हामी सानो छँदा हाम्रो गाउँमा पानीको निकै दुःख थियो । लोग्ने मानिस जति धेरै जसो लाहुरे । गाउँमा भएकाहरु विहानै देखि तासमा नारिने घरको काम भनेको ढलेको सिन्को धरी नउठाउने । उता घरका महिला सदस्यहरुलाइ भने विहान चार बजे देखि राती एघार बजेसम्म कामको माचो । विहानै उठेर घरको लिपपोत, बालबच्चाको स्याहार, बस्तुभाउको स्याहार, खेतीपातीको धन्धा, घाँस काट्ने देखि लिएर दाउरा पात गर्ने, ढीकीमा धान कुट्ने, जाँतोमा पीठो पीस्ने, घट्टमा पीठो पीस्न लैजाने । साँचिकै दुःख थियो हाम्रा आमा दिदी बहिनीहरुलाइ । यी सबै कामका अलावा पानीको जोहो गर्नु पनि हुन्थ्यो ।
उता साहुका कटेरामा समेत तीनवटा धारा, यता गाउँभरिका सर्वसाधारणलाइ एउटा धारो । गाग्रीको लाइन लाग्ने नै भयो । बिहान बल्ल तल्ल एक गाग्री पानी पाइयो भने सगरमाथा विजय गरे जत्तिकै हुन्थ्यो । कहिले काँही विहानभरी कुर्यो धारामा पानी नै तुर्किदैनथ्यो । यस्तो अवस्थामा डोकोमा गाग्री बोकेर तल बउर तिर लाग्नुको विकल्प थिएन । थप एक दुइ घण्टा चट । बस्तुभाउलाइ चाहीने पानी कहाँबाट पाउनु धारामा ? पोखरीमा भैसीले आहाल खेलेको गन्हाउने पानी ल्याएर गाइ भैसीलाइ ख्वाउनु पर्थ्यो । नुहाउन पर्यो भने काली गण्डकी या ठेउले खोलामा पौडी खेल्न जाने चलन थियो । लडीभाँती गरेर ल्याएको त्यही एक गाग्री पानीले साना साना बच्चाहरुलाइ नुहाइदिने चलन थियो । साबुन कहाँ पाइन्थ्यो र ! लुगा धुन पर्यो भने खरानीको बाहनमा कपडा पकाएर एउटा मुढोले ठटाउँदै लुगा धुने चलन थियो । लुगा पखाल्न ढोकोमा बोकेर तल गण्डकी तिर लाने चलन थियो । महिनावारी भएका महिलाहरुलाइ पानी पाउन अझ कठीन । नुहाइ धुवाइको कमीले कती रोग लागे होलान । कठै !! पानी र सुनमध्ये पानी महँगो थियो सुन सस्तो ।
आकासबाट पानी परेको दिन सबैभन्दा खुसीको दिन हुन्थ्यो । रुखका फेदमा केराको लोकतोले बाँधेर धारो बनाउने चलन थियो । खरको छानोबाट झरेको रातो पानी टँगालो बनाएर घरभरीका भाँडाकुँडा भर्ने चलन थियो । उछार गरेर घरका सबैले मन फुकाएर नुहाउँथ्यो । निकै रमाइलो लाग्थ्यो । बर्षाको पानीले हामी केटाकेटीहरुलाइ साँचै रोमान्चित बनाउँथ्यो ।
भनिन्छ समय बलवान हुन्छ । अहिले हाम्रो गाउँमा समयले कोल्टो फेरेको छ । आज गाउँका घरघरमा धारा छन् । सबै आँगनहरुमा प्लाष्टिकका ठुलाठूला ड्रममा पानी भरेर राखिन्छ । बाबुनानीहरुलाइ नुहाइदिन मनग्गे पानी छ । गाइबस्तुले धाराको पानी खान्छन् । धारामा साबुन लगाएर छपछप गर्दै कपडा धोइन्छ । समयको बचत भएको छ । पानीको मामलामा सबैजना खुसी देखिन्छन् । सबैजना सफा र सुकिला देखिन्छन् । अहिले हाम्रो गाउँले काँचुली फेरेको छ । विकास भएकै हो ।
पानी साँचिकै जीवन रहेछ ।
No comments:
Post a Comment