आदरणीय भूपी शेरचन दार्इ,
तपाइको भौतिक शरिर
हामी बीच नरहेता पनि तपाइका विचारहरुले मलार्इ सधैँ सधैँ सपनीमा तथा विपनीमा झकझकाइ
रहन्छन् । हल्ला तथा कोलाहलको देशमा बसेर तपाइलार्इ यो पत्र लेख्ने दुस्साहस गर्दै
छु । आज माघ १६ अर्थात शहिद दिवस । देशभर शहीद दिवसको बिदा छ । अफिसबाट फुर्सत
पाएर यो पत्र लेख्न बसेको छु । मेरो स्कुले जिवन भारतमा बितेको हुँदा त्यहाँका
स्कुलहरुमा भगत सिंह जस्ता महान शहिदहरुको गाथा पढाइ हुन्थ्यो । उनको देशभक्तिबाट
म निकै प्रभावित थिएँ । त्यसपछि कलेजको जिवन काठमाण्डौमा शुरु भयो । नेपालका चार
शहिदहरु दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज का बारेमा पढ्दा उनीहरुलार्इ पनि भगत
सिंह सँग तुलना गरेर हेर्न थालेको थिएँ । उनीहरु प्रति श्रद्धाले शिर निहुरिन्थ्यो
। जो अद्यपि छँदैछ । कलेजका शुरुका दिनहरुमा माघ १६ मा मेरो शरिरको रगतको तापक्रम अरु
दिनको भन्दा फरक भएको र दिमागको सोच्ने रफ्तार पनि बढी नै भएको महशुस हुन्थ्यो ।
शहिदहरुले देशका लागि दिएको निस्वार्थ बलिदानका बारेमा पढ्दा दिमागमा अनेक थरीका
भावनाहरुको भल बग्ने गर्थ्यो । शहीदहरुका नाममा अतिक्रमण भएर होला आजकल मलाइ
पहिलेको जस्तो हुँदैन । शहीदहरुको अपमान भएको महशुश भइरहेको छ । शहीदहरुलार्इ
सम्झनका लागि तपाइको कविता ‘शहिदहरुको सम्झनामा’ पढीरहेको छु । पहिलो हरफमै यस्तो लेख्नु भएको
रहेछः
हुँदैन बिहान
मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुर्इ
चार सपूत मरेर नगए ।
मिर्मिरेमा तारा
नझरुन्जेल बिहानी नहुने कुरा त शास्वत सत्य हो तर यहाँ त दुइ चार मात्रै हैन बीसौ
हजार शहिदहरु मरेर जाँदा समेत मुलुक बनेन । जहाँको त्यही रह्यो । त्यसैले भूपी
दार्इ, हिजो आज मलार्इ कस्तो लाग्न थालेको छ भने मानिस मरेर जाँदैमा मुलुक बन्ने
रहेनछ । ती आदरणीय शहिदहरु नमरीकनै बरु बाँचेरै लडेको भए शायद देशको अवस्था
अहिलेको भन्दा राम्रो हुने थियो कि ? गर्छु भन्ने जति
मरेर जाने, नगर्नेहरु र गर्न नदिनेहरु उनै शहीदको लाशमाथी नाचेर र बाँचेर कसरी देश बन्ने
हो र ? बिगत अढाइ दशकको क्रियाकलापहरुले त यही कुरा दर्शाइरहेका छन् । तपाइले
कविताको अन्त्य तिर लेखेका हरफहरुले निकै मन छोयो ।
हामीले आफ्नो
कर्तब्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका
प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले
उन्नति गरेर नगए
यहाँ कसैलाइ शहीद
रुनेमा चिन्ता भए पो त । जिउँदा मानिसहरु रुँदा त मन नपग्लने बज्रस्वाँठहरुलार्इ
मरेर गएका शहीदहरु रोएर वा इतिहासले धिक्कारेर वा शहीदका लासले धिक्कारेर के पो
फरक पर्ने हो र ? इतिहास त भूत हो । आफूलार्इ धिक्कारेको इतिहास पढ्नकै लागि
भनेर को पो बाँचेका छन् र ? ‘यावत जिवेत सुखि जिवेत, ऋणम् कृत्वम घृतम पिवेत’ को सिद्धान्तमा
बाँचेकाहरुले आफुले खाने प्रत्येक गाँसमा शहीदको रगत भएको कहाँ देख्छन् र ? आफुले फेर्ने प्रत्येक
सासमा शहीदको रगतको गंध लुकेको कुराको कसरी अनुभुती होला र खै उनीहरुलार्इ ? अनि आफ्नो मुटुको प्रत्येक चालमा शहीदको धडकन
भएको कुराको कसरी हेक्का होला र खै ? भूपी दाइ, तपाइले लेखेका सबैकुरा कृतज्ञहरुको देशका लागि शत प्रतिशत
सही हो तर थोरै कृतज्ञ र धेरै कृतघ्नहरु बस्ने ठाउँमा कृतज्ञताको पाठ कसरी पढाउने
होला ? अहिलेको अवस्था हेर्दा तपाइका यी हरफहरु निकै घतलाग्दा छन् :
धरतीले मुख लाजले
छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले
उन्नति गरेर नगए
हामीले आफ्नो ब्यक्तिगत
उन्नति त प्रशस्तै गरेका छौं, नगरेको कहाँ हो र ? तर तपाइले यहाँ देशको उन्नतिका बारेमा लेख्नु
भएको हो । देशको उन्नति कस्ले गर्ने ? तपाइले २०१९ सालमा
कविता लेख्दा देशको जनता यसरी देशै छोडेर बाहिरिएका थिएनन् । केही लाहुरे थिए तर
उनिहरु आफ्नो गाउँ ठाउँलाइ सम्झेर फर्की आएकै थिए । अहिलेको अवस्था फरक भइसकेको छ
। उन्नति गर्ने पाखुरीहरु खाडी मुलुकमा संघर्ष गर्दैछन् र उता खिर्इ सकेपछि कोही
काठका बाकसमा फर्किरहेका छन् भने कोही मुख र मुठी मात्र लिएर फर्की रहेका छन् । उन्नती
गर्ने अधिकांश दिमागहरु युरोप, अमेरिका, अस्ट्रेलिया तिर भासिइसके । यहाँ त दलालहरुको मात्र
बिगबिगी छ । यहाँ बाँकी रहेका केही पाखुरी र दिमागहरुलाइ पक्षाघात भइसकेको छ ।
हाम्रो देश अहिले तपाइले लेखेको हल्लै हल्लाको देशमा परिणत भएको छ । किनकि कानमा इयरफोन
लगाउनुपर्ने बहिराहरु संगित प्रतियोगिताका जज अद्यपि छन्; आत्मामा पत्थर परेकाहरु
काब्यका निर्णायक छँदै छन्; काठका खुट्टाहरु अहिले पनि रेसमा बिजेता हुन्छन् ; प्लाष्टर गरिएका हातहरुमा
देशको सुरक्षाको संगित थमाइएकै छ; बाटो तथा अट्टालिकाहरुका ढोका अगाडि आत्माका मण्डि सजाइएकै
छन् ; स्टक एक्सचेन्जका शेयरजस्तै आत्मा क्रय बिक्रय गर्न सक्नेहरु यहाँ नेता भएकै
छन् ; निधारभरि कर्कटपाताजस्तै चाउरी परिसकेकाहरु तन्नेरीका अगुवा पनि भएकै छन् ; यहाँका स्वतन्त्र आमाहरुले
अद्यपि लाहुरेहरु जन्माइरहकै छन् । त्यसैले भुपी दाइ यो देश अहिले पनि हल्लै
हल्लाको देश हो । अहिले पनि यो देश हल्लै हल्लामाथि उभिइएको छ र हल्लै हल्लामाथि उठेको छ । २०२४ सालमा तपाइले
सुनेको भोगेको हल्ला घटेको छैन बरु बढेको छ ।
भूपी दाइ, हामी अहिले पनि पानीकै
थोपा छौं । २०१७ सालमा तपाइले लेख्नु भएको ‘हामी’ र २०७० सालका हामी उही निर्बलिया पानीकै थोपा
भन्दा बढ्ता केही छैनौ । उही पानीका थोपा जो सूर्यद्वारा माथि उचालिन्छौ, बादल बन्छौ र हावाको
इशारमा यताउति दगुर्छौ आफूलार्इ गतिशिल भन्ठान्छौ र माथि पुगेपछि हामी आफ्नो
धरतीलार्इ बिर्सरहेकै छौं । यो क्रम निरन्तर चलिरहेको छ र मलाइ लाग्छ निरन्तर
चलिरहने छ । कहिलेसम्म भन्ने कुरा थाहा छैन । बाहिरबाट उच्च देखिए पनि हाम्रो
खिइने र घिस्सिने गति अहिले पनि बढ्दो क्रममा छ । तपाइले भने जस्तै हीनताको सानो
द्वीपमा पछारिएर हामीले आफ्नो पूर्वस्मृति गुमाइसकेका छौ र बिगतको आफ्नो उँचाइलाइ
बिर्सिएर सामान्य मानिसको उँचाइ देखि डर लाग्न थालेको छ । भूपी दाइ, तपाइले भने जस्तै अहिले
हामी बास्तवमा लिलिपुटका लघुमानव भएका छौ ।
अहिले पनि हामी
आफूखुसी मिल्न जानेका छैनौ कसैले मिलाइदिनु पर्छ । अहिले त हामीलाइ मिलाइ दिन भनौ
वा छुट्याइदिन भनेर विदेशी महानुभावहरुको राँइदाइ नै छ । हाम्रो अस्तित्व अहिले
पनि तपाइले बर्णन गर्नु भएको गति हराएका क्यारमबोर्डका गोटीमै सिमीत छ ।
खेलाडीमाथि आश्रित र एउटा स्ट्राइकरद्वारा सञ्चालित क्यारमबोडका गोटी । हामी अहिले
पनि वीर नेपाली मै गनिन्छौं । त्यसैले त होला दश बर्ष सम्म एक आपसमा लड्यौ ।
बुद्धू भएरै त होलानी हामी वीर भएको । दाइ, अहिले पनि हामी पाइताला नै छौं । हामी सधैं
दौडमा प्रथम हुन्छौं तर हाम्रो घाँटीले माला थापेकै छ, छातीले तक्मा टाँसेकै छ, र निधारले टीका थापेकै छ ।
यहाँ घाँटी, छाती र निधारहरुकै बोलबाला छ । तपाइले भनेजस्तै हामी गोर्खाली हैन गोरु-खाली भएका छौँ गोरुखाली ।
अन्त्यमा तपाइको ‘मेरा साथीहरु’ कविता पढें
मैले पिएकोमा
रिसाएका साथीहरु
पिएर त हेर पिउन झन
गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर जिउन झन्
गाह्रो छ ।
भूपी दाइ, यहाँ बाच्नु भनेको सास
फेर्नु मात्र भएको छ । वास्तवमै भूपी दाइ उहीले मात्र हैने अहिले पनि यहाँ जिउन झन् झन् गाह्रो हुँदै गइरहेको छ भने शहीद
हुन सजिलो ।
मनका कुरा लेख्दै
गरौला ।
आजलाइ बीट मार्ने
अनुमति पाउँ ।
मिति २०७२।१०।१६
No comments:
Post a Comment