लियो
टल्सटाय (भाव अनुवादः
दण्डपाणि जैसी )
पर्बत
जिल्लाको फलेबास भन्ने गाउँमा गोपीचन्द्र नामको व्यापारी बस्ने गर्थ्यो । गाउँमा
उसका दुइवटा पसल र एउटा बस्ने घर थियो । नरम,
चमकिलो र अलिअलि घुम्रो परेको कपालले गर्दा गोपीचन्द्र हेर्नमा निकै सुन्दर
देखिन्थ्यो । उ निकै हँसिलो थियो साथै संगितको प्रेमी पनि थियो । युवावस्थामा
रक्सी पिउने बानी परेको थियो । कहिले काँही धेरै पियो भने हल्ला गर्ने गर्थ्यो तर
बिहे भएदेखि उसले रक्सी पिउन छोडी सकेको थियो ।
गर्मीको
समय थियो, उसलार्इ काठमाण्डौ गएर
पशुपतिनाथको दर्शन गर्ने बिचार आएकोले आफ्नी पत्नी सँग विदा माग्न गयो । पत्नीले
भनी, 'हजुर!
आज नजानुहोस, मैले तपाइको बारेमा
साह्रै नराम्रो सपना देखेकि छु ।'
गोपीचन्द्रले
हाँस्दै भन्यो, 'प्रिये,
काठमाण्डौ पुगेर मैले तिमीलार्इ बिर्सिन्छु कि भन्ने डर लागेर हो ?'
पत्नीले
भनी, 'थाहा
छैन, तर सपनामा हजुर घर
फर्किदा सबै कपाल फुलेर सेतो भएको देखेकी छु ।'
गोपीचन्द्रले
भन्यो, 'यो
त साह्रै राम्रो संकेत हो । हेरिराख्नु,
मैले काठमाण्डौबाट तिम्रो लागि राम्रा राम्रा सामान लिएर आउने छु ।'
यति
भनेर गोपीचन्द्र आफ्ना सामान राखेर काठमाण्डौको लागि प्रस्थान गर्यो । कार्कीनेटामा
पुगेपछि गोपीचन्द्रको चिनजानको अर्को ब्यापारी पनि भेटियो । त्यसरात दुबैजना चिलाउनेबासको
एउटा होटलमा बास बसे । रातीको खाना खाएपछि दुबैजना आआफ्नो कोठामा सुत्न गए ।
गोपीचन्द्रको
छिटै सुत्ने बानी थियो । गर्मीको समयमा बिहानै उठेर बाटो लाग्दा शितलो हुने भएकोले
बिहानै उठ्यो र होटलको पैसा तिरेर एक्लै बाटो लाग्यो । नौडाँडाको उकालोमा गोपीचन्द्रलार्इ
चिया पिउन मन लागेकोले एउटा पशलमा रोकियो,
चिया अर्डर गर्यो अनि झोलाबाट बाँसुरी झिकेर पसलको पिढीमा बसेर बजाउन लाग्यो ।
अचानक
त्यहाँ दुइजना सिपाही सहित पुलिसको एकजना अधिकारी आए । पुलिस अधिकारीले गोपीचन्द्रको
नजिकै आएर सोध्न थाल्यो, 'तिमी
को हौ ? कहाँबाट आएको हौ ?' गोपीचन्द्रले
आफ्नो नाम र वतन बताएपछि उसले पुलिसलार्इ पनि आफू संगै बसेर चिया पिउन अनुरोध गर्यो
। तर पुलिस अधिकारीले उसँग सोधिरहेको थियोः 'तिमी
राती कहाँ बास बसेको थियौ ?' 'एक्लै
थियौ कि तिमी सँग अरु कोही पनि थियो?' 'तिम्रो
साथीलार्इ आज बिहान देख्यौ कि देखेनौ ?' 'यति
बिहानै उठेर किन हिडेको ?'
गोपीचन्द्रलार्इ
अचम्म लागिरहेको थियो । किन होला यिनीहरु यस्ता प्रश्नहरु सोधिरहेका?
आश्चर्य मान्दै पुलिस अफिसरसँग सोध्यो, 'तपाइहरु
त मलार्इ चोर डाँकु नै हो कि जसरी प्रश्न सोधिरहनु भएको छ । म त पशुपतिनाथको
दर्शनका लागि काठमाण्डौ हिडेको हो । तपाइले के भन्न खोज्नु भएको हो स्पष्टसँग
भन्नुहोस् ।'
पुलिस
अधिकारीले भन्यो, 'म
यहाँको पुलिस अफिसर हुँ । हिजो चिलाउनेबासको होटेलमा तिमी जुन ब्यापारीसँग बास
बसेका थियौ उसको हत्या भएको छ । हामीहरु तिम्रो खानतलासी लिन आएका हौं ।'
त्यसपछि
उसले आफ्ना सिपाहीहरुलार्इ भनेर गोपीचन्द्रको सामानको खानतलासी लिन लगायो । उसको
झोलाबाट रगतले लतपत भएको एउटा चक्कु भेटियो । यो देखेर डरले गोपीचन्द्रको सातो
पुत्लो उड्यो ।
पुलिसले
सोध्यो, 'यो
चक्कु कसको हो? यसमा रगत कसरी
लाग्यो?'
गोपीचन्द्र
चुप थियो । उसको बाक्य बसीसकेको थियो । भकभकाउँदै भन्यो, 'मेरो….
हैन… । मलाइ…
थाहा… छैन ।'
पुलिसले
भन्यो, 'आज
बिहानै त्यस ब्यापारीको घाँटी काटिएको अवस्थामा खाटमा लडिरहेको भेटिएको हो । ढोका भित्रबाट बन्द थियो र तिमी
बाहेक भित्र अरु कोही पनि थिएन । अहिले यो रगतले लतपतिएको चक्कु तिम्रो झोलाबाट
बरामद भएको छ । तिम्रो मुखले नै बताइरहेको छ कि तिमीले नै उसलार्इ मारेको हो । अब
साँचो साँचो बताउ, तिमीले उसलार्इ
कसरी मार्यौ अनि कति रुपैया चोर्यौ ?।'
गोपीचन्द्रले
कसम खाएर भन्यो, 'मैले
ब्यापारीलार्इ मारेको हैन । हिजो बेलुकीको खाना पछी मैले उसलार्इ भेटेको पनि हैन ।
म सँग यहि आठ हजार रुपैया मात्र छ । यो चक्कु पनि मेरो हैन ।'
गोपीचन्द्रले
यी सबै कुरा धर्मराइ धर्मराइकन भनिरहेको थियो । मुखको सबै रगत सकिए जस्तै उसको मुख
पहेलो भइसकेको थियो । उ एक अपराधि जस्तै डरले थरथर गरी रहेको थियो ।
पुलिस
अधिकारीले सिपाहीहरुलार्इ गोपीचन्द्रको हातमा हतकडी लगाएर पुलिस चौकीमा लैजान आदेश
दियो । जब सिपाहीहरुले उसको हातमा हतकडी लगाइरहेका थिए त्यसबखत गोपीचन्द्र जोड सँग
रुन लाग्यो । पुलिसले उसलार्इ स्यांग्जाको पुलीस चौकिमा लिएर गए । उसँग भएको
रुपैया खोसेर उसलार्इ जेलमा हालिदिए ।
यसपछि
पुलिस गोपीचन्द्रको गाउँमा पुगेर उसको चालचलनको बारेमा जाँच शुरु गर्यो । गाउँका
सबैजनाले एकै स्वरमा भनेः पहिला पहिला त केही रक्सी पिएर हल्ला गर्ने गर्थ्यो तर
हिजोआज त उसको चालचलन निकै राम्रो थियो । अदालतमा मुद्दा चल्यो र अदालतले उसलार्इ मुडीकुवाको
ब्यापारीको हत्या गरी साथमा भएको बीस हजार
रुपैया चोरेको अपराधमा फैसला सुनायो ।
यो
कुरा थाहा पाएपछि गोपीचन्द्रकि पत्नी निकै दुखि भइ,
उसलार्इ यस कुरामा रत्तीभर बिश्वास भइरहेको थिएन । उसका साना साना नानीहरु थिए ।
एउटा भर्खरै आमाको दुध पिउदै थियो । सबै लालाबाला च्यापेर गोपीचन्द्रलार्इ भेट्न स्यांग्जा
तिर लागि । पहिला त पुलिसले उसलार्इ गोपीचन्द्र सँग भेट गर्न दिएनन् तर निकै अनुनय
विनय गरेपछि उसले भेट्ने अनुमती पाइ । पुलिसले उसलाइ गोपीचन्द्र बसेको जेलमा लिएर
गए । गोपीचन्द्रको हातमा हतकडि लगाएर चोर डाकुहरुको साथमा बसेको देख्ने बित्तिकै उ
बेहोस भएर भुँइमा पछारिन पुगि । केही समय पछि होस आयो । उ आफ्ना बच्चाहरुसहित
पतिको अगाडी बसेर घरको हालखबर सुनाइ र यो घटनाको बारेमा गोपीचन्द्र सँग सोधी । गोपीचन्द्रले
उसलार्इ भएको सबै कुरा सबिस्तार सुनायो ।
चिन्ता
मान्दै उसले सोधी, 'अब
के हुन्छ होला ?'
गोपीचन्द्रले
भन्यो, 'देशमा
नियम कानुन छ । एकजना निरपराधीलार्इ मृत्युदण्ड नहोस भनेर हामीहरुले सरकार सँग
बिन्ती गर्नु पर्छ ।'
पत्नीले
भनी, 'मैले
सरकारमा बिन्ती पठाएकी थिएँ, तर मानेनन् ।'
गोपीचन्द्रले
निराश भएर टाउको निहुरायो ।
पत्नीले
भनी, 'देख्नु
भयो त,
मेरो सपना कस्तो साँचो भयो ! त्यस दिन तपाइलार्इ साइत
नगर्नु भनेकि थिएँ । त्यस दिन तपाइले साइत नगर्नु पर्ने थियो । मेरो कुरा मान्ने
भए पो । साँचो भन्नुहोस त, तपाइले त्यस
ब्यापारीलार्इ मार्नु भएको त हैन नी ?'
'तिमीले
पनि मलाइ नै शंका गर्यौ है ?' यति भन्दा भन्दै गोपीचन्द्रको
भक्कानो फुटेर आयो र मुख छोपेर रुन लाग्यो । यतिकैमा पुलिस आएर उसकी पत्नीलार्इ
त्यहाँबाट हटाए । यसप्रकार गोपीचन्द्र सधैंको लागि आफ्नो परिवारबाट बिदा भयो ।
उसकी
पत्नी गएपछि गोपीचन्द्रले मनमनै भन्यो, 'हे
भगवान ! मेरी पत्नीले पनि
मलार्इ अपराधिको शंका गरी । बल्ल थाहा पाएँ, म निर्दोष छु भन्ने कुरा भगवान बाहेक अरु
कसैलार्इ पनि थाहा रहेनछ । अब उसैसँग मात्र दयाको आशा राख्नु ठीक होला ।'
यस
घटना पछि गोपीचन्द्रले जेलबाट छुट्ने कुनै पनि प्रयत्न गरेन । सबै तिरबाट निराश
भएपछि केवल भगवानको भरोशामा बसी रह्यो ।
गोपीचन्द्रलार्इ
पहिला कोर्रा बर्साइयो । जब घाउ निको भयो उसलार्इ गोलघर भित्र राख्न थालियो ।
गोपीचन्द्र
जेलमा बसेको छब्बीस बर्ष भएछ । उसको सबै कपाल फुलेर सेतै भइसकेको थियो,
शरीर जिर्ण भइसकेको थियो, सधै उदास रहन्थ्यो
। न कहिलै हाँस्थ्यो, न केही बोल्थ्यो तर
नित्य रुपमा भगवानको भजन चाँही गर्थ्यो ।
जेलमा
रहँदा उसले कम्बल बुन्ने काम गरेर केही रकम जम्मा गर्यो अनि भागवत गिताको एउटा
किताब किन्यो । भगवानको पुजा अर्चना गर्न थाल्यो । दिनभरी काम गरेर फर्केपछि घामको उज्यालो रहँदा सम्म गिता पाठ गरेर
बस्थ्यो । आइतबारको दिन जेल बाहिरको मन्दिरमा गएर गितापाठ गर्थ्यो । गला राम्रो
भएकोले भजन पनि गाउने गर्थ्यो । जेलका कर्मचारीहरु गोपीचन्द्रको सुशीलताले गर्दा
उसलार्इ मान गर्थे । जेलका अन्य कैदिहरु उसलार्इ बाबा अथवा महात्मा भनेर बोलाउँथे
। कैदिहरुले जेल प्रसासनलार्इ कुनै अनुरोध गर्नु पर्ने भएमा उसलार्इ नेता बनाएर
पठाउँथे र कैदिहरुबीचका आपसी झगडा समेत उसैलार्इ
मिलाइदिन भन्थे ।
गोपीचन्द्रलार्इ
आफ्नो घरको कुनै पनि समाचार आउन छोडिसकेको थियो । आफ्नो परिवारका मानिसहरु जिउँदै
छन् वा मरिसके भन्ने कुरा पनि उसलार्इ थाहा थिएन ।
एकदिन
जेलमा केही नयाँ कैदीहरु आए । साँझको बेला जेलका अन्य कैदिहरु आएर उनीहरुसँग
कहाँबाट आएको के अपराधमा सजाय पाएर आएको आदि प्रश्नहरु गर्न थाले । गोपीचन्द्र
उदास भएर उनीहरुको कुरा सुनीरहेको थियो । नयाँ कैदिहरु मध्ये दाह्री कपाल चिटिक्क
पारेर काटेको करीब साठी बर्ष जतिको एउटा हट्टाकट्टा कैदीले आफ्नो कथा यसरी
सुनाइरहेको थियो ।
‘भाइहरु
हो, मेरो साथीको घोडा
एउटा रुखमा बाँधि राखेको थियो । मलाइ घर जान हतार भइरहेको थियो । मैले उसको घोडा
चढेर गएँ । वहाँ पुगेपछि मैले घोडा छोडिदिएँ । साथी कतै गएको थियो । पुलिसले
चोरीको आरोपमा मलाइ समातेर ल्याए । हुनत मैले कसको घोडा कहाँबाट चोरेर ल्याए भनेर
कसैले भन्न सक्दैनन् तर पनि मलाइ चोरीको आरोपमा यहाँ पठाइदिए । यस भन्दा पहिले
मैले एउटा अपराध गरेको थिएँ जसको लागि मलाइ गोलघरमा राख्नु पर्ने थियो तर त्यसबखत
मलाइ कसैले पनि समाउन सकेनन् । अहिले आएर बिना अपराध यहाँ पठाएका छन् ।‘
एउटा
कैदिले सोध्यो, ‘तिम्रो
घर कहाँ हो नी ?’
उसले
भन्यो, ‘फलेबास
। मेरो नाम दुर्योधन हो ।‘
गोपीचन्द्रले
सोध्यो, ‘भाइ
दुर्योधन, तिमीलार्इ गोपीचन्द्रको
परिवारको बारेमा केही थाहा होला ? जिउँदै छन् कि मरिसके?’
दुर्योधनले
भन्यो, ‘किन
थाहा नहुनु, मैले उनलार्इ
राम्रोसँग चिनेको छु । धनीमानी मा गनिन्छन् । उसको बाउ यतै कतै जेलमा छ । मेरो
जस्तै अपराधमा जेल परेको । तर बाबा,
तिमी यहाँ कसरी आयौ ?’
गोपीचन्द्रले
उसलार्इ आफ्नो बिपत्तीको कथा सुनाउन उचित ठानेन । लामो सास फेर्दै भन्यो, ‘बिगत
छब्बीस बर्षदेखि आफ्नो पापको कारण यहाँ सडिरहेको छु ।‘
दुर्योधनले
सोध्यो, ‘त्यस्तो
के पाप गर्यौ ? हामी पनि सुनौ न ।‘
गोपीचन्द्रले
भन्यो, ‘कुरा
नगरौ भो । मानिसले आफुले
गरेको पापको फल भोग्नु पर्छ ।‘
गोपीचन्द्रले
थप कुरा गर्न चाहिरहेको थिएन तर एउटा ब्यापारीको हत्या अभियोगमा गोपीचन्द्र यहाँ
कैदमा रहेको कुरा अन्य कैदिहरुले दुर्योधनलार्इ सुनाए । यति कुरा सुनेपछि
दुर्योधनले गोपीचन्द्रलार्इ ध्यान दिएर हेर्न थाल्यो । साँप्रामा हात ठटाउँदै
भन्यो, ‘अचम्म
भयो ! तिमी त पुरै बुढो भइसकेछौ नी ।‘
गोपीचन्द्रलार्इ
देखेर दुर्योधन अचम्भित भएको देखेर अन्य कैदिहरुले दुर्योधन सँग सोधे, ‘के
तिमीले बाबालार्इ पहिले कही देखेका थियौ र ?’
तर दुर्योधन ले कुनै उत्तर दिएन ।
गोपीचन्द्रलार्इ
शंका लाग्योः शायद दुर्योधन त्यस
ब्यापारीको असली हत्याराको बारेमा जान्दछ । उसले सोध्यो, ‘दुर्योधन,
के तिमीले यो कुरा पहिले कतै सुनेको थियौ ? मलार्इ
पहिले कतै देखेका थियौ ?’
दुर्योधनले
भन्यो, ‘यो कुरा त सारा
संसारलार्इ थाहा छ । मैले मात्रै किन नसुन्नु । तर निकै समय बीतीसकेको हुनाले
अहिले मलार्इ त्यती याद छैन ।‘
गोपीचन्द्रले
जोड दिदै भन्यो, ‘त्यस
ब्यपारीलार्इ कस्ले मारेको हो भन्ने कुरा तिमीलार्इ पक्कै थाहा हुनुपर्छ ।‘
दुर्योधनले
हाँस्दै भन्यो, ‘जसको
झोलामा चक्कु भेटीयो उसैले मार्यो होला नी । यदि कसैले झोलामा चक्कु लुकाएको भए तापनि
जबसम्म समातिदैन उसलार्इ कसले चोर भन्ने ? झोला
तिम्रो सिरानीमा थियो, यदि कसैले आएर
झोलामा चक्कु लुकाइदिएको भए त तिमी बिउझिने थियौ नी ।‘
यति
कुरा सुनीसकेपछि गोपीचन्द्रलार्इ निश्चय भयो कि यसैले ब्यापारीको हत्या गरेको हो ।
उ त्यहाँबाट नबोली उठेर गयो । त्यस रातभरी उसलार्इ निद्रा परेन । दुःखले गर्दा
उसको चित्त व्याकुल भइरहेको थियो । अनेक प्रकारका कुराहरु मनमा खेल्न थाले । सबै
भन्दा पहिला घर छोड्ने बेलाको आफ्नी पत्नीको रुप अगाडी आयो जब उसले गोपीचन्द्रलार्इ
मेलामा नजान भनेकी थिइ । गोपीचन्द्रलार्इ यस्तो लागिरहेको थियो मानौ उसकी पत्नी
उसकै अगाडी उभिएकि छ, उसको हाँसो र बोली
समेत सुनिदै थियो । त्यसपछि बालकहरु देखिन थाले, त्यसपछि
उसको युवावस्थाको याद आयो । कति प्रशन्नचित्त थियो,
कति आनन्दसाथ दैलोमा बसेर बाँसुरी बजाउँथ्यो । त्यसपछि त्यो चिया पसल देखिन थाल्यो
जहाँबाट पुलिसले उसलार्इ समातेको थियो । त्यसपछि उसलाइ कोर्रा हानीएको ठाउँ,
हतकडी, जेल,
त्यसपछि बृद्धावस्था अनि छब्बीस बर्षसम्म भोगेको दुःख । यी सबै कुरा उसका आँखा
वरिपरि घुमीरहेका थिए । उ यति दुःखी भयो कि उसलार्इ आत्महत्या गरेर तत्कालै प्राण
त्याग्न मन लाग्यो ।
‘हरे
शिव! यस दुर्योधन
चण्डालले गर्दा मेरो यो हाल भयो । आफ्नो सर्वनाश गरेर भए पनि यसको बदला नलिइ
छोड्दिन ।‘
रातभरी
भजन गर्दा पनि उसलार्इ शान्ति भइरहेको थिएन । दिनमा उसले दुर्योधनलार्इ फर्केर पनि
हेरेन । पन्ध्र दिन बितीसके तर गोपीचन्द्रलार्इ न रातको नीद न दिनको चैन थियो ।
रिसको आगोमा जलिरहेको थियो ।
एक
दिन उ जेलमा डुलीरहेको थियो उसको आँखा कैदिहरु सुत्ने खाटमा पर्यो जहाँबाट माटो
खसिरहेको थियो । उ त्यहीं उभिएर उत्सुकतासाथ माटो खसेको ठाउँ हेर्न थाल्यो । त्यही
बेला दुर्योधन खाटमुनीबाट बाहिर निस्केर आयो । गोपीचन्द्रलार्इ देखेपछि डरले थरथर
काम्न थाल्यो । गोपीचन्द्र उसलार्इ नदेखे झैं गरेर अगाडी बढ्न चाहन्थ्यो तर
दुर्योधनले उसको हात समातेर भन्न लाग्यो, ‘हेर,
मैले जुत्तामा माटो राखेर बाहिर फाल्दै यो सुरुंग बनाउँदै छु,
चुपचाप बस्नु । तिमीलार्इ पनि यस सुरुंगबाट भाग्न मद्दत गरौंला । यदि हल्ला गर्यौ
भने जेलरले मेरो छाला काड्नेछ तर एउटा कुरा याद गर्नु म मर्ने भएँ पहिला तिमीलार्इ
नमारी चाहीं मर्ने छैन ।‘
आफ्नो
शत्रुलार्इ देखेर गोपीचन्द्र रिसले काम्न थाल्यो । उसबाट हात छुटाएर भन्न थाल्यो, ‘मलार्इ
यहाँबाट भाग्ने इच्छा छैन, तिमीले मलार्इ
मारेको त छब्बीस बर्ष भइसक्यो । बाहिर गएर भन्ने कुरामा चाँही भगवानको जस्तो मर्जी
होला त्यस्तै हुनेछ ।‘
अर्को
दिन जेलका कैदिहरु बाहिर काम गर्न गएपछि जेलका गार्डहरुले बाहिर खसेको सुरुंगको
माटो देखे । खोज्दै जाँदा सुरुंग खनेको भेटियो । जेलका हाकिमले सबै कैदिसँग सोधपुछ
गर्न थाले । कसैले केही पनि बताएनन् किनभने उनीहरुलार्इ थाहा थियो कि हाकिमले थाहा
पायो भने दुर्योधन मारिने छ । हाकिमले गोपीचन्द्रलार्इ सत्यवादि ठान्थे त्यसैले उ
सँग सोधे, ‘बाबा
तपाइ सत्यवादि मानिस हो, साँचो भन्नुस त यो
सुरुंग कसले खनेको हो ?’
केही
पनि थाहा नपाए जसरी दुर्योधन त्यहीँ नजिक उभिरहेको थियो । गोपीचन्द्रका ओठ तथा
हातहरु थरथर कामीरहेका थिए । मनमनै विचार गरिरहेको थियो जसले मेरो सम्पूर्ण जिवननै
नाश गर्यो उसलार्इ किन बचाउनु ? उसले दुःखको बदला दुःख भोग्नै पर्छ । तर यदि
अहिले मैले साँचो कुरा बताइदिएँ भने निश्चय पनि उ मारिने छ । मेरो भ्रम पनि त हुन
सक्छ, त्यस ब्यापारीलार्इ
अरु कसैले मारेको पनि त हुन सक्छ ।
यदि यसैले मारेको रहेछ भने पनि यसलार्इ मार्न लागएर मलाइ के नै फाइदा हुने हो र?
हाकिमले
सोध्यो , ‘बाबा,
तपाइ किन चुप लाग्नु भएको ? किन केही बताउनु
हुन्न ?’
गोपीचन्द्रले
भन्यो, ‘म
केही पनि भन्न सक्दिन, तपाइलार्इ जे गर्नु
छ गर्नुहोस् ।‘
हाकिमले
बारम्बार सोध्यो तर गोपीचन्द्रले केही पनि बताएन । कुरा त्यतिकैमा साम्य भयो ।
त्यही
रात जब गोपीचन्द्र आफ्नो कोठामा आराम गरि रहेको थियो दुर्योधन बिस्तारै भित्र आएर
छेउमा बस्यो । गोपीचन्द्रले उसलार्इ देखेर सोध्यो, ‘दुर्योधन,
अब के चाहन्छस् ? यहाँ किन आइस् ?
दुर्योधन
चुप थियो ।
गोपीचन्द्रले
भन्यो, ‘तँ
के चाहन्छस् ? यहाँबाट जान्छस कि
पुलिस बोलाउँ ।‘
दुर्योधनले
गोपीचन्द्रको खुट्टा समातेर भन्यो, ‘गोपीचन्द्र
बाबा, मलाइ माफ गर्नुहोस
।‘
गोपीचन्द्रले
सोध्यो, ‘किन?’
दुर्योधनले
भन्यो, ‘त्यस
ब्यापारीलार्इ मैले मारेर तपाइँको झोलामा चक्कु राखेको थिएँ । वास्तवमा मैले
तपाइँलार्इ पनि मार्न चाहन्थें । तर त्यतिनै बेला बाहिर आवाज आएकोले तपाइँको झोलामा
चक्कु राखेर भागेको हुँ ।‘
गोपीचन्द्र
चुप थियो, केही पनि बोलीरहेको
थिएन ।
दुर्योधनले
भन्यो, ‘ गोपीचन्द्र बाबा,
भगवानको लागि म माथी दया गरेर मलार्इ माफ गर्नुहोस । भोली हाकिम समक्ष गएर मैले
आफ्नो अपराध स्वीकार गर्नेछु । तपाइँ जेलबाट छुटेर आफ्नो घर जान पाउनु हुनेछ ।‘
गोपीचन्द्रले
भन्यो, ‘कुरा
गर्न सजिलो हुन्छ । छब्बीस बर्षको मेरो यस दुःखलार्इ हेर त । अब छुटेर पनि कहाँ
जाने हो र ? पत्नी मरी सकि,
छोराहरुले भुली सके,
अब मेरो जाने ठेगाना नै कहाँ छ र जाउँ ?’
दुर्योधन
भुइँमा ठाउको ठोकेर रुदै भन्न थाल्यो, ‘बाबा,
मलार्इ कोर्रा लगाउँदा पनि यति पीडा भएको थिएन जति अहिले तपाइँलार्इ
देख्दा भइरहेको छ । तपाइँले ममाथी दया गरेर सुरुंगको कुरा कसैलार्इ भन्नु भएन ।
मलाइ माफ गर्नु होस, माफ गर्नु होस मलार्इ,
मलार्इ अत्यन्तै ग्लानीबोध भइरहेको छ ।‘
यति
भनेर दुर्योधन डाँको छोडेर रुन थाल्यो । गोपीचन्द्रका आँखा पनि रसाए । भन्यो, ‘परमात्माले
तिमीमाथि दया गरुन । म राम्रो हुँ कि
तिमी राम्रो हौ कसलार्इ थाहा छ र ? मैले तिमीलार्इ माफ
गरें ।‘
अर्को
दिन दुर्योधन स्वयंले हाकिम समक्ष गएर आफ्नो अपराध स्वीकार्यो तर जब अदालतबाट गोपीचन्द्रलार्इ
छाड्ने आदेश आयो उसको मृत्यु भइसकेको थियो ।
सेतोपाटीमा प्रकाशित
No comments:
Post a Comment