यो । उसको छोराले तानेर बाहिर ल्यायो । उसका कपडा तथा दाह्रीका रौं आगोले झुल्सिए, हातमा आगोले पोल्यो ।
विहानै गाउँको प्रधानको छोरो भोलाकहाँ आयो र भन्यो- भोला, तिम्रो पिताजी सिकिस्त छन् । तिमीलाई बोलाइरहेका छन् । भोला पागल जस्तै भइसकेको थियो भन्यो - को पिताजी, कस्लाई बोलाए ?
प्रधानको छोरो - तिम्रो पिताजीको कुरा गरेको । यही आगोमा जलेर घाइते भएका छन् । हामीहरुले उनलाई यहाँबाट उद्धार गरेर हाम्रो घर लिएर गएका थियौं । उनी बाँच्छन् जस्तो छैन । अन्तिम भेटका लागि हिंड ।
भोला उसको पछिपछि लाग्यो । त्यहाँ पुगेपछि प्रधानले बुढोलाई उसको छोरो आएको कुरा बतायो । बुढोले भोलालाई आफ्नो नजिक बोलाएर भन्यो- छोरा मैले तँलाइ के भनेको थिएँ, गाउँ कस्ले जलाएको हो?
भोला-जीवछले । मैले उसलाई छानोमा आगो लगाउँदै गर्दा देखेको थिएँ । यदि मैले त्यतिनै खेर उसलाई समातेर अगुल्टो निभाउन सकेको भए आगो लाग्ने नै थिएन ।
बुढो-भोला अब मेरो जाने बेला भइसकेको छ । तँलाई पनि एकदिन अवश्य मर्नु पर्छ । साँचो भन त दोष कस्को थियो?
भोला चुप भयो ।
बुढो- भन, केही त भन, यो सब कसको करतुत हो? कसको दोष हो ?
भोला-(गहभरी आँसु पार्दै) मेरो ! पिताजी, मलाई माफ गर्नुहोस्, म भगवान र तपाँइ दुवैको अपराधी हूँ ।
बुढो-भोला!
भोला-हजुर, पिताजी ।
बुढो-अब के गर्न उचित हुन्छ थाहा छ ?
भोला-के थाहा पिताजी, मलाई त अब गाउँमा बस्न पनि कठिन छ ।
बुढो-यदि तैले भगवानको आज्ञा मानिस भने तँलाई कुनै प्रकारको कष्ट हुने छैन । हेर बाबु, मैले भनेको सम्झि राख, अब उप्रान्त आगो कसले लगाएको थियो भनेर कसैसँग पनि नभन्नु । जो मानिसले अरुको एउटा दोष माफ गर्छ भगवानले उसका दुईवटा दोष माफ गर्छन् ।
यति भनिसकेपछि 'हे राम' भन्दै बुढाले प्राण त्याग गर्यो ।
भोलाको क्रोध शान्त भयो । आगो कसले लगाएको थियो भनेर उसले कसैलाई पनि भनेन । भोलाको यो मौनतामा पनि कुनै रहस्य छ कि भनेर शुरुमा त जीवछ निकै डरायो तर केही दिन पछि उसलाई विश्वास भयो कि भोलाको मनमा अब कुनै वैरभाव छैन ।
प्रेमले त्यस्तो भयानक शत्रुतालाई पनि मित्रतामा बदली दियो । उनीहरु नजिकै घर बनाएर असल छिमेकि भएर बस्न थाले ।
'आगोको झिल्कोलाई फैलन दिनु भन्दा पहिलै निभाउन बुद्धिमानी हुन्छ' भन्ने आफ्नो पिताजीले दिएको उपदेश भोलाले कहिलै विर्सेन । कसैले दुःख दिएता पनि उसमा बदलाको भावना आउनै छोड्यो । यदि कसैले उसलाई गाली दिए भने सहेरै बस्थ्यो र कुवचन बोल्नु ठिक हैन भनेर सम्झाउँथ्यो । आफ्ना घरका सबै परिवारलाई पनि उ यही उपदेश दिन्थ्यो । पहिलेको भन्दा अहिले उसको जीवन आनन्दमय भएको थियो ।
No comments:
Post a Comment