Saturday, April 9, 2016

लेखः घर कहाँ? सोह्र किलो !

दण्डपाणि जैसी 

सेतोपाटीमा प्रकाशित मिति: शनिबार, चैत्र २१, २०७१ १३:१६:४५ (http://setopati.com/blog/26480/)

print


केही वर्षअघि पाउल स्लोयन लिखित ‘लिडर्स गाइड टु लेटरल थिंकिङ स्किल’ नामक किताब पढेको थिएँ। उनले लेखेका छन्- व्यवस्थापनले परम्परागत तरिकाबाट जतिसुकै मिहिनेतका साथ काम गरे पनि प्रगति भने सीमान्तक रूपमा मात्र सम्भव हुन्छ। द्रूततर प्रगति हासिल गर्न फरक तरिकाले सोच्नु आवश्यक हुन्छ। पारम्परिक उपायबाट पारम्परिक ठाउँमा पुग्न त सकिएला तर नयाँ ठाउँमा पुग्न नितान्त नयाँ तथा फरक सोच आवश्यक हुन्छ।
उनले एक ठाउँमा लेखेका छन्- जसरी पानीलार्इ साइफन गरेर तल्लो सतहमा पठाउँदा पहिले माथि चढ्छ, त्यसपछि मात्र तल झर्छ, त्यसरी नै सुरुमा कतिपय सोचहरु असान्दर्भिक लाग्न सक्छन् तर अन्त्यमा तिनै सोचहरु अत्यन्तै प्रभावकारी हुन्छन्।
पाउलले फरक तरिकाबाट सोच्न सक्ने हो भने अनर्थबाट पनि कसरी सही अर्थ निकाल्न सकिन्छ भन्ने कुरा दर्शाउन एउटा उदाहरण यस्तो दिएका छन् - गमला उत्पादन गर्ने एउटा कम्पनीले गमला प्याकिङ गर्न पुराना पत्रिका प्रयोग गर्ने गर्थ्यो। कामदारहरूले प्याकिङ गर्नुभन्दा पहिला पत्रिकामा प्रकाशित रमाइला लेखहरू पढेर बस्ने गर्दा रहेछन्। त्यसले गर्दा समयमा सामान प्याकिङ हुन नसकी वितरणमा ढिलाइ भइरहेको थियो। व्यवस्थापनले उक्त समस्याबाट पार पाउन निकै उपाय अवलम्बन गर्ने कोसिस गर्‍यो तर कामदारलार्इ पत्रिकामा प्रकाशित सामग्री पढ्नबाट रोक्न सकेन। प्याकिङको एकहोरो काम गर्नुपर्दा कामदारहरूलार्इ रमाइला लेख वा चुट्किला पढ्नबाट कसरी रोक्न सकिन्थ्यो र?  कामदारहरूको क्षमतामा ह्रास आइरहेको थियो। समस्या समाधान गर्न व्यवस्थापनको बैठक डाकियो। बैठकमा उपस्थित सदस्यहरूले विभिन्न सुझाव दिए।
एक बोर्ड सदस्यले अनौठो सुझाव दिए, ‘जस्ले पत्रिका पढेको भेटिन्छ, उसको आँखा फोड्नु पर्छ।’
सुझाव विल्कुलै अनपेक्षित तथा अव्यावहारिक थियो। तर, बैठकमा उपस्थित अर्का एक सदस्यले उनको यही सुझावबाट अर्को निकै राम्रो सुझाव दिए, ‘प्याकिङको यस काममा दृष्टिविहीनहरूलार्इ लगाउँदा कसो होला?’
कम्पनीले उनको यस सुझावलार्इ लागू गर्‍यो। यसबाट एकातिर कम्पनीको समस्या समाधान भयो, अर्कोतर्फ दृष्टिविहीनहरूले रोजगारी पाए। उक्त कम्पनीलार्इ सामाजिक कार्यमा सहयोग गरेबापत सम्मान पनि गरियो।
यसप्रकारका फरक विचारहरू नेपालमा लागू नभएका भने हैनन् तर अत्यन्तै कम मात्रामा भएको छ। काठमाडौँको बेकरी क्याफेमा श्रवणशक्ति नभएकाहरूलार्इ रोजगारीमा लगाएको कुरा यसको ज्वलन्त उदाहरण हो।
मैले सन् २००८ ताका दुबई मेट्रोमा निर्माण इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएको थिएँ। एकदिन म कार्यरत नखिल स्टेसनको साइटमा जाँदा एउटा सूचना टाँसिएको थियो- यो स्टेशन तपाईंको हुनसक्छ।
विस्तृत जानकारीका लागि त्यहाँको सडक तथा यातायात प्राधिकरणमा सम्पर्क राख्न भनिएको थियो।
त्यतिबेला दुबई मेट्रोका केही निर्माणाधीन स्टेसनहरूको नाम विभिन्न कम्पनीहरूको नाममा थिए भने केही स्टेसनहरूको नाम उनीहरूको अवस्थितिका आधारमा राखिएको थियो। कम्पनीहरूको नाम सित्तैमा स्टेसनहरूको नाममा प्रयोग भइरहेका थिए। दुबई सरकारले केही स्टेसनहरूको नाम कम्पनीहरूको ब्रान्डको नाममा भाडामा लगाएर सरकारको राजस्व वृद्धि गर्ने उपायस्वरूप ‘नेमिङ राइटस’सम्बन्धी कानुन ल्यायो। सरकारले पहिलो चरणमा दुबई मेट्रोको रेडलाइन र ग्रीनलाइनअन्तर्गत १३ वटा विभिन्न स्टेसनहरूको नाम विभिन्न कम्पनीहरूको ब्रान्ड नाममा प्रयोग गर्न पाउने गरी सम्झौता गर्‍यो।
एउटा स्टेसनको मूल्य १० वर्षको अवधिका लागि करीब चार करोड दिराम राखिएको थियो। यसअघि मरुभूमिमा रहेका स्टेसनहरूका विभिन्न नाम थिए। कुनै निर्माण कम्पनीका नाममा त कुनै अन्य कुनै कम्पनीका नाममा। त्यसरी नाम राख्दा सरकारका केही साधारण सर्तहरू थिए- स्थानीय संस्कृति र मूल्य मान्यताभित्र सञ्चालन गर्नुपर्ने, इस्लाम धर्मविरुद्ध हुने विज्ञापन वा त्यस्तै कुनै काम गर्न नपाइने, चुरोट या मदिराजन्य कम्पनीहरूले निवेदन दिन नपाउने, १० वर्षमा नवीकरण गर्नुपर्ने आदि। नाम भाडामा लगाउने यो सम्झौता गरेर दुबई सरकारले अर्बौं दिराम राजस्व संकलन गरिसकेको छ। थप स्टेसनहरूको नाम पनि यसैगरी भाडामा लगाउनेतर्फ काम भइरहेको छ। यसबाट दुबई मेट्रोको करीब ६० प्रतिशत मर्मत सम्भार खर्च संकलन भएको छ भने सन् २०१७ सम्ममा मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण रकम संकलन गर्ने उद्देश्य रहेको छ त्यहाँको सरकारको। मेट्रो रेल एउटा महँगो संरचना हो। संसारभरका मेट्रो रेल प्रणालीहरू घाटामा सञ्चालनमा छन्। दुबई सरकारले यसप्रकार आफ्नो मेट्रो प्रणालीको मर्मत सम्भार खर्च संकलन गरेर उक्त रेल प्रणालीलार्इ दिगो बनाएको छ।
नेपालमा कतिपय गाउँ-सहर तथा बाटाघाटाहरूको नाम विभिन्न राजा महाराजा, नेता तथा कम्पनीहरूको नाममा राखिएका छन्। यसबाट सरकारलार्इ कुनै राजस्व प्राप्त हुँदैन। उनीहरूले यी नाम सित्तैमा प्रयोग गरिरहेका छन्। जस्तै काठमाडौँको पेप्सीकोला, पोखराको डेभिड फल्स आदि। कतिपय ठाउँहरूको नाम त न्वारनै नभएर जे पायो त्यही रहन गएको छ। जस्तै काठमाडौँको अनामनगर, गोरखाको सोह्र किलो, स्याङजाको त्रियासी, सुर्खेतको पैसठ्ठी किलो, छैसठ्ठी किलो आदि। पहिले जंगलको बीचमा रहेका यी ठाउँहरूको नाम सडक निर्माणका क्रममा जति किलोमिटर वा माइलमा पर्थे, त्यही त्यही नाम रहन गएको थियो। यी ठाउँहरूमा पहिला कुनै मानववस्ती नै थिएन भन्दा पनि हुन्छ। त्यस्तो धनी दुबई सरकारले त स्टेसनको नाम भाडामा लगाएर राजस्व वृद्धि गर्न हुन्छ भने हाम्रोजस्तो गरीब मुलुकले पनि यस्ता अनामनगरहरू वा किलोमिटर नगरहरूको नाम भाडामा लगाएर राजस्व वृद्धि गर्दा केही फरक पर्ला र?
सरकारले पेप्सीकोलासँग उसको ब्रान्ड नाम प्रयोग गरेबापत केही रकम लिए केही बिग्रेला र? रातोपुल, कालोपुलहरूको नाम कोकाकोला पुल पेप्सीकोला पुल, डाबरपुल या यस्तै कुनै कम्पनीलार्इ भाडामा दिँदा केही फरक पर्ला र?  गोरखाको सोह्र किलो, सुर्खेतको पैसठ्ठी किलो, छैसठ्ठी किलोको नाम भाडामा दिन लिलाम बढाबढ गर्दा केही बिग्रेला र? एभरेस्ट तथा गौतम बुद्धको नाम सित्तैमा प्रयोग गरिरहेकाहरूले सरकारलाई वार्षिक रूपमा केही राजस्व दिए कसैको केही बिग्रेला र? आजकल गाउँ सहरका विभिन्न पुल तथा भवनहरूको मुखैमा एउटा टेलिफोन कम्पनीको विज्ञापन निकै देखिन्छ। यी विज्ञापनहरू यसरी राखिएको हुन्छ मानौँ त्यस पुल वा भवनको निर्माण नै उक्त टेलिफोन कम्पनीले गरेको हो। सार्वजनिक स्थानहरूको यसप्रकार सित्तैमा उपयोग नेपालबाहेक सायदै कुनै ठाउँमा भएको होला।
घर कहाँ? भन्दा सोह्र किलो, पैसठ्ठी किलो वा छपन्न किलो भन्नुको साटो, विनोदचौधरी नगर वा शेषघले नगर, वा खेतान नगर वा उपेन्द्रमहतो नगर वा कोकाकोला नगर वा  पेप्सीकोला नगर वा डाबर नगर वा टोयोटा नगर वा हिमालयबैंक नगर वा एभरेष्टबैंक नगर वा यस्तै कुनै दाताहरूमध्येबाट बढाबढ गरी कायम गरे कसो होला? सर्तहरूमा उक्त ठाउँमा एउटा स्कुल, एउटा कलेज, एउटा अस्पताल, खानेपानीको समुचित व्यवस्था तथा एउटा उद्योग अनिवार्य खोल्नु पर्ने सर्त राख्दा सबैको भलो नै हुने थियो। सबैले एउटा कुराको हेक्का राखौं कि गाउँबाट सहर पस्ने रहर होइन, बाध्यता हो। यसबाट सहरमा पर्न जाने जनसंख्याको चाप पनि कम हुने थियो। गाउँमा राम्रो स्कुल, राम्रो कलेज, राम्रा अस्पतालहरूको निर्माण भएछ भने भोलि सहरबाट गाउँतर्फ जानेहरूको संख्यामा वृद्धि नहोला भन्न सकिन्न। 
वातावरण संरक्षणका सम्बन्धमा निकै कुरा भए। ‘कृपया जथाभावी फोहोर नफालौँ’ भन्ने नारा लेखेर मात्र सहर सफा नहुने रहेछ भन्ने कुरा त हामी सबैले देखिसकेकै छौं। बाटोमा कसैले फोहोर गरिरहेको छ भने पनि छेवैमा बसेको प्रहरी फिस्स हाँसेर हेरिरहन्छ। ऊ अपराध नियन्त्रण वा ट्राफिक नियन्त्रणका लागि बसेको रे। बाटोमा भइरहेको फोहोर फोहोरसँग उसलाई कुनै सरोकार नै छैन।
अपराध नियन्त्रण, ट्राफिक नियन्त्रणका लागि प्रहरीको व्यवस्था छ भने सहरहरूमा फोहोर नियन्त्रण, प्रदूषण नियन्त्रणका लागि वातावरण प्रहरीको व्यवस्था गर्दा केही बिग्रेला र?  नेपालको अन्तरिम संविधानको धारा १६.१ मा प्रत्येक व्यक्तिलार्इ स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था छ। सरकारले वातावरण प्रहरीको व्यवस्था गरी संविधानप्रदत्त यस मौलिक हकको प्रत्याभूति दिन ढिलो गर्नु हुँदैन। सहर सफा भए रोगको प्रकोप घट्छ। बाटोमा सडे गलेका तथा दूषित खाना बेचेर बस्नेहरूलार्इ कारबाही मात्र गर्ने हो भने पनि झाडापखाला हैजाको कारण बिमारी हुने लाखौँ जनताले त्राण पाउने थिए। जनस्वास्थ्यको नाममा विदेशिने गरेको अर्बौँको रकमको बचत हुने थियो। यस काममा वातावरण प्रहरीले ठूलो सहयोग गर्न सक्छ। गलत काम गर्नेलार्इ सदैव सरकारको डर हुनु पर्छ। सफा राजधानी, सफा सहर समस्त देशको प्रतिविम्ब पनि हो। फोहोर सहरहरूले हाम्रो फोहोरी संस्कृतिको परिचय दिइरहेका हुन्छन्।
संसारका केही प्रसिद्ध आविष्कारहरू पनि फरक सोचका कारण सम्भव भएका हुन्। पेनिसिलिनको आविष्कार भनौं वा इलेक्ट्रो मेग्नेटिक इन्डक्सन फरक सोचका कारण आविष्कार भएका हुन्। हामीमध्ये कतिलाई थाहा छ होला, आजकल निकै चर्चामा रहेको भियग्राको आविष्कार पनि चान्स डिस्कभरि नै हो। वास्तवमा भियग्रा पत्ता लगाउने डाक्टरले मुटु रोगको ‍औषधीको अनुसन्धान गर्दै थिए। उक्त औषधी खाएपछि उनका पुरुष बिरामीहरू यौन उत्तेजना हुने गुनासो लिएर आउन थाले। उनले यस औषधीलार्इ फ्याँकेनन्, भियग्रा बनाएर बेचे। फरक सोचका कारण यसो सम्भव भयो।
हाम्रो दैनिक जीवनमा प्रयोग हुने भेलक्रो (Velcro) को आविष्कार पछाडि पनि यस्तै फरक सोचको भूमिका छ। सन् १९४१ मा जर्ज मेस्ट्राल आफ्नो कुकुरलार्इ लिएर स्विजरल्यान्डको जुरा पहाडमा मर्निङ वाकमा निस्किएका थिए। घर फर्किएर आउँदा उनले आफ्नो ट्राउजर तथा कुकुरको रौंमा भेँडेकुरो टाँसिएको पाए। यो कुनै नौलो कुरो थिएन। हामी सबैको कपडामा कहीँ न कहीँ तथा जनावरहरूको शरीरमा भेँडेकुरो टाँसिएको हामीले नदेखेको हैन। फरक यति हो, हामी त्यस भेँडेकुरोलार्इ टिपेर फ्याँकिदिन्छौँ। मेस्ट्रालले त्यसो गरेनन्। भेँडेकुरोलार्इ कुकुरको शरीरबाट निकालेर एउटा माइक्रोस्कोपमा राखेर हेरे। भेँडेकुरोको काँडाको टुप्पामा साना साना अँकुसे थिए। त्यही अँकुसेको कारण भेँडेकुरो मेस्ट्रालको ट्राउजर र कुकुरको रौंमा टाँसिएको भन्ने कुरा पत्ता लगाए। उनले प्रकृतिको त्यही कुरालार्इ नक्कल गरेर भेलक्रोको आविष्कार गरे। आजकल त्यही भेलक्रो हामीले दैनिक जीवनमा उपयोग गर्ने सामान जस्तै झोला, ज्याकेट, जुत्ता, ब्लड प्रेसर नाप्दा डाक्टरले हाम्रो पाखुरामा बाँध्ने एअर ब्याग आदिमा प्रयोग हुन्छ। संसारमा आजकल भेलक्रोको प्रयोग नगर्ने को होला?
हजारौं माइलको यात्रा पनि एउटा पाइलाबाट सुरु गरिन्छभने जस्तै ठूलो कामको सुरुवात पनि सानो कामबाट नै गर्नुपर्छ। हेर्दा साना लाग्ने तर देशका लागि फाइदाजनक कामहरू तत्कालै सुरु गर्दै निरन्तरता दिने हो भने विकास टाढा छैन। चोरेर, लुटेर, ठगेर, मागेर खान पो लाज मान्नु पर्ने हो, गरेर खान त के को लाज? के को सरम? परम्परावादी सोचले हामीलार्इ परम्परावादी नै बनाउँछ। परम्परावादी सोचबाट होइन सजिलो तथा फरक सोचको माध्यमबाट देशको द्रूततर विकास गर्नु आजको आवश्यकता भइसकेको छ। यसैले फरक सोचको विकास गर्दै आफ्नो तथा देशको विकास गरौं। मेरा यी सामान्य विचार हुन्। नीति निर्माणमा रहेका हाम्रा विद्वान् पाठकहरूले उच्चकोटीका सकारात्मक तथा फरक विचारहरूको निर्माण गर्न नसक्ने कुरै भएन।
- लेखक हाल भारतमा अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा कार्यरत छन्

प्रकाशित मिति: शनिबार, चैत्र २१, २०७१ १३:१६:४५

No comments:

Post a Comment