जलवायु परिवर्तन र आकास खस्ने कुराः
एउटा चिनीया कथा छ । एकजना मानिस सधैँ आकास खस्छ र आकासले थिचेर मरिन्छ भनेर निकै चिन्तित भइरहन्थ्यो । साथी भाइहरुले लाख सम्झाउँदा पनि उ मान्नेवाला थिएन । एकदिन आकाश खस्ने कुराले उस्लाइ यति धेरै पिरल्यो कि विहानै देखि आँगनमा बसेर भाखा हाल्दै रुन थाल्यो । साथीभाइहरुले सम्झाउँदै भने, 'हेर भाइ! पहिलो कुरा त आकास खस्दै खस्दैन, कथँकदाचित आकास खसीनै हालेछ भने पनि तिमी हामी भन्दा अग्ला मानिसहरुको टाउकोमा पहिले बज्रिन्छ । उनीहरुले थेगीहाल्छन् नी । यसैले डराउनु पर्दैन । केही हुन्न ।' उक्त मानिस ढुक्क भएछ ।
आजकल जता गयो जलवायु परिवर्तनकै कुराहरु सुन्न देख्न पाइन्छ । सँयुक्त राष्ट्रसँघ जलवायु परिवर्तनकै कुरा गर्छ । एडीबी, डब्लुबी, डीफआइडी, इयू आदि सबै जलवायु परिवर्तनकै कुरा गर्छन् । 'घोडा देखेर घोडी दगुरी कानी बुढी त्यसै दगुरी' भने झै हाम्रा निकायहरु पनि अत्यन्त जरुरी सबै कुरा छोडेर जलवायु परिवर्तनका पछाडी दगुर्न थालेका छन् । सधैँ नाम परिवर्तन भइरहने वातावरण मन्त्रालय त जलवायु परिवर्तको तालुक निकाय भएकोले सबैको हुँइयामा हुँइयाँ मिसाउनै पर्यो तर अन्य निकायहरु पनि हुँइया हुँइया गर्दै जलवायुकै पछाडी दगुरेको चाही बुझ्न सकिने कुरो भएन । जलवायु परिवर्तन सम्बन्धमा काम गर्ने 'मोडुस अपरेण्डी' चाही सबैको एउटै छ । एउटा परामर्शदाता नियुक्त गर्यो अनि रिपोर्ट लेख्न लगायो । इन्सेप्सन, इन्टेरिम, ड्राफ्ट फाइनल र फाइनल रिपोर्ट । इन्सेप्सन मा २० प्रतिशत, इन्टेरिममा २०, ड्राफ्ट रिपोर्टमा ४० प्रतिशत, र फाइनलमा बाँकी २० गरेर एउटा रिपोर्टको करीब एक करोड हाराहारीको रकम झ्वाम पार्न यी निकायहरु सफल भएका छन् । यी सबै निकायहरुले जलवायु परिवर्तन सम्बन्धमा दिने निष्कर्ष चाँही एउटै हुन्छ त्यो होः
'जलवायु परिवर्तनका कारणले गर्दा पृथ्वीको तामक्रम बढ्दो छ, समयमा पानी पर्न छोड्यो, कहिले धेरै पानी परेर बाढी पहिरो त कहिले पानी नपरेर खडेरी पर्न थाल्यो । यसले गर्दा मानिसको जिवन कष्टकर बन्न थाल्यो । समयमै यस सम्बन्धमा केही गर्न सकिएन भने सम्पूर्ण जिवहरुको अस्तित्वमाथी नै खतरा उत्पन्न हुन सक्छ । त्यसैले यस सम्बन्धमा हामीले केही गर्नु पर्यो ।'
रिपोर्ट बन्यो दराजमा थन्कियो । चियर्स! जलवायु परिवर्तन!! भनेर पाँचतारेमा जामहरु ठोकिए । काम सकियो ।
ए बाबा ठाकुरे!! जलवायु परिवर्तन हामी नेपालीको कारणले भएको त हैन नी । माथीको चिनीया कथाको पात्र झैँ हामीलाइ किन डराइ हिड्नु परेको होला । पहिलो कुरा त हामीलाइ जलवायु परिवर्तनले भन्दा झाडापखाला, अशिक्षा र गरिबीले बढी दुख दिएको छ । भुकम्पले बढी दुख दिएको छ । पहिलो लडाइ त यीनीहरुसँगै हुनु पर्ने हो । ल एकछिनको लागि मानौ जलवायु परिवर्तन भएर असरै गर्न थाल्यो रे ! त्यसो भएको खण्डमा हामी भन्दा पहिले त ठूला ठूला देशहरुलाइ नै बढी असर पर्ला नी त ! हामीलाइ किन खसखस । जिवनजल किन्न छाडेर किन जलवायु परिवर्तनका पछाडी दगुर्न परेको होला ?
जलवायु परिवर्तन हाम्रो पहिलो प्राथमिकता हैन ।
ठीक छ । अध्ययन अनुसन्धान नै गर्नु छ भने त्यही सधैं नाम फेरिरहने वातावरण मन्त्रालयले जलवायु उर्फ क्लाइमेट चेन्ज सम्बन्धि सबै काम गरोस न । त्यहाँबाट बाहिर आएर सबै निकाय लाइ झिझ्याउने काम चाँही नगरौ कि । अहिले आएर सबै एेरे गैरे नथ्थु खैरेहरु जलवायु परिवर्तनका पछाडी लाग्नुको मुख्य ध्येय त्यही हरीयो घाँस न हो । कसलाइ थाहा नभा हो र ।
जलवायु परिवर्तको नाममा अहिले भइरहेको स्रोतको चरम दुरुपयोगलार्इ रोक्नु नै अहिलेको प्रमुख चुनौति बनेको छ ।
जसरी आकास खसेर थिचिएर मरिदैन त्यसरी नै जलवायु परिवर्तनले हाललाइ नेपालमा केही हुने वाला छैन । केही भएछ भने नै पनि त्यो हाम्रो काबु बाहिरको कुरा हुनेछ ।
अस्तु !
२०७३।०१।१८
काठमाण्डौ ।
No comments:
Post a Comment