दण्डपाणि जैसी
सेतोपाटीमा प्रकाशित मिति: शनिबार, पौष ११, २०७२ १४:०८:१०
http://setopati.com/sahityapati/38650/print
सधैं झैं बिहानै उठेर शशी गण्डकी नुहाउन गए। नुहाएर आउँदा शशीले टाढैबाट आमाको रुवाबासी सुने। आँगनमा उभिएर आमा डाँको छोडेर रुदै थिइन्। यसअघि आफू एघार बर्षको हुँदा लाहुरमा बा वितेको खबर आएपछि उनले आमालार्इ यसरी नै रोएको देखेका थिए। मनमा विभिन्न थरी अनिष्टको कल्पना गरे। मनमनै भने, ‘कान्छी बहिनीलार्इ ज्वरो आएको थियो, मरीछ क्यारे।’
आँगनमा पुगेपछि कान्छी बहिनी पनि आमाको फरिया समातेर उभीएको देखे, बहिनी कुशलै थिइन्। उनको त्यो शंका पनि मिलेन। शशी असमंजस्यताका साथ रोइरहेकि आमालार्इ समाउन पुगे। शशीलार्इ देखेपछि उनलार्इ अँगालो हाल्दै आमा झन् ठूलो डाँको गरेर रुँदै भन्न लागिन्, ‘अब मैले तिमीहरुलार्इ के ख्वाउनी होला नी बाबु! चोरले घरको सर्वस्व पारेर लगेछ।’ उनले बल्ल कुरो बुझे। घरमा चोरी भएको रहेछ। चोरले घरको छानो उघारेर अन्नपात, भाँडाकुँडा सबै रित्तो पारेर लगेका थिए। घरभित्र थोत्रा थाँग्ना र पुराना कपडा बाहेक केही पनि थिएन। भात खाने थाल समेत लिएर गएका रहेछन् चोरले।
खरले छाएको घुमाउने घर थियो। सबै परिवार भुइमै ओछ्यान लगाएर सुत्ने गर्थे। अन्नका भकारीहरु र नुन तेल सबै आँटीमा राख्ने चलन थियो। सायद सुरक्षाकै लागि होला। राति सबैजना सुतिसकेपछि चोरहरुले माथीबाट खरको छानो उघारेर आँटीमा राखेको सबै सामान लिएर गएका रहेछन्।
शशी भर्खर पन्ध्र पुगेर सोह्रमा टेकेका थिए। घरको जेठो बाठो छोरो, बा बितेपछि घरको सबै जिम्मेवारी उनमै थियो। भनिन्छ, मानिसले जति चोट खान्छ प्रकृतिले उसलार्इ उतिनै कडा बनाउँछ। सानैमा टुहुरो हुनुको चोट सहीसकेको हुनाले प्रकृतिले शशीलार्इ अन्य चोटहरू पनि सहजै सहन सक्ने बनाएको थियो। उनी केही विचलित त भए तर हारेस खाएनन्। आमालार्इ सँझाउँदै भने, ‘नरोउ आमा! मलाई केही भएको छैन, भाँडाकुँडा र अन्न लिएर त गएको हो नी मेरो भाग्य त लगेका छैन नी। सधै यस्तै रहला र। एकदिन मैले पनि कसो नकमाउँला र।’ यति भनेर शशी पीढीको डिलमा गएर बसे। आमा आँगनमा एक तमास सँग रोइरहेकी थिइन्। बहिनीहरु पनि आमालार्इ समाएर रोइरहेका थिए। चोरले भकारीमा भएको बर्षभरीको अन्न, बटौलीबाट तेह्र दिन लगाएर ल्याएको नुन-तेल सबै लगेका थिए। किनेर ल्याउनका लागि साथमा पैसा थिएन। सरसापटबाट कति दिन चल्थ्यो र। सरसापट पनि त्यसै कहाँ पाइन्थ्यो र! घरमा कमाउने कोही छ भने साहुहरुले पनि पत्याउँथे नत्र एउटी विधवालार्इ कस्ले पत्याउने! आमालार्इ आफ्नो भोको पेटको बरु त्यति वास्ता हुन्न तर आफ्ना छोराछोरी त्यसमा पनि टुहुराहरुको भोको पेटको बढी चिन्ता हुँदो रहेछ। भोलिका अप्ठ्याराहरू एकएक गरेर आमाको आँखा अगाडि आइरहेका थिए।
शशीको मनमा ठूलो ज्वारभाटा उठिरहेको थियो। मनमनै भने ‘एघार वर्षमा बा वित्नुभयो र टुहुरो भएँ। बा वितेको घटनाको चोट आलै छ फेरि यस्तो के आइलाग्यो? भाग्यले मसँग कस्तो खेल खेल्न खोजेको होला।’ घर अगाडिकी इन्द्रकी कालीलार्इ मनमनै सम्झे। त्यही दिन उनले एउटा दृढ निश्चय गरेँ। ‘चोर छिरेको घरमा बस्ने कुरै भएन। एउटा घर बनाउँछु, लाहुर जान्छु, पैसा कमाउँछु आमाको सपना पुरा गर्छु, यस्तो अवस्था सधैं रहन दिन्न।’
तिनताका चोरी भएको घरमा बस्न हुँदैन, चोरी भएको घर अफाप हुन्छ भन्ने चलन थियो। शशीले सबैभन्दा पहिले घडेरी फेरेर नयाँ घर बनाउने निश्चय गरे। घरमा खाने अन्न समेत नभएको बेला घर बनाउने कुरा निकै गाह्रो थियो। तर भगवानले ‘तँ चिता म पुर्याउँछु’ भन्छन् भन्ने चलन छ। डाँडा भाटा त आफ्नै डालाबुटाबाट बनाउन सकिन्थ्यो तर घरको धुरी खाँबोको लागि सालको काठ गाउँमा उपलब्ध थिएन। पुर्जी नलिइ बनको रुख काट्यो भने बन मुद्दा लाग्ने डर थियो। सरौदी मामा घरबाट सालको धुरी खाँबो ल्याउने विचार गरे। शशी विहानै उठेर सरौदी मुखिया बाको घरमा गए। सानैदेखि सामाजिक काममा समेत रुची भएकोले यस भन्दा पहिले पनि स्कूल बनाउने काठ लिन शशी मुखियाबा कहाँ गएका थिए। मुखिया बाले शशीलाई राम्रोसँग चिनेका थिए। शशीले मुखियाबाको खुट्टामा टाउको राखेर ढोग गरे।
मुखिया बाले सोधे, ‘कति कामले आइथिस् नानी?’
‘एउटा सहायता माग्न आएको बा।’
‘के सहायता गर्नुपर्यो तँलाई मैले?’
‘चोरले घरको सबै लग्यो। त्यो घर फापेन। नयाँ घर बनाउने विचारले बा सँग सालको काठ माग्न आएको’ शशीले एकै सासमा सबै कुरा भने।
मुखिया बाले यति सानो उमेरको केटोले यति आत्मविश्वासका साथ घर बनाउने कुरा गरेको यस अघी कहिल्यै देखेका थिएनन्। खुसी हुँदै भने, ‘स्वाबास बाबु। तेरो जाँगर र आत्मविश्वासबाट म सारै खुसी भएँ। पुरै बन तेरो हो। लैजा कति काठ चाहिन्छ।’
यति भनेर मुखिया बाले शशीलाई दशवटा सालको रुख काट्ने पुर्जी बनाइदिए।
शशीले मुखियाबालार्इ ढोग्दै भने ,‘मैले हजुरबाट यही कुरा माग्न आएको थिएँ, पाएँ। अहिलेलार्इ म विदा हुन्छु बा।’
शशीले पाँच मुरी धान आउने खोलाखेत बन्धकी राखेर गाउँका साहुसँग पचास रुपियाँ ऋण लिए। अब घर बनाउने कुरा पक्का भयो।
सरौदीबाट फलेवाससम्म काठ ल्याउने कुरा कम गाह्रो थिएन। बलको काम गर्नु पर्दा गाउँमा सबैले सबैलाई सहयोग गर्ने चलन थियो। धुरी खाँबो र दलिनको काठहरु लिन फलेवासबाट पन्ध्र बीस जनाको टोली सरौदी तिर लाग्यो। सालका रुख काट्ने काम शुरु भयो।
‘फलेवासका केटाहरुले सबै बन नाश गरे’ भनेर गाउँमा हल्ला फैलियो। बनपाले रिसले आगो हुँदै बनमा आयो। शशीको हातको बन्चरो खोस्दै बनपालेले भन्यो, ‘कस्को आदेशले काटीस ए साँइदुवा हाम्रो बन। अब म तँलाइ बनमुद्दा लगाएर झ्यालखानामा कोच्न सकिन भने मेरो नाम पनि भक्तबहादुर हैन।’
पहिले त शशी चुपलागेर बसेका थिए तर जब बनपालेले झ्यालखानामा कोच्ने कुरा गर्यो उनको पनि रिसले सीमा नाघ्यो। मुखिया बाले दिएको काठको पुर्जी देखाउँदै शशीले भने ‘यी हेर कस्को आदेशले काटेको रहेछु। कुरै नबुझी झ्यालखानाको कुरो गर्दो रहेछ।’
मुखियाबा को पुर्जी देखे पछि बनपाले पनि झस्कियो। केटाहरुले नियम पुर्याएरै रुख काटेका थिए। बनपालेले भन्यो ‘ल ल भै गो अब धेरै रुख नकाट।’ केटाहरुले लहै लहैमा दुईचारवटा बढी नै रुख काटेका थिए।
पाँच दिनमा सरौदिका सबै काठहरु फलेवास ल्याइयो। पुरानो घर भत्कियो। नयाँ घर बन्न शुरु भयो। लिउन पुर्ने दिन थियो। गाँउका सबै सहयोगि हातहरु जम्मा भएका थिए। घरको लिउन पुर्ने दिनमा गाउँका सबैजना जम्मा हुने चलन थियो। लिउन पुरीयो। घरको आँटी तयार भयो। छानो छाउने दिनमा पनि गाउँका सहयोगि हातहरु अगाडि आए। एक महिना भित्रै घर तयार भयो। घरपैचो भयो। आमालार्इ अगाडि लगाएर बहिनीहरुका साथ शशी नयाँ घर भित्र प्रवेश गरे। दृढ अठोट र कठोर परिश्रमको कारण शशीको सपनाको घर तयार भयो। अब लाहुर गएर पैसा कमाउने र आमाको सपना पुरा गर्ने काम बाँकी थियो।
शंकरप्रसाद शशीका मिल्ने साथी थिए। एकदिन दुईजना मिलेर लाहुर जाने निधो गरे। शशीका बा को निधन लाहुरमै भएको थियो। शशीले आमाबाट लाहुर जाने स्वीकृत पाउने कुनै आशै थिएन। त्यसैले आमालार्इ नभनी गाउँबाट भागेर लाहुर जाने निधो गरे। भोलिपल्ट बिहानै गाउँ छोड्ने कुरो तय भयो। विहानै उठेर उज्यालो नहुँदै लमाए खोला तर्ने र रानीघाट, तानसेन हुँदै चार दिनको दिन बटौली पुग्ने कुरा तय भयो। एउटा मात्र टुहुरो छोरो भागेर लाहुर गएको कुरो सुन्ने वित्तिकै आमा मुर्छा पर्छिन भन्ने कुरा शशीलाई थाहा थियो। मनमनै भने ‘आमालार्इ रूवाएर लाहुर गएको पनि के सार।’ अर्को मनले भन्यो ‘यहाँ बसेर सधै अभावको जीन्दगी विताएको के अर्थ।’ मनभित्र तर्क वतर्क हुन थाल्यो। अन्तिममा भागेर लाहुर जाने बिचारले जित्यो।
शशी त्यस राति घर नजाने निधो गरे। उनको मनमा एउटा अचम्मको विचार आयो। छोरो नहुँदा आमालार्इ कतिको पीर पर्दोरहेछ भनेर स्वयं हेर्न मन लाग्यो। त्यस राति उनी घर छेउको चिन्नेको रुखमा चढेर बसे। राति अवेलासम्म छोरो घर नफर्किएपछि घरमा आमाको रुवाबासी शुरु भयो। शशीले रुखमाथीबाट यो आमाको रुवाबासी सुनेर बसे। मन अमीलो भयो। आमाको रुवाइले एकपटक उनले लाहुर नजाने बिचार पनि गरे। मनभित्रबाट घरको गरिबीले सोध्यो, ‘यहाँ बसेर के गर्छस् ? पैसा कहाँबाट ल्याउँछस् ? घर बनाएको ऋण कसरी तिर्छस्?’ आमाको रुवाइ सुनेर लाहुर जाने या नजाने बिषयमा मनभित्र ज्वारभाटा उठीरहेको थियो। अबभने उनले लाहुर जाने कुरा पक्का गरे। आमा राति अबेलासम्म रोइरहेकी थिइन्।
बिहान भयो। खोलापारी कुमाल गाउँमा कुखुरा बासे। हिजोको सल्लाह अनुसार शंकरप्रसादले रुखमुनीबाट शशीलार्इ आवाज दिए। शशी रुखबाट ओर्लिए। दुईजना ठीटाहरु अज्ञात लाहुरको लागि प्रस्थान गरे। सल्लाह बमोजिम उज्यालो नहुँदै लमाय खोलो पनि तरे। पारी पुगेपछि एकपटक आफ्नो गाउँ फलेवासलाई फर्केर हेरे। सम्पूर्ण गाउँ निद्रादेवीका काखमा सुतेको थियो। छेवैमा काली गण्डकी नदी एक तमाससँग सुसाइ रहेको थियो। उनीहरू लाहुरको अज्ञात यात्रामा हिडीरहेका थिए। चार दिनका दिन बटौली पुगे। त्यहाँबाट भैरहवा हुँदै सुनौली तर्फ लागे। घरबाट हिँडेको पाँचौ दिन उनीहरू आफ्नो सपनाको लाहुरमा प्रवेश गरीसकेका थिए। अभाव र अनिश्चितता उनीहरुका साथै थिए। तर गरेर देखाउने दृढ निश्चय पनि साथै थियो।
No comments:
Post a Comment