दण्डपाणि जैसी
स्वदेशमा, साँझपख घामले पश्चिम
देउराली डाँडाबाट
भोली भेट्ने बाचा गर्दै जान्थ्यो र
पूर्वको भन्ज्याङ डाँडाबाट विहानै चिहाउँथ्यो ।
धौलागिरी, अन्नपूर्ण, माछापुछ्रे हातेमालो गरी
स्वागतमा बसेका हुन्थे
डाँफे, मुनाल, कोइली गाउँथे
मयुर नाच्थे
मनै रमाउँथ्यो ।
चैतको उराठ लाग्दो गर्मीमा पनि
डाँडाको चौतारीमा, पीपलको छाँया मुनी
ढुँगाको सिरानीमा निदाएको,
शरदिय घाममा गुन्द्रीमा बसी निबुवा भोगटे साँदेर खाएको
स्वदेशको सेल रोटी, गुन्द्रुक, साग र सिस्नो याद आयो
यहाँ बिदेशमा पनि
घाम नअस्ताउने नउदाउने त हैन
तर पनि किन हो कुन्नी
यहाँको घाममा न त्यो न्यानोपन पाउँछु न त्यो उज्यालो नै पाउँछु
उफ ! कस्तो उकुस मुकुस
यहाँका हिमाल पहाड मैदान पनि किन यति उराठ लाग्दा
यहाँको हवामा खै त्यो शितलता ?
कोइलीको कुहु कुहु पनि कौवाको का का लाग्न थालेको छ ।
तारे होटलको ट्रेडमिल र लिफ्टले स्वदेशको उकाली ओह्रालीलार्इ जित्न सकेन
डाँडाको चौतारीको चिसो ढुँगाले दिएको निँद यहाँको डनलपले दिन सकेन
ढुँगाको सिरानीले दिएको आनन्द सीमलको भुवाले दिन सकेन ।
घरको गुन्द्रुक मस्यौराको स्वादलार्इ यहाँको चिकन चिल्लीले जित्न सकेन ।
सबै आफ्नै तालमा मस्त
सबै आफ्नो स्वार्थमा ब्यस्त
एउटा पनि मन मिल्ने साथी पाउन सकिएन
विपनीमा सपनीमा घरकै यादले सतायो
आज एकलासमा
स्वदेशकको झन धेरै याद आयो
एक्लो, फगत एक्लो रही
दुइहजार चौधलार्इ बाइ बाइ गर्दै
दुइहजार पन्ध्रलार्इ स्वागत गर्न बसेको छु
साथीहरुको सुस्वास्थ्य, सफलता र अझै
धेरै सफलताको
शुभकामना दिन बसेको छु
शुभकामना ! शुभकामना !! शुभकामना !!!
३१ डिसेम्बर २०१४
गुवाहाटी, आसाम
No comments:
Post a Comment