Wednesday, April 13, 2016

कथाःशैतान र किसानको रोटी

लियो टल्सटाय  (भावानुवादः डि.पी. जैसी)
आज पनि एका बिहानै हलो जुवा काँधमा हालेर हर्क बहादुर टारीखेत जोत्न गयो । सधैँ झैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो । जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर राख्यो, गोरुका काँधमा जुवा लगायो, हल्लुँडमा हलो अड्यायो र जोत्न लाग्यो । दिउँसोपख जब गोरुहरु पनि थाके र उसलाई पनि भोकले सतायो, हलो अड्याएर गोरुलाई पराल खान दियो र आफ्नो लागि रोटीको पोको लिन झाडी तिर गयो ।
सेखु उठाएर हेर्दा पोको त्यहाँ थिएन । ‌‌‌‌ओल्टाई पल्टाई हेर्‍यो तर पोको गायब थियो ।
मनमनै भन्यो, ‘यहीँ त राखेको हो! के अचम्म भयो! मैले कसैलाई यहाँ आएको देखिन, कसरी गायब भयो? पक्कै पनि कोही यहाँ आएको हुनु पर्छ र पोको लगेको हुनुपर्छ ।'
वास्तवमा त्यो पोको हर्केले खेत जोतिरहेको समयमा त्यहीँ नजिकको विफ्रे ओडारमा बस्ने शैतानको दुतले लुकाएको थियो । उसको उद्देश्य हर्केले उसलाई भोकको झोँकमा गाली बकोस र सकेसम्मको शैतानीपन देखाओस भन्ने थियो । यसरी गाली गर्न लगाएपछि हर्के शैतानको चेलो हुने कुरामा त्यो दुत विश्वस्त थियो ।
भोक लागेको बेला खान नपाएपछि हर्क बहादुरलाई दुःख त लाग्यो, तरपनि मनमनै भन्यो, ‘के गर्ने, हुने भइ हाल्यो,  आजको दिन खान नपाउँदैमा म मरि हाल्ने पनि त होइन नी । जस्ले लगेको भएता पनि उसलाई भोक लागेरै त लग्यो होला । उसको कल्याण होस ।'
हर्केले धारामा गएर पेटभरी पानी पीयो, एकछिन आराम गर्‍यो र पुनः जोत्न गयो ।
हर्केलाई गाली बकाउन नसकेकोमा शैतानको दुतलाई पर्नुसम्मको पीर पर्‍यो । त्यो दुत शैतानलाई खबर गर्न भनेर गयो।  
त्यति जाबो काम पनि फत्ते गर्न नसकेको भनेर शैतानले दुतलाई हप्काउँदै भन्यो, ‘यदि त्यो किसानले राम्रो काम, भलो काम गरिरहेको छ भने त्यो तेरै कमजोरीले गर्दा भएको हो । यदि त्यस किसान र उस्की स्वास्नीले यस्तै प्रकारले राम्रो काम गर्दै रहे भने त हामी शैतान भएको के सार? डाडुमा पानी तताएर डुबेर मरे भई हाल्यो नी । यो कुरालाई अब यत्तिकैमा छोड्नु हुँदैन । तुरुन्तै गएर त्यस किसानलाई बिगारेर आइजा । यदि अबका तीन बर्षमा त्यस किसानलाई विगारेर हाम्रो विचारधारामा ल्याउन सकिनस भने मैले तँलाइ गंगाको पानीमा डुबाएर ठीक पार्नेछु ।'
दुत निकै डरायो । शैतानको दुत भएर पवित्र गंगाजलमा डुब्नु सबैभन्दा ठूलो सजाय थियो । उ पुनः फर्किएर हर्केको गाउँमा पुग्यो र आफ्नो असफलतालाई कसरी सफल बनाउने भन्ने बारेमा सोच्न थाल्यो । अन्त्यमा उसले एउटा उपाय निकाल्यो ।
दुतले आफूलाई एउटा कामदारको रुपमा परिवर्तन गरेर हर्केको घरमा काम गर्न गयो । भाग्यमानीको भुतै कमारो भने जस्तो भयो हर्केलाई । पहिलो बर्ष उसले हर्केलाई खोलाखेतमा मकै लगाउने सुझाव दियो । त्यस बर्ष खडेरीले गर्दा अन्य किसानहरुको मकैवाली सबै सुकेर गयो तर हर्केको मकैवाली भने लहलहाउँदो भएर आयो । त्यस बर्ष हर्केको भकारीमा अन्नको छेलोखेलो भयो । बर्ष भरीलाई खान पुगेर पनि निकै अन्न उभ्रीने भयो ।
अर्को बर्ष दुतले हर्केलाई माथी लेकमा मकै लगाउने सल्लाह दियो । त्यस बर्ष धेरै बर्षा भएर अन्य किसानहरुले खोलाखेतमा लगाएको मकै बिग्रियो । हर्केको बाली यसपटक पनि निकै सप्रियो । यस पटक पनि हर्केको खेतमा पहिलेको भन्दा निकै धेरै मकै फल्यो । अब हर्केका भकारीमा अन्नको छेलोखेलो थियो । सधैँ अभाव बीच बाँचेको हर्केलाई यत्रो अन्नको अब के गर्ने होला भनेर चिन्ता पर्‍यो ।
सधैं झैं यसपाली पनि दुतले हर्केलाई सल्लाह दियो, ‘मालीक बढी भएको अन्नबाट रक्सी बनाउँ न ।'
हर्केलाई उसको सुझाव मनसिब लाग्यो । उसले मकैको रक्सी बनाएर आफु पनि पिउन थाल्यो, साथीभाइहरुलाई पनि बोलाएर पीउन थाल्यो ।
आज हर्केको घरमा धुमधामको भोज भतेर चल्दैछ । दुतले आफ्नो सफलता देखाउन आफ्नो मालीक शैतानलाई पनि सँगै लिएर भोज हेर्न आएको छ । हर्के आफ्ना साथीहरुसँग मिलेर रक्सी पीउँदै छ । उस्की स्वास्नीले पाहुनाहरुलाई रक्सी बाँडीरहेकी छ । त्यतिकैमा गुन्द्रीमा खुट्टा अल्झीएर उसको हातबाट एउटा गिलास खसेर रक्सी भुँइमा पोखियो  ।
हर्के आफनो स्वास्नीसँग निकै रिसायो र गाली गर्दै भन्यो, ‘अलच्छिनी ! तेरा आँखा फुटेका छन् ? माइतबाट ल्याएको तेरो बाउको सम्पत्ति ठानेकी छेस् र पोखेकी ?’
दुतको मुहारमा कुटील मुस्कान फैलियो । खुसी हुदै शैतानसँग भन्यो, ‘देख्नु भयो मालीक ? यो त्यही हर्के हो जस्ले परार साल मैले रोटीको पोको लुकाउँदा गाली गर्नुको साटो मलाई उल्टै शुभ बचन बोलेको थियो ।'
हर्केले स्वास्नीलाई गाली गर्दै पाहुनाहरुलाई आफै रक्सी थप्न थाल्यो । त्यतिकैमा खेतमा काम गरेर फर्किंदै गरेको एउटा गरीब किसान रक्सीको तलतल लागेर बिना निम्तो हर्केको दैलोमा आइपुग्यो । निकै बेर पर्खींदा पनि हर्केले उस्लाई रक्सी पिउन दिएन बरु त्यस किसानलाई ताना सुनाउँदै भन्यो, ‘बाटो हिँड्ने ऐरे गैरे लाई सदावर्त लाउन भनेर बनाएको रक्सी छैन मसँग ।'
हर्केका कुरा सुनेर शैतान निकै खुसी भयो । दुतले कुटील हाँसो हास्दै भन्यो, ‘यो त केही होइन मालिक; हेर्दै जानुस न अझै के के हुन्छ ।'
जति जति शैतानले हर्के र उसको साथीहरुको फतफत सुन्दै गयो उति उति खुला मनले आफ्नो दुतको प्रशंसा गर्‌यो ।
हर्के र उसका साथीहरुले पीउन सम्म रक्सी पीए अनि एकार्कालाई गाली गर्न शुरु गरे ।
शैतानले यो सबै चर्तीकला हेरेरै बस्यो अनि उसको सफलताका लागि दुतलाई फेरी पनि स्वाबासी दियो ।
शैतानले भन्यो, ‘यति जाबो रक्सीले उनीहरुलाई स्याल जस्तो बनाएर आफ्नै साथीहरुलाई धोका दिन सक्ने बनाउन सक्यो है ? मलाई लाग्छ, अब छिटै यीनीहरु हाम्रो अधीनमा हुनेछन् ।'
दुतले भन्यो, ‘पख्नु न मालिक,  अरु एक गिलास मात्र पीउन त दिनुस,  अनि हेर्नुहोला उनीहरुको असली चर्तीकला । अहिले उनीहरु स्याल जस्तो व्यवहार गरीरहेका छन् त्यसपछि त उनीहरु जंगली ब्वाँसोको जस्तो व्यवहार गर्नेछन् ।'
हर्केले पाहुनाहरुलाई एक गिलास रक्सी थप्यो । उनीहरुको बोली अझै जंगली हुँदै गयो । स्यालका जस्ता चिप्ला कुरा गर्न छोडेर अब उनीहरु एकार्कालाई गाली गलौज गर्न थाले । त्यसपछि उनीहरु मारपीटमा उत्रिए । हर्के समेत त्यो मारपीटमा सहभागी भयो र अरु पाहुनाहरुबाट नराम्रो सँग पिटीयो ।
शैतानले यी सबै कुरा बडो चाख मानेर हेरी रह्यो अनि खुसी हुँदै भन्यो, ‘यो त गजबै भयो बा !’
दुतले भन्यो, ‘तेस्रो गिलास त पीउन दिनु न मालिक, अझ राम्रो दृश्य त आउनै बाँकी छ । दोस्रो गिलासले ब्वाँसो भएका छन्, एक छिन पछि सुँगुर हुनेछन् ।'
हर्केले आफु लगायत सबैलाई तेस्रो गिलास रक्सी थप्यो । अब उनीहरु पूर्ण रुपमा पशु बनी सकेका थिए । जताततै होहल्ला मात्र थियो । कसैले पनि अरुका कुरा सुनीरहेका थिएनन् । उनीहरु के को लागि हल्ला गरिरहेका थिए भन्ने कुरा उनीहरुलाई नै पत्तो थिएन ।
भोज भतेरको अन्त्य हुन लागिरहेको थियो । हर्केका पाहुनाहरु लडखडाउँदै कोही एक्लै, कोही दुइजना त कुनै तीन जना भएर तितरवितर हुन थालेका थिए । हर्के पनि आफ्ना पाहुनाहरुलाई विदाइ गर्न बाहिर आएको थियो तर नजिकैको हिलोमा घोप्टो परेर लड्यो । शिर देखी पाउसम्म हिलाम्मे भयो । हिलोको त्यस आहालमा मुढो लडे झैं निकै बेरसम्म लडीरह्यो ।
यो सब दृश्य देखेर शैतान निकै खुसी भयो ।
उसले भन्यो, ‘तैंले त निकै राम्रो रक्सी बनाइछस् नी बाबै! परार साल गरेको गल्ती पनि सुधारिछस् । तर यस्तो रक्सी तैले कसरी बनाइस्?  मेरो बिचारमा तैंले रक्सीमा पहिले स्यालको रगत मिसाइस् होला जस्ले गर्दा पहिला उनीहरु स्याल जस्तै धुर्त कुरा गरिरहेका थिए; त्यसपछि तैंले ब्वाँसोको रगत मिसाइस होला जस्ले गर्दा उनीहरु ब्वाँसोको जस्तै आपसमा लड्न थाले; त्यसपछि अन्त्यमा सुँगुरको रगत मिसाइस् होला जस्ले गर्दा उनीहरु सुँगुरको जस्तो व्यवहार गर्न थाले ।'
दुतले भन्यो, ‘त्यस्तो केही होइन मालिक । मैले त त्यस किसानलाई उसको आवश्यकता भन्दा बढी मकै उब्जाउन मद्दत मात्र गरेको हुँ । पशुको रगत त मानिसहरुमा पहिले देखिनै रहेको हुन्छ । जबसम्म खान लाउन ठिक ठिकै हुन्छ तबसम्म त्यो पशुत्व उसको नियन्त्रणमा रहेको हुन्छ । त्यसैले परार साल मैले उसको रोटी लुकाउँदा पनि उसले मलाई गाली गरेन । तर जब उसँग अन्नको प्रचुरता भयो उस्ले त्यसबाट आनन्द लिने उपायहरु खोज्न थाल्यो । त्यसपछि मैले उसलाई रक्सी पीएर आनन्द लिने यो बाटो देखाएको मात्रै हो । जब उस्ले भगवानले दिएको वरदान छोडेर आफ्नो आनन्दका लागि रक्सी पीउन थाल्यो तब उसमा रहेको स्याल, ब्वाँसो र सुँगुरको रगत बाहीर आउन थाल्यो । अबदेखि रक्सी पीएर बस्यो भने मात्र पनि उसले सधैं पशुवत ब्यवहार गरिरहनेछ ।'
शैतानले आफ्नो दुतको मन खोलेर प्रशंसा गर्‍यो, पहिलेको गल्ती माफ गर्दै उसलाई माथिल्लो पदमा बढुवा गरिदियो ।
(सेतोपाटीमा समेत प्रकाशित)

No comments:

Post a Comment